एशियाली ऋण महासंघ (अकू) का प्रमुख प्राविधिक अधिकृत एवम् पूर्व प्रमुख कार्यकारी अधिकृत रञ्जित हिताराचीले विश्वका अन्य क्रेडिट युनियन अभियानसँगै नेपालको बचत तथा ऋण सहकारी अभियानलाई पनि लामो समयदेखि नजिकबाट बुझ्नुभएको छ । नेपाली साकोस अभियानसँग सन् १९९३ बाट जोडिएको उहाँको सम्बन्धले ३ दशक पार गरिसकेको छ । क्रेडिट युनियन अभियानसँगको आफ्नो पेशागत संलग्नता र समर्पणसँगै एशियाली ऋण महासंघ प्रवेश, नेतृत्वका विषयहरु, नेपालको साकोस अभियानको विगत, वर्तमान र आगत, नेफ्स्कूनको भूमिका र मुख्य चुनौतीहरु, आदि विषयमा साकोस आवाजसँग डा. हिताराचीले लामो संवाद गर्नुभएको छ । प्रस्तुत छ उक्त संवादको सम्पादित अंशः
तपाई सहकारी क्षेत्रसँग कसरी जोडिनुभयो ? त्यसको पृष्ठभूमिसँगै सहकारी महत्वबारे केही बताइदिनुहुन्छ कि ?
विश्वविद्यालयमा अध्ययन गर्दा म विद्यार्थी राजनीतिमा संलग्न थिएँ । विकासका विविध अवधारणा र ‘वाद’ हरुबारे चर्चा र बहसमा हामी साथीहरुबीच समय खर्च गर्थ्यौं । त्यसबखत, म रोजगारीको खोजीमा पनि थिएँ । संयोगवश श्रमिकहरुको क्षेत्रमा काम गर्ने एउटा सहकारीमा जागिरको लागि आवेदन दिएँ । त्यहाँ म व्यवस्थापकमा छनौट भएँ । त्यो मेरो लागि आश्चार्यमिश्रित खुसीको क्षण थियो । तर, त्यसअघि, विश्वविद्यालयको प्रवेश परिक्षा पर्खिरहेको समय सहकारी शिक्षासम्बन्धी ४ महिने कोर्ष गरेँ, त्यसमा मैले अब्बल अंकसहित उत्कृष्ट प्रर्दशन गरेँ । त्यसकै अनुभवले पनि हुनसक्छ उक्त श्रमिक सहकारीमा मैले व्यवस्थापकीय भूमिका प्राप्त गरेँ । यसरी मेरो सहकारी क्षेत्र प्रवेश भयो ।
पछि, म सहकारी विषय प्राध्यापनमा पनि जोडिएँ । यसले सहकारीको सैद्धान्तिक र व्यावहारिक ज्ञान समानान्तर रुपमा प्राप्त गर्ने अवसर मिल्यो । विस्तारै म सहकारी अर्थतन्त्रका विविध सिद्धान्तबारे अध्ययनको गहिराईमा पसेँ । यसक्रममा के बुझेँ भने, पुँजीवादी, साम्यवादी एवम् समाजवादी लगायतका अर्थ व्यवस्थाबारे थुप्रै अध्ययन सामाग्री उपलब्ध छन् तर सहकारीबारे केही भेट्टिएन । मैले बुझ्दै गए सहकारी केवल सेवा प्रवाहको माध्यम होइन, यो त निजी तथा सार्वजनिक साझेदारीको सनातनी अवधारणा परिवर्तनको सामर्थ्य हो । सहकारीमा आवद्ध सबै सामूहिक हितका खातिर काम गर्दछन् । सहकारीको यही उद्देश्य नै यसप्रति आवद्ध हुने मेरो प्रमुख कारक बन्यो ।
सहकारी भित्र पनि क्रेडिट युनियनको महत्व के छ ?
