नेपालको बचत तथा ऋण सहकारी अभियानले ३४ बसन्त पार गरेको छ । वि.सं. २०४५ साल श्रावण ३२ गते अनौपचारिक बचत समूहबाट शुरु भएको नेपालको बचत अभियान आज विश्वस्तरमा पहिचान स्थापित गरी ३५ औं स्थापना दिवस मनाउने संघारमा पुगेको छ । स्पष्ट कानूनी व्यवस्थाको अभावमा ग्रामिण समुदाय र सदस्यहरुको सामान्य आर्थिक आवश्यकता परिपूर्तिका लागि सहजीकरण गर्ने उद्देश्यसहित शुरु भएको अभियान अहिले के गाउँ के शहर नेपालका ७६ जिल्लामा विस्तारित भएको छ । स्थापनाकालदेखि नै समयानुकुल नविनतम प्रविधिमा पहूँच विस्तार, नीति, विधि र प्रविधिको उपयोग मार्फत सदस्यहरुमाझ सेवामा एकरुपता ल्याई साकोसमा वित्तीय आत्मनिर्भरता, दीगोपना, सुशासन प्रवर्धन मार्फत गुणस्तर सुनिश्चितताको नियमित परीक्षण गर्नुले गुरुकुलको रुपमा सबैको लागि मार्गदर्शन प्रदान गरेको छ । त्यसैगरी राष्ट्र निर्माणमा साझेदारी गर्दै अर्बौं रुपैयाँ राजश्व संकलनमा समेत सहकारी क्षेत्रको योगदान उल्लेख्य रुपमा बढ्दो छ । साकोस अभियानले प्राप्त गरेको यस उचाइलाई स्मरण गर्दै स्थापनाको ३५ बर्ष प्रवेशका अवसरमा सहकारी विभाग र अभियानका शिर्ष व्यक्तिहरुका शुभकामना सन्देशः
रुद्र प्रसाद पण्डित
रजिष्ट्रार, सहकारी विभाग
नेफ्स्कूनको ३५औं वार्षिक उत्सवको उपलक्ष्यमा नेफ्स्कून र यसका सम्पूर्ण सदस्यहरुलाई वार्षिकोत्सव सफलताको शुभकामना व्यक्त गर्दछु । नेफ्स्कूनले नेपालका बचत तथा ऋण सहकारी संस्थाहरुको उन्नयनमा दुरगामी प्रभाव पार्ने काम गर्दै जाओस् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आर्जन गरेको ज्ञान अनुभव सदस्यहरुमा विस्तार गर्न सकोस्, नेपालका बचत तथा ऋण सहकारी संस्थाहरुको आस्थाको धरोहर बन्न सकोस् । भविष्यका दिनमा अझ बढी सदस्यहरुलाई आवद्ध बनाउँदै अफ्नो ब्राण्डलाई अझ प्रवलीकरण गर्ने, अझ विस्तार गर्ने र सदस्यहरुबीचमा केही गरौं भन्ने भावनाको जागरण गराउन सकोस् मेरो यही शुभकामना छ ।
मिनराज कंडेल
अध्यक्ष, राष्ट्रिय सहकारी महासंघ
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) २०४५ साल साउन ३२ गते बचत समूह राष्ट्रिय संघ तदर्थ समितिको नामबाट गठन भएको थियो । आज यसले ३४ बर्ष पार गरेर ३५ बर्षमा प्रवेश गरेको छ । सहकारी ऐन २०४८ र नियमावली २०४९ आएपछि मात्रै २०५० साल भदौ २९ गते औपचारिक रुपमा नेफ्स्कून दर्ता भएको थियो ।
यस सन्दर्भमा नेफ्स्कून र समग्र साकोस अभियानको उत्तरोत्तर प्रगति र अझै बर्तमान चुनौतिहरुको सामना गर्दै नेपालको साकोस अभियानले आफूलाई एउटा उचाईमा सुव्यवस्थित ढंगले अगाडि बढाउन सकोस्, राष्ट्रिय सहकारी महासंघको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।
