काठमाडौं, भदौ १६ । नेफ्स्कूनले व्यावसायीक रणनीतिक योजना र आधारशिला कार्यक्रम सम्बन्धी आज जुम एप्लिकेसन्स् मार्फत संघका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति र फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरुबीच अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
नेफ्स्कूनको रणनीतिक मार्गचित्र सम्बन्धी संघका अध्यक्ष परितोष पौड्यालले प्रस्तुतीकरण गर्नुभएको थियो । संघले ५ औं रणनीतिक योजना निर्माणका आधार तयारी तथा यसलाई अन्तिम रुप दिने सन्दर्भमा संघको सञ्चालक समितिको लामो अभ्यास, ग्लोबल एजेण्डा सम्बन्धमा अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) सँगको परामर्श सहित अर्थ तथा योजना विद्हरु (रामेश्वर खनाल र दीपेन्द्र बहादुर क्षेत्री) को महत्वपूर्ण योगदान रहेको छ । योजनाले आर्थिक बर्ष २०७७÷०७८ का लागि ऐतिहासिक थीम, “सामना शक्ति विकासका लागि सद्भावपूर्ण सहकार्य” तय गरेको छ । विद्यमान परिस्थितिको आंकलन गरी विषय संगत तबरबाट तय गरिएको थिम संस्थागत भएको प्रति संघको विश्वास रहेको छ । वर्तमान महामारीको सामना एकल विधिबाट होइन अभियान सँगको सहकार्यमार्फत गर्न सकिन्छ, जलवायु परिवर्तनलाई अनुकूलनमा बदल्न, गरिबी, असमानता रोकी समुदायको हित गर्न, र युवा सहभागिताका लागि नवप्रबद्र्धन प्रविधि हस्तान्तरण का विषयमा सहकारीमा सहकार्यको अपरिहार्यता लाई प्रस्तुतीकरणमा समेटिएको थियो । साथै संघ नेतृत्वदायी भूमिकामा रहेको हुँदा रणनीतिक योजनाले तय गरेका परिकल्पना र ध्येयलाई वास्तविकतासँग बदल्दै आगमी दिसा तय गर्नका लागि फरक ढंगको सोचबाट सहकारी अभियानबीचको सहकार्यको महत्वलाई उजागर गरिएको थियो । त्यसैगरी सबल र दीगो वित्तीय सहकारीको माझा सञ्जाल निर्माणको मार्ग तय गर्दै अभियानमा भविष्यको प्राप्तिका लागि बटम अप एप्रोच मार्फत नयाँ आयामहरु प्रक्षेपण गर्न नीतिगत विषयहरुलाई प्रस्तुत गरिएको थियो ।
त्यसैगरी ४ वाइ ७ को म्याट्रिक्स अन्तर्गत आवद्धता तथा करारीय ऐक्यवद्धता, स्रोतहरुमा पहूँच, कार्यसञ्चालनमा स्तरीयता, स्वनियमन र अनुशासनलाई अव साकोस सञ्जाल व्यवस्थापनसँग एकाकार गरेर अगाडि बढ्ने विषयहरु प्रस्तुतीमा समेटिएको थियो । रणनीतिक योजनाले तय गरेका रणनीति र क्रियाकलापहरुका सम्बन्धमा संघका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रशाद पोखरेलको प्रस्तुतीकरण रहेको थियो । संघमार्फत साकोसका लागि आवश्यक सेवा, विकास, प्रक्षेपण र अवलम्बनका निम्ति उत्प्रेरणा र अभियानको आगामी यात्राको सन्दर्भमा तय भएका विषयवस्तुहरु प्रष्ट पार्नुभएको थियो ।
