सहकारी अभियानको भावनासँग जोडिन्छु र सहयोग गर्छुः मन्त्री अधिकारी
रञ्जनमणि पौड्याल
- रञ्जनमणि पौड्याल
सहकारी अभियानको भावनासँग जोडिन्छु र सहयोग गर्छुः मन्त्री अधिकारी

काठमाडौं । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी अभियानका समसामयिक विषयहरुमा छलफल गरी समाधान निकाल्न आफू तयार रहेको बताउनुभएको छ । उहाँले सहकारी अभियानभित्र पनि बचत तथा ऋण सहकारी अभियानको पृथकता र यससँग सम्बन्धित जल्दाबल्दा विषयमा आवश्यक छलफल गरी सहयोग गर्न तयार रहेको बताउनुभएको छ । मन्त्री अधिकारीले भन्नुभयो, ‘म सहकारी अभियानको भावनासँग जोडिन्छु । तपाईहरुको 'इस्यूहरु' मलाई बुँदागत जानकारी गराउनुहोस्, म छलफल चलाउँछु र आवश्यक सहयोग पनि गर्छु ।’ आफूले भर्खरै मन्त्रालयको जिम्मेवारी सम्हालेको भन्दै मन्त्री अधिकारीले केही समय विषयवस्तुहरुबारे अध्ययन र मन्त्रालयबाट बिफ्रिङ लिने र त्यसपछि छलफलका माध्यमबाट विषयवस्तुहरुको सम्बोधन गरिने जानकारी गराउनुभयो ।

नेफ्स्कूनले नवनियुक्त मन्त्रीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामनासहित समसामयिक विषयमा आज मन्त्रालयमा संक्षिप्त भेट गरेको हो । नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासचिव घनश्याम अधिकारी, कोषाध्यक्ष दिपक थापा, सञ्चालक सदस्यद्वय खेमराज सुवेदी र देवकुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले मन्त्री अधिकारीलाई भेट गरी सहकारी तथा विशेषतः साकोस अभियानका जल्दाबल्दा विषयमा जानकारी गराउनुभएको हो ।