भक्तपुर जिल्ला बचत संघको आयोजनामा प्रभातफेरी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुर जिल्ला बचत संघको आयोजनामा प्रभातफेरी

भक्तपुर । भक्तपुर जिल्ला बचत संघको आयोजनामा जिल्ला स्थित जिल्ला सहकारी संघ, जिल्ला कृषि सहकारी संघ र जिल्ला बहु्उद्देश्यीय सहकारी संघहरुको समन्वयमा ६५ औं राष्ट्रिय सहकारी दिवस प्रभातफेरी कार्यक्रम सहित टौमढीमा मनाइएको छ । प्रभातफेरी कार्यक्रममा १२४ वटा संस्थाहरुबाट ३००० जना भन्दा बढी सहकारीकर्मीहरुको सहभागिता थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले स्थानीय जनताले समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक विकासका लागि खोलिएका सहकारी संस्था मात्र सही सहकारी भएको बताउँदै व्यक्तिगत तथा नाफाको लागि खोलिएका सहकारी नभई फाइनान्स कम्पनी भएको उल्लेख गर्नुभयो । उँहाले सहकारीमा संकलित पूँजी उत्पादनमूलक क्षेत्रमा लगानी गरी रोजगारी सृजना गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

विशेष अतिथि भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले नेपालमा संगठित र ठुलो सञ्जाल भएको सहकारीले पुँजी परिचालन, रोजगारी सृजना र लैगिंक समानताको लागि महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । यहाँले सहकारीको संख्यात्मक बृद्धिसंगै गुणात्मक बृद्धिमा जोड दिनुभयो । लगानीका क्षेत्रहरु पहिचान गरी सहकारीले उत्पादन बृद्धि र वित्तीय अनुशासन कायम गर्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।

अतिथि जिल्ला सहकारी संघ लि.का अध्यक्ष केदार खड्काले सहकारी ऐन नियम विपरित गुणात्मक वृद्धि भन्दा संख्यात्मक वृद्धि भएको बताउनुभयो । हाल प्रदेश सहकारबाट प्रक्रिया नपु¥याई बहुउद्देश्यीय सहकारी संस्थाहरुको दर्ता सहकारीमा विकृति ल्याउने तर्फ सचेत हुनुपर्ने विचार राख्नुभयो । प्रक्रिया नपुर्याई दर्ता भएका संस्थाहरुलाई भक्तपुर नगरपालिकाले सूचना नै प्रकाशित गरी आम समुदायलाई सचेत बनाएको कुरा उहाँले बताउनुभयो ।

कार्यक्रमका सभापति संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले २०१३ चैत्र २० गते चितवनको बखानपुर ऋण समिति दर्ता भएको दिनलाई आधारित भएर राष्ट्रिय सहकारी दिवस मनाउदैं आएको कु्रा बताउदै सहकारीमा सन्दर्भ व्याजदर ऋणमा १६ प्रतिशत तोकिए पनि कार्यान्वयन नभएको कुरा बताउनुभयो  । ऋणमा प्रदान गर्ने व्याज भन्दा बढी व्याज प्रदान गरी बचत संकलन गर्ने सहकारी संस्थाको छानबिन गर्नुपर्ने कुरा बताउनुभयो । उहाँले सहकारीलाई स्वछन्द रुपमा छोड्ने हो भन्ने विकृति बढ्ने तर्फ ध्यानाकर्षण गराउदैं कानुन बमोजिम दण्ड सजाय हुनुपर्ने जोड दिनुभयो ।

संघका उपाध्यक्ष हरि बल्लले सहकारीलाई बैंक वित्तीय सरह मालपोट कर उठाउनु जायज नभएको कुरा बताउनुभयो । सहकारी ऐनमा एक व्यक्ति एक सहकारीको व्यवस्था शंसोधन गर्न संघले प्रदेश सरकारमा निवेदन पेश गरेको कुरा समेत उहाँले बताउनुभयो । कार्यक्रम संचालन संघका सचिव जगनाथ प्रजापतिले गर्नुभएको थियो ।

पाठकबाट थप