एक्सेसले नेपालमा ‘वर्ल्ड क्लास’ साकोसहरु बनाएको छ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक्सेसले नेपालमा ‘वर्ल्ड क्लास’ साकोसहरु बनाएको छ

एशियाली ऋण महासंघ (अकू) का प्रमुख प्राविधिक अधिकृत एवम् पूर्व प्रमुख कार्यकारी अधिकृत रञ्जित हिताराचीले विश्वका अन्य क्रेडिट युनियन अभियानसँगै नेपालको बचत तथा ऋण सहकारी अभियानलाई पनि लामो समयदेखि नजिकबाट बुझ्नुभएको छ । नेपाली साकोस अभियानसँग सन् १९९३ बाट जोडिएको उहाँको सम्बन्धले ३ दशक पार गरिसकेको छ ।  क्रेडिट युनियन अभियानसँगको आफ्नो पेशागत संलग्नता र समर्पणसँगै एशियाली ऋण महासंघ प्रवेश, नेतृत्वका विषयहरु, नेपालको साकोस अभियानको विगत, वर्तमान र आगत, नेफ्स्कूनको भूमिका र मुख्य चुनौतीहरु, आदि विषयमा साकोस आवाजसँग डा. हिताराचीले लामो संवाद गर्नुभएको छ । प्रस्तुत छ उक्त संवादको सम्पादित अंशः


तपाई सहकारी क्षेत्रसँग कसरी जोडिनुभयो ? त्यसको पृष्ठभूमिसँगै सहकारी महत्वबारे केही बताइदिनुहुन्छ कि ?
विश्वविद्यालयमा अध्ययन गर्दा म विद्यार्थी राजनीतिमा संलग्न थिएँ । विकासका विविध अवधारणा र ‘वाद’ हरुबारे चर्चा र बहसमा हामी साथीहरुबीच समय खर्च गर्थ्यौं । त्यसबखत, म रोजगारीको खोजीमा पनि थिएँ  । संयोगवश श्रमिकहरुको क्षेत्रमा काम गर्ने एउटा सहकारीमा जागिरको लागि आवेदन दिएँ । त्यहाँ म व्यवस्थापकमा छनौट भएँ । त्यो मेरो लागि आश्चार्यमिश्रित खुसीको क्षण थियो । तर, त्यसअघि, विश्वविद्यालयको प्रवेश परिक्षा पर्खिरहेको समय सहकारी शिक्षासम्बन्धी ४ महिने कोर्ष गरेँ, त्यसमा मैले अब्बल अंकसहित उत्कृष्ट प्रर्दशन गरेँ । त्यसकै अनुभवले पनि हुनसक्छ उक्त श्रमिक सहकारीमा मैले व्यवस्थापकीय भूमिका प्राप्त गरेँ । यसरी मेरो सहकारी क्षेत्र प्रवेश भयो । 

पछि, म सहकारी विषय प्राध्यापनमा पनि जोडिएँ । यसले सहकारीको सैद्धान्तिक र व्यावहारिक ज्ञान समानान्तर रुपमा प्राप्त गर्ने अवसर मिल्यो । विस्तारै म सहकारी अर्थतन्त्रका विविध सिद्धान्तबारे अध्ययनको गहिराईमा पसेँ । यसक्रममा के बुझेँ भने, पुँजीवादी, साम्यवादी एवम् समाजवादी लगायतका अर्थ व्यवस्थाबारे थुप्रै अध्ययन सामाग्री उपलब्ध छन् तर सहकारीबारे केही भेट्टिएन । मैले बुझ्दै गए सहकारी केवल सेवा प्रवाहको माध्यम होइन, यो त निजी तथा सार्वजनिक साझेदारीको सनातनी अवधारणा परिवर्तनको सामर्थ्य हो । सहकारीमा आवद्ध सबै सामूहिक हितका खातिर काम गर्दछन् । सहकारीको यही उद्देश्य नै यसप्रति आवद्ध हुने मेरो प्रमुख कारक बन्यो ।

सहकारी भित्र पनि क्रेडिट युनियनको महत्व के छ ?
यो महत्वपूर्ण प्रश्न हो । क्रेडिट युनियनहरु वित्तीय सेवा प्रवाह गर्ने सहकारी हुन् । विभिन्न मुुलुकमा यी विभिन्न नामले सञ्चालनमा छन् । यिनको सिमितता केवल छोटो समयका लागि आकस्मिक ऋण प्रवाह गर्नेमात्र होइन । यिनले स्वसहयोग, स्वउत्तरदायित्व र स्वव्यवस्थापनमा बिशेष जोड दिन्छन् । सदस्यहरुको आम्दानी जतिसुकै भएपनि वित्त व्यवस्थापन गरी जीवनको सुसञ्चालनमा यिनले सहयोग गर्दछन् । व्यक्तिगत जीवनमा पैसाको सही व्यवस्थापनको विषय एशियाली मुलुकहरुका औपचारिक शिक्षामा निक्कै कम समावेश गरेको पाइन्छ । क्रेडिट युनियनहरुले पैसाको प्रभावकारी व्यवस्थापनमा सदस्यहरुलाई सहयोग गर्दै आएका छन् ।

पिधँमा परेको समुदायलाई सशक्तिकरणसँग जोड्ने र उनीहरुको सुरक्षित भविष्यको सुनिश्चितता गर्ने काममा क्रेडिट युनियनहरु प्रभावी हुन्छन् । जसरी पानीको थोपा थोपा मिलेर नदी बन्छ, यस्तै गरी वित्तीय सहकारीहरुले थोरै थोरै बचतमार्फत सदस्यहरुको धन सृजनामा सहयोग गर्दछन् । अहिलेको आवश्यकता भनेको खासगरी बालबालिका र युवाहरुमा वित्तीय साक्षरता कार्यक्रमलाई व्यापक बनाउने हो । क्रेडिट युनियनहरु कलिलै उमेरदेखि वित्तीय व्यवस्थापन सीप सिकाउने श्रोत केन्द्रहरु हुन् ।

बचत ऋण सहकारीका पिता विलियम राइफाइसनले भन्नुभएको वास्तवमै सही हो ‘क्रेडिट युनियनहरुले केवल ऋण प्रवाह गर्ने काममा मात्र आफूलाई सीमित गर्नुहुँदैन । उनीहरुको प्राथमिक दायित्व भनेको सदस्यहरुलाई स्वतन्त्ररुपमा आफ्नो सम्पत्तिको व्यवस्थापन गर्न सशक्त बनाउने हो । यसो गर्न सके प्रत्येक सदस्यलाई व्यक्तिगत जीवनका वित्तीय जटिलताहरु सरलीकृत बनाउन सहयोग पुर्याउने आफ्नो उद्देश्य पूरा गर्न क्रेडिट युनियनहरु सफल हुनेछन् ।

