काठमाडौं । नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले बारा, पर्सा, रौतहट र सिन्धुली जिल्लाका सहकारी अभियानकर्मीहरुसँग समसामयिक विषयमा अन्तरक्रिया गर्नुभएको छ । केही दिनदेखि काठमाडौं बाहिर रहनुभएका अध्यक्ष ढकालले ती जिल्लाका सहकारी अभियानका आवश्यकता, समस्या, चुनौती, नेफ्स्कूनसँगको अपेक्षा आदिबारे छलफल गर्नुभएको छ । अभियानकर्मीहरुबाट सल्लाह, सुझाव र अभिमत ग्रहणसँगै नेफ्स्कूनको अपेक्षा पनि उहाँले ती जिल्लाका सहकारीकर्मीहरुलाई अवगत गराउनुभएको छ । नेफ्स्कूनमा अध्यक्ष ढकालको नेतृत्वमा नयाँ सञ्चालक समिति निर्वाचित भएको परिप्रेक्ष्यमा अभियानकर्मीहरुसँग साक्षात्कारको सिलसिलामा उहाँ जिल्ला भ्रमणमा हुनुहुन्छ ।
अर्थतन्त्रमा देखिएको संकुचन, सहकारी क्षेत्रका समस्याहरु, ऋण असुली, सहकारीमाथिको कर, सञ्जाल व्यवस्थापन, सुशासन आदि विषयहरु ती छलफलका मुख्य विषय भएको अध्यक्ष ढकालले जानकारी गराउनुभयो । ती जिल्लास्थित नेफ्स्कून कार्यालयहरुबाट प्राप्त जानकारी अनुसार अध्यक्ष ढकालले स्तरीकरण तथा स्थिरीकरणमा आवद्धताको मुख्य विषय सदस्य संघ संस्थाहरुसँग राख्नुभएको छ ।
यस्तै, उहाँले लगानीहरुलाई सुरक्षित बनाउनेतर्फ समय र परिस्थितिको संवदेनशीलतालाई ध्यानमा राखी काम गर्नुपर्ने भन्दै सरकारसँग नेफ्स्कूनको बहसपैरवीमा सक्रियतापूर्ण साथ र समर्थनको लागि पनि आग्रह गर्नुभयो । अध्यक्ष ढकालले सदस्यहरुको राय, सल्लाह र सुझावलाई मनन् गर्दै नेफ्स्कूनको सञ्चालक समितिले काम गर्ने विश्वास दिलाउनुभयो । सञ्जाल व्यवस्थापनका जटिलताहरु फुकाउँदै लाने, रणनीतिक सहकार्यहरुलाई सुदृढ बनाउँदै लाने, आदि विषयहरु छलफलमा उठेको बताउनुभयो ।
यी अभिमतहरुले आगामी दिनमा संघको दिशा निर्देशमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । त्यस्तै, रणनीतिक योजनाका लागि पनि बटम अप अप्रोचका आधारमा ग्रासरुटका भावनाहरु प्रतिविम्बित गर्न सहज पर्ने अध्यक्ष ढकालले जानकारी गराउनुभयो । ती भेटमा नेफ्स्कूनले सरकार र सरोकारावालाहरुसँग भएका पछिल्ला राखेका विषयहरु, तीनमा भएका प्रगतिहरु र सम्भावनाहरुबारे पनि मोफसलका अभियन्ताहरुलाई अवगत गराएको उल्लेख गर्नुभयो ।
पुस ५ गते बिरगंज पुग्नुभएका अध्यक्ष ढकाल दिनभर अभियन्ताहरुसँगको अन्तरक्रियामा व्यस्त रहनुभयो । भेटमा नेफ्स्कूनक सञ्चालक सदस्य शोभा कुमारी राउत र निवर्तमान सञ्चालक हरेराम पटेल जोडिनुभएको थियो भने राष्ट्रिय सहकारी महासंघ नेपालका नवनिर्वाचित सञ्चालक सदस्य शम्भु गुप्ता, जिल्ला बचत संघ पर्साका अध्यक्ष राजेश पण्डित, महासचिव जिस्नु बराल, जिल्ला बचत संघ बाराका अध्यक्ष सत्येन्द्र ठाकुर, लगायत विभिन्न साकोसका अध्यक्ष र व्यवस्थापकहरु पनि सहभागी हुनुभएको थियो ।
