काठमाडौं । बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष विषयमा कानूनी तथा नीतिगत सहजता कायम गर्दै यसको प्रभावकारीता वृद्धि गर्दै लानुपर्ने धारणा सरोकारवालाहरुले व्यक्त गरेका छन् । बचत तथा ऋण सहकारी अभियानलाई जोखिम मुक्त, सुदृढ र दिगो बनाउने दिशामा रियल टाइम मनिटरिङमार्फत कोषको विश्वसनीयता र प्रभावकारिता बढाउँदै लानुपर्ने आवश्यकता समेत औंल्याइएको छ ।
कोषसम्बन्धी विद्यमान कानूनी तथा नीतिगत जटिलताहरु समाधानका लागि सरकारको आवश्यक सहयोग रहने भन्दै बचत तथा ऋण सहकारीहरुको संस्थागत सुदृढता अभिवृद्धिका लागि यसले सबैलाई सहभागी गराउँदै प्रभावकारी काम गर्नुपर्ने धारणा व्यक्त गरिएको छ । बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोषको दोस्रो स्थापना दिवसका अवसरमा नेफ्स्कूनले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा यस्तो धारणा अभिव्यक्त भएको हो ।
कोष सञ्चालन समितिका अध्यक्ष एवम् नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतमा आयोजित कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले कोषमार्फत बचत ऋण सहकारीहरुको रियल टाइम मनिटरिङ गर्दै समग्र अभियानलाई नै सक्षम र सुदृढ बनाउने दिशामा सबैको भूमिका आवश्यक रहेको भन्दै कानूनी तथा नीतिगत सुधारका लागि सरकार तयार रहेको पनि विश्वास दिलाउनुभयो ।
सबै सदस्यको सबलीकरण र सुदृढीकरणका लागि कोष उपयोगी बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । जसका लागि कोष स्थापना भएको हो ती सबै सहकारीहरु सुरक्षित, जोखिम मुक्त, दिगो, सबल र सुदृढ रहुन् भन्ने कामना गर्दै सचिव दुवाडीले आफ्नो परिकल्पना साकार पार्न कोष सफल रहोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभयो ।
२०७९ साल जेठ २७ अर्थात् आजकै दिनबाट कोष सञ्चालनमा आएको प्रसङ्ग उल्लेख गर्दै सचिव दुवाडीले कोष सञ्चालनमा आवश्यक १० करोड पुँजी नपुग्दा केही ढिलाइ भएपनि सञ्चालनमा आउनु सुखद भएको उल्लेख गर्नुभयो ।
केही संस्थाहरुले कोषबाट तरलता सापटी प्राप्त गरेकोमा धन्यवाद दिदैं सचिव दुवाडीले आगामी दिनमा कोषको हालसम्मको कार्यसम्पादन अनुभवबाट प्राप्त उपलब्धिलाई संस्थागत, दिगो र सुरक्षित बनाउँदै आगामी दिनमा अझ उन्नत र सुरक्षित र सदस्यलाई सहकारीमा बचत गर्न विश्वस्त बनाउने र सञ्चालकहरुलाई संस्था सुदृढ छ भन्ने आश्वस्त बनाउन सफल हुने विश्वास समेत व्यक्त गर्नुभयो । कोषका सम्बन्धमा आम बुझाइमा स्पष्टता र एकरुपता महसूस गर्न पाइने अपेक्षा पनि उहाँले गर्नुभयो ।