क्रेडिट युनियन अभियानको विश्व परिदृश्य कस्तो छ ? अहिले यस क्षेत्रको आवश्यकता के हुन् ? 
हाल क्रेडिट युनियन अभियानमा विश्वभर ४० करोड बढी सदस्य आवद्ध छन् । विश्वभर सहकारीका कूल सदस्य संख्यामध्ये क्रेडिट युनियन क्षेत्रका सदस्यहरुको हिस्सा करिब ४० प्रतिशत छ । ९८ मुलुकका ८२ हजार बढी क्रेडिट युनियनहरु छन् जसको कुल सम्पत्ति ३.६ ट्रिलियन अमेरिकी डलर बराबर छ । वित्तीय सहकारीहरु फरक वातावरणमा फरक कानूनी संरचनामा चलिरहेका छन् । अमेरिका, क्यानाडा, युरोप, अष्ट्रेलिया, दक्षिण कोरिया लगायत अभियान विकसित भएका मुलुकहरुमा क्रेडिट युनियनहरुका लागि बलियो नियमन र सुपरिवेक्षण छ भने पूर्व औपनिवेशिक मुलुकहरुमा सहकारी ऐनमार्फत नै बचत तथा ऋण सहकारीहरु पनि चलिरहेका छन्, जुन अपुग हुनसक्दछ खासगरी नियमन, अनुगमन र सुपरिवेक्षणको दृष्टिले ।

वित्तीय सहकारीहरुले केवल वित्तीय कारोबार मात्र नगरी सामाजिक सुरक्षा एवम् कल्याण तथा सामुदायिक विकासका क्रियाकलापहरुमा सहयोगी भूमिका निर्वाह गरेका छन् । बलियो वित्तीय सहकारी क्षेत्र निर्माणका लागि प्रभावकारी सुपरिवेक्षण तथा अनुगमन आवश्यक पर्दछ । यिनको अभावमा साकोसहरुमा स्वअनुशासनको भावना जागृत गराउने कार्य चुनौतीपूर्ण हुन्छ । सदस्यहरुको बचत सुरक्षित गर्न वित्तीय अनुशासन एकदमै आवश्यक छ । सदस्यहरुको विश्वास संस्थाको वित्तीय स्वास्थ्य एवम् सुरक्षामा भरपर्दछ । यी दुबै हुँदा मात्र संस्थागत वृद्धि तथा विकास सम्भव छ । त्यसैले म नेपाल लगायत अन्य मुलुकका बचत ऋण सहकारी नेतृत्वलाई छुट्टै ऐनको आवश्यकता साँच्चिकै महशुस गरी बहस पैरवीमा लाग्न जोडदार आग्रह गर्छु । वित्तीय सहकारीहरुको बलियो सुपरिवेक्षण तथा नियमनका लागि पनि यो आवश्यक छ । छुट्टै कानूनी संरचनाभित्र सुपरिवेक्षण तथा अनुगमन प्रणालीको विषय अटाउनुपर्छ अन्यथा विकासोन्मुख मुलुकहरुमा दिगो वित्तीय सहकारी क्षेत्र निर्माणको काममा थुप्रै बाधाहरु आउँछन् ।

एशियाली क्रेडिट युनियन अभियानको अहिलेको अवस्थाबाट तपाई सन्तुष्ट हुनुहुन्छ ?
प्रायः एशियाली मुलुकका बचत तथा ऋण सहकारीहरु सहकारी ऐनबाटै चलेका छन् । नियामक अधिकारीहरु वित्तीय विश्लेषक वा विज्ञ हुँदैनन् । कानूनले बचत तथा ऋण सहकारीहरुको संवेदनशीलतालाई सम्बोधन गरेको हुँदैन । यही कारण बलियो नियमन संरचना, विवेकपूर्ण वित्तीय मापदण्डहरु, प्रभावकारी अनुगमन तथा सुपरिवेक्षण कार्य जस्ता अत्यावश्यक विषयहरुको नीतिगत तथा कानूनी प्रबन्ध चुनौतीपूर्ण बनेको छ । बजेट अभावले सरकारी अधिकारीहरुको सुपरिवेक्षण कार्य प्रभावित बनेको छ भने विषयगत केन्द्रीय संघलाई सुपरिवेक्षण तथा अनुगमनको पूर्ण अधिकार पनि दिइएको छैन । त्यस्तै, बचत तथा ऋण सहकारीहरुको संख्यात्मक वृद्धि अर्को चुनौती हो । यसले जटिलता सृजना गरेको छ । संक्षिप्तमा भन्नुपर्दा, धेरै कामहरु गर्नुपर्ने छ । लक्ष्य टाढा छ अनि बाटो पनि सिधा छैन ।

नेपालको साकोस अभियानलाई नजिकबाट बुझ्नुभएको छ । यसका राम्रा नराम्रा पक्षहरुसँग जानकार हुनुहुन्छ । तपाईको धारणा के छ ?
नेपालको साकोस अभियानको विकास र विस्तारको म एक साक्षी हुँ । सन् १९९३ बाट म नेपालको अभियानसँग जोडिएँ । ओकू भने सन् १९८० को अन्त्यतिरै नेपालसँग जोडिएको थियो । त्यसैको निरन्तरता स्वरुप म जोडिएको हुँ ।

धुलिखेलमा तालिम दिएर नेपाली साकोस अभियानसँग जोडिएको हुँ । त्यसबेला नै मैले सीमित श्रोतसाधन भएका ग्रामीण भेगका सहकारीहरुबाट प्रतिनिधित्व गर्ने नेतृत्व बचत तथा ऋण सहकारीहरुबारे जान्न, बुझ्न खोज्ने र प्रवर्धन गर्ने लगाव भएको पाएँ । त्यसअघि सम्म नेपालमा सरकार नियन्त्रित सहकारीहरु थिए जसले सदस्य नियन्त्रित सहकारी मोडेलमा रुपान्तरणमा बाधा सृजना गरेका थिए ।

हामीले यहाँ क्षमता अभिवृद्धि, नेतृत्व विकाससँगै केन्द्रीय वित्त प्रणाली सुरुवातका लागि सहजीकरण गर्यौं । यी कामले नेपालमा बचत तथा ऋण सहकारीहरुको उल्लेख्य वृद्धि र विकासको आधारशिला तयार गर्यो । आज नेपालमा १४ हजार बढी बचत तथा ऋण सहकारीले लाखौं सदस्यहरुलाई सेवा प्रवाह गरेका छन् भने नेपालको कुल जनसंख्याको ५० प्रतिशतमा साकोसको पहुँच विस्तार भएको छ ।

