काठमाडौं । नेफ्स्कून–जिल्ला बचत संघ साझेदारी कार्यक्रम बचत तथा ऋण सहकारीहरुको सबलीकरण र सुदृढीकरणको बलिष्ठ आधार भएको निष्कर्ष सरोकारवालाहरुको छ । संघीयताको मर्म र सहकारीको विश्वव्यापी सिद्धान्त अंगिकार गरेको यस कार्यक्रमको माध्यमबाट ‘ग्रासरुट कोअपरेटिभिज्म’ लाई थप प्रभावकारी बढाउनुपर्ने आवाज स्पष्ट मुखरित भएको छ । नेफ्स्कूनका कोषाध्यक्ष एवम् जिल्ला संघ साझेदारी कार्यक्रमका संयोजक दिपक पनेरुले बचत ऋण अभियानको इमानदारी, गुणस्तरीयता र विश्वसनीयता वृद्धिका लागि जिल्ला संघ साझेदारी कार्यक्रम कोशेढुङ्गो सावित हुँदै गएको दाबी गर्नुभयो । नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि २०७५ का आधारमा अघि बढाइएको उक्त कार्यक्रमले वित्तीय सहकारीहरुमा नीति, विधि र प्रविधि सहजिकरण गर्दै जिल्ला संघ र प्रारम्भिक संस्थाहरुमा संस्थागत सुशासन कायम गर्न सघाउ पुर्याएको कोषाध्यक्ष पनेरुको ठम्याई छ । उहाँले यस कार्यक्रम मार्फत सञ्जाल र पहुँच विस्तार, नीति, विधि, प्रविधिको एकरुपताका साथै बचत तथा ऋण सहकारीहरुको सबै संरचनात्मक तहहरुलाई मजबूत बनाउने काम गरेको प्रष्ट पार्नुभयो । जिल्ला बचत संघहरुको संस्थागत विकास गर्ने उद्देश्यले कार्यक्रम प्रेरित भएको कोषाध्यक्ष पनेरुको भनाई छ । यस कार्यक्रमले आबद्ध जिल्ला संघहरुको सक्रियता बढाउनुका साथै प्रारम्भिक संस्थाहरुको समेत संस्थागत विकास र व्यवसाय प्रवर्धन भएको कोषाध्यक्ष पनेरुको निष्कर्ष छ । यस कार्यक्रममा जोडिएका जिल्ला संघका प्रतिनिधिहरुले पनि आबद्धता पहिले र पछिमा आमुल परिवर्तनको महसूस आफुहरुले मात्र नभई प्रारम्भिक संस्थाहरुले पनि गरेको साकोस आवाजलाई बताउनुभएको छ ।
नेफ्स्कून र यसमा आबद्ध जिल्ला बचत तथा ऋण सहकारी संघ लि.हरुबीच सदस्यहरुको हित संरक्षण तथा बचत ऋण सहकारीहरुको सुदृढीकरणका लागि व्यवसाय साझेदारी कार्यक्रम हो । यो नेफ्स्कूनको सेवा र व्यवसाय प्रवर्धनमा जिल्ला संघहरुको हातेमाला अभियान पनि हो । यस अन्तर्गतगको द्धिपक्षीय सम्झौतामा बार्षिक सदस्यता नवीकरण शुल्क संकलन साझेदारी, जोखिममा आधारित साकोस सुपरीवेक्षण CURBS कार्यक्रम सञ्चालन साझेदारी, स्टेशनरी आपूर्ती सेवा सञ्चालन साझेदारी, सफ्टवेयर विक्री वितरण साझेदारी, तालिम कार्यक्रम सञ्चालन साझेदारीसँगै समसामयिक अन्य साझेदारीहरुका विषयहरु समावेश छन् । यो बचत तथा ऋण सहकारीहरुको तल्लोदेखि माथिल्लो संरचनाहरुसँगको सञ्जाल सबलीकरण अभियान हो । केन्द्रमा विकास गरिएका राष्ट्रिय अन्तर्राष्ट्रिय असल अभ्यासहरु जिल्लामा संगठित संघहरुमार्फत स्थानीय सहकारी संस्था र तिनमा आबद्ध सदस्यहरुको आवश्यकता अनुरुप सहज र प्रभावकारी माध्यमबाट पुर्याउने पुल हो नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम ।
यस कार्यक्रमको सुरुवात २०७६ साल भदौं १७ गते औपचारिक रुपमा नेफ्स्कून केन्द्रीय कार्यालयमा विभिन्न जिल्ला बचत संघका प्रतिनिधिहरुसँगको सामूहिक सम्झौता कार्यक्रम आयोजना गरी भएको थियो । हालसम्म यस व्यावसायिक साझेदारी कार्यक्रममा दोलखा, मोरङ, काठमाडौं, धादिङ, बागलुङ, नवलपरासी, चितवन, दाङ, बारा, सिन्धुली, मकवानपुर, सुनसरी, कास्की, सर्लाही, काभ्रे, उदयपुर, रौतहट र बाँके गरी १८ जिल्ला संघ सामेल भएका छन् । पछिल्लो संघ बाँकेसँग यही पुस ८ गते साझेदारी सम्झौता सम्पन्न भएको थियो । “जिल्ला बचत संघ भक्तपुर र रुपन्देहीसँग अब चाँडै सम्झौता हुँदैछ,” कोषाध्यक्ष पनेरुले भन्नुभयो, “सबै प्रक्रियाहरु अन्तिम चरणमा पुगिसकेको छ । यसै बर्ष अरु जिल्ला संघहरुसँग पनि छलफल भैरहेको छ ।”