अध्यक्ष ढकालले करिब ४ घन्टा अभियानकर्मीहरुसँग बिताउनुभयो । नेफ्स्कून सदस्य सेवा कार्यालयमा भएका भेटपछि उहाँले जिल्ला बचत संघ पर्सा र जिल्ला सहकारी संघ पर्साको कार्यालय पनि पुग्नुभएको थियो । भेटमा स्थानीय अभियानकर्मीहरुले सहकारीमा कर वृद्धि, जिल्लासंघ साझेदारी र सम्बन्ध, ऋण लगानी तथा असुलीमा देखिएका विविध समस्या, आदिबारे जिज्ञासा र सुझावहरु प्रस्तुत गर्नुभएको थियो ।
प्रत्युत्तरमा नेफ्स्कून अध्यक्ष ढकालले कर वृद्धिको विषय सम्बोधनका लागि अर्थ मन्त्रीसँग व्यक्तिगत तवरमा र अभियानको तर्फबाट पनि प्रयास भैरहेको जानकारी गराउनुभयो । यस्तै, जिल्ला संघहरुसँगको सम्बन्धलाई थप प्रगाढ बनाउँदै लाने नेफ्स्कूनको मनसाय स्पष्ट पार्नुभयो । उहाँले साकोस ऐनको विषयमा जिल्ला संघहरुबाट पनि आवाजहरु थप मुखरित भएर आउनुपर्ने बताउनुभयो भने नेफ्स्कूनको स्तरीकरण कार्यक्रममा आवद्धता र स्थिरीकरण कोषमा योगदानको विषय पनि राख्नुभएको थियो ।
नेफ्स्कूनको नयाँ सञ्चालक समितिले मधेश प्रदेशको सहकारी अभियानलाई थप सशक्त बनाउन कुरामा विशेष जोड दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘मधेश प्रदेशको सहकारी अभियानलाई साथै लिएर नेफ्स्कून हिड्छ, ‘अध्यक्ष ढकालले भन्नुभयो, ‘हाम्रा बहसपैरवीहरुमा ऐक्यबद्धता र कार्यक्रमहरुमा यहाँहरुको दरिलो साथ र समर्थन आवश्यक पर्दछ ।’ उहाँले अभियानकर्मीहरुको सुझावहरुलाई आत्समात गरी अघि बढ्ने विश्वास पनि दिलाउनुभयो ।
एक अर्को प्रसङ्मा उहाँले ऋण तिर्नु सबैको दायित्व भएको उल्लेख गर्दै यस विषयलाई मनन् गर्न आग्रह गर्नुभयो । वित्तीय कारोबार संवदेनशील हुने भन्दै अध्यक्ष ढकालले समयमै किस्ता बुझाइ असल ऋणी बन्न सदस्यहरुलाई सबैले सिकाउनुपर्ने र संघहरुले पनि यो विषयलाई हेक्का राख्नुपर्ने सुझाउनुभयो । यसो गर्दा प्राप्त हुने नतिजा सबैका लागि ुविन(विनु हुने उहाँको तर्क थियो ।
उक्त अवसरमा नेफ्स्कूनका अध्यक्ष ढकाल र सञ्चालक शोभा कुमारी राउतलाई बारा र पर्साका अभियानकर्मीहरुले बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको थियो । त्यपछि उहाँले सर्लाहीमा सहकारी अभियानकर्मीहरुसँग छलफल गर्नुभएको थियो । नेफ्स्कून सदस्य सेवा कार्यालय हरिवनले आयोजना गरेको कार्यक्रममा नेफ्स्कून सञ्चालक शोभा कुमारी राउत पनि सहभागी हुनुभएको थियो । उक्त भेटमा सर्लाहीका अगुवा सहकारीकर्मीहरु सगुन साकोसका अध्यक्ष केशब ढकाल, सगुन शिक्षा सहकारी संस्थाका अध्यक्ष बाबुराम घिमिरे, जिल्ला बचत संघ बाराका अध्यक्ष सत्येन्द्र ठाकुर लगायत सहभागी हुनुभएको थियो । सर्लाहीपछि अध्यक्ष ढकाल, सञ्चालक राउत लगायतले रौतहटको सहकारी अभियानसँग पनि माघ ६ गते समसामयिक विषयमा छलफल गर्नुभएको थियो । साक्षात्कार पछि अध्यक्ष ढकालले माघ ७ गते सिन्धुलीमा जिल्लाका सहकारी अभियानकर्मीहरुसँग अन्तरक्रिया गर्नुभएको थियो ।
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
२ दिन अगाडि
६ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
१४ दिन अगाडि
५ दिन अगाडि
३ दिन अगाडि
१२ दिन अगाडि