नेपालको साकोस अभियानबारे कुरा गर्दा यसका दुबै पक्षबारे बोध भएको भन्ने जनाउँदछ । सकारात्मक पाटोको कुरा गरिहालेँ, यिनीहरु दुरदराजमा रहेका वित्तीय पहुँच नपुगेका समुदायसम्म पुगेका छन्, वित्तीय सेवा प्रवाह गरेका छन्, नेतृत्व क्षमता बढाएका छन्, सहभागिता र समावेशिता बढाएका छन् । तरसँगै, केही कुलीन समूहले साकोसलाई समुदायको रकम व्यक्तिगत प्रयोजनका लागि उपयोग गर्ने माध्यम बनाएका छन् । त्यही भएर साकोसहरुमा प्रभावकारी नियमन, अनुगमन सुपरिवेक्षणका साथै जोखिम मापनका विधि र उपायहरु अवलम्बन गरिएको सुनिश्चित गरिनुपर्दछ । अन्यथा समस्या जटिल बन्नसक्छ ।

नेपालमा साकोस अभियानको विकास देखेर एकातिर म गौरव अनुभूति गर्छु भने अर्कोतर्फ अभियानको स्थायित्व र विश्वसनीयताका लागि सुशासनको अहम् भूमिका हुन्छ भन्ने विषय नेतृत्वलाई बुझाउन सकेनौं भन्ने पनि लाग्छ । स्वअनुशासनसँगै बलियो नियामकीय संरचना विना नेपालको साकोस अभियान  जोखिममा रहन्छ । पछिल्लो समय व्याप्त बढ्दो राजनीतिक हस्तक्षेप हामी सबैका लागि चिन्ताको विषय हो । सहकारी क्षेत्र राजनीतिक प्रभावबाट सधै टाढा रहनुपर्छ । राजनीतिक झुकावका आधारमा नेतृत्व छनौट प्रक्रिया तथा पदमा रहेकाहरुलाई अवाञ्छनीय प्रभाव पार्ने क्रियाकलाप रोक्न पनि सहकारी क्षेत्रमा राजनीतिक हस्तक्षेप हुनुहुँदैन भनिएको हो । यसमा नजानी नबुझीकनै मेरो पनि केही भूमिका रह्यो भने म माफी चाहन्छु । तर, साकोसहरुको दिगोपनाको विषय यस्ता क्रियाकलापहरुको छायाँमा पर्नुहुँदैन ।

नेपालको साकोस अभियानका चुनौतीहरुमा सुशासन अभाव, राजनीतिक हस्तक्षेप, साँघुरो नियामकीय संरचना, जोखिम व्यवस्थापन चुनौतीहरु, वित्तीय सेवा पहुँचमा सीमितता, सक्षमता अभाव आदि मुख्य हुन् । यी विषय सम्बोधनका लागि सम्वद्ध सबै सरोकारावालाहरुको एकताबद्ध र गम्भीर प्रयास आवश्यक हुन्छ । वित्तीय साक्षरता प्रवर्धन, वित्तीय समावेशिता, सामुदायिक विकास तथा सशक्तिकरणको विषयलाई सँगै अघि बढाउनुपर्छ । 

धेरै साकोसहरुमा भाखा नाघेको ऋण चुनौती बनेको छ ? यसको समाधान के हुन सक्छ ?
यो विषयमा धेरै छलफल हुने गर्छ । साधारणतया साकोसहरुले भाखा नाघेको ऋणलाई सदस्यहरुको समस्या, दोष वा गल्तीकमजोरीको रुपमा लिने गरेका छन् । तर, त्यसो होइन । भाखा नाघेको ऋण संस्थागत चुनौती हो । ऋणको भाखा नाघ्नु साकोसको कमजोरी हो । सही व्यक्ति, सही ऋण रकम, सही परियोजना र सही समयावधिको यथार्यपरक, वैज्ञानिक र वस्तुनिष्ठ विश्लेषण गर्न नसक्दा यो समस्या जन्मन्छ । त्यसैले सही ऋण नीति, सही विश्लेषण औजार, सही ऋण फिर्ता नीति एकदमै महत्वपूर्ण हुन्छ । यी सबै विषयहरु समेटिएको विस्तृत ऋण नीति नभइ स्वस्थ्य ऋण पोर्टफोलियो बन्दैन ।

गतिलो सुपरिवेक्षण, अनुगमन तथा नियमनबिना जनताबाट संकलन गरेको रकम जथाभावी परिचालन गर्न दिदा समस्या आउँछनै । नेपालमा धेरै साकोसहरुबाट  विद्यमान नियामकीय व्यवस्थाहरु पालना भएको छैन्, जुन बचत सुरक्षणको दृष्टिले गम्भीर चासोको विषय हो । कतिपय सहकारीहरुले सदस्यको बचत फिर्ता गर्न असफल भएका छन् तर पनि त्यस्ता साकोसका नेतृत्वलाई कानूनी कारबाहीको दायरामा ल्याइएको छैन । यो विषय संवेदनशील छ । 

नेपालमा एक्सेस स्तरीकरण कार्यक्रमले पुर्याएको प्रभाव कस्तो पाउनुभएको छ ?
एक्सेस स्तरीकरण कार्यक्रमले नेपालका साकोसहरुलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन ठूलो भूमिका खेल्यो भन्ने लाग्छ । संस्थागत सक्षमता, वित्तीय सबलता, सदस्य सन्तुष्टि त छदैछ त्यो भन्दा पर नेपालका साकोसहरु पनि विश्वस्तरमा परिचय स्थापित गर्न सक्षम छन् भन्ने सन्देश दिएको छ । एक्सेसले नेपालमा कम्तिमा २५ वटा ‘‘वर्ल्ड क्लास’ साकोसहरु बनाएको छ । साकोस सञ्चालनका लागि आवश्यक नियामकीय निर्देशनहरु कमजोर भएको अवस्थामा एक्सेसले व्यवस्थापकीय औजार तथा स्वनियमनको समाधान दिएको छ । एक्सेस बिजनेश सोलुसन हो । यो विश्वप्रसिद्ध हावर्ड बिजनेश स्कूलले विकसित गरेको ब्यालेन्स्ड स्कोरकार्डमा आधारित छ । 

