(नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को २९ औं साधारण सभाको मिति नजिकिदैंछ । मंसिर ५ गते हुने साधारण सभाको लागि प्रादेशिक बिस्तारित मञ्चका कार्यक्रमहरु आगामी साता अर्थात् कार्तिक २३ गतेबाट सुरु हुँदैछन् । कोभिड–१९ को महामारीका बीच सहकारी विभागबाट साधारण सभा सञ्चालन सम्बन्धमा असोज १ गते जारी सूचना र संघको महामारीमा साधारण सभा सञ्चालन कार्यविधि २०७७ लाई आधार मानेर उच्च स्वास्थ्य सर्तकतासहित सभा आयोजनाको तयारी जोडतोडका साथ भैरहेको छ । यसैबीच, आसन्न साधारण सभालाई लिएर संघको सदस्य संस्थाका केही प्रतिनिधिहरुको अपेक्षा संकलनको जमर्को साकोस आवाजले गरेको छ -सम्पादक ।)
रत्नबहादुर नेवार
अध्यक्ष
धारापानी साकोस, रामेछाप नगरपालिका–४, हिमगंगा
नेफ्स्कूनको २९ औं साधारण सभा हाम्रो संस्था र म दुवैको लागि नौलो अनुभव हुनेछ । हामी नवप्रवेशी भएका कारण प्रतिनिधित्वका हिसाबले मेरो पनि नयाँ अनुभव हुनेछ । म उत्साहित यस अर्थमा पनि छु कि यस्तो विषम परिस्थितिकाबीच हुन लागेको केन्द्रीय संघको साधारण सभाले हामीलाई पनि प्रविधिको प्रयोगका सम्बन्धमा सिकाउने छ । अन्य धेरै कुराहरु हामीले सिक्न पाउने छौं । हाम्रो अपेक्षा भनेको नेफ्स्कूनले रामेछापका सबै बचत तथा ऋण सहकारीहरुलाई सञ्जालमा आबद्ध गर्दै गुणस्तरीय सेवा दिन सकोस् भन्ने हो । यसतर्फ संघको नीति तथा कार्यक्रममा केही आउँछ भन्ने लागेको छ । यसैगरी, सहकारी क्षेत्रलाई सुशासित, मर्यादित र सबल बनाउन नवीन कार्यक्रमहरु ल्याउने आशा गरेका छौं । कोभिड प्रभावित संस्था, सदस्य र समुदायको हितानूकुल रणनीतिक कार्यक्रमहरु आउँछ भन्ने लागेको छ । सहकारीको पैसा सहकारीमै भन्ने विषयलाई कार्यरुप दिन ठोस रणनीतिक योजनाहरु, सेवा विविधिकरणका प्रस्तावहरुका साथै गुणस्तरीयता प्रवर्धनका रणनीतिक कार्यक्रमहरु ल्याउने अपेक्षा गरेका छौं । त्यसैगरी, सहकारी संघ संस्थाहरुले गरेको ऋण सुरक्षणका सम्बन्धमा संघका तर्फबाट राष्ट्रिय रुपमा गरिने बहसपैरवीका योजनाका बारेमा पनि जान्ने मन छ ।
नेफ्स्कूनको रामेछाप सेवा केन्द्र स्थापना भए पश्चात हालै मात्र हाम्रो संस्था सदस्य बनेको हो । एक प्रकारले नेफ्स्कून हाम्रो घरदैलोमा आउनु हाम्रो लागि अवसर हो जस्तो लाग्छ । देशभरका बचत तथा ऋण सहकारीहरुको एक मात्र केन्द्रीय निकायसँग आबद्ध हुन पाउनु हाम्रा लागि खुसीको कुरा हो । हामी सदस्य बन्नुले के पनि प्रमाणि गर्छ भने नेफ्स्कूनले ठूला संस्थालाई मात्र होइन हामी जस्तो भर्खर वामे सर्दै गरेकाहरुलाई पनि आफ्नो सञ्जालभित्र समाहित गर्दछ, यस विषयलाई सम्बोधन हुने गरी आगामी वर्षका कार्यक्रमहरु सदस्य मैत्री आउँछन् भन्ने अपेक्षा छ ।
मोहन चौधरी
अध्यक्ष,
निर्मल साकोस, कोल्हवी–६, परसौना, बारा
