नेफ्स्कूनले विकास गरेका स्तरीकरण कार्यक्रममा सहकार्य गर्न विभाग तयार छः रजिष्ट्रार पण्डित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनले विकास गरेका स्तरीकरण कार्यक्रममा सहकार्य गर्न विभाग तयार छः रजिष्ट्रार पण्डित

पनौती, काभ्रे । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले नेफ्स्कूनले विकास गरेका स्तरीकरण कार्यक्रममा सहकार्य गर्न विभाग तयार रहेको बताउनुभएको छ । नेफ्स्कूनले सदस्य साकोसहरुका निम्ति विकास गरेको गुणस्तर सुनिश्चिततासम्बन्धी स्तरीकरण कार्यक्रममा नियमनकारी निकायको साथ र सहयोग रहने विश्वास उहाँले दिलाउनुभयो । नेफ्स्कूनले आज काभ्रेको पनौतीमा आयोजना गरेको प्रोबेसन तथा कर्ब्स म्यानुअल अध्यावधिक कार्यक्रमका प्रमुख अतिथि रजिष्ट्रार पण्डितले समयानुसार स्तरीकरण कार्यक्रमका सूचकहरु र विधिहरु अद्यावधि भने गर्नुपर्ने बताउनुभयो । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा विभागले प्रोबेसन तथा कर्ब्स म्यानुअलमा आफ्नो तर्फबाट ‘इनपुट’ दिने र समयसापेक्ष संशोधनमा पूर्ण सहकार्य, समन्वय र सहयोग गर्ने रजिष्ट्रार पण्डितको भनाइ थियो । दुबै निकायबीच सघन छलफलपछि निस्कने निष्कर्ष नियामक निकाय र समग्र अभियानका लागि सर्वस्वीकार्य हुने उहाँको तर्क थियो । 


‘राज्यले डण्डा लाएर मात्र हुँदैन, नियमन, प्रवर्धन तथा प्रशिक्षणका कार्यक्रमलाई पनि सँगसँगै लिएर जानुपर्छ । विभाग त्यसतर्फ सचेत छ,’ उहाँले भन्नुभयो, ‘ब्राण्ड र रिवार्डको काम विषयगत केन्द्रीय संघले गरेको राम्रो हो ।’ विभाग स्वयंले गर्नुपर्ने काम नेफ्स्कूनले गर्दा त्यसमा सहयोग हुने विश्वास रजिष्ट्रार पण्डितले दिलाउनुभयो । उहाँले विभागले पछिल्लो समय जारी गरेका निर्देशन र सूचनाहरुको भावपनि प्रतिविम्बित हुने गरी म्यानुअल अद्यावधिक गरिनुपर्नेमा जोड दिनुभयो । एक अर्को प्रसङ्गमा रजिष्ट्रार पण्डितले अब विभागको ध्यान कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरणको संरचना निर्माण तथा कार्यविधि निर्माणतर्फ केन्द्रीत हुने स्पष्ट पार्नुभयो ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी कार्यक्रम अभियानको दिगोपना तथा संस्थागत विकाससँग जोडिएको भन्दै यसका विधि र प्रक्रियामा विभागको ऐक्यबद्धता रहेकोमा प्रसन्नता व्यक्त गर्नुभयो । साकोस अभियानको दुई स्तम्भ स्तरीकरण कार्यक्रम र स्थिरीकरण कार्यक्रम भएको बताउँदै अध्यक्ष पौड्यालले ब्राण्डेड संस्थाहरुको स्वतन्त्र अनुगमनका लागि विभागसँग आग्रह गर्नुभयो । स्तरीकरण र स्थिरीकरण कार्यक्रम साकोस अभियानको छवि निर्माणसँग सम्बन्धित भएको अध्यक्ष पौड्यालले बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्तरीकरण कार्यक्रममा विभागको ऐक्यबद्धता महत्वपूर्ण भएको बताउनुभयो । उहाँले संविधानले मान्यता दिएको सहकारी क्षेत्रलाई जिम्मेवार बनाउने काम विभाग र नेफ्स्कूनको दायित्व भएको बताउनुभयो । त्यसका लागि स्तरीकरण कार्यक्रम महत्वपूर्ण भएको बताउँदै बरिष्ठ उपाध्यक्ष ढकालले यस विषयमा विद्यमान असहजतालाई सहज बनाउने काममा विभागको भूमिका खोजी भएको स्पष्ट पार्नुभयो । विभाग र नेफ्स्कूनको ऐक्यबद्धतालाई मजबुत बनाउँदै लानुपर्ने उहाँको धारणा थियो ।