बचत तथा ऋण सहकारीहरु सञ्चालनको गाइडलाइनहरु नभएका एशियाली मुलुकहरुलाई लक्षित गरी यो अवलम्बन गरिएको हो । प्रमाणहरुले पुष्टि गरेको छ, एक्सेस लागू गरेका साकोसहरुले कोभिड महामारी र आर्थिक मन्दीका चुनौतीहरुलाई सहज रुपमा सामना गरेका छन् ।

एक्सेस कार्यक्रमकै बारेमा भन्नुपर्दा, कोभिड महामारीका कारण हामीले सन् २०२० र २०२१ मा अन्तिम लेखापरिक्षण गर्न सकेनौं किनकि त्यसबेला सबै साकोसहरुले निक्कै कठिनाई भोग्नुपरेको थियो ।
तर, त्यसपछि पनि हामीले एक्सेस मापदण्डमा कुनै परिवर्तन गरेका छैनौं । भाखा नाघेको ऋण वर्गीकरण, संस्थागत पुँजी, ऋण हानी नोक्सानी व्यवस्था तथा तरलता  सूचक आदिमा कुनै संशोधन वा परिवर्तन गरेका छैनौं । यो बुझ्नु जरुरी छ ।

वास्तवमा हामीले सन् २०२१ मे १ देखि दुईवटा निर्णय लिएका छौं– एउटा भनेको पुँजीको पर्याप्तताको मापदण्ड लागू गर्ने तथा परिशोधन गरिएका सबै ऋणलाई भाखा नाघेको ऋणमा गणना गर्ने । एक दुई वटालाई छोडेर एक्सेस स्तरीकृत अधिकांश साकोसहरुले सन् २०२३ सम्म यो लक्ष्य पूरा गरेनन् तर मलाई विश्वास छ सन् २०२४ भित्र धेरे साकोसहरुले यो लक्ष्य भेट्टाउनेछन् ।

सबै साकोसका व्यवस्थापकहरुले के बुझेका छन् भने एक्सेस मापदण्डका कारण संस्थागत नोक्सानी÷हानी बहन क्षमता बढेको छ किनकि उनीहरुले संस्थागत पुँजी ५ प्रतिशतभन्दा बढी कायम गरेका छन् । महामारी वा वित्तीय संकटको सामना गर्न बलियो संस्थागत पुँजी आवश्यक हुन्छ ।

नेफ्स्कून नेतृत्व र व्यवस्थानप्रति तपाईको धारणाबारे केही बताइदिनुहुन्छ कि ?
म भाग्यमानी यस अर्थमा पनि हो कि नेफ्स्कूनका पूर्व अध्यक्षहरु, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समितिसँगै उच्च व्यवस्थापनसँग धेरै सन्दर्भहरुमा जोडिने मौका पाएँ । यसले मलाई व्यक्तिगत रुपमा र संस्थागत रुपमा अकूलाई फाइदा पुगेको छ । जहाँसम्म नेफ्स्कूनको विकासक्रम छ, सुरुवाती चरणमा नेतृत्वको ध्यान सहकार्य र समन्वयमा बढी थियो तर पछिल्लो चरणमा भने नेतृत्व राजनीतिक गतिविधि र पार्टीको सांगठनिक क्रियाकलापमा अल्झिएको हो कि भन्ने लाग्छ । यो संगीन विषय हो र यसले अन्ततोगत्वा सहकारी अभियानलाई असर गर्छ भन्ने लाग्छ । त्यसैले नेतृत्वका सम्बन्धमा थप नीतिगत स्पष्टता आवश्यक छ । फिट एण्ड प्रपर टेष्ट विधि स्थापित गर्नुपर्छ भन्ने लाग्छ ।

नेफ्स्कूनले सदस्यहरुका लागि के गरिदियोस् भन्ने लाग्छ ?
यसको उत्तर सहज र सरल छ । नेफ्स्कूनको ध्येय स्पष्ट छः सदस्य साकोसहरुको सक्षमता अभिवृद्धि गर्ने । सदस्यहरुको जीवनस्तर उकास्न उनीहरुलाई गुणस्तरीय वित्तीय सेवा प्रवाहको सुनिश्चितता गर्ने । यसका लागि विविध पक्षहरुलाई ध्यानमा राख्नु जरुरी छ । पहिलो विषय नेफ्स्कूनले सदस्य साकोसहरुको संस्थागत सक्षमता, वृद्धि र विकासका आधारमा वर्गीकरण गर्नुपर्छ । जिल्ला संघहरुसँग ‘विनविन’ सम्बन्ध कायम गर्नुपर्छ । सेवा केन्द्र विस्तार र कर्मचारी संख्या वृद्धि भन्दा सञ्जाल सम्बन्ध र समन्वयसँगै गुणस्तरीय सेवा प्रवाहमा जोड दिनुपर्ने हुन्छ । त्यसका लागि कुशल कर्मचारीहरुको कोर टिम आवश्यक पर्दछ । नेफ्स्कूनले प्रदेश र जिल्ला संघ एवम् प्रारम्भिक संस्थाहरु सम्मिलित आफ्नो सञ्जाललाई बलियो बनाउनुपर्दछ । 

अबको १० वर्षमा नेफ्स्कूनलाई तपाई कहाँ देख्नुहुन्छ ?
नेपालको साकोस अभियानको मियो भएका कारण नेफ्स्कूनले नेतृत्वदायी भूमिका निभाउने विश्वास लिएको छु । मुलुकको वित्तीय क्षेत्रको महत्वपूर्ण 'एक्टर'को रुपमा स्थापित एवम् परिपक्व भएको हेर्ने चाहना छ । वित्तीय समावेशिता, सशक्तिकरण तथा सामुदायिक विकासमा यसले वास्तवमै अहम् भूमिका खेलेको हुनेछ भन्ने विश्वास लिएको छु । खासगरी वित्तीय पहुँच अभिवृद्धि, वित्तीय साक्षरता दर वृद्धि, प्रविधि एकरुपता, बलियो सुशासन तथा नियमन, सेवा विविधिकरण तथा सहकार्य साझेदारीमा नेफ्स्कूनले उल्लेख्य प्रगति गर्ने विश्वास लिएको छु । त्यसबाहेक सदस्यता वृद्धि पनि फराकिलो हुने ठानेको छु ।

