बुटवल, रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३३औं वार्षिक साधारण सभा भोलि बिहान बुटवलमा शुरु हुँदैछ । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लास्थित प्रसिद्ध बुटवल शहरको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) मा पुस ५ र ६ गते हुने सभाका लागि व्यवस्थापन लगायत सम्पूर्ण तयारी पूरा भैसकेको छ । सभाको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गर्ने कार्यक्रम छ भने नेफ्स्कूनको ‘बुटवल साधारणसभा’ मा सहभागी हुन प्रमुख अतिथि, बिशिष्ट अतिथिहरु, अतिथिहरु एवम् देशभरबाटै प्रतिनिधिहरु रुपन्देही आइसक्नुभएको छ भने आसपासका केही जिल्लाका बाँकी प्रतिनिधिहरु भोलि बिहानसम्म आइसक्नुहुने छ ।
एउटै अभियान एउटै आवाजः सुरक्षित साकोस समुन्नत समाज भन्ने उद्देश्यसहित आयोजित साधारणसभाको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, प्रमुख राजनीतिक दलका सहकारी विभाग प्रमुखहरु, सहकारी मन्त्रालयका सचिव, बुटवल, उप–महानगरपालिकासँगै तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर नगरपालिकाका प्रमुख तथा उप्रमुखहरु, राष्ट्रिय सहकारी महासंघ नेपालकी अध्यक्ष ओमदेवी मल्ल तथा अन्य विषयगत केन्द्रीय सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिहरु, राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी विकास बोर्डको प्रतिनिधित्व रहनेछ ।
यसैगरी, सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे, नेफ्स्कूनका पूर्व अध्यक्ष एवम् सल्लाहकारहरु, नेफ्स्कून पूर्व सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी एवम् सदस्यहरु, संघको रणनीतिक साझेदार निकायका प्रतिनिधिहरु, लुम्बिनी प्रोस्कूनका अध्यक्ष कृष्ण नेपाल, अन्य प्रदेश तथा जिल्ला बचत संघका अध्यक्ष तथा प्रतिनिधिहरु, नेपाल सहकारी पत्रकार समाज, संघका पूर्व प्रमुख कार्यकारी अधिकृतहरु, स्थानीय बुद्धिजीवी तथा पत्रकारहरु लगायतको सहभागिता रहनेछ । उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सहकारी रजिष्ट्रार, विभिन्न स्थानीय तहका सहकारी रजिष्ट्रारहरु, स्थानीय सञ्चारकर्मीहरु लगायतको सहभागिता रहनेछ ।
साँस्कृतिक, ऐतिहासिक, प्राकृतिक लगायत महत्व बोकेको शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमिमा हुने नेफ्स्कूनको ३३औं वार्षिक साधारण सभा नेपालको साकोस अभियानको लागि साँच्चिकै अविष्मरणीय हुने विश्वास संघको सञ्चालक समितिले लिएको छ । पुस ४ गते बुटवलमा अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बसेको संघ सञ्चालक समितिको ३३६औं बैठकले पनि साधारणसभाको आवश्यक तयारीहरुको समीक्षा गर्दै सभालाई सहभागितामूलक, उत्साहपूर्ण र अविष्मरणीय बनाउने निर्णय गरेको छ ।
अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ लाई समेत ध्यानमा राखी आन्तरिक पर्यटन प्रवर्धनको ‘सेकेन्डरी’ उद्देश्य यो वार्षिक साधारण सभाको रहेको छ । यसैगरी, लामो समय काठमाडौं केन्द्रीत वार्षिक साधारणसभाबाट सदस्य प्रतिनिधि तथा अतिथिहरुहरुले समेत नौलोपन महसूस गर्ने विश्वास संघले लिएको छ ।
उद्घाटन सत्रमा नेफ्स्कून सम्मान तथा पुरस्कारसँगै नेपाल सरकारको मान्यताप्राप्त प्रोबेशन ब्राण्ड घोषणा तथा प्रदान गर्ने कार्यक्रम रहेको छ । यस्तै, यो पटकको साधारण सभा सिकाइको थलो पनि हुने भएको छ । सभामा साकोस अभियानको समसामयिक विषयमा २ वटा कार्यपत्र प्रस्तुतीकरण रहेको छ । साकोस अभियानको सुशासन, प्रवर्धन र आन्तरिक नियन्त्रण प्रणालीको मजबुतीकरणका विषयमा सदस्यहरुलाई प्रशिक्षित गर्ने कार्यक्रम तय भएको छ । साकोस अभियानभित्रको प्रणाली र फिट एण्ड प्रपर टेस्टको विषयमा विज्ञबाट कार्यपत्र प्रस्तुति हुनेछ । साकोस अभियानको सर्वोच्च सभाले एउटा संकल्प प्रस्ताव पारित गरी त्यसमार्फत् साकोस अभियानलाई दिशानिर्देश गर्ने विश्वास संघले लिएको छ ।
