काठमाडौं । साकोसहरुले आफ्ना प्रत्येक सदस्य राम्रोसँग चिन्दा संस्थामा कुनै समस्या नआउने धारणा इन्डोनेसियाको सफल क्रेडिट युनियन सावान सिवारुङका सल्लाहकार फादर फ्रेडीले राख्नुभएको छ । सदस्यहरुसँग मात्र कारोबार गर्ने साकोसहरुले प्रत्येक सदस्यको जीवनलाई नजिकसँग बुझ्नुपर्नेमा उहाँले जोड दिनुभएको हो ।
‘सदस्यहरुको वित्तीय जीवन प्रत्येक साकोसले बुझ्नुपर्छ, ‘फादर फ्रेडीले भन्नुभयो, ‘सावान सिवारुङका ४८ हजार बढी सदस्यलाई प्रत्येक कर्मचारी र सञ्चालक समितिले चिन्दछन् र सबै सदस्यले संस्थाका सञ्चालक तथा कर्मचारीहरु चिन्दछन् । हाम्रो सफलतासँग यो सम्बन्ध गाँसिएको छ । असल साकोस बनाउन असल सदस्य सम्बन्ध आवश्यक छ । यही सम्बन्धले हाम्रो साकोस बनेको छ ।’ सन् २०१७ यता प्रत्येक वर्ष एक्सेस ब्राण्ड प्राप्त गर्न सफल समुदायमा आधारित सावान सिवारुङले सन् २०२३ मा एक्सेस गोल्डसँगै सुशासनसम्बन्धी क्यूलेग स्तरीकरण कार्यक्रममा पनि गोल्ड प्राप्त गरेको थियो । यसरी सफल साकोसका रुपमा प्रशंसित एवम् पुरस्कृत साकोसका अभ्यासहरु आज फादर फ्रेडीले नेपाली साकोस समुदायलाई अवगत गराउनुभएको हो ।

नेफ्स्कूनको अग्रसरतामा नेपालका वित्तीय सहकारीका व्यवस्थापन प्रमुखहरु लक्षित अभौतिक सिकाइ श्रृङ्खला ९ई लर्निङ सिरिज–क्यूमेल्स० अन्तर्गतको पाँचौं एपिसोडमा वित्तीय सहकारीहरुमा सदस्य सुरक्षाको विषयमा फादर फ्रेडीले आज प्रस्तुतिकरण गर्नुभएको हो ।
जब सदस्यहरु समस्यामा पर्छन् तब साकोस समस्यामा पर्छ, ‘फादर फ्रेडीले भन्नुभयो, ‘त्यसैले सदस्यको वित्तीय जीवनलाई स्वस्थ्य बनाउन वित्तीय साक्षरता, अनिवार्य मासिक बचत, सीप विकास र स्वरोजगारीका तालिम, शिक्षा र कार्यक्रमहरुलाई निरन्तर र व्यापक बनाउनुपर्छ ।’ ३ प्रतिशतभन्दा कम भाका नाघेको ऋण रहेको सावान सिवारुङका करिब ६० प्रतिशत सदस्य वित्तीय साक्षरताको तालिम तथा शिक्षासँग जोडिएको मात्र नभई त्यसलाई व्यहारमा लागू गरी वित्तीय स्वस्थ्यता कायम गर्न सफल भएको जानकारी उहाँले गराउनुभयो ।

