आज अगस्ट १२, अन्तर्राष्ट्रिय युवा दिवस । युवा पुस्तालाई सहकारीमा आकर्षित र सहकारीप्रति उत्प्रेरित गर्न एशिया प्रशान्त क्षेत्रीय बचत तथा ऋण सहकारीहरुको एक मात्र छाता संगठन एशियाली ऋण महासंघ (अक्कू) ले अन्तर्राष्ट्रिय भर्चुअल युवा गोष्ठीको आयोजना गर्दैछ । अक्कूले क्रेडिट युनियनहरुमा संलग्न एसियाली युवाहरुको सञ्जाल अकुनेल (Asian Credit Union Network of Emerging Leaders (ACUNEL) गत वैशाखमा गठन गरेको थियो । गोष्ठीमा अकुनेलमा प्रतिनिधित्व गर्ने एशिया प्रसान्त क्षेत्रका बचत तथा ऋण सहकारी संस्थाका युवाहरुको सहभागिता रहनेछ ।
अक्कूकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भि.स्यानरोकेको अगुवाइमा भर्चुअल कार्यक्रम मार्फत गठन गरिएको अकुनेलले बचत तथा ऋण सहकारी संस्थाहरुमा युवा क्रान्ति ल्याउने विश्वास लिइएको बताउनुभयो । सदस्यमा युवा, नेतृत्वमा युवा र प्रविधि प्रयोग र पहुँच विस्तारमा युवाको सहभागिता अभिबृद्धि गर्न अकुनेल सफल हुने विश्वास अक्कूकी प्रमुख कार्यकारी अधिकृत लेनीको रहेको छ ।
एशियाली क्रेडिट युनियनहरु (बचत तथा ऋण सहकारी) को नेतृत्व र सदस्यहरुको बहुसंख्यक उपस्थिति युवा उमेर समूहभन्दा धेरै माथीको छ । नेपालको सहकारी अभियानलाई हेर्ने हो भने पनि सहकारीमा युवाको सहभागिता न्यून पाईन्छ । सहकारीको साख बृद्धि गर्न र यो क्षेत्रलाई दिगो बनाइराख्न अव सहकारीमा युवा क्रान्ति आवश्यक छ । सहकारीमा युवा आकर्षण बढाउन के गर्नुपर्ला भनी नेपालको साकोस अभियानका प्रमुख व्यवस्थापक प्रतिनिधिहरुसँग साकोस आवाजले गरेको कुराकानीको सार संक्षेप प्रस्तुत गरिएको छ ।
प्रकाश प्रसाद पोखरेल
प्रमुख कार्यकारी अधिकृत
नेफ्स्कून
नेपालका बचत तथा ऋण सहकारी संस्थाहरुको केन्द्रीय संघ नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल भन्नुहुन्छ, “नेफ्स्कूनले सहकारी क्षेत्रको साख अभिवृद्धिका लागि सर्वप्रथम सहकारीमा सुशासन कायम गरी आम जनमानसमा सहकारीप्रतिको विश्वास दिलाउन स्तरीकरण कार्यक्रम र स्थिरीकरण कोषको प्रभावकारी सञ्चालनमा जोड दिएको छ ।” सहकारीमा युवा आकर्षण बढाएर दिगो सहकारी निर्माणमा जोड दिन संघले सहकारी कारोबारलाई डिजिटाइज गर्नुपर्छ भन्ने उद्देश्यसहित इन्टरप्राईज रिसोर्स प्लानिङ (इआरपी) निर्माणमा लागिरहेको छ । जसले फोर डिः डिजिटाईजेशन, डिजिटलाईजेशन, डिजिटल इन्क्लुजन र डिजिटल ट्रान्सफरमेशनलाई महत्व दिएको छ ।
त्यसैगरी नेफ्स्कूनमा युवा उपसमिति छ, जसले युवाको सहभागिता तथा सशक्तीकरणमा ध्यान दिन्छ । युवा लक्षित कार्यक्रममा जोड दिने, युवा उपसमिति गठन, युवा लक्षित वस्तु तथा सेवाहरु सहकारीमा इन्जेक्ट गर्ने, कलेजबाट डिप्लोमा सकेका युवाहरुलाई सहकारी व्यवस्थापन कोर्षको अध्यापन गराई सहकारीमा रोजगारी प्रदान गर्ने अभियानमा क्रियाशिल छ । जसका लागि एच आर बैंकको स्थापना, विश्व विद्यालयसँग सहकार्य गरी खोज अनुसन्धान तथा औपचारिक सहकारी कोर्षहरुको डिजाइन र लागु गर्न तर्फ संघ लागिपरेको छ ।
