उर्लाबारी ७ मोरङ निवासी नरमाया खनाल दंगालको दैनिकी निकै फेरिएको छ । “हातमा सीप भएपछि यो दिन आउँदो रहेछ, यस्तो होला भन्ने कहिल्यै सोचेकी पनि थिइन, उहाँले भन्नुभयो, काँटी खेलाउने, स्वीटर बुन्ने सोख थियो, त्यसमा निखार ल्याउँदा सफल भएँ ।”
झापाकी नरमायाको १९ बर्षकै उमेरमा झापाकै स्थानीय खड्कप्रसाद दंगालसँग विवाह भयो । एस.एल.सी. परीक्षा दिएर बिबाह भएकी नरमायाको पढाइ एस.एल.सी. फेल र बिहे पाससँगै रोकियो । रातदिन घरको दुख, घाँस र कुटो कोदालोमै दैनिकी टर्यो । घर–गृहिणीको काम सम्हालेर मात्र बस्ने मन थिएन । त्यो दिन सम्झन पनि मन लाग्दैन, दुख त कति गरियो गरियो नि भनिसाध्ये छैन, उहाँ सम्झनुहुन्छ, “त्यतिवेलाको दुख र अभाव सम्झँदा त आज कहाँबाट कहाँपुगे जस्तै लाग्छ ।”
उद्यमी नरमायाको सफल उद्यम हो (हस्तकला उद्योग), उनको धागोबाट बनाइने सामग्रीहरु । नरमाया हस्तकला उद्योगबाट उहाँले उलनका माग अनुसारका लेडिज, जेन्स् स्वीटरहरु, विभिन्न डिजाइनका टोपी, स्कूल ड्रेसका स्वीटर, झुमर, कुसन, व्याग, ऐना, फुलदानी, फुल रोप्ने ढकी लगायतका सामग्री निर्माण गर्नुहुन्छ । सानो लगानी तर तुरुन्त प्रतिफल प्राप्त हुने व्यवसायबाट आज उहाँ एक सफल उद्यमी साथै तालिम प्रशिक्षक बन्नुभएको छ ।
“सधैं दुख मात्र गरेर केही हुने भएन अब केही गनुपर्छ भन्ने सोचले २०५२ सालमै म र श्रीमान दमक झर्यौं । दमकमा रहेको चन्द्रसूर्य सीप विकास केन्द्रबाट ३ महिने स्वीटर बुन्ने तालिम लिँए, उहाँले भन्नुभयो, ऋण धन गरेर त्यही बेला श्रीमान पनि पैसा कमाउने सोचले दुवई जानुभयो ।” स्वीटर बुन्ने तालिम लिएपनि घरको जिम्मेवारी र साना छोराछोरी हुर्काउँदा पढाउँदा सिकेको सीप त्यतिकै पछाडि परेको उहाँले सुनाउनुभयो ।”
तीन बर्ष दुवई बसेपछि उहाँका श्रीमान पनि नेपालमै केही गर्ने सोचले घर फर्किनुभयो । उर्लाबारी ७, मोरङमा घर बनाएर उहाँहरु झापाबाट बसाई सर्नुभयो । २०६३ सालमा उर्लाबारी ७ मा अवस्थित नारी संकल्प बचत तथा ऋण सहकारी संस्था (साकोस) मा नरमाया सदस्य बन्नुभयो । नारी संकल्प साकोससँगको साइनो उहाँको जीवनमा अमूल्य वरदान सावित भयो । “आफुँसँग भएको सीपका बारेमा कुरा गर्दै जाँदा साकोसका तत्कालिन अध्यक्ष सीता कार्कीले हातको सीप खेर नफाल्न र केही काम गरेर देखाउन थप्नुभएको उत्साह आज दिनरात सम्झिएको छु, उहाँले भन्नुभयो, मेरो जिवनमा नारी संकल्प साकोस, अध्यक्ष सीता कार्की दिदी, उपाध्यक्ष गोमा नेपाल र तत्कालिन कोषाध्यक्ष सोभितमाया तामाङ प्रेरणाको स्रोत हुनुहुन्छ ।”
हातमा सीप, परिवारको साथ सहयोग र सहकारीकर्मी साथीहरुको हौसला र प्रेरणाले उहाँलाई व्यावसायिक बन्न प्रेरित गर्यो । सुरुमा ३०० रुपियाँमा धागो खरिद गरी बुनेको पहिलो स्वीटर उहाँले श्रीमानलाई लगाइदिनुभयो । स्थानीय पसलमा उहाँका श्रीमानले लगाउनुभएको स्वीटरको निकै तारिफ भयो र त्यस्तै स्वीटरका लागि अर्डर आयो । “स्वीटर तयार गरेँ, पैसा कति ? उहाँले सोध्नुभयो, तर कति पैसा लिने मैले भन्नै सकिन, धागोको पैसा दिनुस् न भने उहाँले १५ सय दिनुभयो, मेरा लागि १५ हजार पाएसरह भयो ।” उद्यमी नरमाया भन्नुहुन्छ, स्वीटर बुनेर पहिलोचोटी प्राप्त कमाईबाट ५ सय राखेँ, एक हजारको धागो खरिद गरें । मैले बुनेको दोस्रो स्वीटर स्थानीय ड्राइभर भाइले किन्नुभयो । त्यसपछि साच्चिकै व्यावसायिक सोचको विकास भयो ।”
उर्लाबारी ७ नं वडा कार्यालयले उद्यमीका लागि बजेट दिन्छ भन्ने जानकारी पाएपछि उहाँमा निकै उत्साह थपियो । “वडामा प्रस्ताव पेश गरे, वडाले ७५ हजार बजेट पास गरिदियो । प्राप्त बजेटबाट मैले सोही वडाका १४ जना दिदीबहिनीहरुलाई तालिम दिएँ । उहाँले भन्नुभयो, २०७५ सालदेखि लगातार वडाबाट बजेट उपलब्ध भएको छ, त्यसैबाट वडाभित्रका महिला दिदीवहिनीहरुलाई तालिम दिइरहेकी छु । दोस्रो बर्ष १८ जना र तेस्रो बर्ष २० जना दिदीबहिनीहरुले मबाट सीप सिक्नुभएको छ । यस बर्ष पनि वडाबाट प्राप्त बजेट अन्तर्गतको तालिम कार्यक्रम बाँकी छ ।”
टोलमा निस्कँदा आज कोही पनि दिदीबहिनी खाली हात नवसेको देख्दा अत्यन्त खुसी लाग्छ उहाँ भन्नुहुन्छ, “आर्थिक अभावका कारण घरेलु हिंसामा परेका र श्रीमानबाट पीडित दिदीवहिनीहरुमा पनि आर्थिक परिवर्तन भएको छ, यही सीपको प्रयोगबाट उहाँहरुको जीवन हाँसीखुसी भएको छ । लोप भैसकेको काँटी बुन्ने र स्वीटर तयार पार्ने यो पेसाले आम दिदीबहिनीको जीवनमा आर्थिक परिवर्तन ल्याएको देख्दा गर्व महसुश हुन्छ ।”
उद्यमी नरमायाले सायौंको संख्यामा स्थानीय दिदीबहिनीहरुलाई सीप सिकाउनुभएको छ । “दिदीबहिनीहरु जति सक्नुहुन्छ, सीप सिक्नुहोस् भन्छु, आजसम्म मैले सीप सिकाएर कसैसँग एक सुका लिएको छैन, उहाँ भन्नुहुन्छ, मसँग आएको अर्डरको काम उहाँहरुलाई दिन्छु, धागोको पैसा दिनुहुन्छ र सामानको पैसा उहाँहरुलाई नै हुन्छ ।
उद्यमी नरमायाले आफ्नो व्यवसाय सञ्चालनका लागि ठूलो ऋण लिनुपरेको छैन । उहाँले ससानो लगानीबाट धागो खरिद गर्ने र सामग्री विक्रि गरेर आएको पैसा पुन लगानी गर्ने गर्नुहुन्छ । घर र संघ संस्थामा परेका सम्पूर्ण कामहरु भ्याएरै पनि उहाँले मासिक ५० हजार सहजै कमाउनुभएको छ । २०६३ सालमा नारी संकल्प साकोसको सदस्य बन्नुभएकी नरमाया एक कार्यकाल उपसमिति र लगातार ४ कार्यकालसम्म सञ्चालक समिति सदस्यमा हुनुहुन्छ । त्यसैगरी जिल्लाकै घरेलु तथा साना उद्योग समितिकी सदस्य समेत हुनुहुन्छ ।
उद्यमी नरमायालाई भने यतिवेला माग अनुसारको सामान पुर्याउन भ्याइनभ्याइ छ । “जाडोको लागि बर्खामा नै धेरै सामान तयारी गरेर राख्नुपर्छ, तर त्यसले मात्र पुग्दैन, जाडोमा झन् विभिन्न डिजाइनका टोपी र स्वीटरहरुको माग हुन्छ । उहाँ भन्नुहुन्छ, माघमा हुने विवाह भोजका लागि लङ पार्टी स्वीटरको माग छ, आज त्यसका लागि धागो किन्न इटहरी जान लाग्दैछु ।”
