काठमाडौं । नेपालको बचत तथा ऋण सहकारी अभियानका असल अभ्यास, संस्थागत सञ्चालन तथा व्यवस्थापन प्रणालीको अध्ययन अवलोकनका लागि नेपाल आएको बंगलादेशको द को-अपरेटिभ क्रेडिट युनियन लिग अफ बंगलादेश लिमिटेड (CCULB) को २० सदस्यीय प्रतिनिधिमण्डलले आफ्नो ३०औँ नेपाल अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको छ। एक साताको भ्रमणका क्रममा टोलीले नेपालका नौवटा बचत तथा ऋण सहकारी संस्था (साकोस), सहकारी रजिष्ट्रारको कार्यालय तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को अध्ययन अवलोकन गरेको हो।
नेपाल र बंगलादेशका सहकारी अभियानबीच नियमित रूपमा हुँदै आएको पारस्परिक अध्ययन अवलोकन कार्यक्रमअन्तर्गत नेपाल आएको प्रतिनिधिमण्डलमा बंगलादेशको सहकारी मन्त्रालयका उच्च अधिकारी, सहकारी विभागका रजिष्ट्रार, CCULB का सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलगायत प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
भ्रमणको उद्देश्य नेपालका सहकारी संस्थाहरूले अवलम्बन गरेका सदस्यकेन्द्रित वित्तीय सेवा, संस्थागत सुशासन, व्यवस्थापन प्रणाली, प्रविधिको प्रयोग तथा संस्थागत विकासका अभ्यासहरूबारे प्रत्यक्ष जानकारी हासिल गर्नु र दुई देशका सहकारी अभियानबीच अनुभव तथा असल अभ्यास आदानप्रदान गर्नु रहेको थियो।
अध्ययन अवलोकन भ्रमणका क्रममा प्रतिनिधिमण्डलले दोलखाका जनसचेतन बचत तथा ऋण सहकारी संस्था, जनमुखी बचत तथा ऋण सहकारी संस्था, मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था र हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको भ्रमण गरेको थियो।
त्यसैगरी काभ्रेपलाञ्चोकका आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था, ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था र श्री नवदुर्गा बचत तथा ऋण सहकारी संस्था, भक्तपुरको सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्था तथा काठमाडौंको नेचुरल बचत तथा ऋण सहकारी संस्थाको अध्ययन अवलोकन गरिएको थियो।
भ्रमणका क्रममा टोलीले विभिन्न साकोसका संस्थागत अभ्यास, सदस्य सेवा, बचत तथा ऋण कारोबारको व्यवस्थापन, वित्तीय तथा गैरवित्तीय सेवा र सहकारी सञ्चालनका विविध पक्षबारे जानकारी आदानप्रदान गर्ने अवसर प्राप्त गरेको थियो। फरक भौगोलिक क्षेत्र र संस्थागत पृष्ठभूमि भएका साकोसहरूको अवलोकनले नेपालका प्रारम्भिक सहकारी संस्थाहरूको सञ्चालन पद्धति तथा सदस्यसँगको सम्बन्धबारे बुझ्ने अवसर प्रदान गरेको छ।
अवलोकन गरिएका संस्थाहरूले बचत तथा ऋण सेवाका अतिरिक्त सदस्य शिक्षा, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व, डिजिटल सेवा तथा संस्थागत क्षमता विकासका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्। जनसचेतन साकोसले सदस्य सुरक्षा, शिक्षा तथा तालिम र डिजिटल वित्तीय सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ भने मिलिजुली कालिञ्चोक साकोसले बचत, ऋण, विप्रेषण, बीमा तथा डिजिटल सेवा उपलब्ध गराउँदै आएको छ।
त्यस्तै, काभ्रेपलाञ्चोकका आर्थिक विकास मित्र, ज्योति मिर्मिरे सामूहिक तथा श्री नवदुर्गा साकोसका संस्थागत अभ्यासमा बचत तथा ऋण सेवा, सदस्य हितका कार्यक्रम, संस्थागत व्यवस्थापन र प्रविधिमैत्री सेवाका पक्षहरू समेटिएका छन्। भक्तपुरको सिद्धिगणेश साकोसले पनि वित्तीय सेवासँगै सदस्यहरूको क्षमता विकास, सीपमूलक कार्यक्रम तथा प्रविधिको प्रयोगलाई आफ्नो संस्थागत अभ्यासमा समावेश गर्दै आएको छ।