सबैभन्दा पुरानो र सबैभन्दा महत्वपूर्ण विषय भित्र रहेर नेपालको सहकारी क्षेत्रमा झण्डै ५० प्रतिशत सहभागिता यसमार्फत रहेको छ । बचत तथा ऋण सहकारी अभियानमा अवसरहरु पनि पर्याप्त छन् र चुनौतिहरु पनि थपिएका छन् । विश्वव्यापी रुपमा कोरोना, रुस र यूक्रेन बीचको युद्धपछि आर्थिक क्षेत्रमा जुन प्रकारको मन्दी अर्थात समस्या देखिएको छ, त्यसबाट पर्न गएको असर सहकारी क्षेत्रमा परेको छ । वित्तीय कारोबार गर्ने सहकारीमा पनि यसले ठूलो प्रभाव पारेको छ, यस्तो अवस्थामा वित्तीय सहकारीको छाता संघ भएकोले नेफ्स्कूनले वर्तमान अवस्थाका चुनौतिहरुको सामना गर्दै नेपालको साकोस अभियानलाई सुव्यवस्थित र पारदर्शी ढंगले दिगो बनाउनको लागि थप पहल गर्नुपर्ने अवस्था देखिएको छ । ३५ बर्ष प्रवेश गरिरहेको अवस्थामा नेफ्स्कूनले आफ्नो सिङ्गो साकोस अभियानको एउटा नेतृत्वदायि छाता संगठन भएको कारणले यो चुनौतिको समना गर्दै सदस्यका बचतका, सेयरका, कोषका रकमलाई कसरी बढीभन्दा बढी सदुपयोग र पारदर्शि ढंगले अगाडि लाने र अन्तर्राष्ट्रिय स्ट्याण्डर्डभित्र रहेर विश्व ऋण परिषद्ले प्रतिपादन गरेका सिद्धान्त, प्रशिक्षण अथवा संस्थागत विकासका कार्यक्रमहरुलाई समेत लिएर अगाडि बढ्ने प्रेरणा मिलोस् ।
नेफ्स्कूनले गर्दै पनि आएको श्रेणीगत ब्राण्डिङ्ग कार्यक्रम, स्तरीकरण, स्थिरीकरण कोष र प्रविधि विकासलाई साथसाथै अगाडि बढाउँदै नीति र व्यवहारका हिसाबले अगुवाई र नेतृत्वकर्ताको भूमिकामा अगाडि बढ्न सकोस हार्दिक शुभकामना ।
केशव बडाल
पूर्व अध्यक्ष, राष्ट्रिय सहकारी महासंघ
सर्वप्रथम त नेपालको बचत तथा ऋण केन्द्रीय सहकारी संघ उमेरले ३५ बर्षमा प्रवेश गर्दैछ । ३४ बर्षको उमेरमा संघले देशका लगभग सबै जिल्ला र खासगरी ६४ जिल्लाका बचत संघहरु समेत गरी लाखौं लाख सदस्यहरुको जीवनमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ । साहु महाजनको ऋणबाट थिचिएका आम सदस्यहरुको जीवनस्तरमा सुधार ल्याएर अगाडि बढ्नको लागि बचत तथा ऋण सहकारी अभियानमार्फत नेफ्स्कूनले गरेको उत्कृष्ट कार्यको प्रशंसा पनि गर्दछु र त्यसप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु ।
सहकारीले छरिएर रहेको श्रम, पुँजी, सीप, प्रविधिको प्रयोग मार्फत सामाजिक व्यवसाय गर्ने भएको हुनाले सामाजिक न्यायको पक्ष र उत्पादन बृद्धिको पक्षलाई अगाडि बढाउन अझै गम्भिरताका साथ अगाडि बढाउ सकोस् यही सफलताको शुभकामना दिन चाहन्छु ।
