भक्तपुर । सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित अमरज्योति बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो ११ औँ वार्षिक साधारणसभा भर्चुअल विधिबाट सम्पन्न गरेको छ । असोज २४ गते शनिवार सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले महामारीको अवस्थामा अमरज्योति बचत तथा ऋण सहकारी संस्था लि. ले प्रविधिको प्रयोग गरी जुम एप्लिकेशनको माध्यमबाट समयमै साधारणसभा गरेकोमा धन्यवाद दिँदै यसबाट अन्य सहकारीहरुले समेत पाठ सिक्नुपर्ने बताउनुभयो । अमरज्योति साकोस नेपाल सरकार र सूर्यविनायक नगरपालिकाको ऐन, कानुन तथा निर्देशनलाई पूर्ण पालना गर्दै नीति एवं विधिसम्मत तरिकाले सञ्चालन भइरहेको र सञ्चालकहरु अनुशासित भएको उहाँले बताउनुभयो । महामारीको अवस्थामा विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले दिएको निर्देशनलाई अमरज्योति साकोसले पालना गरेको पनि प्रमुख अतिथि थापाले बताउनुभयो । संक्रमणको खतराबाट सुरक्षित रहन स्यानिटाइजर तथा साबुन पानीको व्यवस्था गरी भौतिक दुरी कायम गर्दै संस्था नियमित सञ्चालन गर्न प्रमुख अतिथि थापाले सुझाव दिनुभयो । उहाँले आर्थिक गतिविधिमा साकोसहरुको योगदानको चर्चा गर्दै साकोसहरु नभएर बैंकमा मात्र धाउनुपर्ने भए हामीलाई धेरै दुःख हुने बताउनुभयो ।
प्रविधिमार्फत नै जोडिनुभएका विशेष अतिथि नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले सहकारी संस्था सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक तथा वातावरणीय समृद्धितर्फ लक्षित हुनुपर्नेमा जोड दिनुभयो । सदस्यहरुको निरन्तर समृद्धि सहकारीको मूल उद्देश्य भए पनि अहिलेको महामारीको अवस्थामा संस्था र सदस्यलाई जोगाउनु नै महत्वपूर्ण भएको हुँदा व्यवसाय निरन्तरता योजनासहित नीति, विधि तथा पद्धतिलाई पूर्ण पालना गर्दै प्रविधिमा विशेष जोड दिएर संस्था सञ्चालन गर्न उहाँले सुझाव दिनुभयो ।
विशेष अतिथि सूर्यविनायक नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष उत्तम थापाले संस्थाको ११ औँ वार्षिक साधारणसभा अभौतिक रुपमा सञ्चालन गरेकोमा शुभकामना व्यक्त गर्दै महामारीको अवस्थामा अमरज्योति साकोसले अभौतिक रुपमा समयमा साधारणसभा सम्पन्न गर्नु प्रशंसनीय भएको बताउनुभयो । उहाँले सहकारी संस्था जनताको पहिलो रोजाइको आर्थिक कारोबार गर्ने संस्था भएकोले सदस्यहरुको प्रजातान्त्रिक नियन्त्रण पद्धतिलाई व्यवस्थित गर्न समयमा साधारणसभा सञ्चालन गर्नु महत्वपूर्ण भएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष दामोदर न्यौपानेले सदस्यहरुको आशा र भरोसाको केन्द्र बनाई प्रतिष्ठित संस्थाको रुपमा चिनाउने अभिलाषाका साथ ‘सबल, उत्तरदायी र व्यावसायिक साकोस’ को परिकल्पनासहित पञ्चवर्षीय योजनाअनुसार अमरज्योति साकोस सञ्चालन गरिएको बताउनुभयो । उहाँले नीतिगत तथा व्यवस्थापकीय रुपमा सक्षम बनाउन सकेमा मात्र संस्था सुदृढ र प्रतिस्पर्धी हुनुका साथै राष्ट्रिय पहिचान स्थापित गर्न सकिने भएकोले गत आ.व. बाट नै संस्थालाई नेफ्स्कूनद्वारा सञ्चालित पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) मा सहभागी गराइएको बताउनुभयो । अध्यक्ष न्यौपानेले भन्नुभयो, ‘संस्थागत सुशासनमार्फत नीति, विधि र प्रविधिलाई अवलम्बन गर्दै राम्रो गति लिनेछ भन्ने विश्वास छ । गत वर्षदेखि नै संस्थाले विप्रेषण सेवालगायत बिजुली, टेलिफोन तथा इन्टरनेट आदिको बिल भुक्तानीको व्यवस्था मिलाएकोमा यस वर्षदेखि मोबाइल बैंकिङ्ग सेवा र ट्याबलेटबाट संकलन सेवासमेत सुरु गरिसकेको सहर्ष जानकारी गराउन चाहन्छु ।’