यो महत्वपूर्ण प्रश्न हो । क्रेडिट युनियनहरु वित्तीय सेवा प्रवाह गर्ने सहकारी हुन् । विभिन्न मुुलुकमा यी विभिन्न नामले सञ्चालनमा छन् । यिनको सिमितता केवल छोटो समयका लागि आकस्मिक ऋण प्रवाह गर्नेमात्र होइन । यिनले स्वसहयोग, स्वउत्तरदायित्व र स्वव्यवस्थापनमा बिशेष जोड दिन्छन् । सदस्यहरुको आम्दानी जतिसुकै भएपनि वित्त व्यवस्थापन गरी जीवनको सुसञ्चालनमा यिनले सहयोग गर्दछन् । व्यक्तिगत जीवनमा पैसाको सही व्यवस्थापनको विषय एशियाली मुलुकहरुका औपचारिक शिक्षामा निक्कै कम समावेश गरेको पाइन्छ । क्रेडिट युनियनहरुले पैसाको प्रभावकारी व्यवस्थापनमा सदस्यहरुलाई सहयोग गर्दै आएका छन् ।
पिधँमा परेको समुदायलाई सशक्तिकरणसँग जोड्ने र उनीहरुको सुरक्षित भविष्यको सुनिश्चितता गर्ने काममा क्रेडिट युनियनहरु प्रभावी हुन्छन् । जसरी पानीको थोपा थोपा मिलेर नदी बन्छ, यस्तै गरी वित्तीय सहकारीहरुले थोरै थोरै बचतमार्फत सदस्यहरुको धन सृजनामा सहयोग गर्दछन् । अहिलेको आवश्यकता भनेको खासगरी बालबालिका र युवाहरुमा वित्तीय साक्षरता कार्यक्रमलाई व्यापक बनाउने हो । क्रेडिट युनियनहरु कलिलै उमेरदेखि वित्तीय व्यवस्थापन सीप सिकाउने श्रोत केन्द्रहरु हुन् ।
बचत ऋण सहकारीका पिता विलियम राइफाइसनले भन्नुभएको वास्तवमै सही हो ‘क्रेडिट युनियनहरुले केवल ऋण प्रवाह गर्ने काममा मात्र आफूलाई सीमित गर्नुहुँदैन । उनीहरुको प्राथमिक दायित्व भनेको सदस्यहरुलाई स्वतन्त्ररुपमा आफ्नो सम्पत्तिको व्यवस्थापन गर्न सशक्त बनाउने हो । यसो गर्न सके प्रत्येक सदस्यलाई व्यक्तिगत जीवनका वित्तीय जटिलताहरु सरलीकृत बनाउन सहयोग पुर्याउने आफ्नो उद्देश्य पूरा गर्न क्रेडिट युनियनहरु सफल हुनेछन् ।
क्रेडिट युनियन अभियानको विश्व परिदृश्य कस्तो छ ? अहिले यस क्षेत्रको आवश्यकता के हुन् ?
हाल क्रेडिट युनियन अभियानमा विश्वभर ४० करोड बढी सदस्य आवद्ध छन् । विश्वभर सहकारीका कूल सदस्य संख्यामध्ये क्रेडिट युनियन क्षेत्रका सदस्यहरुको हिस्सा करिब ४० प्रतिशत छ । ९८ मुलुकका ८२ हजार बढी क्रेडिट युनियनहरु छन् जसको कुल सम्पत्ति ३.६ ट्रिलियन अमेरिकी डलर बराबर छ । वित्तीय सहकारीहरु फरक वातावरणमा फरक कानूनी संरचनामा चलिरहेका छन् । अमेरिका, क्यानाडा, युरोप, अष्ट्रेलिया, दक्षिण कोरिया लगायत अभियान विकसित भएका मुलुकहरुमा क्रेडिट युनियनहरुका लागि बलियो नियमन र सुपरिवेक्षण छ भने पूर्व औपनिवेशिक मुलुकहरुमा सहकारी ऐनमार्फत नै बचत तथा ऋण सहकारीहरु पनि चलिरहेका छन्, जुन अपुग हुनसक्दछ खासगरी नियमन, अनुगमन र सुपरिवेक्षणको दृष्टिले ।
वित्तीय सहकारीहरुले केवल वित्तीय कारोबार मात्र नगरी सामाजिक सुरक्षा एवम् कल्याण तथा सामुदायिक विकासका क्रियाकलापहरुमा सहयोगी भूमिका निर्वाह गरेका छन् । बलियो वित्तीय सहकारी क्षेत्र निर्माणका लागि प्रभावकारी सुपरिवेक्षण तथा अनुगमन आवश्यक पर्दछ । यिनको अभावमा साकोसहरुमा स्वअनुशासनको भावना जागृत गराउने कार्य चुनौतीपूर्ण हुन्छ । सदस्यहरुको बचत सुरक्षित गर्न वित्तीय अनुशासन एकदमै आवश्यक छ । सदस्यहरुको विश्वास संस्थाको वित्तीय स्वास्थ्य एवम् सुरक्षामा भरपर्दछ । यी दुबै हुँदा मात्र संस्थागत वृद्धि तथा विकास सम्भव छ । त्यसैले म नेपाल लगायत अन्य मुलुकका बचत ऋण सहकारी नेतृत्वलाई छुट्टै ऐनको आवश्यकता साँच्चिकै महशुस गरी बहस पैरवीमा लाग्न जोडदार आग्रह गर्छु । वित्तीय सहकारीहरुको बलियो सुपरिवेक्षण तथा नियमनका लागि पनि यो आवश्यक छ । छुट्टै कानूनी संरचनाभित्र सुपरिवेक्षण तथा अनुगमन प्रणालीको विषय अटाउनुपर्छ अन्यथा विकासोन्मुख मुलुकहरुमा दिगो वित्तीय सहकारी क्षेत्र निर्माणको काममा थुप्रै बाधाहरु आउँछन् ।