यससँगै आधारशिला कार्यक्रम २०७७ को बारेमा संघका महासचिव दामोदर अधिकारीले प्रस्तुतीकरण गर्नुभएको थियो । आधारशिला कार्यक्रम रणनीतिक योजनामा समावेश भएका कार्यक्रमहरुको कार्यान्वयन तहमा संवोधन गर्नुपर्ने विषयहरुलाई समेटिएको महत्वपूर्ण कार्यक्रम हो, जसलाई संघको ३३औं स्थापना दिवसको अवसरमा घोषणा गरिएको थियो । कार्यक्रम प्रस्तुतीकरणका क्रममा महासचिव अधिकारीले सहकारी क्षेत्रमा जागरण, प्रवर्द्धन, विकास र सञ्जालीकरण मार्फत गुणस्तरीय र दिगो संस्थागत विकासको जग तयार गर्ने उद्देश्यले कार्यक्रम अगाडि सारिएको र जसबाट सञ्जालमा पहूँच पुग्न नसकेका दुर्गम, ग्रामिण क्षेत्रमा सञ्जाल विस्तार, सशक्तिकरण र क्षमता विकासका लागि प्रदेश, स्थानीय तह, विषयगत संघ र जिल्ला बचत संघहरुसँगको साझेदारीमा कार्यक्रम सञ्चालनका विधिहरु र कार्यान्वयनका मोडलहरुको विषयमा चर्चा गर्नुभएको थियो । उहाँले बचत ऋण सहकारी अभियानको नेतृत्व तहमा रहनुभएका सम्पूर्ण सहकारीका व्यक्तिहरुले आधारशिला कार्यक्रम कार्यान्वयनमा ऐक्यबद्धता सहित नेतृत्व लिएमा मात्र कार्यक्रमले सार्थकता पाउने धारणा राख्नुभएको थियो ।
संघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अभियानमा सबै सँगै रहेको र नेफ्स्कूनले अगाडि सारेका क्रियाकलापहरुमा कहिँकतै छाँया पर्न गए बचत ऋण अभियानमा जोडिनुभएका सबै नै त्यसको जिम्मेबार बन्नुपर्ने विषयलाई जोडदिनुभयो । फिल्ड सञ्चालक साथीहरु सबैको सहभागिता कार्यक्रममा रहेको र यस विषयको कार्यान्वयन तहमा अभियानकै साथीहरुको उच्च योगदान रहने विश्वास व्यक्त गनुृभयो । सबै प्रारम्भिक सोसाईटी र सबै जिल्ला संघहरुले नेफ्स्कूनले अगाडि सारेको रणनीतिक योजना, आधारशिला कार्यक्रमको कार्यान्वयन चरणमा स्वामित्व लिइदिनुभयो भने हामी सबै सँगै अगाडि बढ्छौ र दिगो साकोस निर्माणको अभियानमा सफल हुन्छौं ।”
संघका उपाध्यक्ष शान्ति अधिकारीले सहकारीमा महिलाहरुको अवस्था र नेतृत्व क्षमता विकासको लागि पनि रणनीतिक योजनाले विभिन्न क्रियाकलापहरुलाई समेटेको जानकारी गराउँनुभयो । उहाँले भन्नुभयो, “विश्व ऋण परिषद् र एशियाली ऋण महासंघले ग्लोबल वुमन लिडरसीप अन्तर्गत सिस्टर सोसाइटी गठन गर्ने क्रममा विश्वमै महिलाहरुको अवस्थालाई बलियो बनाउने विषयमा विभिन्न कार्यक्रम तय गरेको छ, हामीले पनि साकोसहरुका महिलालाई सक्षम बनाउने, महिला प्रशिक्षक तयार गर्ने लगायतका गतिविधिलाई समावेश गरेका छौं तर परिस्थिति अनुकुल नहुँदा कार्यक्रम रोकिएका छन् । सक्षम महिला नेतृत्व विकासका लागि के गर्न सकिन्छ यस विषयमा सहभागी साथीहरुका थप सल्लाह सुझावका लागि पनि एक किसिमको छलफल आवश्यक छ ।”
