भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरको सेवाकेन्द्र व्यवस्थापन उपसमिति, तेखापुखुको आयोजनामा सञ्चालित एक महिने मादल बजाउने तालिम शनिवार (भाद्र २५ गते) सम्पन्न भएको छ । सदस्य र संस्था बीचको सम्बन्ध प्रगाढ बनाउन, मनोरञ्जन र स्वस्थ जीवनशैली विकास गर्न तथा संस्कृतिको जगेर्ना गर्न सकिने उद्देश्यले सञ्चालन गरिएको तालिममा ७ बर्षको बच्चादेखि ६० बर्षका बृद्धबृद्धा सम्मको सहभागिता रहेको थियो । एक महिने तालिममा सदस्यहरुको उत्साहजनक सहभागिता रहेको साकोसले जनाएको छ ।
संस्थाका अध्यक्ष राजन लाखाजुले संगीतको भाषा, वर्ण, जात र सीमाना नहुने र संगीतले मनोरञ्जनका साथसाथै स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने भएकोले मादल बजाउने तालिम पश्चात प्रशिक्षार्थीहरु साँस्कृति व्यक्ति भएको र सँस्कृति जगेर्नाका लागि महत्वपूर्ण भूमिका निभाउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सहकारी संस्थाहरु समुदायमा स्थापना भई समुदायमै रही सञ्चालन हुने भएकोले सदस्य र संस्थाबीच सम्बन्ध प्रगाढ बनाउन विभिन्न कार्यक्रमहरु तथा तालिमहरुको आयोजना गर्नुपर्नेमा जोड दिनुहुँदै संस्थाले प्रदान गर्ने लाभांश र उपस्थिति खर्चको आधारमा नभई संस्थाले प्रदान गर्ने सेवा÷सुविधा तथा सदस्य केन्द्रीत कार्यक्रमहरुबाट संस्थाको मूल्याङ्कन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
तालिमको समापन गर्दै प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा साँसद सृजना सैंजुले सिद्धि गणेश साकोस एक वित्तीय संस्था भएतापनि यस संस्थाले रासायनिक मल वितरण मार्फत कृषि क्षेत्रमा, विभिन्न साँस्कृतिक तालिम मार्फत सँस्कृति जगेर्ना तथा सीपमूलक तालिमहरु मार्फत समुदायको आर्थिक स्तर विकासमा पुर्याएको योगदानको प्रशंसा गर्नुहुँदै भक्तपुर नगरको सहकारी अभियानबाट अरु संस्थाहरुले सिक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।