नेपाली साकोस अभियानसँग जोडिएका कुनै अविस्मरणीय घटना याद आउँछ तपाईलाई ? 
अकूमा आवद्ध हुनु पूर्वको एउटा घटना सम्झन चाहन्छु । अन्तर्राष्ट्रिय तालिम कार्यक्रमहरु चलाउँथेँ । त्यस्ता तालिमहरुमा सहज बसाइँहरु हुन्थे । तर, पहिलो पटक नेपाल आउँदा केही फरक पाएँ ।
केन्द्रीय संघहरुले उपलब्ध गराउने लजिष्टिक सुविधाहरुभित्र रहनुपर्ने कडा नीति अकूको थियो । जसले गर्दा गर्दा व्यक्तिगत इच्छा चाहनाहरु त्यागनु पर्दथ्यो। काठमाडौंमा विमानस्थल ओलर्ने वित्तिकै मलाई नेफ्स्कूनका प्रतिनिधिले हार्दिकतापूर्वक फुलको गुच्छाले स्वागत गर्नुभयो । त्यो स्वागतले केही उत्साह सञ्चार गर्यो । तर, जब होटल पुगेँ अवस्था फरक थियो । वातानुकूलित कोठा अनि होटलको न्यानो आतिथ्यताको स्वाभाविक अपेक्षा गरेको थिएँ तर कोठा व्यवस्था नभएर केही समय अलमल भयो ।

होटलको पछाडि भागमा किचन नजिक कोठा थियो । त्यहाँ अट्याच बाथरुम थिएन । भोलिपल्ट बिहान ठन्डीमा शौचालय प्रयोग गर्नुपर्दा नयाँ परिवेशले मलाई केही झट्का दियो । केही असहजताबीच तालिम कार्यक्रम सकेँ । यद्यपि, त्यो अनुभवले मलाई अनुकूल क्षमता तथा सहनशीलतासम्बन्धमा राम्रो शिक्षा पनि दियो । 

सुरुको त्यो अहसजताले पछि मलाई भिन्न परिवेश र परिस्थितिअनुसार आफूलाई ढाल्न सिकायो । त्यसमा नेफ्स्कूनको गल्ती होइन, त्यो बेलाको अवस्था र परिस्थिति नै त्यस्तै थियो । खाली मलाई नयाँ लागेको मात्र हो । जीवनमा आइपर्ने यस्ता धेरे असहजता र कठिनाइलाई सकारात्मक रुपमा लिइ सामना गर्ने आत्मबल र तयारी मैले बढाएँ । त्यो घटनाले मलाई मेरो कर्म र प्रतिबद्धताहरुप्रति झनै कठोर बनी अविचलित अघि बढ्ने प्रेरणा र उर्जा दियो ।

 

तपाईले अकूसँग कहिले र कसरी आवद्ध हुनुभयो ?
अकूमा आवद्ध हुनुअघि मैले क्रेडिट युनियनबारे श्रीलंकामा धेरथोर बुझ्ने मौका पाएको थिएँ । राष्ट्रिय सहकारी परिषद् तथा स्वीडीस कोअपरेटिभ सेन्टरसँगको सहकार्यमा अन्तर्राष्ट्रिय सहकारी महासंघले कोअप् टिचर्स ट्रेनिङ परियोजना सञ्चालन गरेको थियो । त्यहीबेला मैले सहकारी मूल्य, मान्यता, सिद्धान्त, अभ्यासआदि बारे बुझ्ने मौका पाएँ । त्यसबाहेक मैले भारतका १४ वटा राज्य भ्रमण गरी सहकारी सिद्धान्तको गहिराइमा पौडीने मौका पाएँ । 

सन् १९८३ मा उक्त परियोजनाबाट राजीनामा दिएँ र श्रीलंकाली बचत तथा ऋण सहकारीहरुको केन्द्रीय संघ सानसा फेडेरेशनको पहिलो महाप्रबन्धक बनेँ । बचत तथा ऋण सहकारीमा मेरो प्रवेश सन् १९७८ तिर भएको हो जतिबेलामा एउटा क्रेडिट युनियनमा स्वयंसेवीरुपमा काम गर्दथेँ । त्यहाँ तालिमहरु सञ्चालन गर्दथेँ । दुई वर्ष त्यहाँ काम गरी केन्द्रीय संघ (सानसा फेडेरेशन) गठनमा भूमिका पनि खेलेँ ।

सानसा फेडेरेशनमा व्यवस्थापक भएर काम सुरु गर्दा अरु कर्मचारी तथा कार्यालय व्यवस्थापन केही थिएन । सानसा फेडेरेशनको कुल सम्पत्ति २ हजार अमेरिकी डलर मात्र थियो । तर, अध्यक्ष, सञ्चालक समिति तथा सहकारी अभियन्ताहरुको सहयोगमा मैले व्यावसायिक सीप सहितको समूह तयार पारे जसले सानसाको ब्राण्ड तयार गर्न सहयोग गर्यो । त्यसपछि सानसा श्रीलंकाभर वित्तीय सशक्तिकरणको पर्याय बन्यो । खासगरी वित्तीय पहुँच नपुगेका समुदायमा यसको भूमिका प्रभावकारी देखियो । गरिबी निवारण तथा ग्रामीण वित्त सम्बन्धी सरकारी योजना कार्यान्वयनमा यसले काम गर्यो । यसका लागि सानसा फेडेरेशनले ८ हजार ग्रामीण बचत तथा ऋण सहकारीमा आवद्ध ८ लाख सदस्यहरुको विश्वास जित्दै काम गर्यो ।

सानसा फेडेरेशनले हासिल गरेको त्यो सफलतामा क्यानेडियन कोअपरेटिभ एशोसिएसन (सीसीए), विश्व ऋण परिषद्, स्वीस इन्टर कोअपरेशन, कम्युनिटी एड अब्रोड अष्ट्रेलिया लगायतको सहयोग मैले बिर्सन हुँदैन । उनीहरुकै सहयोगमा सानसाले २६ जिल्लामा ७६८१ सानसा युनिटहरु स्थापना गर्ने तथा २६ मिलियन अमेरिकी डलरको कुल सम्पत्ति पुर्याउने सफलता प्राप्त गर्यो । 