माधव प्रसाद पौडेल
प्रमुख कार्यकारी अधिकृत
विकू साकोस, नवलपरासी
नवलपरासीको गैडाकोटमा अवस्थित विकू बचत तथा ऋण सहकारी संस्था लि.युवा सदस्यहरुमाझ पनि लोकप्रिय बन्न सफल छ । १ लाख १२ हजार सदस्य रहेको साकोसमा २४ प्रतिशत सदस्य १८–३५ बर्ष उमेर समुहका छन् । प्रविधि प्रयोगमा अब्बल साकोसले युवा लक्षित पर्याप्त कार्यक्रमहरुलाई पनि त्यतिकै महत्व दिंदै आएको छ । साकोसका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेल भन्नुहुन्छ, “स्कूल स्कूलमा विकू कार्यक्रम सञ्चालन गर्छौं, जसले विद्यालय तहदेखि नै सहकारीबारे बुझ्ने अवसर प्रदान गरेको छ । त्यसैगरि स्कूलमा वक्तृत्वकला प्रतियोगिता, वित्तीय साक्षरता कक्षा सञ्चालन भइरहेका छन् । युवाहरुलाई एटीएम कार्ड निशुल्क वितरण गरेका छौं । युवा समिट कार्यक्रम मार्फत ज्ञान हस्तान्तरण गर्ने गरेका छौं । सहकारी सचेतना कार्यक्रम सञ्चालन, विद्यार्थीहरुलाई छात्रवृद्धि प्रदान गर्छौं ।
युवाहरुमा सहकारी सम्बन्धी काउन्सीलिङ महत्वपूर्ण रहन्छ । युवाको भविष्य निर्माण र वित्तीय सबलताको विषयमा पनि सहकारीको भूमिकाबारे सञ्चार प्रवाह गर्नुपर्छ ।
प्रविधि साक्षरता शिक्षा, युवाको करिअर डेभलपमेन्ट, फाइनान्सियल करियरको बारेमा युवामाझ उचित परापर्श आवश्यक हुन्छ । मुख्यत सहकारीमा युवा आकर्षण बढाउन नयाँ नयाँ प्रविधिलाई साकोसमा भित्र्याउनु पर्छ नै ।
साकोसले प्रविधिमार्फत सदस्यलाई उच्च सुविधा दिएको छ । साकोसका युवा सदस्यहरु एटीएम सेवा, मिस्डकल बैंकिङ, क्यूआर कोड, एसएमएस बैंकिङ लगायतका सेवाका उच्च प्रयोगकर्ता हुन् ।
‘अनुकरणीय उच्चस्तरको प्रविधि प्रयोगमा विकू नेफ्स्कूनद्वारा पुरस्कृत संस्था हो ।’
कृष्ण कुमार श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत
चन्द्रागिरी साकोस, थानकोट
काठमाडौंको चन्द्रागिरीमा अवस्थित चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था लि. ले एशियाली ऋण महासंघ अक्कूले आज आयोजना गर्ने अन्तर्राष्ट्रिय भर्चुअल युवा गोष्ठीमा भिडियो वृत्तचित्र प्रस्तुत गर्दैछ । साकोसको युवा तथा उद्यमशिलता प्रवर्धन उपसमितिले देशभरिका सहकारीमा आबद्ध युवा सदस्यहरुको सर्वेक्षण गरी त्यसबाट प्राप्त निश्कर्षलाई समेटिएको भिडियो बृत्तचित्र निर्माण गरेको छ । बृत्तचित्रले देशभरिका बचत तथा ऋण सहकारी संस्थाका युवा सदस्यहरुको प्रतिनिधित्व गरेको चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले जानकारी गराउनुभयो ।
