‘सदस्यहरूमा आर्थिक सशक्तीकरणको ज्योति फैलाउँदै सुदूरपश्चिमको जीवनज्योति’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सदस्यहरूमा आर्थिक सशक्तीकरणको ज्योति फैलाउँदै सुदूरपश्चिमको जीवनज्योति’

सुदूरपश्चिम प्रदेशको बैतडी भौगोलिक विकटताका बाबजूद पर्यटन, जलश्रोत, वनजङ्गल, जडिबुटी, बन्यजन्तु लगायत प्राकृतिक सम्पदाले धनी पहाडी जिल्ला हो । सुदूरपश्चिम खाद्यान्न उत्पादनमा पूर्ण आत्मनिर्भर बन्न नसकेपनि जिल्लाका उत्पादन जस्तै फलफूल, तरकारी, भट्मास, घ्यू, मह निर्यात हुँदै आइरहेका छन् । पछिल्लो समय सडक सञ्जालको विस्तार, जिल्लाबासीहरुमा शिक्षा र चेतनास्तर बृद्धिका कारण साक्षरता दर, औषत आयु र प्रति व्यक्ति आय जस्ता सूचकहरुमा उकालोलाग्दो स्थितिमा छ । अन्य क्षेत्रसँगै जिल्लामा बचतको महत्व सिकाउन, व्यवसायका लागि पुँजी अभावको समस्यामा सहयोग गर्न, समुदायका सदस्यबीच सुखदुःखमा सहकार्यको भावना विकसित गराउन समुदायमा स्थापित सहकारी संघ संस्थाहरु पनि लागिपरेका छन् । यस्तैमध्येको एक हो जीवनज्योति बचत तथा ऋण सहकारी संस्था लि.। सहकारी समर्पणको उत्कट अभिलाषा बोकेका युवाहरुले जिल्लाबासीहरुको दुःखसुखमा साथ दिन १७ बर्षअघि स्थापना गरेको जीवनज्योति साकोस लामो संघर्षपश्चात उचाइको गतिमा लम्किँदो छ । 

सदस्यता बृद्धिसँगै सदस्यहरुको आर्थिक सशक्तीकरणको क्षेत्रमा सहकारीमार्फत भएका कामहरु समुदायमा प्रशंसनिय बनेका छन् । सदस्यहरुमा बचत गर्ने बानीको विकास भएको छ । वित्तीय कारोबारमा महिला सहभागितामा बृद्धि भएको छ, व्यावसायिक आर्थिक लगानी मार्फत स्वरोजगार सृजना भएको छ ।  

स्थापनाको चरण

नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसर पारेर २०६२ वैशाख २५ गते बैतडीका स्थानीय २२ जनाको  सहकार्यमा जीवनज्योती बचत तथा ऋण सहकारी संस्थाको प्रारम्भिक चरण सुरु भएको थियो । स्थानीय २ महिला र २० पुरुषको सहभागितामा रु. २५ हजार प्रारम्भिक बचत संकलन भएको थियो । पारस्परिक, सामाजिक, आर्थिक समस्या समाधानमा सहयोग तथा बचत गर्ने बानीको विकास गर्ने उद्देश्यसहित विकसित अवधारणाले भने २०६५ सालमा मात्र पूर्णता पायो । ०६५ साउन १४ गते डिभिजन सहकारी कार्यालय वैतडीमा दर्ता गरी जिल्लामा बचत अभियानको सुत्रपात भएको हो । 

संस्थाका संस्थापक अध्यक्ष तर्कराज लेखक स्मरण गर्नुहुन्छ, “त्यतिबेला केही काम गरौं भनि रु.१०,००० ऋण खोज्दा, सबैतिरबाट यति ठूलो रकमको आवश्यकता किन पर्यो भन्ने प्रश्नले हामी सबै अचम्मित भएका थियौं ।” 

संस्थागत सफलता

२ कर्मचारीबाट सुरु भएको संस्थामा हाल ७ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । ३२ महिला र ३९ पुरुष सदस्यबाट आजभन्दा १६ बर्ष अगाडि सुरु भएको बचत अभियानमा ६७२ महिला र ६६२ पुरुषगरी करिब १३ सय ३४ सदस्य जोडिएका छन् । सदस्य बृद्धिदर औषत  १२ प्रतिशत रहेको छ । करिब ८ लाख सेयर पुँजी रहेको संस्थाको ९ करोड बढी ऋण लगानी छ । संस्थाले हाल आफ्नै जग्गा खरिद गरी भवन निर्माणको कार्य समेत अगाडि बढाइरहेको छ । 
  
जीवनज्योतीले जिल्लाकै स्थानीय जनसमुदायमा आर्थिक सशक्तीकरणको ज्योति फैलाउँदै सदस्यहरुको सुख दुखमा साथ दिइरहेको छ । साकोससँग हाल बचत र ऋण गरी १० प्रकारका सेवाहरु सञ्चालनमा छन् । व्यापारिक, व्यावसायिक तथा लघुउद्यम व्यवसाय ऋण लगानी कार्यक्रम सञ्चालन गरी साकोसले सदस्यहरुलाई लघुवित्त साथै कृषि ऋण प्रदान गर्दै आइरहेको छ ।  