नेफ्स्कूनको आसन्न साधारण सभाले साकोस एकरुपता प्रणालीका सम्बन्धमा ठोस नीति तथा कार्यक्रमहरु अघि सार्ने अपेक्षा गरेका छौं । कम्तिमा सबै सदस्य संघ संस्थाहरुमा आधारभूत नीतिहरुमा एकरुपता अनिवार्य छ । हाम्रो जिल्लामा विभिन्न संघ संस्थाहरुको छुट्टाछुट्टै ऋण, बचत लगायतका नीतिहरु भएकाले त्यसमा एकरुपता कायम भए हुन्थ्यो भन्ने हो । संस्थाहरुले कोभिडको महामारीकाबीच जोखिम मोलेर सदस्य सेवा पुर्याइरहनुभएको छ । यस्तो अवस्थामा अभिभावक संस्थाले सदस्य संघ संस्थाहरुलाई सहजिकरणका कस्ता नयाँ नीति तथा कार्यक्रम ल्याउँछ भन्ने सबैको चासोसँगै चिन्ताको पनि विषय हुनु स्वाभाविक हो । संघ संस्थामार्फत सहकारीका सदस्यहरुलाई आत्मनिर्भर बनाउने किसिमका कार्यक्रमहरु आए हुन्थ्यो ।
बिशेषतः हामी जस्तो पिछडिएको र त्यसमा पनि सीमा क्षेत्रमा काम गर्ने सदस्य संस्थाका सदस्यहरुलाई सहयोगी हुने व्यावहारिक तालिमका कार्यक्रमहरु नेफ्स्कूनले सञ्चालन गर्नुपर्ने आवश्यकता छ । त्यसैगरी, कोभिडका सम्बन्धमा हाम्रो जस्तो स्थानका सदस्य र समुदायमा जनचेतनाको अत्यधिक कमी छ । शिक्षाको स्तर, आर्थिक स्थिति, इन्टरनेट पहुँचको अभाव जस्ता कारण स्वास्थ्यमा जोखिम देखिएको छ भने मास्क, स्यानिटाइजर र पीपीइको उपलब्धता र गुणस्तरतामा कमी छ त्यसैले सहकारीमार्फत यस्ता अत्यावश्यक सामाग्रीहरुको निःशुल्क वितरणका लागि स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्ने काममा नेफ्स्कूनको भूमिका एकदमै अपेक्षा गरेका छौं ।
सविन जि.सी
अध्यक्ष
जय गणेश साकोस, पोखरा–१९, कास्की
नेफ्स्कूनको नजिएको साधारण सभाबाट हामीले धेरै अपेक्षा गरेका छौं । नेपाल अधिराज्यको संविधानसँग सहकारी ऐन बाँझिने गरी उठेको दोहोरो सदस्यता अन्त्यको विषयमा म र मेरो संस्थाको विमति हो । सबभन्दा मुख्य कुरा सहकारी कर्जा सूचना केन्द्र स्थापना हो । त्यसका विषयमा छाता संगठनको रुपमा नेफ्स्कूनले यसअघि गरेका काम र अब गर्ने बहसपैरवीका बारेमा जान्ने उत्सुकता छ । यदि कर्जा सूचना केन्द्र स्थापना भए एक सदस्यले जतिवटा सहकारीमा सदस्य भएपनि, जति स्थानमा बचत र ऋणको कारोबार गरेपनि समस्या हुँदैन । सर्वप्रथम त्यसको काम अघि बढाउन सरकारलाई घच्घच्याउनुपर्यो । त्यसैगरी, तालिमका काम कोभिडको समयमा केही कमी भएको छ ।
कोभिड लामै समयसम्म रहने भएकाले नेफ्स्कूनले नीति तथा कार्यक्रममा अब तालिमलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा ठोस योजना ल्याउनुपर्ने मैले देखेको छु । भर्चुअल तालिम खासै प्रभावकारी नभएको जस्तो मलाई लाग्यो । बरु आवश्यक भौतिक दूरी र स्वास्थ्य मापदण्ड पालना गरेर भौतिक रुपमै तालिम आयोजना गर्नुपर्छ भन्ने लाग्छ । अर्को विषय भनेको स्वास्थ्य सम्बन्धी जनचेतना विस्तारमा सरकार र स्थानीय निकायसँग मिलेर नेफ्स्कूनले पनि कार्यक्रमहरु ल्याउनुपर्छ । त्यसका लागि सरकारलाई घच्घच्याउनुपर्छ , थप दबाब दिनुपर्छ । सहकारीका सदस्य हुने भनेकै पिछडिएका र निम्नवर्गका व्यक्तिहरु हुन्, उनीहरुका लागि नेफ्स्कूनले नबोले कसले बोल्ने ?