विभिन्न ठाउँका सहकारी जुन सहकारीको दर्शन, सिद्धान्त, मूल्य, मान्यता आचरण व्यवहार ठीक ढंगले परिपालना गरेर सञ्चालनमा रहेका छन् तिनले राम्रा र उदाहरणीय कामहरु गरेका छन् । सहकारीका सिद्धान्त, आचरण र व्यवहारको परिपालना नगर्ने एकादुई सहकारीका कमी कमजोरीले केही अन्य सहकारीमा पनि प्रश्नचिन्ह खडा भएको छ । त्यस्तो कार्य कसैले नगरोस् नगराओस् भनी त्यसतर्फ ध्यान दिँदै सहकारीको विकास र प्रतिष्ठाको कार्यक्रम मार्फत अगाडि बढ्ने सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
मित्रराज दवाडी
सह–अध्यक्ष, राष्ट्रिय सहकारी विकास बोर्ड
नेपालका बचत तथा ऋण सहकारी संस्थाहरुको केन्द्रीय संघ नेफ्स्कून ३४ बर्ष पुरा भएर एक वयस्क उमेरमा पुगेको छ । यस अवधिमा नेफ्स्कूनले संगालेका जतिपनि अनुभव र सकारात्मक उपलब्धीहरु छन्, तीनलाई संस्थागत गर्दै ग्रामिण भेगका दूरदराजमा रहेका सर्वसाधारणहरुमा बचत अभियानको जग बसालेर सहकारी कर्मलाई एक उत्कृष्ठ कार्यको रुपमा स्थापित गरेको छ, यो अत्यन्त राम्रो पक्ष हो ।
सहकारीका सकारात्मक र राम्रा पक्षसँगसँगै वित्तीय क्षेत्रमा केही विकृती पनि भित्रिएका छन् । वित्तीय क्षेत्रमा विद्यमान समस्या समाधान गर्न सक्ने र वित्तीय कारोबार गर्ने सहकारीहरुलाई उत्कृष्ट बनाउँदै ब्राण्डिङका कार्यक्रम मार्फत सहकारीमा सुशासन कायम गर्न सकोस मेरो तर्फबाट यही शुभकामना छ ।
देशलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन ग्रामिण सदस्यहरुमाझ वित्तीय पहुँच अभिवृद्धि गर्दै उत्पादनमा जोड दिनु आवश्यक छ । नेफ्स्कूनले आफ्नो ३५औं बार्षिक उत्सव मनाइरहँदा सहकारीमार्फत परिचालन हुने पुँजीलाई उत्पादनमूलक क्षेत्रमा प्रवर्धन गर्दै उत्पादनको भ्यालु चेन भित्र रहेर काम गर्न सकोस् । बार्षिक उत्सवको हार्दिक शुभकामना ।
कैलाशभक्त प्रधानाङ्ग
पूर्वअध्यक्ष, नेफ्स्कून
नेफ्स्कूनकोे राष्ट्रिय अन्तर्राष्ट्रिय प्रभाव र प्रतिष्ठा उच्च छ । एशियाली ऋण महासंघ र विश्व ऋण परिषद्को सदस्य बनेको छ । सहकारीका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूल्य र सिद्धान्तहरुको पालनामा प्रतिबद्ध छ । नेफ्स्कूनले अहिले जे गरिरहेको छ, जनशक्ति, भौतिक सम्पत्ती सबै कुरालाई हेर्दा नेफ्स्कूनको प्रगति राम्रो छ । भविष्यमा पनि सहकारी क्षेत्रमा नेफ्स्कून प्रतिको विश्वसनीयतामा कमी हुदैन भन्ने मलाई लागेको छ । संघले सहकारी क्षेत्रमा विश्वास निर्माण गर्दै सम्पूर्ण बचत ऋण अभियानलाई दिगो, सबल र सुशासन कायम गराएर अगाडि बढ्न सकोस् ३५औं स्थापना दिवसको अवसरमा संघको सफलता, उन्नती र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