सञ्चालक समिति र व्यवस्थापनबीच सुमधुर सम्बन्ध रहेको छ । सदस्यता बृद्धिदर उकालो लाग्दो छ, समुदायमा साकोसको छवि उच्च छ । एक आपसमा सुमधुर सम्बन्ध विकास भएको छ । सदस्यता बृद्धि साकोसको सकारात्मक पक्ष हो भने यसले समुदायमा पनि बचत शिक्षाको ज्ञान विस्तार गर्दै बर्तमान पुस्ताबाट भावी पुस्तासम्मलाई आर्थिक सशक्तीकरणको बाटो पहिल्याउन सहयोग पुर्याएको छ । 

सदस्यता बृद्धिसँगै सदस्यहरुको आर्थिक सशक्तीकरणको क्षेत्रमा सहकारीमार्फत भएका कामहरु समुदायमा प्रशंसनिय बनेका छन् । सदस्यहरुमा बचत गर्ने बानीको विकास भएको छ । वित्तीय कारोबारमा महिला सहभागितामा बृद्धि भएको छ, व्यावसायिक आर्थिक लगानी मार्फत स्वरोजगार सृजना भएको छ ।  

साकोसका अध्यक्ष कैलाश कुमारका अनुसार, “साकोसले सञ्चालक एवम् कर्मचारीहरुको क्षमता विकासका लागि निरन्तर तालिम शिक्षाका कार्यक्रमहरुमा जोड दिँदै आएको छ । सहकारी विभाग र नेफ्स्कूनबाट सञ्चालित लेखा सम्बन्धी तालिम, पर्ल्स अनुगमन प्रणाली तालिम, रणनीतिक योजना निर्माण तालिम, सफ्टवेयर सञ्चालन तथा व्यवस्थापन लगायत विविध तालिमहरुमा साकोस सञ्चालक एवम् कर्मचारीहरुको सहभागिता रहेको छ ।” 

सुरक्षा कवचको रुपमा रहेको स्थिरीकण कोषमा साकोसले गतबर्ष बाटै आफ्नो लागि योगदान सुनिश्चित गरिसकेको छ । सहकारी ऐन, २०७४ ले गरेको व्यवस्था अनुरुप दिगो सहकारी निर्माणमा कोषको योगदान उल्लेख भई विषयगत केन्द्रीय संघ नेफ्स्कून अन्तर्गत रहनेगरी कोष सञ्चालन हुनुसँगै साकोस अभियानको सबलता चुलिएको छ । 

नेफ्स्कूनले प्रत्येक बर्ष प्रदान गर्ने प्रदेशस्तरीय उत्कृष्ट पुरस्कारबाट जिवनज्योति साकोस सुदूरपश्चिम प्रदेश उत्कृष्ट पुरस्कार २०७५ बाट पुरस्कृत भएको थियो भने संघको २८ औं बार्षिक साधारणसभाबाट उक्त पुरस्कार प्राप्त गरेको थियो । 

त्यसैगरी व्यवस्थापक टेकराज लेखक सुदूरपश्चिम प्रदेश उत्कृष्ट व्यवस्थापक पुरस्कार २०७७  प्राप्त गर्न सफल हुनुभएको थियो । 

अवसर र चुनौति

जिवनज्योति साकोसका सफलता सँगै अवसर र चुनौतिहरु पनि सामुन्ने छन् । सदस्य सेवा र सहज वित्तीय उपलब्धतासँग जोडिने प्रविधि प्रयोगमा भने साकोसले चुनौतिको सामना गर्नुपरिरहेको छ । प्रविधिको युगमा समय अनुसार कार्यशैलीमा परिवर्तन गर्न नसक्नु संस्थागत चुनौतीको रुपमा रहेको छ ।  वित्तीय उपलब्धताको सुनिश्चिततासँगै प्रविधि प्रयोगमा देखिएको चुनौतिले कार्यशैलिमा परम्परा हावी छ । 
यति हुँदाहुँदै पनि साकोससँग सदस्यको अपेक्षा भनेको सरल र सुलभ तरिकाले बैकिंङ सेवाको उपलब्धता नै हो । ऋण लगानीका क्षेत्रहरुको बृद्धि सँगै सरल ऋण लगानीको अपेक्षा सदस्यहरुमा रहेको हुन्छ । संस्थाले सदस्यहरुको कारोबारको नियमितता तथा निजको बचतका आधारमा व्यावसायिक योजना अनुसार र संस्थाको तरलताको आधारमा ऋण लगानी गरिरहेको छ ।  

साकोसको भावी रणनीतिक योजना भनेको समय अनुसारको प्रविधियुक्त बैकिंङ सेवाको उपलब्धता नै हो । ऋणको किस्ता अनुसारको भुक्तानी र वित्तीय शिक्षामा साकोसको जोड रहेको छ । 
 

पाठकबाट थप