त्यस्तै, नियमित बचतको प्रावधानले सदस्यहरुलाई संस्थाप्रति सक्रिय बनाइरहने पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले सदस्यहरुलाई मालिक मात्र होइन, संस्थाको उत्पादनहरुको उपभोगकर्ता पनि बनाउनुपर्नेमा जोड दिनुभयो । यसो भयो भने साकोसको सुरक्षा सदस्यहरु आफैले गर्ने उहाँले बताउनुभयो । जराबाट नै सबलीकरणमा जोड दिएको सावान सिवारुङले कर्मचारी तथा ३ सय ८१ स्वयंसेवीहरुमार्फत स–सानो समूहहरु निर्माण गर्दै समुदाय सशक्तिकरणमार्फत संस्थागत सफलता हात पारेको जानकारी आजको प्रस्तुतिकरणमा गराइएको थियो । ५१ मिलियन अमेरिकी डलर (६ अर्ब ७७ करोड रुपैयाँ बढी) कुल सम्पति रहेको सावान सिवारुङ इन्डोनेसियाबाट एक्सेस ब्राण्ड प्राप्त गर्ने पहिलो क्रेडिट युनियन हो । सदस्य सुरक्षाका क्षेत्रमा गरेका महत्वपूर्ण कामहरुका कारण सावान सिवारुङले इन्डोनेसियाली सरकार तथा अन्य विभिन्न निकायबाट समेत अरु थुप्रै सम्मान पुरस्कार प्राप्त गरेको छ ।

आजको प्रस्तुतिमा फादर फ्रेडीले सदस्यलाई सीप र आय आर्जनसँग जोड्दा संस्थामा कहिल्यै तरलता र ऋणको भाखा नाघ्ने समस्या नआउने बताउनुभयो । सदस्यहरुलाई पनि संस्थाको वस्तु तथा सेवासँगै सम्पूर्ण गतिविधिबारे तालिम र शिक्षाको माध्यमबाट नियमित जानकारी र अद्यावधिक गराइरहनुपर्ने उहाँले बताउनुभयो । सदस्यको सक्रिय सहभागिताले संस्था सबल बन्ने धारणा उहाँको थियो । साढे १० प्रतिशत बढी शुद्ध संस्थागत पुँजी रहेको सावान सिवारुङले अभ्यास गरेका सदस्य सुरक्षाका ६ क्षेत्रहरुबारे जानकारी गराउँदै उहाँले वित्तीय साक्षरता, सुशासन अभ्यास, आवश्यकताका आधारमा वस्तु तथा सेवाको विकास, अनिवार्य मासिक बचत, प्रविधिकरण र निरन्तर तालिम शिक्षाको माध्यमबाट सदस्य सुरक्षा गर्न सकिने स्पष्ट पार्नुभयो ।

सदस्य सुरक्षाको विषय संस्थागत सुशासनसँग जोडिने भन्दै फादर फ्रेडीले सुशासनको सुरुवात सञ्चालक समितिबाट हुनुपर्ने बताउनुभयो । फादर फ्रेडीले सही नेतृत्व नहुँदा सदस्य सुरक्षा कायम गर्न नसकिने स्पष्ट पार्नुभयो । सुशासनको विषयमा सावान सिवारुङले निरन्तर नीतिगत तथा कार्यगत सुधार गर्दै आएको उहाँले जानकारी गराउनुभयो । तालिम र शिक्षाका माध्यमबाट सुशासनलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ थियो ।

सदस्य सुरक्षाको अर्को महत्वपूर्ण विषय दक्ष मानव संशाधन भएको बताउँदै फादर फ्रेडीले साकोसको सिद्धान्त, मूल्य र मान्यता आन्तरिकीकरण गर्न सक्ने दक्ष कर्मचारीले मात्र मन र मुटुबाट सदस्य सेवा गर्न सक्ने दाबी गर्नुभयो । यसका लागि मानव संशाधनलाई निरन्तर तालिम र शिक्षामा जोड्नुपर्ने उहाँको सुझाव थियो । यी सबै काम राम्रो नीति निर्माणमार्फत गरिनुपर्ने फादर फ्रेडीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गुड पोलिसीले गुड स्टाफ र गुड अपरेशन हुन्छ ।’ प्रविधिकरणका मार्फतबाट पनि सदस्य सुरक्षा हुने भन्दै सदस्यहरुले अरुतिर जानै नपर्ने गरी सदस्यहरुलाई डिजिटल सेवा प्रवाह गर्नुपर्ने उहाँको भनाइ थियो ।