विनाकुमारी कार्की
अध्यक्ष
ग्राण्ड कोअपरेटिभ सर्भिसेज्, बा.न.पा.–२, बागलुङ
नेफ्स्कूनको साधारण सभामा सहभागिता मेरो लागि पहिलो अनुभव हुनेछ । हाम्रो संस्था एकदमै नयाँ हो । त्यसैले धेरै कुराहरु जान्ने बुझ्ने अवसर मिल्ने आश गरेकी छु । छाता संगठन भएकाले सबै संघ संस्थाहरुलाई समेट्ने, समान रुपमा अघि बढ्ने अवसर सृजनाको वातावरण नेफ्स्कूनले तयार पार्नुपर्छ । हाम्रो जिल्लाको कुरा गर्ने हो भने धेरै सदस्य र पुँजी भएका देखि मध्यम र निम्न सदस्य र पुँजीको पहुँच भएका संस्थाहरु छन् । सबैलाई उकास्ने कार्यक्रमहरु नेफ्स्कूनले ल्याउनुपर्छ । मर्जरमा जान चाहनेहरुका लागि सरकारसँगको लबिङमा सहजिकरण गरिदिने कार्यक्रम आउनुपर्छ । जबर्जस्ती भन्दा पनि छलफलहरुमार्फत सहज प्रक्रियाबाट एकीकरणको लागि नेफ्स्कूनको मध्यस्थता आवश्यक छ भन्ने लाग्छ । केही ठूला भनाउँदा संस्थाहरुमा सानालाई हेप्ने, पेल्ने र बलमिच्याइँ गर्ने प्रवृत्ति पनि देखिएको छ । यसतर्फ पनि नेफ्स्कूनले सोच्नुपर्छ ।
अहिले दोहोरो सदस्यता अन्त्यको कुरा जोडतोडका साथ उठेको छ । भर्खरै यहाँका ७–८ वटा बचत ऋण सहकारी संस्थाहरुबीचमा छलफल हुँदा यो विषय लागू गर्न कठिन भएको भन्ने धारणा व्यक्त भएका थिए । आदर्शका हिसाबले सही भएपनि अहिले नै कार्यान्वयनमा जटिलता छन्, त्यस विषयमा नेफ्स्कूनको धारणा के हो भन्ने जान्ने जिज्ञासा छ भने हामीजस्ता नयाँ सदस्यहरुलाई सहयोग पुग्ने, सहकारी जान्ने बुझ्ने तथा संस्थागत सफलता र सुशासनका विषयमा सहयोग पुग्ने कार्यक्रमहरुको आश गरेका छौं । कतिपय अवस्थामा हामी अभिभावकविहीन भएको, कतिपय विषयमा अन्योलता भएको जस्तो महसूस हुन्छ, शायद नयाँ भएर पनि होला त्यसैले नेफ्स्कूनले हामीजस्ता सदस्यका लागि के गर्दैछ भन्ने जान्ने उत्कट इच्छा छ ।
मिनादेवी श्रेष्ठ
अध्यक्ष
मिलिजुली महिला साकोस, चौतारा साँगाचोक, सिन्धुपाल्चोक
सबैभन्दा प्रमुख विषय भनेको तालिम तथा शिक्षाका कार्यक्रमहरु नेफ्स्कूनले अब थप प्रभावकारी रुपमा अघि बढाउनुपर्छ जस्तो लाग्छ । कतिपय तालिम र शिक्षाका कार्यक्रमहरुमा हामी पनि सहभागी हुन सकिरहेका छैनौं । खासगरी लेखा व्यवस्थापनका तालिम कार्यक्रमलाई संख्यात्मक वृद्धि गरी सञ्चालन गर्नुपर्ने विषय यस वर्षको कार्यक्रममा आउनुपर्छ जस्तो लाग्छ । सहुलियत ब्यादरमा ऋण प्रवाह गर्ने, देशभित्र र बाहिरका सहकारी र सम्बद्ध निकायहरुको अध्ययन अवलोकन भ्रमणका कार्यक्रमहरुमा महिला साकोसहरुबाट पनि सहभागिता बढाउने कार्यक्रम ल्याउनुपर्छ ।
यसैगरी, कोभिड १९ को समयमा सदस्य संघ संस्थाहरुमा कर्मचारी, भाखा नाघेको ऋण, प्रशासनिक खर्च, सुशासन आदिका पनि धेरै समस्याहरु देखिन थालेका छन्, यसतर्फ पनि छाता संगठनले विशेष ध्यान पुर्याउनुपर्छ किनकि कुनै पनि सदस्य संस्था समस्यामा पर्नु भनेको नेफ्स्कून समस्यामा पर्नु हो । अर्कोतर्फ, कोभिडका कारण र अन्य घातक रोगीहरुलाई सहयोग पुर्याउने विषयमा सरकारसँगको प्रयासमा सहयोगका कार्यक्रमहरु ल्याउन सके थप राम्रो हुने थियो । त्यही भएर यी विषयहरुको रणनीतिक सम्बोधनको अपेक्षा गरेका छौं । त्यसबाहेक वित्तीय सहकारीका राष्ट्रिय मुद्दाहरुमा बहसपैरवीलाई बढाउने त छदैछ ।
१२ घण्टा अगाडि
१३ घण्टा अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
६ दिन अगाडि
७ दिन अगाडि
१३ घण्टा अगाडि
१२ घण्टा अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
११ दिन अगाडि
२७ दिन अगाडि
२४ दिन अगाडि
३५ दिन अगाडि