दोस्रो दिन साधारणसभाको कार्यसूची उपर कारवाही प्रारम्भ हुनेछ, त्यसैगरी, अध्यक्ष, महासचिव, कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन उपर छलफल र सदस्यहरुको राय, सल्लाह र सुझाव समेटी पारित गर्ने कार्यसूची रहेको छ । वार्षिक साधारण सभामा सदस्य संस्थाका प्रतिनिधिहरू सक्रिय रूपमा सहभागी भएर नेपालको बचत तथा ऋण अभियानलाई सही दिशानिर्देश गर्न संघले सबैलाई आग्रह छ । साधारणसभामा उपस्थिति भएर निर्णय प्रक्रियामा सहभागी जनाउनुका साथै विषयविज्ञबाट नयाँ कुरा सिक्न संघले अपील गरेको छ ।
साधारण सभामा सहभागी हुने प्रतिनिधिहरुलाई सभास्थलमा सहज रुपमा आवतजावतका लागि यातायातको सहजीकरणकोे लागि हेल्प डेस्क स्थापना गरिएको छ । यसले गर्दा साधारणसभा प्रतिनिधिहरुलाई होटलमा जान आउन सहज हुने विश्वास संघको छ ।
नेफस्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाललको अध्यक्षतामा काठमाडौंमा बसेको संघ सञ्चालक समितिको ३ सय ३३औं बैठकले ३३ औं वार्षिक साधारण सभा बुटवलमा गर्ने निर्णय गरेको थियो ।
साधारण सभा तयारीका लागि सञ्चालक समितिले संघका बरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता दामोदर अधिकारीको संयोजकत्वमा साधारण सभा तयारी व्यवस्थापन उपसमिति गठन गरेको थियो । उपसमिति सदस्यहरुमा संघका सञ्चालकहरु कमलादेवी गिरी, ज्ञानु पौड्याल, दिप्ती शाही र गोपालप्रसाद गौतम रहनुभएको छ भने लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्ण नेपाल, रूपन्देही बचत संघका अध्यक्ष वसन्त ढकाल, नवलपरासी बचत संघका अध्यक्ष राजन कुमार आचार्य र पाल्पा बचत संघका अध्यक्ष जगदीश भट्टराईलाइ संघको सञ्चालक समितिको ३३४औँ बैठकले उपसमिति सदस्य मनोनयन गरेको थियो ।
उक्त उपसमितिले स्थानीयस्तरमा साधारण सभा व्यवस्थापनको लागि रुपन्देहीको जनउत्थान साकोसका प्रमुख कार्यकारी अधिकृत रन बहादुर थापाको संयोजकत्वमा रुपन्देही र नवलपरासी जिल्लाका ७ वटा साकोसका प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा प्रारम्भिक कार्ययोजना कार्यदल समेत गठन गरेको थियो । कार्यदल सदस्यहरुमा बिनोद पराजुली, टिकाराम तिमल्सिना, अनन्त पाण्डे, मञ्जू गोदार, बिनोद जबरा तथा सरिता राना हुनुहुन्छ ।
नेफ्स्कूनले १६ वर्षपछि (२०६४ सालपछि) काठमाडौं बाहिर बार्षिक साधारण सभा आयोजना गरेको हो । २०८० पुस ७ र ८ गते काठमाडौंमा सम्पन्न नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभाबाट चन्द्रप्रसाद ढकालको नेतृत्वमा नयाँ सञ्चालक समिति तथा इन्द्रराजज्योति पौडेलको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति निर्वाचित भएपछिको यो पहिलो बार्षिक साधारणसभा हो ।
नेफ्स्कूनको नयाँ सञ्चालक समितिको पहिलो वार्षिक साधारणसभा नै काठमाडौं बाहिर आयोजना हुँदैछ । मुलुक संघीयतामा प्रवेश गरेसँगै विकेन्द्रीकरणको सिद्धान्तअनुरुप नेफ्स्कून सञ्चालक समितिले काठमाडौं बाहिर साधारण सभा गर्ने योजनासहित लुम्बिनी प्रदेशमा सहमति जनाएको हो । यसैगरी, लुम्बिनीमा पहिलो पटक नेफ्स्कूनको वार्षिक साधारण सभा आयोजना गरिएको हो । यसअघि नेफ्स्कूनले काठमाडौंबाहिर मोरङको लेटाङ तथा विराटनगर, बाँकेको नेपालगञ्ज, गोरखा मा वार्षिक साधारण सभा आयोजना गरेको इतिहास छ ।
त्यस्तै, सन् २०२५ लाई संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी वर्षको रुपमा मनाउने घोषणा भैसकेको परिप्रेक्ष्यमा आयोजित नेफ्स्कून सदस्य संघ संस्थाहरुको यो सर्वोच्च निर्णयकारी सभाले सहकारीको छविलाई थप उजिल्याउने दिशामा थप सुशासित, मर्यादित, सदस्यकेन्द्रीत र पारदर्शी रुपमा अघि बढ्न अभियानलाई दिशाबोध गर्ने विश्वास गरिएको छ । यसैगरी, नेपाल सरकारले सन् २०२३ देखि २०३३ सम्मलाई भ्रमण दशक घोषणा गरेको सन्दर्भमा समेत नेफ्स्कूनको साधारणसभा सहकारी पर्यटन प्रवर्धनमा सहयोगी बन्ने विश्वास लिइएको छ ।
नेफ्स्कूनमा १९ सदस्यीय सञ्चालक समिति तथा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति रहेको छ । ७६ जिल्ला पहुँच रहेको बचत तथा ऋण विषयक मुलुकको एक मात्र केन्द्रीय संघमा हाल ४ प्रदेश बचत संघ, ६५ जिल्ला बचत संघ, ४ हजार ६ सय बढी प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था आवद्ध छन् ।
१६ घण्टा अगाडि
१६ घण्टा अगाडि
१८ घण्टा अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
१८ घण्टा अगाडि
१६ घण्टा अगाडि
११ दिन अगाडि
१६ घण्टा अगाडि
२७ दिन अगाडि
२५ दिन अगाडि