सहकारी अभियानमा बचत तथा ऋणका धेरै संस्थाहरु देखिए । सहकारी खुल्ने क्रम बढ्यो तर बचत तथा ऋण सहकारीको मूल्य मान्यताका बिषयमा जानकार भएनन् । संघले बचत ऋण सहकारी सञ्चालनका सिद्धान्त मानिसहरुलाई व्यापक रुपमा सिकाउँदै जानुपर्ने आवश्यकता मैले देखेको छु । धेरै लामो समयदेखि संघले बचत तथा ऋण सहकारी सञ्चालनका सिद्धान्तहरुको विषयमा वकालत गर्दै आएको छ, तर समुदायसम्म यसको सन्देश प्रवाह गर्न कमी भएको हो की भन्ने लाग्छ । त्यसकारण नेफ्स्कूनले सहकारी भित्र र सहकारीसँग सरोकार राख्ने सरोकारवाला निकायहरुसम्मलाई सहकारीको मूल्य मान्यता र सिद्धान्त को बारेमा जानकारी गराउन जोड दिनुपर्छ । सदस्य सम्बन्ध, सन्तुष्टी र सरकारसँगको नीतिगत बहश पैरवीमा संघले जोड दिइरहेको छ, तर मुख्य कुरा बचत ऋण सहकारीको सिद्धान्तकै विषयमा मानिसहरु जानकार नभएका हुन् अथवा कमजोरी के हो ? त्यसलाई पहिचान गरेर संघ अगाडि बडोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
ऋषिराज घिमिरे
पूर्व अध्यक्ष, नेफ्स्कून
नेफस्कूनको भावी यात्रा त्यती सजिलो छैन । बजारमा अनगिन्ति प्रतिस्पिर्धीहरु मौलाई सकेका छन् । वाणिज्य र विकास वैंकहरु भन्दा लघुवित्त वैंकहरु सहकारीका लागि चुनौतियुक्त छन् र सहकारी अभियानकै प्रतिस्पर्धीको रुपमा ग्रामिण भेगमा सेवारत छन् । यिनीहरुलाई राष्ट्र बैंकको समेत प्रत्यक्ष संरक्षण रहेको छ । कतिपय सहकारीका नेतृत्व वर्गहरु सहकारीमा आफ्नो भविष्य अन्यौल देखेर लघुवित्त बैंकतिर लागिसकेका छन् । अब नेफ्स्कूनले पारिवारिक विमर्श र समाधानको खोजी पहिल्याउनु पहिलो प्राथमिकता हो । अभियानले अधिकाधिक सदस्यसँग लक्ष्ययुक्त र विषय केन्द्रित छलफललाई अगाडि बढाउनुपर्छ, तवमात्र “सहकारीको पैसा सहकारीमा” भन्ने नारालाई मूर्तरुप दिन सहज हुनेछ र विविध परिवर्तन सम्भव छ । यस बाहेक हरेक मुद्दामा सरकारको हैन अभियानका अगुवाको साथ आवश्यक हुन्छ, अभियान एकमत भएमा सरकारको साथ स्वतः रहनेछ । तसर्थ, सहकारी अघिअघि सरकार पछिपछि भन्ने भनाईलाई आत्मसाथ गरियो भने एकाकार हुन समय लाग्ने छैन ।
