काठमाडौं । सहकारी अभियानका शीर्षस्थ व्यक्तित्वहरु एवम सरोकारवालाहरुले बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोषको प्रभावकारी सञ्चालनमा ऐक्यबद्धता जाहेर गर्दै यसका लागि हरसम्भव सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँहरुले सबै बचत तथा ऋण सहकारी संघ संस्थाहरुलाई कोषमा आबद्धताको आव्हन गर्दै सरकारलाई समेत सहयोग गर्न जोडदार माग गर्नुभएको छ । अभियानको सबैभन्दा उच्च निकाय राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी विकास बोर्ड, अर्थ मन्त्रालय लगायतका प्रतिनिधिहरुले स्थिरीकरण कोष बचत तथा ऋण सहकारीहरुको लागि अत्यावश्यक भएको बताउँदै यसलाई सबैको सहभागितामा अघि बढाइनुपर्ने धारणा राख्नुभयो । हालसम्म प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा सबै वक्ताहरुको जोड थियो ।
आज संघीय राजधानीको नयाँ बानेश्वरमा बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोषको प्रथम वार्षिक परामर्श बैठकमा ऐक्यबद्धता सहित धारणा राख्नुहुनेहरुले बचत तथा ऋण सहकारीहरुको जगेडा कोषको रुपमा रहने स्थिरीकरण कोषको आवश्यकता र औचित्यको बहसको अब कुनै तुक नहुने बरु यसमा अभियान र सरकारको सहयोग र सहकार्यमार्फत अघि बढ्नुको विकल्प नभएको स्पष्ट पार्नुभयो ।