काठमाडौं । बचत तथा ऋण सहकारी अभियानलाई स्वनियमन, सुशासन र दिगोपनको मार्गमा थप सुदृढ बनाउने उद्देश्यसहित नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि दुईदिने कार्यशाला गोष्ठी सुरु गरेको छ । असार २६ र २७ गते सञ्चालन हुने उक्त कार्यशाला नेफ्स्कूनको केन्द्रीय कार्यालय, मिनभवनमा आयोजना गरिएको हो ।
नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा आयोजित कार्यशालामा संघका बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा लगायत नेफ्स्कूनका विभागीय प्रमुखहरु र उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको छ ।
कार्यशालाको उद्घघाटन गर्दै नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारी क्षेत्र यतिबेला चुनौतीपूर्ण संक्रमणकालबाट गुज्रिरहेको उल्लेख गर्दै आगामी नीति, कार्यक्रम तथा बजेट यथार्थपरक, कार्यान्वयन योग्य र समयसापेक्ष हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संस्थागत सुशासन, स्वनियमन, वित्तीय अनुशासन, सदस्यको विश्वास तथा दीर्घकालीन दिगोपनलाई केन्द्रमा राखेर योजना निर्माण गर्नुपर्ने बताउँदै बदलिँदो नियामकीय वातावरण र सदस्य संस्थाको आवश्यकतालाई सम्बोधन गर्न सक्ने रणनीति नै नेफ्स्कूनको आगामी कार्यदिशा बन्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
अध्यक्ष ढकालले आगामी कार्यक्रम तथा बजेट संस्थाको वास्तविक क्षमता, उपलब्ध स्रोत–साधन र सदस्य संस्थाको अपेक्षालाई आधार बनाएर निर्माण गरिनुपर्ने उल्लेख गर्दै चुनौतीका बीच पनि सकारात्मक सोच, दृढ नेतृत्व र सामूहिक प्रतिबद्धताबाट मात्रै सहकारी अभियानलाई नयाँ उचाइमा पु¥याउन सकिने बताउनुभयो । उहाँले कर्मचारी तथा व्यवस्थापन टोलीको योगदानको उच्च प्रशंसा गर्दै, “आज नेफ्स्कूनले हासिल गरेको संस्थागत उचाइ, सम्पत्ति, प्रतिष्ठा र उपलब्धि कुनै एक व्यक्तिको होइन, सम्पूर्ण कर्मचारी, व्यवस्थापन र सदस्य संस्थाहरूको साझा मेहनतको परिणाम हो । चुनौतीहरूलाई अवसरका रूपमा रूपान्तरण गर्दै सकारात्मक सोच, एकता र समर्पणका साथ अघि बढे नेफ्स्कूनलाई अझ प्रभावकारी, विश्वसनीय र उत्कृष्ट संस्थाका रूपमा स्थापित गर्न सकिने उल्लेख गर्नुभएको थियो ।”
कार्यशालामा प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले नेफ्स्कूनको स्थापना (२०४५ साल) देखि २०७९ सालसम्मको रणनीतिक यात्राले बचत तथा ऋण सहकारी अभियानलाई संस्थागत रूपमा सुदृढ बनाएको उल्लेख गर्दै २०८० सालदेखि सहकारी क्षेत्र नियामकीय अनुकूलनको नयाँ चरणमा प्रवेश गरेकोले कानूनी व्यवस्थाअनुकुल संस्था र संघ सञ्चालन गर्न विद्यमान कार्यनीति पर्याप्त नहुने र संघको वित्तीय कारोबारलाई फरक तरिकाबाट कोष प्रणाली तर्फ सरकार सँग वहस पैरवी गरी अघि बढ्नुपर्ने र यही अनुसार आगामी आ.ब.को क्रियाकलापहरु प्राथमिकताका साथ राखिने बताउनुभयो ।
उहाँले स्वनियमन, संस्थागत सुदृढीकरण, क्षमता विकास, सदस्य सेवा विस्तार तथा सञ्जाल विकासमा नेफ्स्कूनले खेलेको भूमिकाले सहकारी अभियानलाई नयाँ उचाइमा पु¥याएको उल्लेख गर्नुभयो । उहाँले स्पष्ट रणनीतिक उद्देश्य, नवीन कार्यक्रम, कारोबार/डिजिटल रूपान्तरण, प्रभावकारी सदस्य अनुगमन, संस्थागत सुशासन तथा स्वनियमन प्रणालीलाई थप सुदृढ बनाउँदै दीर्घकालीन दीगोपनतर्फ अघि बढ्नुपर्ने धारणा राख्नु भयो ।
कार्यशालामा वित्त तथा प्रशासन विभाग प्रमुख गणेश प्रसाद तिमल्सिनाले संघको वर्तमान वित्तीय तथा प्रशासनिक अवस्था, व्यवस्थापन सुधार योजना, मानव स्रोत व्यवस्थापन, गैर–बैंकिङ सम्पत्ति व्यवस्थापन, स्थिर सम्पत्तिको अवस्था, आन्तरिक लेखा प्रणाली तथा संस्थाले सामना गरिरहेका चुनौती र आगामी सुधारका प्राथमिकताबारे विस्तृत प्रस्तुति दिनुभएको थियो ।
अन्तरलगानी तथा व्यवसाय विभागका बरिष्ठ अधिकृत दिनेश गौतमले व्यवसाय विभागको आ.व. २०८२।०८३ को क्रियाकलाप तथा प्रगतीको सार, विभागीय क्षेत्रहरु, व्यवसाय विभागको वार्षिक लक्ष्य तथा उपलब्धी, शेयरको विवरण, बचतका विवरण, ऋणको वर्गिकरण, धितो लिलाम, आ.व. २०८२।०८३ को ऋण लगानी असुली तथा दा.खा गरी भएको ऋण असुलीका विवरणका क्षेत्रहरु तथा ब्यबसायका आगामी योजना र ऋण असुलीका रणनीतिक योजनाहरु प्रस्तावका रुपमा स्लाइड मार्फत प्रस्तुतीकरण दिनुभएको थियो ।
सदस्य सेवा विभागीय प्रमुख दुर्गा प्रसाद ढकालले आ. व. २०८३।०८४ का मुख्य सूचकहरु, संघमा आबद्धता, स्क्यान, एक्सेस, प्रोवेसन, आधारशिला कार्यक्रम, उद्यमी सपोट, आ. व. २०८३।०८४ बजेट, तालिमका प्रकार, अध्ययन भ्रमण, तालिम तथा शिक्षाको बजेट आदिका बारेमा प्रस्तुतिकरण दिनुभएको थियो ।
लेखा अधिकृत मन केशरी महर्जनले आ. व. २०८२।०८३ को अनुमानित तथा वास्तविक र आ.ब. २०८३।०८४ को अनुमानित सम्पत्तिहरु, पूँजी तथा दायित्वहरु, आम्दानी तथा खर्चहरु, सदस्य सेवा कार्यालयबाट भएको आम्दानी तथा खर्चहरु र विभिन्न कार्यक्रमका बारेमा प्रस्तुतीकरण दिनुभएको थियो ।
कार्यक्रमको सञ्चालन महासचिव घनश्याम अधिकारीले गर्नुभएको छ । दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा विभिन्न विभागका वार्षिक कार्यक्रम, बजेट प्रस्ताव, रणनीतिक प्राथमिकता, सदस्य सेवा विस्तार, डिजिटल रूपान्तरण, वित्तीय सुदृढीकरण, संस्थागत सुशासन, स्वनियमन प्रणालीको प्रभावकारी कार्यान्वयन तथा सहकारी क्षेत्रका समसामयिक चुनौती र समाधानका विषयमा विस्तृत छलफल हुनेछ । कार्यशालाबाट प्राप्त सुझाव, अनुभव र निष्कर्षका आधारमा नेफ्स्कूनको आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेटलाई अन्तिम रूप दिइनेछ ।
स्वनियमनमा आधारित, सदस्यकेन्द्रित, सुशासित र दिगो सहकारी अभियान निर्माण गर्ने नेफ्स्कूनको दीर्घकालीन रणनीतिलाई थप प्रभावकारी बनाउने दिशामा यो कार्यशाला महत्वपूर्ण आधार बन्ने विश्वास गरिएको छ । साथै संघको २०८० सालमा तय गरेको छैटौ रणनीतिक योजनालाई समीक्षा गरी पूनर्लेखन गर्न केन्द्रीय संघको दुरदृष्टि, ध्येय र रणनीतिक उद्धेश्यहरु समेत नयाँ तरिकाबाट परिभाषित गर्नुपर्ने भएकोले चालु रणनीतिक योजनालाई समेत आवश्यक संशोधनका विषयहरु समेत समेटिएको छ ।
२१ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
६ दिन अगाडि
७ दिन अगाडि
१४ दिन अगाडि
५ दिन अगाडि
१४ दिन अगाडि
१३ दिन अगाडि
११ दिन अगाडि