(नेफ्स्कूनले भर्चुअल माध्यमबाट सञ्चालन गरेको “शाखा व्यवस्थापकहरुको क्षमता विकास तालिम” आज तेस्रो दिन प्रवेश गरेको छ । संघको ५ औं रणनीतिक योजनाका साथै व्यक्तिगत र संस्थागत क्षमता विकासका विभिन्न विषय र आयामहरु समेटिएको महत्वपूर्ण तालिमका सम्बन्धमा केही सहभागीहरुको आजसम्मको सिकाइ र अनुभव यहाँ समेटेका छौंः सम्पादक )
राधाकुमारी पोखरेल
फिल्ड ईन्चार्ज, रुपन्देही
स्थायी बसोबासः मुसिकोट नगरपालिका–२, गुल्मी
अस्थायी बसोबासः बुटवल उप महानगरपालिका–११
जारी तालिमको तेस्रो दिन आज पनि दुई सत्र सञ्चालन भयो । पहिलो सत्रमा द्वन्द व्यवस्थापन र प्रभावकारी सञ्चार विषयलाई संघका प्राचार्य गणेश प्रसाद तिमिल्सिनाले छुट्टाछुट्टै र अन्तरसम्बन्धका आधारमा विश्लेषणात्मक प्रस्तुति गर्नुभयो । सामान्यतया द्वन्दको बुझाइ नकारात्मक हिसाबले गर्ने भएपनि अर्को पाटोमा यसलाई विचारको विविधता भन्दै संस्था विकासको अपरिहार्य तत्वका रुपमा अर्थय्याइएको थियो । सञ्चार आजको युगमा सबैभन्दा ठूलो अस्त्र भएको कसैबाट लुकेको छैन । त्यसैले प्रभावकारी सञ्चारले नकारात्मक भावना र अस्पष्टताहरु समाधान हुने विषयमा उदाहरण सहित प्रस्तुति गरिएको थियो । दोस्रो सत्र त झनै महत्वपूर्ण थियो । महामारीको समयमा सहकारी संस्थाहरुले कसरी सेवा निरन्तरता दिने भन्ने धेरैको जिज्ञासा हुनु स्वाभाविक हो । त्यसका लागि व्यवसाय निरन्तरता योजना (बीसीपी) आवश्यक भएको भन्दै त्यसमा अटाउनुपर्ने विषयहरुमा व्यवसाय विभाग प्रमुख दुर्गा प्रसाद ढकालले गहकिलो प्रस्तुति दिनुभयो ।
तालिमको पहिलो दिन उद्घाटन सत्रसँगै कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले संघको ४ वर्षे रणनीतिक व्यावसायिक योजना, मार्गदिशा र आगामी मार्गचित्र बारे जानकारी गराउनुभयो । दोस्रो दिन बरिष्ठ अधिकृत बल्लभ तिमिल्सेनाबाट ऋणको परिभाषा, सहकारी संस्थामा ऋणको महत्व, ऋणको आधारभूत सिद्धान्त, प्रभावकारी ऋण लगानीका आयामहरु, ऋणको बर्गीकरण, भाखा नाघेको ऋण, असुली प्रक्रिया, ऋण सम्बन्धी आवश्यक कागजात र तिनको व्यवस्थापन आदि विविधि विषयमा तालिम प्राप्त गर्यौ ।
एकदमै सहभागितात्मक विधिबाट तालिम सञ्चालन भयो । अन्तरक्रिया र कक्षा कार्य पनि गर्यौ । यसले व्यावहारिक ज्ञान समेत सिकायो । साथै ऋण जोखिम कोष व्यवस्थापन, सामान्यतयाः 5C भनिए पनि अहिले दिगो विकासको लक्ष्यसँग सहकारीलाई जोड्न र पर्यावरणको मुद्दालाई सहकारीको अभिन्न अंग बनाउन जलवायु परिवर्तनलाई थपेर 6C बनाएको पनि जानकारी पाइयो ।