त्यस्तै, युनिभर्सिटी अफ म्यानचेष्टरसँगको सहकार्यमा सानसाले गरिब पहिचान कार्यक्रम सञ्चालन गरेको थियो । सोही कार्यक्रममा मेरो भूमिकाकै कारण उक्त युनिभर्सिटीबाटै छात्रवृत्तिमा स्नातकोत्तरको अवसर पाएँ । त्यस्तै, मैले क्यानाडाको कोडीबाट कोरिया, थाइल्याण्ड तथा फिलिपिन्सको सहकारी मोडलबारे थप अध्ययन अवसर पाएँ । यीनै कारणहरुको बलमा अन्तर्राष्ट्रिय निकायसँग काम गर्ने मेरो उत्कट चाहना सन् १९९२ मा पूरा भयो जब म एशियाली ऋण महासंघ (अकू) सँग जोडिएँ । त्यसबेला अकूले क्यानेडियन कोअपरेटिभ एशोसिएसनसँगको सहकार्यमा एशियाली बचत तथा ऋण सहकारीहरुका लागि संस्थागत विकास परियोजना सञ्चालन गर्यो । सन् १९९३ को जनवरीमा म उक्त परियोजनाको वित्तीय सल्लाहकारको रुपमा छानिएँ । यसरी मेरो जीवनको नयाँ अध्ययाय सुरु भयो ।

अकूको प्रमुख कार्यकारी अधिकृत बनेपछिका गतिविधिबारे केही बताइदिनुहुन्छ कि ?  
वित्तीय सल्लाहकारको रुपमा अकूमा आवद्ध भएपछि मैले सहकारी सिद्धान्त र सञ्चालन अभ्याससँगै खासगरी बचत तथा क्रण सहकारीहरुको सञ्चालन पद्धतिसम्बन्धी गहिरो अध्ययन भित्राएँ । यसका लागि मसँग अन्तर्राष्ट्रिय सहकारी अभियानको अध्ययन, अनुसन्धान, तालिमसँगै श्रीलंकामा ग्रामीण बैंक तथा गरिबी निवारण कार्यक्रमसँग जोडिएर पिछडिएका समुदायहरुसँग नजिकबाट काम गरेको अनुभव थियो । मैले अकूमा बङ्गलादेश, पाकिस्तान, नेपाल, श्रीलंका र भारत लगायत दक्षिण एशियाली मुलुकहरुमा युवा लक्षित कार्यक्रमहरुमा जोड दिएँ । काम गरेको एक वर्षभित्रै ओकू सञ्चालक समितिले मेरो क्षमता र लगनशीलता देखेर मलाई सन् १९९३ नोभेम्बरमा कार्यबाहक प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्यो । पछि, १९९४ अप्रिलमा म प्रमुख कार्यकारी अधिकृत नियुक्त भएँ ।

अकूको व्यवस्थापन समूहभित्र बसेर काम गर्दा हामीले मुलुकको विकासको अवस्थालाई ध्यानमा राखेर सदस्य संघ संस्थाहरुको आवश्यकता पहिचान गर्यौं जसले गर्दा हामीलाई वस्तु तथा सेवा विकासमा सहयोग पुग्यो । प्रभावकारी सञ्चार तथा समन्वयको बलमा हामीले सीसीए, एग्रिटेरा, राबो बैंक लगायत विभिन्न वकास साझेदारहरुबाट सहयोग प्राप्त गर्यौं । यसले हामीलाई सदस्यहरुको विकासमा  काम गर्न आर्थिक सहयोग मिल्यो । त्यसबेला मलाई सहयोग गर्ने अकू सञ्चालक समिति, व्यवस्थापन समूह तथा सदस्य संघसंस्थाहरु प्रति सधै आभारी रहनेछु । सबैको साथ सहयोग बिना अकू आजको बलियो स्थितिमा आइपुग्दैन थियो । अकू केवल क्रियाकलाप र गतिविधिहरु केन्द्रीत मात्र नभई सबल र सुदृढ एशियाली क्रेडिट युनियन अभियान बनाउने लक्ष्यसाथ अघि बढेको छ । समयक्रममा ओकूले आफूलाई सबैभन्दा दिगो र विश्वासिलो एशिया प्रशान्त क्षेत्रीय सहकारी संगठनका रुपमा विकास गरेको छ जसलाई विश्व क्रेडिट युनियन अभियानले पनि स्वीकारेको छ । १६ नियमित सदस्य, १ सय बढी सहयोगी सदस्यसँगै अफिलिएट तथा एशोसिएट सदस्यहरुको बलमा अकू दिनानुदिन आफ्नो लक्ष्यतर्फ अघि बढिरहेको छ ।

अबको १० वर्षमा हामी अकूलाई कहाँ पाउँनेछौ ? 
म अकूमा आवद्ध भएको ४३ बर्ष भएछ जसमध्ये प्रत्यक्ष संलग्नता ३२ वर्ष पुग्यो । यतिञ्जेल काम गरिसकेपनि मलाई पछिल्लो समय अलि बढी नै चिन्ता र चासो हाम्रो सदस्य सञ्जालभित्र अपनत्वको भावना विकसित गराउने विषयप्रति भैरहेको छ । यो अकूको लागि प्रमुख चुनौती पनि हो । क्रेडिट युनियन अभियानको नेतृत्वहरुमा अूक क्षेत्रीय अभिभावक हो, छाता संगठन हो र  बेञ्चमार्क निकाय हो भनेर निष्ठा भाव जागृत गराउने विषय चुनौतीपूर्ण हो भन्ने लाग्छ । 

मैले बुझेको विषय के हो भने, व्यावसायिक सक्षमतासँगै बलियो सुशासन सीप भएका व्यक्तिहरु पाउन कठिन छ । अभियानका अधिकांश नेतृत्व पद पाएकोमा खुसी त छन् तर उक्त पदसँगै आउने जिम्मेवारीबोध भने उनीहरुमा छैन । अकूको लिगेसी र यसको दिगोपनाको कुरा गर्दा आगामी दशकका लागि हाम्रो भूमिकाका विषयमा पनि गम्भीर बहस चलाउनु जरुरी छ भन्ने लाग्छ । प्रविधि हाम्रो भविषयको सफलताको साँचो बन्नेछ । अकूले सदस्यहरुको आवश्यकता सम्बोधन गर्ने ३५ वटा विजनेश सोलुसन विकास गरेको छ । तर दुःखका साथ भन्नुपर्छ, अधिकांश सदस्य केन्द्रीय संघहरु यस भित्र पसेका छन् । यी सोलुसनहरु सतही रुपमा हेर्ने मात्र काम भएको छ । ३५ मध्ये ५ प्रतिशत भन्दा कम मात्र आफ्नो सञ्जालभित्र प्रयोगमा ल्याएका छन् । उपयोगिताको यो खाडल कम गरी सबैले यिनको प्रयोग बढाउनु आवश्यक छ । अकूको सान्दर्भिकता र प्रभावकारितासँग पनि यी बिजनेश सोलुसनको उपयोगिता जोडिएको छ भन्ने मलाई लाग्छ ।
 
