काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) र पोखरा विश्वविद्यालयबीच सहकारी क्षेत्रको अनुसन्धान, पाठ्यक्रम विकास तथा लागु गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । नयाँ बानेश्वरमा आज साँझ आयोजित एक कार्यक्रमका बीच नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र पोखरा विश्वविद्यालयका डीन डा. दयाराज ढकालबीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा भएको हस्ताक्षर कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेम नारायण अर्याल, रजिष्ट्रार डा. दीपक भण्डारी, डिन डा. दयाराज ढकाल, व्यवस्थापन विषय समितिका अध्यक्ष प्रा.डा. महानन्द चालिसे, सह–प्राध्यापक डा. रविन्द्र घिमिरे र नेफ्स्कूनको तर्फबाट सञ्चालक समिति सदस्य न्हुच्छेनारायण मिलन श्रेष्ठ, रिना आचार्य, जीवसराज खड्का, नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्य ठाकुर प्रसाद बास्कोटा, कास्कूनका बरिष्ठ उपाध्यक्ष खेम सुवेदी, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल लगायत विभागीय प्रमुखहरुको उपस्थिति थियो ।
पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेम नारायण अर्यालले नेफ्स्कूनसँगको सहकार्यका लागि आज भएको सम्झौताबाट वास्तवमै एउटा नयाँ अध्यायको सुरु भएको बताउनुभयो । देशमा नयाँ कुरा ल्याउने सृजनशिल पाठ्यवस्तुको आवश्यकता रहेको र यसबाट भोलिको दिनमा खोज अन्वेषणमुलक काम गरेर अत्यन्त सफल र प्रभावकारी कार्यक्रम सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।