त्यस्तै, व्यवसाय विभाग प्रमुख सन्जयराज तिमल्सिनाले परिणाममुखी कार्य सम्पादन व्यावस्थापन र त्यसका मुख्य क्षेत्रहरु, सम्पादन तरिका, परिणाममुखी व्यवस्थापन चक्र, परिणाममा आधारित व्यवस्थापन दृष्टिकोणमा साझा समझदारी र प्रतिबद्धता ,परिणामको सफलता र प्रत्याभूतिको महत्वपूण शर्त, के, किन, कसरी जस्ता प्रश्नको प्रयोग गरी कारण विश्लेषण, परिवर्तनको मान्यता, भौतिक प्रक्रिया,मनोवैज्ञानिकक प्रक्रिया, आर्थिक प्रक्रिया, सामाजिक प्रक्रिया कामको प्राथमीकीकरण तुलनात्मक लाभ विश्लेषण परिणाम, परिणाम निर्धारणका सिद्धान्तहरु, परिणामको श्रृंखला क्रम, श्रोत श्रृंखला, कार्य सम्पादन सुचक, सुचकका गुणात्मक क्षेत्रहरु, कार्य योजनाका विचारणीय पक्षहरु, कार्यक्रम र परिणम अनुगमन तह परिणाममा आधारित प्रतिवेदन सुधारात्मक टिप्सहरु, कार्यसम्पादन मुल्यांकनका आधारहरु,विधि र ढाँचा आदि विषयमा सरल तरिकाले जानकारी गराउनुभयो । यी मध्ये कतिपयर विषयहरु मेरा लागि एकदम नयाँ थिए । खासगरी ७२० डिग्री कार्य सम्पादन मुल्याङ्कनको बारेमा थाहा पाउँदा खुसी लाग्यो । त्यस्तै, सहकारी संस्थाहरुमा मानव श्रोतको निरन्तरताको विषय पनि उहाँले समेट्नु भयो । एकदमै रमाइलो तरिकाबाट सिकाइ सम्प्रेषित भएको कारण बुझाइमा कठिनाइ भएन ।
प्रशिक्षण विधिहरु नौलो नभएपनि अनुभवले खारिनुभएका प्रशिक्षकहरुका कारण प्रस्तुतिकरणमा विविधता पाएँ । धेरै जना प्रशिक्षकहरु हुनुको फाइदा नै यही हो जस्तो लाग्छ । सबैका भिन्न शैलीहरुबाट धेरे कुराहरु सिक्न पाइन्छ ।
मलाई यो भर्चुअल तालिम आजका दिनसम्म आइपुग्दा एकदम राम्रो लागेको छ । समय समयमा आयोजना हुने यस प्रकारको प्रशिक्षणले काममा नयाँ उर्जा मिल्छ, अध्ययनको महत्व उजागर गर्छ र दैनिक काम भन्दा नौलो पनसँगै सबैको अनुभवहरु आदानप्रदानको मौका मिल्छ ।
नेफ्स्कूनले नीति, विधि र प्रविधि भनेर धेरै अघिदेखि जोड दिदैं आएको थियो । त्यही भएर प्रविधिमा हामी व्यक्तिगत र संस्थागत रुपमा काम गरिरहेका छौं । नवीन प्रविधिहरुमा अभ्यस्त हुने यो अवसर पनि जुट्यो । भौतिक दूरीलाई प्रविधिले धेरै सहज बनाएको छ । अन्यथा यस्तो विषम् परिस्थितिमा हामी देशभरिका फिल्डका साथीहरुले एकैपटक यस्तो महत्वपूर्ण तालिम लिने अवसर कहाँ जुट्थ्यो र ? तालिमको दौरान मलाई हामी सबै सहकर्मीहरुसँगै भएको जस्तो आभाष दिलायो ।

बेद प्रसाद भट्टराई
फिल्ड इन्चार्ज, दाङ
स्थायी बसोबासः तुलसीपुर उपमहानगरपालिका–७, तुलसीपुर, दाङ
अस्थायी बसोबासः घोराही उपमहानगरपालिका–१५, घोराही, दाङ
आज पहिलो सत्रमा सहकारी लगायत कुनै पनि संस्थाका लागि आवश्यक द्धन्द व्यवस्थापन र प्रभावकारी सञ्चारको अन्तर सम्बन्ध बारे सिक्ने अवसर मिल्यो । संस्थामा द्धन्द कसरी उत्पन्न हुन सक्छ र त्यसलाई कसरी समयमै व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरा सिकियो । संगठनमा हुने सकारात्मक र नकारात्मक द्धन्दका स्रोत र तिनका प्रकारहरुका साथै द्धन्द व्यवस्थापनका ५ रणनीति बारे स्पष्ट बुझियो । साथै अप्रभावकारी सञ्चारले संगठनलाई कसरी हानी गर्छ र समयमै प्रभावकारी सञ्चार कसरी गर्न सकिन्छ भन्ने बारेमा धेरै ज्ञान हासिल गरियो । यो सत्र नेफ्स्कूनका प्राचार्य गणेश प्रसाद तिमिल्सिनाले सहजिकरण गर्नुभएको थियो ।
