काठमाडौं । नेफ्स्कूनको नवनिर्वाचित सञ्चालक समितिले सहकारी क्षेत्रको फराकिलो सम्भावना, अवसर र बढ्दो चुनौतीका विषयमा साझा बुझाइ र धारणा निर्माण गरी अघि बढ्ने प्रतिबद्धतासहित सरकार र अभियानको नेतृत्वदायी राष्ट्रिय सहकारी महासंघको ध्यानाकर्षण गराएको छ । नेफ्स्कूनको नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिकातर्फबाट पदबहाली लगत्तै अभियानका समसामयिक विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग र महासंघलाई आज लिखित ध्यानाकर्षण गराइएको हो । संघको २०८० साल पुस ७ र ८ गते काठमाडौंमा सम्पन्न ३२औं वार्षिक साधारण सभाबाट निर्वाचित दुबै समितिले पुस ९ गते पदबहाली गरेका थिए । पदबहालीको पर्सिपल्टबाटै नयाँ समितिले सरकार र अभियानलाई समसामयिक विषयमा ध्यानाकर्षण गराउँदै सहकारी क्षेत्रलाई सुशासित, मर्यादित बनाउँदै सदस्यको विश्वास बढाउन आफ्नोतर्फबाट खेल्नुपर्ने भूमिकालाई उच्च प्राथमिकतामा राखेको सन्देश दिएको हो ।