बचत ऋण सहकारीलाई स्वच्छता दिने हो भने अव ऋण संघ ऐन (Credit Union Act) को विकल्प छैन । वित्तीय कारोवार गर्ने भएकोले के्रडिट युनियनलाई सहकारी मात्र हैन त्यो भन्दा अधिक हो ( Credit Unions are more than Cooperatives) भनिन्छ । सहकारी बजारमा आएको विचलन तीब्र गतिमा फैलिरहेको छ । सुशासनमा नरहेका संस्था अव टाट पटिल्ने अवस्थामा देखा परिरहेका छन् । विद्यमान आर्थिक मन्दीलाई अध्ययन गर्दा यो गति अझ बढ्ने र यसको प्रत्यक्ष प्रभाव सहकारी बजारमा देखिने निश्चित छ । हाल लगभग सबै सहकारी संस्थाले बचत तथा ऋणको कारोबार गरिरहेका छन् । यसलाई सम्बोधन गर्न पनि अन्तर्राष्ट्रिय अभ्याससँग मिल्दोजुल्दो ऋण संघ ऐन ल्याउने र उक्त ऐनभित्र फोर्स मर्जको प्रावधान सहित बचत ऋणको कारोबार गर्ने केन्द्रीय संघको क्षमता अभिबृद्धि गरी बचत ऋण सहकारीको अनुगमनको जिम्मा केन्द्रीय संघलाई दिने व्यवस्था गरिनुपर्छ । केन्द्रीय संघले सहकारी संस्थाहरुको अनुगमन गरी विभागलाई प्रतिवेदन बुझाउने, विभागले केन्द्रीय संघको अनुगमन गर्ने र सहकारी संस्था दर्ता गर्दा केन्द्रीय संघको सिफारिस लिने व्यवस्था अब गरिनुपर्छ ।
सहकारी संघ संस्थालाई कारोबारको स्वायत्तता भएपनि अनुगमन प्रभावकारी बनाउन सरकारले अध्यादेश मार्फतबाटै क्रेडिट युनियन एक्ट ल्याएर अभियानमा देखिएको विचलनलाई तत्काल रोक्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ ।
हामीलाई थाहाछ सहकारीका केही माथिल्ला व्यक्तिहरु र सरकारी निकायका केही व्यक्तिहरु यसको विरोधमा छन्, यो स्वभाविक पनि हो किनकि उनीहरुमा यस्तो ऐनको बारेमा भित्री मर्मको ज्ञानको कमी छ । उनीहरुलाई बुझाउनका लागि थप प्रमाणहरु र यथेष्ट सामाग्रीहरु तयार पारेर वहस पैरवीमा जानु पर्ने संकेत देखिएको छ ।
अब सरकारले जिल्ला संघ र प्रदेश संघहरुलाई बचत तथा ऋणको कारोबार गर्न रोक लगाउनुपर्छ । विनियममा व्यवस्था भएबमोजिम प्रारम्भिक सहकारी संस्था र केन्द्रीय संघबीच प्रत्यक्ष कारोबार हुनुपर्छ । त्यसमा संघ र प्रदेशमार्फत हुने कारोबार बन्द गरिनुपर्छ ।
त्यसैगरी सहकारी ऐन अनुरुप गठन भएको बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषमा हाल कायम रहेको व्यवस्था अनुरुप रकम नछुट्याई कूल सम्पत्तीको ५ प्रतिशत कायम हुनेगरी ऐनमा संशोधन गरिनुपर्छ । अब, सहकारी अभियान बनाउनको लागि अरुले के भन्छन् त्यो गौण हो तर अभियान के भन्छ त्यो महत्वपूर्ण हो, त्यसैले, स्मरण रहोस् अभियानका लाखौं सदस्यका पैतालाहरु शिरमा राखेर बुलन्द आवाज गरौंं, सफलताले आफैं ढोका ढक्ढक्याउन आईपुग्नेछ तर यसका लागि दिमागबाट मात्र हैन दिलबाट पनि समर्पित हुनु जरुरी छ । अभियानलाई शिरमा राखेर दिमाग र दिल दुबैबाट समर्पित बन्न सकौं ! नेफ्स्कूनको ३५औं बार्षिकोत्सबको सबैमा हार्दिक शुभकामना ।
डी.बी. बस्नेत
निवर्तमान अध्यक्ष, नेफ्स्कून