आज दोश्रो सत्रमा सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले कोभिड महामारी लगायतका प्राकृतिक, मानव सिर्जित एवम् प्राविधिक विपत्तिका बाबजूद व्यवसाय निरन्तरताको उपाय र तौरतरिकाका बारेमा जानकारी उपलब्ध गराउनुभएको थियो । त्यसका लागि मुलभूत रुपमा खासगरी बचत तथा ऋण सहकारी जस्तो वित्तीय संस्थाले व्यवसाय निरन्तरता योजना (बीसीपी) बनाउनुपर्ने आवश्यकता उहाँले उदाहरणहरु सहित प्रष्ट पार्नुभएको थियो । बीसीपीका विविधि आयामहरुमा बारेमा पनि आज चर्चा भएको थियो ।
अघिल्ला दुइ दिन पनि हामी भर्चुअल प्रशिक्षणमै जोडिएका छौं । नेफ्स्कूनको ४ वर्षे व्यावसायिक रणनीतिक योजना (एसबीपी) त्यसले लिएका ध्येय, परिकल्पना, लक्ष्य, उद्देश्य र कार्यक्रमहरुका बारेमा कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले प्रस्तुति दिनुभएको थियो । नेफ्स्कूनको योजनाले लिएको मार्गचित्रको बारेमा सहभागीहरुबीच घनिभूत छलफल पनि भयो । योजनामा समाहित ४ वाई ७ को म्याट्रिक्सका बारेमा ज्ञान हासिल गरियो । साथै संस्थामा कुशलतापूर्वक ऋण व्यवस्थापन र त्यसको दीर्घकालिन प्रभावका सम्बन्धमा बरिष्ठ अधिकृत बल्लभ तिमिल्सिनाले सहजिकरण गर्नुभएको थियो । त्यस्तै, व्यवसाय विभाग प्रमुख सञ्जयराज तिमल्सिनाले नतिजामुखी कार्यसम्पादन प्रणाली र सेवामा उत्कृष्टता विषयमा प्रस्तुति गर्नुभएको थियो । कर्मचारीको सीप अभिवृद्धिको माध्यम, विधि र आवश्यकताका विषयमा उत्प्रेरणामूलक प्रस्तुति थियो ।
आज सम्मका सबै प्रशिक्षण विधि एकदम राम्रो लागेको छ । प्रविधिमार्फत जोडिएपनि तालिम हलमै भौतिक उपस्थिति भए जसरी सिक्ने मौका मिलेको छ । प्रशिक्षकहरुको एकदमै मित्रवत् व्यवहार र मिठासपूर्ण प्रस्तुलिते सिकाइ थप प्रभावकारी बनेको छ । लेक्चर, समूह अभ्यास, प्रश्नोत्तर लगायत विधिहरु अबलम्बन भएका छन् जसले प्रशिक्षणलाई अन्तरक्रियात्मक बनाएको छ ।
यस किसिमका प्रशिक्षणबाट हामीमा भएका जिज्ञासा, अल्पज्ञान र द्धिबिधाहरुको अन्त्य भएर थप दक्षता र निखारका साथ पेशागत धर्म निर्वाह गर्न उत्साह थपिने भएकाले बाँकी दिनको पनि पर्खाइमा छु । ५ दिने प्रशिक्षण पश्चात हाम्रो काममा थप निखारता आउनेछ । कार्यालयमा हुने कैयौ गतिबिधिहरु थप चुस्त दुरुस्त हुनेछन् । कर्मचारीहरुमा थप उत्प्रेरणा मिली प्रभावकारी सञ्चार मार्फत स्वस्थ्य कार्य वातावरण विकास हुने विश्वास लिएको छु ।