श्रेष्ठ भन्नुहुन्छ, “चन्द्रागिरी साकोसमा युवा सदस्यहरुको सहभागिता राम्रो छ । कुल सदस्य संख्याको २० प्रतिशत सदस्य १८ देखि ३५ बर्ष उमेर समुहका युवा छन् । युवा तथा उद्यमशिलता प्रवर्धन उपसमितिमा पनि क्रियाशिल युवाहरुको प्रतिनिधित्व छ ।” अक्कूले गठन गरेको एशियाली मुलुकका बचत तथा ऋण सहकारी संस्थाका युवाहरुको सञ्जाल अकुनेलमा पनि नेपालको तर्फबाट समितिकी युवा सदस्य रिजु मानन्धरको प्रतिनिधित्व रहेको छ । कुल युवा सदस्यमध्ये धेरै विद्यार्थी छन् भने केही युवा सदस्यहरुले व्यावसायिक क्षेत्रमा राम्रो स्थान पनि बनाइसकेका छन् । झोल सावुन, सर्फ, हरपिक, होम मेड स्यानिटरी प्याड, सातु उद्योग लगायतको उद्यमबाट राम्रो व्यावसायिक सफलता पनि प्राप्त गरिसकेको छन् । केही युवा व्यवसायमा ट्रेड मार्क लिन समेत सफल भएका छन् । सहकारीले आज, अगष्ट १२ गते अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर वल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा युवा उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी स्टल समेत राख्न सहजीकरण गरेको छ ।
प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ भन्नुहुन्छ, “सहकारीमा युवा आकर्षित गर्न सर्वप्रथम समुदायमा सहकारीको छवि राम्रो हुनुपर्छ । मार्केट प्लेसमा जवसम्म सहकारीको इमेज राम्रो बन्दैन युवालाई तान्न सकिँदैन ।” प्रविधि विकास र उद्यमशिलता पनि युवा सहभागिताका लागि आवश्यक कम्पोनेन्ट हुन् । जवसम्म हामीले उद्यमशिलता विकास, वित्तीय सेवा र प्रविधिमा संलग्न गराउन सक्दैनौ तवसम्म युवाको आकर्षण सहकारीप्रति रहँदैन । सहकारीको भोलिको नेतृत्व आजका युवा हुन् । युवा समाज रुपान्तरणका बाहक हुन । सहकारी मार्फत युवाशक्तिलाई परिचालन गर्न सकियो भने सहकारीको भविष्य सँगै समृद्ध मुलुक निर्माण सम्भव हुनसक्छ ।
रणबहादुर थापा
प्रमुख कार्यकारी अधिकृत
जनउत्थान साकोस रुपन्देही
आजका युवा नयाँ प्रविधि प्रयोग गर्न रुचाउँछन् । छिटो छरितो सेवा चाहन्छन् । घरमै बसीबसी सबै खाले वित्तीय सेवा चाहन्छन् । यो सुविधा दिन अब सबै सहकारी तयार हुनुपर्छ । सहकारीको कार्यालयमा आयर ४ पृष्ठ लामो फाराम भरेर सदस्यता लिन र कागजी प्रक्रियामा दिनभर समय खर्चेर ऋण लिन आजका युवा चाहँदैनन् । प्रविधि बढाउन सकियो भने युवाको सहभागिता सहकारीमा अवश्य बढ्छ ।
जनउत्थान साकोसले प्रविधि सेवा विस्तार गरेको छ । युवा लक्षित कार्यक्रमहरु गर्ने गरेको छ । साकोसमा हाल ५ वटा युवा क्लबहरु छन् । क्लबले आयोजना गरेका हरेक क्रियाकलापमा साकोसको सहकार्य रहन्छ । सहकारीको कुल ८ हजार सदस्य मध्ये २२ प्रतिशत सदस्यले मोबाईल बैंकिङ सेवा प्रयोग गरेका छन् । ५८ प्रतिशत सदस्य १८–४० बर्ष उमेर समुहका छन् भने १६ बर्षमुुनिका ५ हजार बचतकर्ता (बाल) सदस्य छन् ।
भविष्यमा सहकारी धान्ने जनशक्ति भनेका आजका युवा नै हुन् । आज सहकारीमा युवाको आकर्षण बढाउन सकिएन भने सहकारीको भविष्य सुनिश्चित छैन । निश्चित अवधिपछि सहकारीको अस्तित्व समाप्त हुन्छ । त्यस हिसाबले पनि आज देशभरका सहकारीले युवा सदस्यहरुलाई सहकारीमा आबद्ध गराउन युवा लक्षित कार्यक्रम, शिक्षा, तालिम साथै प्रविधि प्रयोगलाई विस्तार गर्नुपर्ने अनिवार्य भएको छ ।
