काठमाडौं, १२ कार्तिक। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले प्रदेश तथा जिल्ला बचत तथा ऋण सहकारी संघहरूको संस्थागत स्थायित्व, आत्मनिर्भरता र दिगो सञ्चालनका विषयमा छलफल तथा परामर्शलाई तीव्रता दिएको छ।
नेफ्स्कूनको अगुवाइमा विभिन्न प्रदेश तथा जिल्ला बचत संघहरूसँग सदस्य संस्थाहरूको संस्थागत विकास, अभिभावकत्व, बहस पैरवी, अनुगमन तथा क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले चरणबद्ध छलफल अघि बढाइएको हो। संघहरूको दिगो सञ्चालनका सम्भावित आधार पहिचान गर्दै साझा धारणा निर्माण र उपयुक्त कार्यविधि तय गर्न नेफ्स्कूनले सम्बन्धित संघहरूबाट पृष्ठपोषण संकलन सुरु गरेको छ।
यसै क्रममा २०८३ कार्तिक ११ गते लुम्बिनी प्रदेशमा क्रियाशील प्रदेश तथा जिल्ला बचत संघहरूसँग नीतिगत छलफल सम्पन्न भएको छ।
छलफलमा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले संघहरूको आत्मनिर्भरता र संस्थागत सक्षमता अभिवृद्धिका लागि आपसी सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले सक्षम संघहरूको निर्माणमार्फत सहकारी ऐनले उपलब्ध गराएका अवसरहरूको उपयोग गर्दै बचत तथा ऋण सहकारी अभियानले अघि सारेको छुट्टै र पूर्ण सहकारी बैंकको अवधारणालाई कार्यान्वयनतर्फ लैजाने विषयमा छलफल अघि बढाउनुभएको थियो।
प्रारम्भिक चरणमा वित्तीय कारोबार गरिरहेका संघहरूसँग आवश्यक परामर्श गरी सञ्जालगत सहकार्यलाई बलियो बनाउने, आत्मनिर्भर संघहरूको विकास गर्ने तथा सदस्य संस्थाहरूको क्षमता अभिवृद्धि, संस्थागत संरक्षण र बहस पैरवीलाई प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित रहेको थियो।
रुपन्देहीमा आयोजित छलफलमा प्रदेश बचत संघका अध्यक्ष कृष्ण नेपालले सहकारी संघहरूबीच एकता र सहकार्यलाई थप सुदृढ बनाउँदै उपलब्ध सम्भावना तथा स्रोतसाधनको समुचित परिचालन गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले संघहरूको गैरवित्तीय सेवालाई निरन्तर सदस्यकेन्द्रित बनाउँदै बहस पैरवी र क्षमता विकासलाई प्राथमिकता दिनुपर्ने तथा सक्षम संघहरूको साझा वित्तीय व्यवस्थापनका लागि छुट्टै सहकारी बैंकको अवधारणामा अघि बढ्नुपर्ने विषय उठाउनुभयो।
त्यसैगरी, २०८३ कार्तिक १२ गते मधेश प्रदेशका बचत संघहरूसँग पनि संघहरूको संस्थागत विकास, सदस्य संस्थाहरूको आवश्यकता र दिगो सञ्चालनका सम्भावनाबारे छलफल गरिएको छ।
छलफलमा सदस्य संस्थाहरूको माग र अपेक्षाअनुसार प्रभावकारी सेवा प्रवाह गर्न नसकिएको अवस्थालाई ध्यानमा राख्दै प्रारम्भिक सहकारी संस्थाहरूको वास्तविक अवस्था पहिचान, आवश्यक सहयोग तथा सहजीकरण र संस्थागत संरक्षणमा केन्द्रित रहनुपर्ने विषयमा जोड दिइएको थियो।
संघहरू प्रारम्भिक सहकारी संस्थाहरूको सहजीकरण, संरक्षण र प्रवर्द्धनका लागि स्थापना भएकाले सदस्य संस्थाहरूको आवश्यकतालाई प्राथमिकतामा राखी सेवा तथा सहकार्यका उपयुक्त विधि विकास गर्नुपर्ने विषयमा सहभागीहरूबीच छलफल भएको थियो।
यसका साथै सहकारी क्षेत्रको वित्तीय व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विशेष प्रकृतिको सहकारी बैंक गठनका सम्भावना तथा आवश्यक गृहकार्यका विषयमा समेत छलफल भएको थियो। यस सम्बन्धमा मधेश प्रदेशभित्रका संघहरू तथा सदस्य संस्थाहरूसँग थप परामर्श अघि बढाउने विषय उठाइएको थियो।
छलफलमा प्रदेश तथा जिल्ला बचत संघहरूको दीर्घकालीन स्थायित्वका लागि वित्तीय आत्मनिर्भरता, संस्थागत क्षमता, सदस्यकेन्द्रित सेवा विस्तार तथा साझा उद्देश्यमा आधारित सहकार्यलाई महत्वपूर्ण आधारका रूपमा लिइएको थियो।
कार्यक्रममा नेफ्स्कूनका तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल, सञ्चालक शोभाकुमारी राउत, पूर्व सञ्चालक देवकी नेपाल तथा प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाको सहभागिता रहेको थियो।
नेफ्स्कूनले सबै प्रदेश तथा जिल्ला बचत संघहरूको सुझाव र पृष्ठपोषण संकलन गर्दै संघहरूको संस्थागत सुदृढीकरण, आत्मनिर्भरता र दिगो सञ्चालनका लागि साझा अवधारणा विकास गर्ने उद्देश्यले चरणबद्ध परामर्शलाई निरन्तरता दिने जनाएको छ।
२ दिन अगाडि
१३ दिन अगाडि
१४ दिन अगाडि
१५ दिन अगाडि
१५ दिन अगाडि
१६ दिन अगाडि
१७ दिन अगाडि
२२ दिन अगाडि
४१ दिन अगाडि
३० दिन अगाडि
३९ दिन अगाडि
४६ दिन अगाडि
३१ दिन अगाडि
३३ दिन अगाडि
३३ दिन अगाडि
६० दिन अगाडि