सावान सिवारुङले बेलाबेलामा सदस्यका उत्पादनहरुको प्रदर्शनी र शाखा कार्यालयहरुले प्रत्येक शनिबारे हाट (स्याटर्डे मार्केट) मार्फत व्यवसाय प्रवर्धनमा सहजीकरण गर्दै आएको उहाँले जानकारी गराउनुभयो । साकोसले एशियाली ऋण महासंघको सहयोगमा सञ्चालन गरेको व्यवसाय विकास सेवा (बीडीएस) अन्तर्गत उक्त कार्यक्रम आयोजना गर्ने गरिएको फादर फ्रेडीले अवगत गराउनुभयो । यस्तै, साकोसका वस्तु तथा सेवा विकास गर्दा समेत सदस्यको आवश्यकता र चाहनालाई ध्यानमा राख्ने गरिएको उहाँले बताउनुभयो । यसो गर्दा संस्थाको व्यवसायसँग सदस्यहरुको सहभागिता बढ्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा. शिवजी सापकोटाले फादर फ्रेडी एशियाली क्रेडिट युनियनका लागि नयाँ नाम नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एशियाली क्रेडिट युनियन समुदायको लागि उहाँ श्रोत व्यक्ति हुनुहुन्छ ।’ । दुई दशक बढीको अनुभव बोक्नुभएका फादर फ्रेडी सहजकर्ता, उत्प्रेरक, मानव संशाधन, रणनीतिक योजनाका विज्ञ रहेको समेत सिईओ सापकोटाले जानकारी गराउनुभयो ।
इन्डोनेयिाको क्रेडिट युनियन अभियानले उहाँको सल्लाह, सुझाव र मार्गदर्शनलाई आत्मसात गर्दै आएको बताउँदै सिईओ सापकोटाले उहाँले गराउनुभयो । नेपालमा सम्पन्न अकू फोरम २०२३ को समयमा फादर फ्रेडीले गरेको प्रस्तुतिबाट प्रभावित भएर नै त्यही विषयमा थप प्रष्ट पार्न र बढी अन्तरक्रियात्मक बनाउन यो भर्चुअल कार्यक्रम राखिएको सीईओ सापकोटाले जानकारी गराउनुभयो । उहाँले नेपाली साकोस समुदायलाई प्रस्तुतिकरणमार्फत सदस्य सुरक्षाका विषयमा नवीन कामहरु गर्न प्रेरित गरेकोमा कृतज्ञता समेत व्यक्त गर्नुभयो । विगतमा सावान सिवारुङको भर्चुअल भ्रमण पनि गरेको पनि उहाँले स्मरण गर्नुभयो ।

नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सिनाले कार्यक्रमको उद्देश्यसहित आजको कार्यक्रमबाट अपेक्षा गरिएको विषयबारे जानकारी गराउनुभएको थियो । उहाँले आजको भर्चुअल कार्यक्रमबाट सकेसम्म बढी लाभ लिन र संस्थागत हितमा प्रयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेफ्स्कून साकोस म्यानेजर्स क्लबका संयोजक चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले सावान सिवारुङका अभ्यासहरु विश्व ऋण परिषद् (ओकू) ले जारी गरेको सदस्य सुरक्षाका सिद्धान्तहरुभन्दा वृहत् भएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले सिकाइलाई आफ्नो साकोसमा लागू गरी अधिकतम लाभ लिन पनि आग्रह गर्नुभयो । कार्यक्रम सञ्चालन नेफ्स्कूनका बरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले गर्नुभएको थियो । नेफ्स्कूनको प्राविधिक सहकार्यमा नेफ्स्कून–साकोस म्यानेजर्स क्लबले सन् २०२३ नोभेम्बरबाट क्यूमेल्स श्रृङ्खला सुरु गरेको हो ।

२४ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
१३ दिन अगाडि
५ दिन अगाडि
३ दिन अगाडि
१२ दिन अगाडि