साझेदारी सम्झौताले बचत तथा ऋण सहकारी संघ संस्थाहरुको सञ्चालनमा चुस्तता र प्रभावकारीता विकास गर्न, तालिम शिक्षाका कार्यक्रमबाट असल अभ्यासहरुका साथै समयसापेक्ष महत्वपूर्ण विषयहरुमा बुझाई र सीप आदानप्रदान गरी एकरुपता प्रणाली विकास गर्न र साकोस अभियानको पहुँच जिल्ला संघहरुमार्फत स्थानीय तहसम्म वृद्धि गर्न सहयोग पुग्ने विश्वास लिएको छ । यसबाहेक यसले व्यावसायिक साझेदारीका आयामहरुको माध्यमबाट दुवै पक्षलाई लाभान्वित पनि गर्दछ । केही समययता जिल्ला संघहरुको मागलाई ध्यानमा राखेर हालै तालिम शुल्कहरु र लाभको हिस्सेदारीमा परिमार्जन गरिएको जानकारी संयोजक पनेरुले गराउनुभयो ।
साझेदारी सम्झौतामा आबद्ध भएबापत नेफ्स्कून सदस्यता नवीकरण शुल्कको प्रत्येक संस्थावाट संकलित रकमको ४० प्रतिशत, नेफ्स्कूनको सफ्टवेयर बिक्रीबापत १० प्रतिशत, स्टेशनरी बिक्री वापत २५ प्रतिशत रकम तत्तत् जिल्ला संघलाई उपलब्ध गराउने व्यवस्था समेत मिलाइएको छ । यसैगरी, साकोसहरुको संस्थागत सुशासन, गुणस्तरीयता र वृद्धिको आधारभूत खुट्किलोहरुमध्येको एक जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम वापतको आम्दानी र जिम्मेवारीमा समेत जिल्ला संघ र नेफ्स्कून बराबर हिस्सेदार रहेन सम्झौतामा उल्लेख छ ।
त्यस्तै, नेफ्स्कूनले विकास गरेको आधारभुत तथा मध्यम स्तरका तालिमहरु साझेदारी सम्झौता भएका जिल्लाहरुमा जिल्ला संघले सञ्चालन गर्दै आएको छ । यस्ता तालिममा ३ दिने वस्तु तथा सेवाहरुको निर्माण कार्यशाला गोष्ठी, पल्र्स अनुगमन प्रणाली तालिम, वित्तीय व्यवस्थापन तालिम, ऋण व्यवस्थापन, जोखिममा आधारित आन्तरीक लेखा परीक्षण तालिम, सम्पत्ति शुद्धिकरण निवारण र कोपोमिस, लेखामान तालिम , नविनतम नेतृत्व विकास/संचालकहरुको क्षमता विकास आधारभूत तालिम आदि छन् भने २ दिने भाखा नाघेको ऋण व्यवस्थापन तालिम, ऋणको कानुनी प्रक्रिया तथा धितो मूल्यांकन तालिम आदि रहेका छन् । यस्ता तालिमहरुले संस्थाको जनशक्तिको सीप र दक्षता वृद्धिमा सीधा सकारात्मक प्रभाव पर्न जाने निश्चित छ ।
“साझेदारी सम्झौता कार्यक्रको उद्देश्य एक्लै काम गर्न नसकिने ठाउँमा मिलेर जाँदा सहज हुन्छ भन्ने हो” कोषाध्यक्ष पनेरुले प्रष्ट्याउनुभयो, “सद्भावपूर्ण सम्बन्धको आधारमा सहयात्राको नमूना पस्कदै बचत तथा ऋण सहकारी अभियानप्रति सदस्यको विश्वसनीयता, गुणस्तरीयता र वृद्धि गराउने हाम्रो प्रयास हो ।” कोभिडले उत्पन्न गराएको प्रतिकूलताका बीच अनुकूलता खोज्न पनि यो कार्यक्रम सहयोगी हुने भनाई उहाँको छ । “नेफ्स्कूनले वकालत गर्दै आएको नीति, विधि र प्रविधिमा एकरुपताको द्योतक पनि हो जिल्ला संघ साझेदारी कार्यक्रम”, उहाँले भन्नभुयो, “जिल्ला संघ साझेदारीमार्फत संघ संस्थाहरुको रणनीतिक योजना तर्जुमामा सहयोग र सहकार्यसँगै हामी कोही फरक हैनौं, एउटै परिवार हो भन्ने सन्देश समेत प्रवाह गर्न खोजेका हौं ।”
हुन पनि प्रारम्भिक संस्थाहरु ब्लियो हुनु भनेको जिल्ला संघ बलियो हुनु हो र जिल्ला संघ बलियो हुनुभनेको नेफ्स्कून बलियो हुनु हो भन्ने सर्वममान्य धारणा हो । यसै अनुरुप अब बिस्तारै हामी प्रदेश बचत संघहरुसँग पनि सहकार्य गर्दै अघि बढ्ने योजना संयोजक पनेरु सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हाम्रो अभियानमा सबै प्रदेश र जिल्ला संघहरुको साथ र सहयोग आवश्यक छ । सहकारीमाथिको प्रहारहरु न्यूनीकरणका लागि पनि सञ्जाललाई सक्रिय र बलियो बनाउनु नितान्त आवश्यक छ । एउटा संस्थामा समस्या आउँदा सबैमाथि आक्षेप लाग्ने भएकाले पनि हामी सबैले हातेमालो गरेर अघि बढ्नुपर्छ । केन्द्रमात्र बलियो र सहज भएर भएन, प्रदेश, जिल्लासंघसँगै प्रारम्भिक संस्थाहरु पनि स्रोत र साधन सम्पन्न हुनुपर्यो जसले अन्ततोगत्वा अभियानलाई फाइदा पुग्छ ।”
२१ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
६ दिन अगाडि
५ दिन अगाडि
३२ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
१२ दिन अगाडि