नेफ्स्कून अब तन्नेरी अवस्थामा पुगिसकेको छ । नेफ्स्कूनको विगतदेखिको इतिहासलाई हेर्ने हो भने पनि यसले आफ्नो उमेरमा धेरै उपलब्धीहरु हासिल गरिसकेको छ । तर नेपालको सहकारी अभियान अत्यन्त सकसको स्थितिमा छ । वित्तीय कारोबार गर्ने सहकारीहरुलाई जुन सरकारी तबरबाट हुने स्ट्रोङ्ली अनुगमनको काम अत्यन्तै कमजोर भएको कारणले र संघले गर्नुपर्ने कामहरुमा पनि कानुनी तबरबाट सहयोगहरु प्राप्त नभएको कारणले भनेजति गर्न सकेनौं की भन्ने लाग्छ । तर जे जति काम भएका छन् ती पनि अभियान अग्रसर भएरै भएका कामहरु हुन् । हामीले दबाब दिने भनेको सरकारले कानुनी रुपमा वित्तीय सहकारीहरुलाई सुशासनमा चलाउनको लागि स्पष्ट कानुनको व्यवस्था गर भन्ने नै हो ।
अर्कोकुरा अब सहकारी अभियान सानो सानो र २०/२५ जनाको सदस्य बोकेर सानो सहकारी चलाएर जाने दिन छैन । ठूलो ठूलो सहकारीहरु र पूर्ण व्यवस्थापकीय क्षमता विकास गरेर मात्रै सहकारीहरु चलाउनुपर्ने अवस्था छ । नेफ्स्कूनले पनि यो वेलामा सन्देश दिनुपर्ने यही नै कुरा हो । व्यवस्थापकीय क्षमतालाई समय परिस्थिति अनुसार विद्युतीय सञ्चार माध्यम मार्फत जुन कामहरु गर्ने समय अगाडि बढिरहेका छन्, त्यो हिसावले सबै सदस्यहरुको मनजित्ने गरी चुस्त दुरुस्त र पारदर्शी हिसावले संस्था सञ्चालन गर्नुपर्छ र तिनैलाई चाहिने आवश्यक टुल्सहरु जुन नेफ्स्कूनले पस्किराखेको छ, तिनै कुराहरुलाई अझ हामीले जोड दिनुपर्छ भन्ने लाग्छ ।
कानुनी लविङको क्षेत्रमा पनि नेफ्स्कून कमजोर छैन, संघको लिडरसीपमा रहनुभएका साथीहरुले पनि निक्कै मेहनत गरिरहनुभएको छ । महत्वपूर्ण कामहरु भइरहेका छन् । साथीहरुले पनि मेहनत गरिराख्नुभएको छ, लविङ पैरवीमा हाम्रो जोड पर्याप्त छ तर सरकारी मान्छेहरुको लगातारको हेरफेरले अभियानले गति लिने विषयमा समस्या सृजना भएको हो की भन्ने मलाई लाग्छ ।
नेफ्स्कूनको यो ३५ औं स्थापना दिवसको अवसरमा आवद्ध सदस्य संस्थाहरुमा मेरो अनुरोध छ, ‘जो सुशासनमा बसेर आफ्नो संस्था चलाउनुभएको छ र नेफ्स्कूनलाई विश्वास गर्नुभएको छ, सबै नै स्थिरीकरण अभियानभित्र समाहित भएर हाम्रो वित्तीय सहकारीको विश्वास बोकेको नेफ्स्कूनको छाता मुनी नडगमगाईकन बस्नुहोस, अभियानभित्र एकीकृत हुन र नेफ्स्कूनलाई बलियो बनाउन जे गुर्नपर्छ त्यो सदस्यहरुको काम हो यसमा सम्पूर्ण सदस्य संघ संस्थाहरुको साथ सहयोग आवश्यक छ । सम्पूर्णमा मेरो यही शुभकामना पनि छ ।
१ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
१० दिन अगाडि
२५ दिन अगाडि
२३ दिन अगाडि
३३ दिन अगाडि
३३ दिन अगाडि
२७ दिन अगाडि