क्रेडिट युनियन अभियानको विकासका दृष्टिले तपाईलाई प्रभाव पारेको मुलुक कुन हो ?
यही अभियानको सिलसिलामा म ५४ वटा देश पुगेँ र अनुभव बटुलेँ । सन् १९८८ मा तीन साताका लागि दक्षिण कोरिया गएको थिएँ । त्यहाँको अभियानबाट म बढी प्रभावित भएँ । खासगरी त्यहाँको नेतृत्व कौशलबाट । सधै सदस्यहरुलाई केन्द्रमा राखेर विषयहरु उठाउने, बहस गर्ने, रणनीतिहरु बनाउने काममा नेतृत्वको उदाहरणीय भूमिका पाएँ ।

तपाई क्रेडिट युनियन नेतृत्वका लागि प्ररेणााको श्रोत हुनुहुन्छ ? तपाईको सफलताको मन्त्र के हो ? सफलता प्राप्तिको लागि केही सुझाव छन् कि ?
आधारभूत रुपमा नेतृत्व भनेको आफूसँग आवद्ध मानिसहरुको जीवनमा मूल्य थप गर्ने क्षमता हो जसले ती व्यक्तिहरुलाई अझै राम्रो गर्न प्रेरणा थप्छ । सफलताका लागि तपाई आफ्ना मूल्य मान्यताहरुमा अडिग रही वस्तुनिष्ट अवधारणा विकास गर्न सफल हुनुपर्दछ । एउटा साँचो नेतृत्वले हरेक विषयलाई सधै सकारात्मक दृष्टिकोणले ग्रहण गर्छ र व्यक्तिगत हितलाई त्यागेर सामूहिक हितका लागि काम गर्छ । क्षणिक उपलब्धिमा उ रमाउँदैन बरु दिगो सफलताको लागि प्रयत्नशील रहन्छ । आफ्नो वा संस्थागत लक्ष्यहरु प्राप्तिमा जोडिन सधै अरुलाई प्रोत्साहन गर्छ । त्यही भएर म साकोस अभियानका सबै नेतृत्व (सञ्चालक समिति र व्यवस्थापन) लाई बुटक्याम्पमा सहभागी हुन र त्यहाँ सिकेका कुरा नित्य प्रयोगमा ल्याउन विशेष आग्रह गर्छु । अरुबाट सिक्नु वा प्रेरणा लिनु राम्रो हो तर पृथक नेतृत्वका लागि सधै अनुसरण सही तरिका नहुनसक्छ । आफ्नो विशिष्ट शैली आफैले निर्माण गर्ने हो । तपाईको त्यो ‘एक्स फ्याक्टर’ नै अर्थपूर्ण प्रभाव र नौलो दृष्टिकोण निर्माणमा सहयोगी बन्दछ।

व्यक्तिगत पाटो

तपाइको पारिवारिक पृष्ठभूमिबारे केही बताइदिनुहुन्छ कि ?
मेरो जन्म सन् १९४९ मा श्रीलंकाली राजधानी भन्दा १ सय ६० किलोमिटर टाढा मातारा भन्ने ठाउँमा भएको हो । मध्यम आर्थिक अवस्था भएको हाम्रो परिवार हो । पिता सरकारी सेवामा हुनुहुन्थ्यो भने आमा गृहिणी । हामी ५ छोरा र १ छोरी छौं । म परिवारको जेठो सन्तान हुँ । आफ्नै उद्यम गर्ने एक जना बाहेक सबै भाइ तथा बहिनी सरकारी सेवामा छन् ।

बाल्यकालका केही सम्झना छन् कि ? 
हामीसँग धान खेत थियो । त्यसैगरी, दालचिनी खेती पनि थियो । म परिवारको जेठो भएका कारण परिवारप्रतिको उत्तरदायित्व बोध गर्दै मातापितालाई सहयोग गर्नुपर्छ भन्ने धारणा राख्थेँ । त्यही अनुसार खेतबारी देखि घरमा काम पनि गर्थेँ । अतिरिक्त क्रियाकलापहरुमा सहभागी हुन्थेँ । धेरै समय मन्दिरमा बिताउँथेँ । 

मैले मातारामा दुई वटा विद्यालयमा पढेँ । मसँग विद्यालय समयमका थुप्रै स्मरणहरु ताजै छन् । म कक्षामा सर्वोत्कृष्टै नभएपनि उत्कृष्ट अंकप्राप्त गर्ने विद्यार्थीमा सधै पर्दथेँ । एक दिनको घटना हो, साथीहरु मिलेर चलचित्र हेर्न जाने इच्छा भयो । त्यसको लागि बहाना चाहिन्थ्यो । त्यही भएर म र अर्को एक साथीले आफ्नो पिता बनेर दुबैको हजुरआमाको दाहसंस्कारमा सहभागी हुनुपर्ने भएकाले छुट्टी दिलाइदिनुहुन भनी  प्रधानाध्यापकलाई पत्र लेख्यौं । वास्तवमा, ती दुबै पत्रको हस्तलेखन एउटै  थियो । प्रधानाध्यापकले पत्ता लाइहाल्नुभयो । त्यसपछि उहाँले भोलिपल्ट बुबासहित उपस्थित हुन निर्देशन दिनुभयो । अब फसाद पर्यो । त्यसपछि फेरि जुक्ति लगाएर मैले अर्को एक व्यक्तिलाई बुबा बनाएर लगेँ । जब प्रधानाध्यापकले केही प्रश्नहरु गर्नुभयो, मेरो बुबा बनेको व्यक्तिले पत्यारिलो उत्तर दिनुभएन । त्यसपछि सबै थाहा भयो । मलाई एक साताका लागि विद्यालयबाट निलम्बन गरियो । पछि बुबा आफै आएर प्रधानाध्यापकसँग कुरा गरेपछि त्यो विषय मत्थर भयो । यस्ता थुप्रै घटना छन् । तर पनि म म पढाइ र खेलकुदमा अब्बल थिएँ ।

विवाह र सन्तानहरुबारे केही बताइदिनुहुन्छ कि ?
मेरो प्रेम विवाह भएको थियो । हामी दुबै एउटै विश्वविद्यालयमा अध्ययन गर्थ्यौं तर उनी म भन्दा जुनियर थिइन् । विश्वविद्यालयमा ३ वर्ष हामीसँगै भयौं । त्यसपछि अर्को ४ वर्ष एक अर्कालाई बुझेपछि विवाह गर्यौं । मेरी श्रीमती विद्यालय शिक्षिका थिइन् । उनी हाल अवकाश जीवन बिताइरहेकी छिन् । दुई छोराहरु आफ्नो पेशामा आवद्ध छन् । एक जना प्रविधि क्षेत्रमा काम गर्छ अर्को उच्च शिक्षा अध्ययनरत छ ।