‘तपाईंको समृद्धिमा अमरज्योतिको साथ, अमरज्योतिको साथमा तपाईंको हात’ भन्ने मूल लक्ष्य प्राप्तिका लागि संस्था निरन्तर अगाडि बढ्ने बताउँदै अध्यक्ष न्यौपानेले नेपाल सरकारको सहकारी संस्था एकीकरण गर्ने नीतिअनुरुप अगाडि बढ्दै मिति २०७६ फागुन २७ गते दक्षिणवाराहीस्थित जागरण साकोससँग विधिवत एकीकरण गरिसकेको तथा अन्य सबल साकोसहरुसँग एकीकरण गर्दै संस्थालाई अझै सबल र सक्षम बनाउँदै लैजाने बताउनुभयो । उहाँले विश्वभर फैलिएको कोभिड–१९ को महामारीको असर संस्थामा पनि परेकोले महामारीको अवधिमा ऋणको किस्ता तथा ब्याज बुझाउने सदस्यहरुलाई संस्थाले २० प्रतिशतसम्म ब्याज छुट प्रदान गरेको तथा उक्त अवधिमा किस्ता बुझाउन नसक्ने र ऋणको भाखा पुगेकाहरुलाई समेत हर्जाना छुटको व्यवस्था गरेको, महामारीको कारणले व्यापार–व्यवसाय तथा रोजगारी गुमेका कतिपय सदस्यहरुबाट समयमा ब्याजसमेत उपलब्ध नभएकाले संस्थाको खुद बचतमा कमी आएको बताउनुभयो ।
महामारीमा साधारणसभा सञ्चालन कार्यविधि तयार गरी सोही अनुसार साधारणसभा सञ्चालन गरिएको सचिव ज्ञानप्रसाद भट्टराईले बताउनुभयो । उहाँले असोज ९ गतेबाट साधारणसभा पुस्तिकामा हस्ताक्षर सुरु गरिएको र असोज २० देखि २२ गतेसम्म ९ वटा सिफ्ट्मा साधारणसभाको कार्यक्रम गरी निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि चयन गरेर असोज २४ गतेको दसौं सिफ्टमा संस्थाका समिति, उपसमिति, कर्मचारी, प्रतिनिधिहरु तथा अतिथिहरुसमेत बसी साधारणसभा सम्पन्न गरिएको बताउनुभयो ।
अमरज्योति साकोसको ११ औँ वार्षिक साधारणसभाको सम्पूर्ण कार्यक्रम अभौतिक रुपमा सञ्चालन गरिएको भए पनि साधारणसभाको पुस्तिकामा भने सदस्यहरुको भौतिक उपस्थिति गराइएको छ । कार्यालयमा आउने सदस्यहरुका लागि सुरक्षित किसिमले कार्यालयमा राखिएको उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्ने व्यवस्था मिलाइएको थियो भने कार्यालयमा नआउने सदस्यहरुलाई संस्थाको कर्मचारीमार्फत घरैमा गई सुरक्षित किसिमले हस्ताक्षर गराइएको व्यवस्थापक निर्मलप्रसाद सुवेदीले बताउनुभयो । साधारणसभा पुस्तिकामा हस्ताक्षर गराउँदा नै सदस्यहरुलाई साधारणसभाको प्रतिवेदनसहित जुम एप्लिकेसनको आई.डी., पासकोड र कार्यक्रम सम्बन्धी विस्तृत जानकारी उपलब्ध गराइएको उहाँले बताउनुभयो । जुम एप्लिकेसन चलाउन नसक्ने तथा सम्भव नहुने सदस्यहरुको राय, सुझावलाई समेट्नका निम्ति लिखित सुझाव लिने व्यवस्था समेत मिलाइएको थियो । साधारणसभाको सूचना सबै सदस्यहरुमा पुर्याउनका लागि संस्थाको आधिकारिक फेसबुक पेज, मेसेन्जर पेज तथा पत्रिकामा समेत प्रकाशित गरिएको थियो भने साधारणसभाको १० वटै सिफ्टको कार्यक्रम संस्थाको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो ।
संस्थाको गत असार मसान्तसम्म कुल सदस्य संख्या १ हजार ९ सय ७९ जना, कुल शेयर पुँजी २ करोड २६ लाख ८५ हजार ३ सय रुपैयाँ, कुल बचत निक्षेप १२ करोड ३८ लाख ८८ हजार ५ सय ८८ रुपैयाँ, कुल ऋण लगानी १३ करोड १० लाख ९२ हजार ८ सय ४८ रुपैयाँ, कोषहरुमा जम्मा १ करोड, ६२ लाख ७९ हजार ६ सय सत्तरी रुपैयाँ र खुद आम्दानी ३५ लाख ५९ हजार ७ सय ३३ रुपैयाँसहित कुल कारोबार १८ करोड १४ लाख २० हजार २ सय ४५ रुपैयाँ भएको संस्थाद्वारा प्रकाशित प्रतिवेदनमा उल्लेख गरिएको छ । चालू आ.व. मा संस्थाले कुल सदस्य २ हजार ७ सय ५९ जना पुर्याउने लक्ष्य लिएको छ भने कुल शेयर पुँजी ३ करोड १ लाख २६ हजार ७ सय रुपैयाँ, कुल बचत निक्षेप १८ करोड ८२ लाख ९१ हजार ७ सय रुपैयाँ, कुल ऋण लगानी १९ करोड ५८ लाख २३ हजार ३ सय सत्तरी रुपैयाँ, कोषहरुमा जम्मा १ करोड ९७ लाख १ हजार ५ सय ७० रुपैयाँ र खुद आम्दानी ७८ लाख ४ हजार २ सय चौँसठ्ठी रुपैयाँसहित कुल कारोबार २५ करोड १० लाख ५५ हजार ६ सय १२ रुपैयाँ पुर्याउने लक्ष्य लिएको संस्थाका कोषाध्यक्ष प्रेमप्रसाद पौडेलले बताउनुभयो ।
७५ प्रतिशत भन्दा बढी सदस्यको उपस्थितिमा सञ्चालित अमरज्योति साकोसको ११ औँ वार्षिक साधारणसभामा सहभागीलाई स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष कल्याणचन्द्र भट्टराईले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव ज्ञानप्रसाद भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा भक्तपुर जिल्ला संघ, भक्तपुर बचत संघ, नेफ्स्कून भक्तपुर शाखा, राष्ट्रिय सहकारी बैंक ठिमी शाखा, छिमेकी साकोसहरु लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।
२३ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
२३ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
१४ दिन अगाडि