महामारीमा भर्चुअल तालिमहरु भाइरल भएका छन् । कोभिड महामारीमा भौतिक रुपमा हलमा तालिम सञ्चालन गर्न सकिने अवस्था नरहेकोले पनि यस किसिमका प्रबिधि मैत्री तालिमको महत्व बढेको छ । सुरुमा केही फरक अनुभव भए पनि महामारीको कारण लकडाउन पश्चात प्रविधिसँग जोडिएर थुप्रै प्रशिक्षणका कार्यक्रमहरुमा समावेश भएकाले अहिले एकदम सहज महसूस हुन्छ । कार्यालयको कामसँगै प्रशिक्षण पनि हुने यस किसिमको भर्चुअल अन द जब ट्रेनिङ्गको मिठो अनुभव लिदै छु ।
ज्योति महत
फिल्ड इन्चार्ज, मकवानपुर
स्थायी बसोबासः हेटौडा–६, मकवानपुर
अस्थायी बसोबासः हेटौडा–२, मकवानपुर
आजको दुई सत्र नै मेरो लागि निकै महत्वपुर्ण रह्यो । कार्य सम्पादनका सिलसिलामा आउने समस्याको बिषयमा घनिभूत छलफल भयो । आगामी दिनमा कसरी तानब मुक्त वातावरणमा कार्य गर्ने भन्ने सिकाई भयो । कार्यालयमा कार्य सम्पादनका क्रममा हुने द्वन्दलाई सकारात्मक रुपमा लिइ सही समयमा नै सजिलै ब्यबस्थापन गर्न सकिने जानकारी पाएँ ।
त्यस्तै, व्यवसायलाई असमान्य अवस्था पनि निरन्तर रुपमा संचालन गर्नका लागि ब्यबसाय निरन्तरता योजना निर्माणको आवश्यक छ । भावी दिनमा सोच्न नसकिने बिपद्हरु आएमा त्यसको सुरक्षाका विधिहरु अवलम्बन गरी सेवा निरन्तरता दिँदा सदस्यहरुको बिश्वास र संस्थाको छवि निर्माण गर्न सकिने, फरक परिस्थितिमा पनि आफ्नो लक्ष्य हासिल गर्न सकिने भन्ने सिकाइ भयो ।
त्यसअघिका दिनमा नेफ्स्कुनका रणनीतिक कार्यदिशा र आगामी मार्ग चित्रको बारेमा, संस्थागत ध्येय, परिकल्पना, लक्ष्यका बारेमा प्रष्ट हुन सकियो । संघको ऋण लगानीलाई प्रभावकारी बनाउने, बजारीकरण गर्ने, आफ्ना लक्ष्यहरु हासिल गर्न परिणाममुखी कार्य सम्पादन तथा सेवा प्रवाहमा उत्कृष्टता हासिल गर्न रणनीतिक योजना बनाइ अगाडि बढ्नुपर्ने विषयमा प्रशिक्षण दिइएको थियो ।
बिश्वभर फैलिएको कोभिड १९ को महामारीको अवस्थामा भर्चुअल विधिबाट प्रदान गरिएको तालिम आजसम्म एकदम राम्रो भएको छ । तालिममा प्रत्येक सत्र अनुसार प्रशिक्षक परिवर्तन हुँदा नयाँ तरिका र प्रस्तुतीकरणको अनुभव गर्न पाएका छौं । तालिमको बीचमा कथा तथा भिडियो क्लिपले ज्ञानबद्र्धक र मनोरञ्जनात्मक पनि बनाएको छ ।
यस्ता तालिमले कर्मचारीहरुको मनोबल बढाउने, समसामायिक बिषयका बुझाइलाई अद्याबधिक गर्न मद्दत गर्ने, कर्मचारीलाई उत्प्रेरित गर्ने, पुनर्ताजगी गराउने, क्षमता बिकास गराउने जस्ता फाइदाहरु हुन्छन् ।
यस प्रशिक्षण पछि नयाँ उर्जाका साथ आफुसँगै माताहतका कर्मचारीलाई उत्प्रेरणा दिई लक्ष्य हासिल गर्ने गराउने काममा सहजिकरण गर्न सक्ने विश्वास लिएकी छु । लक्ष्य हासिल गर्न व्यवसाय वृद्धिका लागि रणनीतिक योजना बनाई अघि बढ्ने कौशल पनि प्राप्त गरेकी छु । त्यस्तै, कार्यालयको काम सम्पादन गर्दा साप्ताहिक योजनाका बनाई तानाबमुक्त भई कामको महत्वको आधारमा पालै पालो काम सम्पन्न गर्ने र बिगतमा लक्ष्य हासिल गर्न नसकिएका क्षेत्रको कारक तत्व अध्ययन गरी रणनीतिक योजनामार्फत अघि बढ्ने आत्मबल मिलेको छ ।