श्रीमानको साथ सहयोगले पनि उहाँलाई उलनका सामग्री निर्माणमा सहयोग पुगेको छ । “पसलको कमाईभन्दा मेरो कमाई राम्रो छ । मेरै कमाइले घर र अन्य खर्चपनि सहजै धानेको छ । उहाँ भन्नुहुन्छ, श्रीमानले पनि सिलाउने, धागो फुकाउने मिलाउने काममा सहयोग गर्नुहुन्छ । फुल स्वीटर बुन्न ३/४ दिन लाग्छ । बुट्टा भरेको टोपी एक दिनमा सकिन्छ । मेसिनमा बनाउन सजिलो हुन्छ, तर हातले बनाएको जस्तो राम्रो मेसिनको हुँदैन । सबैजना हातले नै बनाएको खोज्नुहुन्छ ।”
माग अनुसार सामान पुर्याउनै सकेको छैन । सजिलो होला भनेर मेसिन पनि किनेकी छु, तर हातले बुनेकै माग हुन्छ । उहाँले भन्नुभयो, “नगरपालिकाको पहलबाट सामाजिक विकास मन्त्रालय मार्फत २ लाख अनुदान सहयोग पाएकी थिएँ । त्यसबाट १ लाख ८० हजारमा एउटा मेसिन किनेँ, पैसा थपेर ७० हजारमा अर्को मेसिन पनि किनेकी छु । हातले बुनेको स्वीटर २ हजारमा विक्रि हुन्छ, मेसिनले बुनेको सस्तो छ, ४/५ सयमै तयार हुन्छ ।”
“नारी संकल्प साकोस परिवारको साथ सहयोग र हौसलाको म सँधै ऋणि छु । संस्थाकी अध्यक्ष सीता कार्की, पूर्व अध्यक्ष मीना कार्की, उपाध्यक्ष गोमा नेपाल, सल्लाहकार सोभित माया तामाङ, व्यवस्थापक चित्र न्यौपाने लगायत साकोस परिवारका धेरै व्यत्तित्वहरु मेरा प्रेरणाका स्रोत हुनुहुन्छ, सबैप्रति आभारी छु । उहाँले भन्नुभयो, समुदायमै उदाहरणीय पात्र भनेर मेरो नाम संवोधन गरिदिँदा हर्ष लाग्छ ।”
उद्यमी नरमायाको परिवारमा एक छोरी, एक छोरा र श्रीमान हुनुहुन्छ । “छोरीको विवाह भएर नातिनी पनि पाइसकेकी छु, उहाँले भन्नुभयो, घरको परिस्थितीले गर्दा छोरीको विहे पनि सानै उमेरमा गर्नुपर्यो, छोरीले पढाई पनि पुरा गर्न पाइनन्, अब छोरीलाई पनि स्वीटर बुन्ने सीप सिकाउन खोजेकी छु ।” उहाँका २६ बर्षिय छोरा पनि स्थानीय बोर्डिङ स्कूलमा पढाउनुहुन्छ । श्रीमानले पनि स सानो विउविजन पसल सञ्चालन गर्नुभएको छ ।
“सीप सिकौं । आत्मनिर्भर बनौं । मेहनत गर्नुपर्छ, जुनसकै कामबाट पनि सफलता हात लाग्छ । उद्यमी नरमाया भन्नुहुन्छ, उच्च शिक्षा र ठूलो लगानीमात्रै चाहिन्छ भन्ने छैन । सानोबाटै सुरु गरे, ठूलो सफलता भोलि अवश्य मिल्छ ।” हरेक ठाउँका महिलाले आर्थिक उपार्जन हुने काम गर्न उहाँ जोड दिनुहुन्छ । भन्नुहुन्छ, ’काम गर्छु भन्ने संकल्प लिए महिलालाई दुई–चार पैसा कमाउन मुश्किल छैन । महिलाले घर मात्रै सम्हाल्नुपर्छ भन्ने हुँदैन ।’
९ घण्टा अगाडि
९ घण्टा अगाडि
९ घण्टा अगाडि
१० घण्टा अगाडि
११ घण्टा अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
३ दिन अगाडि
९ घण्टा अगाडि
९ घण्टा अगाडि
११ घण्टा अगाडि
९ घण्टा अगाडि
१० घण्टा अगाडि
३८ दिन अगाडि
३८ दिन अगाडि