दोलखाका जनमुखी र हाम्रो जनकल्याण साकोस तथा काठमाडौंको नेचुरल साकोसको अवलोकनले समेत टोलीलाई नेपालको सहकारी अभियानमा सञ्चालन भइरहेका विभिन्न संस्थागत अभ्यासबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरेको छ।
प्रतिनिधिमण्डलले काठमाडौंस्थित सहकारी रजिष्ट्रारको कार्यालयमा समेत भ्रमण तथा अन्तरक्रिया गरेको थियो। भ्रमणले नेपालको सहकारी नियमन, संस्थागत सञ्चालन र सहकारी क्षेत्रको प्रशासनिक तथा नियामकीय अभ्यासबारे जानकारी आदानप्रदान गर्ने अवसर प्रदान गरेको छ।
दुई देशका सहकारी क्षेत्रका सरकारी तथा नियामकीय निकायसँग सम्बन्धित प्रतिनिधिहरूको सहभागिताले सहकारी संस्थाहरूको विकाससँगै नियमन तथा संस्थागत व्यवस्थापनका अनुभव आदानप्रदानलाई पनि भ्रमणको महत्वपूर्ण पक्ष बनाएको छ।
अध्ययन अवलोकन भ्रमणको अन्तिम दिन २०८३ मंसिर २ गते प्रतिनिधिमण्डलले नेफ्स्कूनको भ्रमण गरी संघको नेतृत्व तथा उच्च व्यवस्थापन टोलीसँग भेटघाट गरेको थियो।
भेटघाट कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष शान्ति अधिकारी, महासचिव घनश्याम अधिकारी, सञ्चालकहरू मन्दरा मिश्र, गोपालप्रसाद गौतम, खेमराज सुवेदी र वीरबहादुर रावत भोटे, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा तथा उच्च व्यवस्थापन टोलीका सदस्यहरूको सहभागिता रहेको थियो।
भेटघाटका क्रममा नेपाल र बंगलादेशबीचको सहकारी सम्बन्ध, संस्थागत अनुभव आदानप्रदान तथा दुई केन्द्रीय सहकारी संघबीचको सहकार्यलाई निरन्तरता दिने विषयमा संवाद गर्ने अवसर प्राप्त भएको थियो। नेफ्स्कून र CCULB बीच आपसी सद्भाव तथा संस्थागत सम्बन्धको प्रतीकस्वरूप मायाको चिनो आदानप्रदान गरिएको थियो भने नेफ्स्कूनका तर्फबाट भ्रमणमा सहभागी सबै प्रतिनिधिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।
नेफ्स्कून र CCULB बीच सहकारी क्षेत्रका असल अभ्यास, ज्ञान तथा संस्थागत अनुभव आदानप्रदानका लागि लामो समयदेखि पारस्परिक अध्ययन अवलोकन भ्रमण हुँदै आएको छ। यस सहकार्यअन्तर्गत प्रत्येक वर्ष बंगलादेशबाट सहकारी प्रतिनिधिमण्डल नेपाल आउने तथा नेपालबाट सहकारी प्रतिनिधिहरू बंगलादेश जाने अभ्यास रहेको छ।
यस वर्षको ३०औँ अध्ययन अवलोकन भ्रमणले नेपालका नौवटा प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था, सहकारी रजिष्ट्रारको कार्यालय तथा नेफ्स्कूनका संस्थागत अभ्यासलाई बंगलादेशी प्रतिनिधिमण्डलसँग जोड्दै पारस्परिक सिकाइ र अनुभव आदानप्रदानको अवसर प्रदान गरेको छ।
नेपाल र बंगलादेशका सहकारी अभियानबीचको नियमित सहकार्यले सहकारी संस्थाहरूको व्यवस्थापकीय क्षमता अभिवृद्धि, सदस्यकेन्द्रित सेवाको विकास, असल अभ्यासको आदानप्रदान तथा अन्तर्राष्ट्रिय सहकारी सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
२४ घण्टा अगाडि
३ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
१४ दिन अगाडि
१५ दिन अगाडि
१६ दिन अगाडि
१६ दिन अगाडि
२० दिन अगाडि
२१ दिन अगाडि
२० दिन अगाडि
१९ दिन अगाडि
१७ दिन अगाडि
७६ दिन अगाडि
५४ दिन अगाडि
८२ दिन अगाडि