संघका कोषाध्यक्ष दीपक पनेरुले साकोस ऐक्यबद्धता कोष बनाउने सन्दर्भमा बचत ऋण सहकारी अभियानको साथ सहयोग आवश्यक रहेको बताउँदै नयाँ सम्भावनाका क्षेत्रहरुमा लगानीको वातावरण निर्माण गर्न पनि फिल्ड सञ्चालक साथीहरुसमक्ष अनुरोध गर्नुभयो । बदलिंदो परिस्थितिमा केन्द्रका योजना कार्यान्वयन सँगसँगै थप काम गर्न सकिने विषयहरुमा पनि सोच्न आग्रह गर्नुभयो ।
कार्यक्रम सहजीकरण संघका सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकालले गर्नुभएको थियो । नेफ्स्कूनको उच्च व्यवस्थापन सहित कार्यक्रममा १ सय ७७ जनाको सहभागिता थियो । अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रममा सहभागी सदस्यहरुले संघको योजना तथा कार्यक्रम र समसामयिक कानूनी जटिलता र कोभिड प्रभाव असहजताका सन्दर्भमा आफ्ना विचारहरु राख्नुभएको थियो ।
रौतहट जिल्ला बचत संघकी अध्यक्ष देवकी नेपालले राज्यले सहकारीलाई हेर्ने दृष्टिकोणमा उदासिनता रहेको हुँदा अभियानको तर्फबाट एउटा सकारात्मक सहकार्यात्मक अनुगमन टीम निर्माणको आवश्यकता रहेको सुझाव प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी मकवानपुर जिल्ला बचत संघकी अध्यक्ष कल्पना श्रेष्ठले सहकारीको क्षेत्रमा अध्ययन अनुसन्धान हुन नसकिरहेको अवस्थामा सहकारी अनुसन्धान विभागको गठन को योजना स्वागतयोग्य रहेको विचार व्यक्त गर्नुभयो ।
सदस्य राजु गौतमले कोभिड १९ को सन्दर्भमा सहकारीहरुको उच्च योगदान रहेको भएपनि सदस्य सेवा प्रवाहमा सहकारीहरुलाई जटिल अवस्थाको सामना गर्नुपरेको विचार व्यक्त गर्नुभयो । सहकारीमा सदस्य बनेको ३ महिनापछि मात्रै ऋण लगानी गर्ने प्रावधान, १० लाख भन्दा बढीको ऋणमा धितो राख्नुपर्ने व्यवस्था संशोधन गरिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
सदस्य लक्ष्मी सापकोटाले सहकारीमा राख्नपर्ने विभिन्न कोषहरुको विषयमा अन्यौलता भएकोले कोष समायोजन गर्नुपर्ने विषयमा आफ्नो धारणा प्रस्तुत गर्नुभयो । सदस्य निरज थापाले प्रदेश र स्थानीय स्तरमा सहकारीलाई स्रोत साधन सम्पन्न बनाउन विशेष योजना तय गरिनुपर्ने विचार व्यक्त गनुृभयो ।
सुर्खेत फिल्ड व्यवस्थापन उपसमिति सदस्य बमबहादुर बी.सी. ले सहकारी एकीकरण अभियानको प्रशंगलाई उल्लेख गर्दै एकीकरण प्रक्रियामा सहकारीले भोग्नुपरेको प्रशासनिक जटिलताको विषयहरु उठाउँदै एकीकरण कार्यविधि निर्माणको विषयमा आफ्नो धारणा राख्नुभयो । साथै नेफ्स्कूनले अगाडि सारेका योजना तथा कार्यक्रमहरुका विषयमा अन्य सहभागी बक्ताहरुले पनि महत्वपूर्ण सुझावहरु प्रस्तुत गर्नुभएको थियो ।

१ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
१० दिन अगाडि
२५ दिन अगाडि
२३ दिन अगाडि
३३ दिन अगाडि
३३ दिन अगाडि
२७ दिन अगाडि