तपाईले पहिलो तलब कति थियो ?
मेरो पहिलो जागिर सहकारी व्यवस्थापक थियो । त्यसबेला मेरो तलब मासिक करिब २५ डलर थियो जुन २ सय श्रीलंकाली रुपैयाँ बराबर थियो । त्यसअघि, क्याम्पस पढ्दा मैले फलफूल बेच्ने तथा हस्तकलाका सामानहरु समेत बेच्ने काम गरेँ । 

अरुलाई बचत गर्न प्रेरित गर्ने तपाईको बचतको बानी भने कस्तो छ ? 
मलाई बचतको महत्व थाहा छ । त्यही भएर मैले आफ्नो कमाईको केही अंश बचत गरेको थिएँ । यसलाई मैले वित्तीय अनुशासनको अभ्यासको रुपमा लिएको थिए । तर, भन्नुपर्ने हुन्छ, म सहकारीमा बचत गर्दथेँ तर मलाई पनि त्यो सहकारीले ठग्यो । मैले सहकारीमार्फत करिब ५० हजार अमेरिकी डलर गुमाएँ । त्यही भएर म अहिले बढी नै सचेत भएको छु दुःखको कमाइ कहाँ कसरी बचत गर्ने वा लगानी गर्ने भनेर ।

तपाईको कमजोरी के हो ?
कहिलेकाही म चाँडै अरुप्रति प्रलोभित हुन्छु । उनीहरुको कपटपूर्ण बानी चिन्न समय लाउँछु । यो प्रवृत्ति चुनौती पनि हो मेरा लागि ।

कत्तिको धार्मिक हुनुहुन्छ ?
म सबै धर्मलाई सम्मान गर्छु । धार्मिक आस्था राख्छु । तरपनि, मेरो जीवन सरल छ अनि म यथार्थमा बढी आस्थावान छु ।

फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
मलाई गाडी चलाएर घुम्न जान मनपर्छ । समय मिल्ने बित्तिकै म गइहाल्छु ।  त्यस्तै, ‘एक्शन जर्न’ का चलचित्रहरु म रुचाउँछु । भ्रमणमा रुचि भएको म कामकै सिलसिलामा ५४ वटा मुलुक पुगेँ । तीमध्ये जापानको साँस्कृतिक र प्राकृतिक वैभवबाट बढीनै प्रभावित छु ।

खाना पकाउन रुचि राख्नुहुन्छ ?
सामान्य खानेकुरा पकाउँछु तर म ‘सेफ’ होइन । मलाई भिन्न परिकारहरुको स्वाद लिन मन लाग्छ तर खानामा विशेष सोख केही छैन ।

जनावरप्रति तपाईको लगाव छ कि ?
हुनत जनावरहरुलाई घृणा गर्ने व्यक्ति म होइन तथापि मानवीय सम्बन्धहरुलाई बढी प्राथमिकतामा राख्छु ।

सामन्यतया तपाईको दैनिकी कस्तो हुन्छ ?
म बिहान ५ बजे उठ्छु । केहीबेर व्यायाम गर्छु र पत्रपत्रिका पढ्छु । दिनभर काममा व्यस्त रहन्छु र बेलुकी चलचित्रहरु हेरेर र ध्यान गरेर शरिर र मस्तिष्कलाई आराम प्रदान गर्छु ।

बाल्यकालमा तपाईको रुचि के थियो र समयक्रममा त्यो परिवर्तन भयो कि भएन ?
बाल्यकालमा म सामाजिक क्रियाकलापहरुमा बढी जोडिन्थेँ । दानदातव्यमा पनि रुचि राख्थेँ । हुनत अहिले पनि यी कुराहरुलाई म महत्व दिन्छु तर मेरा रुचिहरु समयक्रममा परिवर्तन भएका छन् । 

सेवा निवृत्त जीवनको योजना के छ ?
सेवा निवृत्त भएपछि आफ्नै मुलुक श्रीलंकाको सहकारी अभियानसँग स्वयंसेवी रुपमा जोडिने योजना छ । यस्तै, बालसखा, विद्यालय, क्याम्पस तथा विश्वविद्यालयका साथीभाईहरुसँग पुनः घनिष्ठ रुपमा जोडिने सोच बनाएको छु । अहिले कामले गर्दा यी सम्बन्धहरु ‘स्याडो’ मा परेका छन् ।

भर्खरै
नेफ्स्कून र नवोदय साकोसबीच ‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
नेफ्स्कून र नवोदय साकोसबीच ‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

मकवानपुर स्थित नमुना प्रगती साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
मकवानपुर स्थित नमुना प्रगती साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

पर्सा स्थित विरगंज साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
पर्सा स्थित विरगंज साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिनभित्र ऋण तिर्न चेतावनी
समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिनभित्र ऋण तिर्न चेतावनी

१ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरीवेक्षण सम्पन्न 

१ दिन अगाडि

कृषि पेशामा संलग्न सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
कृषि पेशामा संलग्न सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

१ दिन अगाडि

मकवानपुर स्थित सञ्जीवनी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
मकवानपुर स्थित सञ्जीवनी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

वारा स्थित संगालो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
वारा स्थित संगालो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिनभित्र ऋण तिर्न चेतावनी
समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिनभित्र ऋण तिर्न चेतावनी

१ दिन अगाडि

पर्सा स्थित विरगंज साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
पर्सा स्थित विरगंज साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

चितवन स्थित आदर्श समाज साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
चितवन स्थित आदर्श समाज साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

७ दिन अगाडि

मकवानपुर स्थित सञ्जीवनी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
मकवानपुर स्थित सञ्जीवनी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

दोलखामा व्यवसाय विकास सेवा (BDS) कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
दोलखामा व्यवसाय विकास सेवा (BDS) कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

४ दिन अगाडि

कास्की स्थित हितैषी साकोसको स्थलगत सुपरिवेक्षण 
कास्की स्थित हितैषी साकोसको स्थलगत सुपरिवेक्षण 

५ दिन अगाडि

बैतडी स्थित जगन्नाथ महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
बैतडी स्थित जगन्नाथ महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

५ दिन अगाडि

नयाँपाटी साकोसद्वारा “Excellence Mindset;Transforming HR Performance" तालिम सम्पन्न
नयाँपाटी साकोसद्वारा “Excellence Mindset;Transforming HR Performance" तालिम सम्पन्न

१८ दिन अगाडि

पाठकबाट थप