
काठमाडौं, ४ भदौ । कोभिडको बढ्दो संक्रमण दरसँगै स्थानीय प्रशासनहरुद्वारा जारी निषेधाज्ञालाई ध्यानमा राखी सहकारीका केन्द्रीय निकाय देखि जिल्ला संघ र प्रारम्भिक संघ संस्थाहरुले सम्पर्क व्यक्ति तोकेर निश्चित समय मात्र अत्यावश्यकीय सेवा प्रदान गर्ने गराउने व्यवस्था मिलाएका छन् । सकेसम्म अभौतिक प्रविधिमार्फत आवश्यक सेवा सञ्चालनको व्यवस्था गरेका उनीहरुले अत्यावश्यक अवस्थामा भौतिक सेवाका लागि सम्पर्क व्यक्ति र समय तोकेका हुन् । यसअघि बन्दाबन्दीको समयमा पनि सम्पर्क व्यक्ति मार्फत निश्चित समय तोकेर सहकारीहरुले अत्यावश्यक सेवा प्रदान गरेका थिए । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बुधवारदेखि भदौं १० गतेसम्म निषेधाज्ञा लागु गरेपछि काठमाडौं, भक्तपुर र ललितपुरका सहकारी निकायहरुले प्रविधिमार्फत सेवा, सम्पर्क व्यक्तिको नाम र सम्पर्क नम्बरहरुको उपलब्धतासँगै बाँकी काम घरबाटै सम्पादनको व्यवस्था मिलाएका हुन् । ।
देशभरका वित्तीय सहकारीहरुको छाता संगठन नेफ्स्कूनले उपत्यकाका ३ वटै जिल्लाका सदस्य संस्थालाई अत्यावश्यक सेवाका लागि सम्पर्क व्यक्ति तोकेको छ । संघले नयाँ बानेश्वरस्थित मुख्य कार्यालयका अतिरिक्त न्यूरोड, चाबहिल, कलंकी, ललितपुर र भक्तपुरस्थित फिल्ड कार्यालयमा सेवा प्रवाहका लागि सम्पर्क व्यक्ति तोकेको हो । केन्द्रिय कार्यालयका लागि अन्तर्लगानी अधिकृत मनोज बुढाथोकी सम्पर्क व्यक्ति तोकिनुभएको छ भने त्यस बाहेकका फिल्ड कार्यालयहरुका लागि फिल्ड इन्जार्चहरु क्रमशः मनोज कार्की, राजेश खड्का, अस्मिता अधिकारी, दिनेश गौतम र पेशल खड्का सम्पर्क व्यक्ति तोकिनुभएको छ । उपत्यका बाहिर पनि विभिन्न स्थानमा स्थानीय प्रशासनले संक्रमणको अवस्था अनुसार फरक किसिमका प्रतिबन्धहरु लगाएको अवस्थामा संघले सम्बन्धित फिल्ड कार्यालयका इन्चार्जहरुलाई सम्पर्क व्यक्ति तोकेको छ । सम्भव भएसम्म सम्पर्क व्यक्तिहरुबाट बिहान १० बजेदेखि १ बजेसम्म अत्यावश्यकीय सेवाहरु उपलब्ध हुने नेफ्स्कून द्वारा सूचनमा उल्लेख छ ।
यसैगरी, उपत्यका भित्रका जिल्ला तथा विषयगत संघहरुले हिजो एक संयुक्त अपील जारी गरी सम्भव भएसम्म प्रविधिमार्फत सेवा प्रवाहको व्यवस्था मिलाउन र अत्यावश्यक कामका लागि कार्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डहरु लागू गर्न आग्रह गरेका छन् । उपत्यका भित्रका सहकारी अभियानका १ दर्जन सहकारी संघका तर्फबाट जारी अपिलमा निषेधाज्ञाको अवधिमा कार्यालयका बैठक, अन्तरक्रिया लगायतका कार्यक्रम भर्चुअल माध्यमबाट गर्न, अति आवश्यक बाहेकका अवस्थामा कार्यालयमा भौतिक उपस्थिति नगर्न तथा गर्नै पर्ने अवस्थामा भौतिक दूरी, मास्क, स्यानिटाइजर तथा फेस सिल्ड प्रयोग गर्न, प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्न आग्रह गरिएको छ ।

त्यसबाहेक काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि. कास्कूनले पनि हिजो नै एक छुट्टै सूचना जारी गरी मुख्य कार्यालय चाबहिल, सदस्य सेवा कार्यालय, गोंगबु र कलंकीका लागि सम्पर्क व्यक्तिहरु तोकेको थियो । कास्कूनले चाबहिलस्थित मुख्य कार्यालयका लागि व्यवस्थापक अरुण कुमार तिवारी तथा गोंगबु र कलंकी कार्यालयका लागि सेवा कार्यालय प्रमुखहरु क्रमशः कमल प्रसाद सापकोटा र लव सिंखडालाई सम्पर्क व्यक्ति तोकिएको जनाएको हो ।
त्यसैगरी, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले पनि सूचना जारी गरी व्यवस्थापक बालकृष्ण धोजु, वित्त तथा प्रशासन अधिकृत कृष्णश्वरी ह्यौमिखा र मध्यपुर थिमी सेवा केन्द्र इन्चार्ज रमेश प्रजापतिलाई सम्पर्क व्यक्ति तोकि उहाँहरुमार्फत अत्यावश्यक सेवा उपलब्ध हुने जनाएको छ । संघले विद्युतीय माध्यमबाट जनचेतना मुलक सन्देशहरु सम्प्रेषण गर्न गराउन तथा आवश्यक कामहरु भर्चुअल माध्यमबाट सम्पन्न गर्न पनि आग्रह गरेको छ ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का तर्फबाट पनि हिजो नै व्यवस्थापक सन्तोष बजगाईले बिज्ञप्ति जारी गरी आफु तथा दिनेश घिमिरे मार्फत अत्यावश्यक सेवा उपलब्ध हुने उल्लेख गर्नुभएको छ । यसैगरी, ३ वटै जिल्लाका बचत तथा ऋण एवम् विभिन्न विषयगत सहकारी संघ संस्थाहरुले पनि सम्पर्क व्यक्तिमार्फत सीमित अवधिका लागि अत्यावश्यक सेवा उपलब्ध गराउने जनाएका छन् ।

सहकारीहरुको छाता संगठन–राष्ट्रिय सहकारी महासंघले भने निषेधाज्ञा अवधिभर कार्यालय बन्द रहने जनाएको छ । महासंघले हिजो नै एक विज्ञप्ति जारी गरी उक्त जानकारी गराएको हो ।
२४ घण्टा अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
१३ दिन अगाडि
९ दिन अगाडि
८ दिन अगाडि
१६ दिन अगाडि
१३ दिन अगाडि
१४ दिन अगाडि
३ दिन अगाडि