कार्यक्रम सञ्चालन गर्दै नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले स्तरीकरण कार्यक्रममा नियामक निकाय र संघको साझा बुझाइ हुँदा कार्यान्वयनमा सहज हुने बताउनुभयो । उहाँले साकोस अभियानका चुनौतीहरु सामना गर्नका लागि पनि विभाग र नेफ्स्कूनबीच सहकार्य आवश्यक भएकोमा जोड दिनुभयो । यसैले स्तरीकरण कार्यक्रममा सम्बन्धमा पनि विभागको पृष्ठपोषण र सहजीकरण आवश्यक भएको महासचिव अधिकारीको भनाइ थियो ।

कार्यक्रममा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी, कोषाध्यक्ष दिपक पनेरु, लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटा, सञ्चालक सदस्य हरेराम प्रसाद, प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, विभागीय प्रमुखहरु लगायतको सहभागिता थियो । यसैगरी, विभागका तर्फबाट उप रजिष्ट्रार द्वय टोलराज उपाध्याय र खिमानन्द आचार्य, कानून अधिकृत मनुका घिमिरे तथा शाखा अधिकृत शोभा घिमिरे सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले संघले सञ्चालन गरेको स्तरीकरण कार्यक्रमसम्बन्धी ऐतिहासिक पृष्ठभूमि, विभागको संलग्नता र वर्तमान चुनौती समेटिएको प्रस्तुतीकरण गर्नुभएको थियो ।

यसैबीच, समापन कार्यक्रममा बोल्दै विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले नेफ्स्कूनसँग सहकार्य गर्न विभाग तयार रहेको भन्दै स्तरीकरण कार्यक्रममा सम्बन्धमा पनि आवश्यक सहजीकरणसहित निकासको लागि कुनै समस्या नरहेको बताउनुभयो ।  स्तरीकरणका विविध विषयमा दुबै निकायबीच छलफलमार्फत ठोस निष्कर्ष निकाल्न सकिने उहाँले बताउनुभयो । उपरजिष्ट्रार उपाध्यायले समग्र साकोस अभियान र विभागबीच स्तरीकरण कार्यक्रमका विषयमा बुझाइमा एकरुपता आवश्यक भएको स्वीकार्दै त्यसको बाटो पनि नेफ्स्कून र विभागले नै मिलेर खोज्नुपर्ने उल्लेख गर्नुभयो ।

 

समापन कार्यक्रमको अध्यक्षता गर्नुभएकी नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले नेफ्स्कून राज्यको सहयोगी अंग भएको बताउँदै साकोस अभियानलाई मर्यादित, सुशासित र दिगो बनाउने काममा संघ लागिपरेको दाबी गर्नुभयो । सहकारी विभाग अभियानको सहयोगी निकाय भएकाले निरन्तर हातेमालो गर्दै अघि बढ्ने कुरालाई संघले प्राथमिकतामा राखेको जानकारी गराउनुभयो । उहाँले आज समूहगत रुपमा भएका छलफलबाट प्राप्त सुझावहरुलाई पनि समावेश गरी विभाग र संघको संयुक्त प्राविधिक कार्यदलमा छलफल गरी निष्कर्ष दिइने बताउनुभयो ।समापन कार्यक्रम संघका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सिनाले सञ्चालन गर्नुभएको थियो । 


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप