काठमाडौं । नेफ्स्कूनले स्थिरीकरण कोषमा योगदान गर्न कुनै हिच्किचाहट गर्नुपर्ने अवस्था नरहेको भन्दै कोष छिट्टै पूर्ण सञ्चालनमा आउने प्रतिबद्धता व्यक्त गरेको छ । साकोस अभियानबीचको विश्वास, ऐक्यबद्धता र योगदानको बलमा कोष छिट्टै पूर्ण रुपमा सञ्चालनमा आउने भन्दै नेफ्स्कूनले साकोस अभियानलाई पुनः आश्वस्त तुल्याएको हो । कोषमा हालसम्म १७९ साकोसहरुबाट ७ करोड बढी रकम योगदान भएको भन्दै सबैको सहयोगमा चाँडै कोष पूर्ण सञ्चालनका लागि आवश्यक १० करोड रुपैयाँ जुटाइने नेफ्स्कूनले स्पष्ट पारेको हो ।
कोषमा योगदान, यसको सञ्चालन, योगदानको सुरक्षा आदि विषयमा कुनै शंका उपशंका नगर्न आग्रह गर्दै नेफ्स्कूनले अब चाँडै यसको पूर्ण सञ्चालन गर्ने वचनबद्धता दोहोर्याएको हो । अहिलेको तरलता चापले पनि कोषको औचित्य र आवश्यकतालाई थप मजबुत बनाएको भन्दै नेफ्स्कूनले अभियानको प्रबलीकरणमा कोष सहयोगी हुने भन्दै योगदान गर्न सबैलाई हार्दिक अनुरोध गरेको छ ।
आज नेफ्स्कून-साकोस म्यानेजर्स क्लबले सिकाइ आदानप्रदान कार्यशाला अन्तर्गत बचत ऋण सहकारी सम्बन्धी स्थिरीकरण कोष विषयमा आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै कोष सञ्चालन समितिका अध्यक्ष एवम् नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले कोष सञ्चालनका लागि अभियानको जागरुकता, ऐक्यबद्धता, सहयोग र योगदान आवश्यक भएको विचार व्यक्त गर्नुभयो । उहाँले अभियानका दुईवटा पाङ्ग्रा स्थिरीकरण र स्तरीकरण भएको उल्लेख गर्दै दुबैले मात्र साकोसहरुलाई सुरक्षित, स्थायी र विश्वसनीय बनाउने दाबी गर्नुभयो । अध्यक्ष पौड्यालले कोष सञ्चालनको बिषयमा केही ढिलाई भएपनि अब प्रबलता दिइने र अभियानको कोष भएको विषय स्थापित गर्न कुनै कसर बाँकी नराखिने दाबी गर्नुभयो ।

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले कोष सञ्चालनमा केही ढिलाइ भएको स्वीकार्दै अब भने केही समयभित्रै पूर्ण सञ्चालनमा आउने विश्वास दिलाउनुभयो । उहाँले जुन उत्साहका साथ कोषको विषयमा लबिङ भएको थियो कार्यान्वयनका जान नसकिएको वास्तविकता स्वीकार्दै अब ‘किन्तु परन्तु’ केही नभनी थप उत्साह र उर्जाका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कोषलाई चाँडो सञ्चालनका लागि खासगरी स्तरीकृत र स्तरीकरणमा जान उद्यत साकोसहरुलाई विश्वासमा लिनुपर्ने आवश्यकता महसूस गरिएको भन्दै बरिष्ठ उपाध्यक्ष ढकालले अभियानको विश्वसनीयता र ऐक्यबद्धतामा कोष पूर्ण सञ्चालनमा ल्याइनेमा सबैलाई आश्वस्त तुल्याउनुभयो । यसका लागि आवश्यक तयारी गर्न उहाँले नेफ्स्कून व्यवस्थापनलाई बिशेष निर्देशन समेत दिनुभयो । सँगै साकोस ऐनका विषयमा पनि सरोकारवालाहरुसँग पछिल्लो समय नतिजामुखी छलफल भएको र त्यसले चाँडै ठोस परिणाम ल्याउनेमा आफु आश्वस्त भएको जानकारी उहाँले भर्चुअल कार्यशालालाई गराउनुभयो ।
