काठमाडौं । नेपालको सहकारी अभियानको अध्ययन अवलोकनका लागि नेपाल भ्रमणमा रहेको बंगलादेशको द को-अपरेटिभ क्रेडिट युनियन लिग अफ बंगलादेश लिमिटेड (CCULB) को २० सदस्यीय प्रतिनिधिमण्डलले आज २०८३ मंसिर २ गते नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को भ्रमण गरेको छ।
CCULB को ३०औँ अध्ययन अवलोकन भ्रमण (Exposure Visit) अन्तर्गत नेपाल आएको प्रतिनिधिमण्डलले नेफ्स्कूनको नेतृत्व तथा व्यवस्थापन टोलीसँग भेटघाट गरेको हो। नेपाल र बंगलादेशबीचको सहकारी सम्बन्ध, पारस्परिक अनुभव आदानप्रदान तथा संस्थागत सहकार्यका दृष्टिले यस भ्रमणलाई महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।
भेटघाट कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष शान्ति अधिकारी, महासचिव घनश्याम अधिकारी, सञ्चालकहरू मन्दरा मिश्र, गोपालप्रसाद गौतम, खेमराज सुवेदी र वीरबहादुर रावत भोटेको उपस्थिति रहेको थियो।
त्यसैगरी नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा तथा उच्च व्यवस्थापन टोलीका सदस्यहरूको समेत सहभागिता रहेको थियो। कार्यक्रममा CCULB को अध्ययन अवलोकन भ्रमणमा सहभागी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नेपाल र बंगलादेशका सहकारी अभियानका प्रतिनिधिहरूबीचको यस भेटघाटले दुवै देशमा विकसित सहकारी अभ्यास, संस्थागत अनुभव र सहकारी सञ्जालबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने अवसर प्रदान गरेको छ।
नेफ्स्कून र CCULB बीच सहकारी क्षेत्रको ज्ञान, सीप तथा संस्थागत अभ्यास आदानप्रदानका लागि नियमित रूपमा पारस्परिक अध्ययन अवलोकन भ्रमण हुँदै आएको छ। यसअन्तर्गत बंगलादेशबाट सहकारी प्रतिनिधिमण्डल नेपाल आउने तथा नेपालबाट पनि सहकारी प्रतिनिधिहरू बंगलादेश जाने अभ्यासले निरन्तरता पाउँदै आएको छ।
यस वर्षको एक साताको अध्ययन अवलोकन भ्रमणअन्तर्गत CCULB प्रतिनिधिमण्डलले नेपालका विभिन्न बचत तथा ऋण सहकारी संस्थाहरूको स्थलगत अध्ययन अवलोकन गर्ने कार्यक्रम तय गरेको थियो। भ्रमणले सहकारी संस्थाहरूको सञ्चालन, व्यवस्थापन तथा सदस्यकेन्द्रित सेवासम्बन्धी अभ्यासबारे जानकारी आदानप्रदान गर्ने अवसर प्रदान गरेको छ।
दुवै देशका केन्द्रीय सहकारी संघबीचको यस्तो सहकार्यले सहकारी अभियानको संस्थागत विकास, क्षमता अभिवृद्धि तथा असल अभ्यासको आदानप्रदानलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
भेटघाटका अवसरमा नेफ्स्कून र CCULB बीच आपसी सद्भाव तथा संस्थागत सम्बन्धको प्रतीकस्वरूप मायाको चिनो आदानप्रदान गरिएको थियो। साथै नेफ्स्कूनका तर्फबाट भ्रमणमा सहभागी सबै प्रतिनिधिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।
नेपाल–बंगलादेश सहकारी अभियानबीच लामो समयदेखि कायम पारस्परिक सम्बन्धलाई निरन्तरता दिने यस भ्रमणले दुवै देशका सहकारी संस्थाहरूबीच आपसी सिकाइ, अनुभव आदानप्रदान र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।
३ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
१३ दिन अगाडि
१५ दिन अगाडि
१५ दिन अगाडि
१६ दिन अगाडि
१६ दिन अगाडि
२० दिन अगाडि
२० दिन अगाडि
२० दिन अगाडि
१८ दिन अगाडि
१७ दिन अगाडि
७५ दिन अगाडि
७९ दिन अगाडि
५३ दिन अगाडि