पुष्कर बस्नेत
प्रमुख कार्यकारी अधिकृत
किसान कल्याण साकोस, सुनसरी
युवालाई सहभागी गराउन तालिम शिक्षाका कार्यक्रममा जोड दिएका छौं । सहकारीमा पछिल्लो समय प्रविधिको प्रयोगलाई बढाउँदै लगिएको छ । नयाँ प्रविधिसँग युवा उमेरसमूहका सदस्यहरुले सहजै खेल्नसक्ने भएकोले पनि सहकारीमा युवा सदस्यको सहभागिता बढ्न सहयोग पुग्छ भन्ने अपेक्षा साकोसको रहेको छ । सहकारीका सेवाहरु डिजिटाईज हुँदैछन्, मोबाईल बैंकिङ, एटीएम सेवा सुरु भइसकेको छ ।
सहकारीमा युवाको सहभागिता बृद्धि गर्न हामीले भर्खरै किसान कल्याण साकोस युवा क्लब गठन पनि गरेका छौं । क्लब मार्फत सदस्यहरुले सहकारी शिक्षा, डिजिटाईज सेवा सम्बन्धी जानकारी आफ्ना उमेर समूहका व्यक्तिहरुसमक्ष प्रवाह गराउन सफल हुन्छन् भन्ने उद्देश्य हो । सहकारी बुझेका सदस्यले मात्र अन्य सदस्यलाई सहकारीबारे बुझाउन सक्छ भनेर युवा सञ्जाल विस्तार गर्न खोजिएको हो ।
सदस्यहरुमा स्वयसेवी भावना विकास गराउने, सहकारीको समाजप्रतिको उत्तरदायित्व बोध गराउने, समुदायप्रतिको जिम्मेवारी र सहयोगी भावना विकास गराउन युवाहरुलाई समुदायसँग घुलमिल गराउने, सदस्य उत्प्रेरणाका लागि युवा सदस्यहरुको प्रोफाइल सहितको पुस्तक प्रकाशन गर्ने लगायतका कार्यक्रम गर्ने योजना अगाडि सारेका छौं ।
हरिहर पौडेल
प्रमुख कार्यकारी अधिकृत
सिको साकोस, बर्दिया
बर्दियाको भूरिगाउँमा अवस्थित सिको बचत तथा ऋण सहकारी संस्था लि. जिल्लाको उत्कृष्ट सहकारीले चिनिन्छ । समुदायमा केन्द्रीत सहकारीमा सदस्य आवद्धता संख्या राम्रो छ ।
सदस्यहरुका लागि उत्कृष्ट सेवा र सदस्य लक्षित कार्यक्रममा पनि साकोसको क्रियाशिलता निरन्तर बढ्दो छ। सहकारीमा युवा सहभागिताको अवस्थाबारे बुझ्दा साकोसका व्यवस्थापक हरिहर पौडेल भन्नुहुन्छ, १८–४० बर्ष उमेर समुहका सदस्य आबद्धता राम्रै छ तर उपस्थिति र क्रियाशिलता भने न्यून छ ।” साकोसका युवा सदस्यहरु रोजगारीको सिलसिलामा विदेश पलायन हुँदा बर्दियामा युवाको उपस्थिति मै कमि छ । साकोसका सेयर सदस्य युवाहरुपनि स्वदेश हुनुहुन्न ।
घरपरिवारबाट साकोसमा नियमित बचत त हुन्छ, तर क्रियाशिलता नहुँदा व्यावसायिक क्षेत्रमा युवाको संख्या नगन्य नै छ । साकोसको सञ्चालक समितिमा पनि २ जनामात्र युवाको प्रतिनिधित्व छ । युवा सदस्यमै कमि भएपछि बोर्डको प्रतिनिधित्व स्वत प्रभावित छ ।
साकोसको वार्षिक योजनामा युवा लक्षित कार्यक्रमहरु छन् । युवाहरुलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बन्न अभिप्रेरित गर्ने उद्देश्य लिइएको छ । यस बर्ष वाह्य परिस्थिति पनि सहज भएकोहुँदा युवा लक्षित कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउनेतर्फ साकोस केन्द्रित छ ।
१ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
१० दिन अगाडि
२५ दिन अगाडि
२३ दिन अगाडि
३३ दिन अगाडि
३३ दिन अगाडि
२७ दिन अगाडि