नेपालमा स्थिरीकरण कोषको प्रवर्तक नेफ्स्कूनका सल्लाहकार एवम् पूर्व अध्यक्ष ऋषिराज घिमिरेले अभियानलाई अपनत्व दिलाउन सके कोष सञ्चालनका लागि सरकारको धेरै भर पर्नुनपर्ने भन्दै आक्रामक बहस पैरवीमार्फत यथाशीघ्र कोष सञ्चालन ल्याउन नेफ्स्कूनको ध्यानाकर्षण गराउनुभयो । उहँले कोषमा योगदानमार्फत सहयोग गर्न सहभागी सबै साकोसहरुलाई बिशेष अनुरोध समेत गर्नुभयो । अभियानमा ‘ट्रस्ट’ र ‘सोलिड्यारिटी’ भए कोष सञ्चालनमा ल्याउन कुनै समस्या नरहेको पूर्व अध्यक्ष घिमिरेको टीप्पणी थियो । ब्रान्डेड र ब्रान्ड उन्मुख साकोसहरुको भौतिक सहभागितामा कार्यशाला गरी कोषका विषयमा आशंकाहरु निवारण गरी निष्कर्षमा पुग्न पनि उहाँले सुझाव दिनुभयो । अभियानले अपनत्व लिए कोषको पूर्ण सञ्चालन कुनै ठूलो काम नभएको पूर्व अध्यक्ष घिमिरेको तर्क थियो । साकोस ऐनका लागि पनि आक्रामक लबिङ गर्न र त्यसमा साकोस अभियानको ऐक्यबद्धताको लागि पनि उहाँले ध्यानाकर्षण गराउनुभयो ।
नेपाल राष्ट्र बैंकका उपनिर्देशक एवम् कोष सञ्चालन समितिका सदस्य रामकाजी खाइजूले ‘एकका लागि सबै, सबैका लागि एक’ को सहकारी सिद्धान्तको सेरोफेरोमै कोषको अवधारणा पनि विकास भएको भन्दै साकोस अभियानको कोषमा योगदान गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले कोषमा योगदान र सहभागिता अवसर भएको पनि प्रष्ट पार्नुभयो ।
कोष सञ्चालन समितिका सदस्य सचिव एवम् नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले स्थिरीकरण कोषको अवधारणा, यसको सञ्चालनमा देखिएका चुनौतीहरु, अभियानको अपेक्षा, कोषमा योगदानको अवस्था आदि विषयहरु समेटेर प्रस्तुतिकरण गर्नुभएको थियो ।
उहाँले अभियान एकजुट हुँदा जस्तोसुकै समस्या समाधान गर्न सकिने विषयलाई संघको आर्दश बाक्यले बोकेको भन्दै कानुनी जटिलताहरुलाई संशोधन गर्न सकिने भएकाले अहिलेको अवस्थामा सञ्चालनलाई पूर्णता दिनु अत्यन्त आवश्यक भएको र यसमा सबै साकोस अभियानको साथ, सहयोग र योगदानको लागि हार्दिक आग्रह गर्नुभयो ।
स्वागत गर्दै नेफ्स्कून-साकोस म्यानेजर्स क्लबका संयोजक एवम् हाम्रो जनकल्याण साकोस दोलखाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले अभियानबीच ऐक्यबद्धता, विश्वासको बलमा चाँडै कोष पूर्ण सञ्चालनमा ल्याउनुपर्ने र त्यसका लागि जस्तोसुकै सहयोग गर्न क्लब तयार रहेको प्रष्ट पार्नुभयो । संयोजक बस्नेतले समग्र सहकारी अभियानको सुरक्षा कवच कोष पूर्ण सञ्चालनका लागि नेफ्स्कून साकोस म्यानेजर्स क्लबले आफ्नोतर्फबाट हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै ५ बुँदे सुझाव समेत प्रस्तुत गर्नुभएको थियो ।

आवश्यक पर्दा तरलता सापटी दिन सक्ने व्यबस्था स्थिरीकरण कोषमा समेत रहेकोले कोषको पैसा अभियानभित्रै उपयोग हुने र 'एकका लागि सबै, सबैका लागि एक' सिद्धान्तको व्यावहारिक प्रयोग कोषमार्फत हुने उहाँले बताउनुभयो । यसैबीच, उहाँले साकोस अभियानका समसायमयिक बिषयहरुमा सिकाइ आदान प्रदानको कार्यक्रमलाई क्लबले आगामी दिनमा निरन्तरता दिने पनि जानकारी गराउनुभयो । देशभरबाट साकोस अभियानकर्मी एवम् व्यवस्थापन समूहको सहभागिता रहेको कार्यक्रमको सञ्चालन क्लबका सदस्य एवम् रुपन्देहीको जनउत्थान साकोसका प्रमुख कार्यकारी अधिकृत रणबहादुर थापाले गर्नुभएको थियो ।
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
१२ दिन अगाडि
५ दिन अगाडि
७ दिन अगाडि
७ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
२३ दिन अगाडि