भर्चुअल विधिको प्रयोगले सिकाइहरु प्रभावकारी हुने मात्र नभइ समयको बचत तथा सदुपयोग, खर्चको ब्यबस्थापन तथा प्रविधि मैत्री सीप विकास हुने भएपनि कार्यालय समयमै लामो समय तालिममा बस्नुपर्दा अन्य काम, सदस्य भेटघाट, अत्यावश्यक सम्पर्क जस्ता काममा केही असहजता भने पक्कै हुँदोरहेछ । लामो समय सम्म भर्चुअल तालिममा बस्दा आँखा दुख्ने समस्या, ईन्टरनेटको समस्या जस्ता कठिनाइ पनि सामना गर्नुपर्छ ।
प्रविण वाग्ले
फिल्ड कार्यालय इन्चार्ज, लमजुङ
स्थायी बसोबासः बेसिशहर नगरपालिका वडा नं. ७, लमजुङ
अस्थायी बसोबासः बेसिशहर नगरपालिका वडा नं. ७, लमजुङ
आजको सत्रमा द्वन्द्वको परिभाषा, कारण र व्यवस्थापनका तरिकाका बारेमा विस्तृत जानकारी पाइयो । संस्थामा प्रभावकारी सञ्चारको भूमिका र त्यसले द्वन्द्व न्यूनीकरणमा खेल्ने भूमिकाका बारेमा छलफल गरियो । यस्तै, महामारीको समयमा व्यवसाय निरन्तरता योजनाको महत्व, निर्माणका तरिका र औचित्यका बारेमा सघन छलफल भयो । आइ.एस.ओ २०१९ द्धारा प्रमाणित व्यवसाय निरन्तरतामा आउने तिन महत्वपूर्ण अवरोधहरुको बारेमा पनि प्रशिक्षकले जानकारी गराउनुभएको थियो । त्यस्तै, व्यवसाय निरन्तरता योजनाको महत्व, विकास क्रम, रणनीतिक उद्देश्यहरु तथा व्यावसायिक निरन्तरताको संरक्षणात्मक उपायहरु, सञ्जालमा महामारीको प्रभाव, बचत तथा ऋण सहकारी सञ्जालका व्यावसायिक निरन्तरता योजनाका सरोकारवालाहरुका बारेमा अन्तरक्रियात्मक सिकाइ भयो आज ।
भर्चुअल प्रशिक्षण भएपनि भौतिक उपस्थिति सहितको कार्यक्रम जस्तै अनुभव भयो । भौतिक दूरीको अनुभव भएन । प्रशिक्षण शैली र विषयवस्तुको गहनताका कारण पनि हुन सक्छ एकदम रमाइलो अनुभव भयो । खासगरी लर्निङ बाई डुइङ् भयो ।
यस किसिमको तालिमले कर्मचारीको कार्य सम्पादनमा उल्लेख्य सुधार ल्याउछ भन्ने मलाई लाग्छ । यसले नयाँ उर्जा र अनुभव आदानप्रदानको मौका पनि प्रदान गर्दछ । कर्मचारीको सन्तुष्टि र मनोबलमा सुधार ल्याउन, संस्था र कर्मचारीका कमजोरीहरुको सम्बोधन गरी सहकार्यका आधारमा योजना निमार्ण गर्न र उत्पादकत्व बढाउन तालिमहरु उपयोगी हुन्छ भन्ने लाग्छ ।
प्रशिक्षण पछिको कार्य कुशलतामा बृद्धि, अध्ययन गर्ने बानीको विकास, सत्य र तथ्यमा आधारित तथ्याङ्क संकलन बानीको विकास, द्वन्द्व व्यवस्थापन र व्यावसायिक निरन्तरतामा ध्यान दिन सक्ने बनाउछ भन्ने मेरो विश्वास छ । यो तालिमको फाइदा के भएको छ भने भर्चुअल विधि अपनाएकाले देशै भरबाट आ–आफ्नै स्थानमा रही एकैपटक सहभागी हुन सकियो । त्यस्तै, तालिमसँगै कार्यालयका अन्य कामको पनि धेरै हदसम्म व्यवस्थापन गर्न सम्भव भयो ।
१९ घण्टा अगाडि
२१ घण्टा अगाडि
२१ घण्टा अगाडि
२१ घण्टा अगाडि
२२ घण्टा अगाडि
२४ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
२१ घण्टा अगाडि
२४ घण्टा अगाडि
४ दिन अगाडि
२१ घण्टा अगाडि
११ दिन अगाडि