काठमाडौं । साकोसका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी २०७९ (SACCOS CEOs' NATIONAL WORKSHOP 2023) को समुद्घाटन भएको छ । काठमाडौंको द होटल सोल्टीमा आज र भोली सञ्चालन हुने कार्यक्रमको समुद्घाटन प्रतिनिधिसभाका सम्माननीय सभामुख देवराज घिमिरेले गर्नुभएको छ ।
नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा पूर्वमन्त्री एवम् राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव प्रसाद बडाल, महासंघका अध्यक्ष मिनराज कंडेल, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे, एशियाली ऋण महासंघ(अक्कु) की प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्के, अक्कुका प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराची, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडी, नेपाल राष्ट्र बैंक, विषयत केन्द्रीय संघ, सहयोगी संघ संस्थाका प्रतिनिधिहरु सहित नेपालको सहकारी अभियानका ४ सय जना व्यवस्थापकहरुको उपस्थिति रहेको छ । गोष्ठीमा सातै प्रदेशको प्रतिनिधित्व सहित करिब ५० जिल्लाबाट बचत तथा ऋण सहकारी संघ संस्थाका ४०० जना व्यवस्थापकहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सानो सानो लगानी र लगानीलाई प्रतिफल दिने काम गर्ने सहकारी को भूमिका नेपालको अर्थतन्त्र विकासमा महत्वपूर्ण रहेको बताउनुभयो । नेपाली समाज निर्माण र समाजमा सामाजिक भावनको विकास सँगसँगै राष्ट्रिय स्तरमै बचत तथा ऋण सहकारी अभियान अगाडि बढेको उल्लेख गर्नुभयो । उहाँले समाजमा विभिन्न रुपका सहकारीहरु सञ्चालनमा रहेको र तिनीहरुको व्यवहार, नियमनको पाटो र सरकारको भूमिकालाई बढाउन के गर्न सकिन्छ, त्यसका लागि वहश र छलफल गर्न सकिने बताउनुभयो । बचत तथा ऋण सहकारी संस्थाहरुमा सुशासन कायम गर्न ऐन तथा नीति नियममा के कस्ता अप्ठ्याराहरु छन्, त्यसलाई फुकाउन सभामुखको हैसियतबाट व्यक्तिगत रुपमा पनि सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना प्रदान गर्दै सभामुख घिमिरेले सहकारीले खासगरी महिलाहरुलाई समाजमा भूमिका खेल्न सहयोग पुर्याएको बताउनुभयो । सहकारीले आर्थिक अस्तित्वलाई विकास गर्ने आधार प्रदान गरेको र त्यो हामीले व्यवहारमा देखिरहेको उल्लेख गर्नुभयो ।
सभामुख घिमिरेले बचत तथा ऋण सहकारी सम्बन्धी ऐन ल्याउने विषय जानकारीमा आएको बताउँदै यसले आफु व्यक्तिगत रुपमा खुसी भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “ऐन ल्याउनु जरुरी छ, त्यसका लागि राजनीतिक पार्टीहरुसँग छलफल चलाउनुस्, यो राज्यकै तर्फबाट ऐनको रुपमा आउन सकोस्, त्यसमा मेरो पूर्ण सहयोग रहनेछ ।” संस्थागत रुपमा पनि छलफल गर्न र नेतृत्व तहमा रहनुभएकाहरुसँग पनि छलफल गरेर खुल्ला भएर अगाडि बढ्नुस् त्यसमा मेरो साथ सहयोग र ऐक्यवद्धता छ, उहाँले भन्नुभयो ।
केही नेपाल संशोधन गर्न आएको ऐन अन्तर्गत परेका ऐन संशोधनका प्रस्तावहरु छलफलको क्रममा रहेको र विधेयक माथी परेका प्रर्याप्त संशोधन प्रस्तावहरु ठीक ढंगबाट पारित गराउन सभामुखको हैसियतले प्रयत्नरत रहने बताउनुभयो ।
ऐन कानुनको अभावमा र सरकारको अभावमा सहकारीमा केही अप्ठ्यारो परेको छ भने यस्तो प्रतिकुल आर्थिक अवस्थालाई कसरी ठीक ढंगले लान सकिन्छ, त्यस विषयमा पनि यो गोष्ठीले ठोस निश्कर्ष निकाल्न सकोस भन्दैे शुभकामना व्यक्त गर्नुभयो ।
नेपालमा एशिया स्तरकै वृहत सम्मेलनको समेत आयोजना गर्न लागिएको प्रशंग उल्लेख गर्दै सभामुख घिमिरेले एशिया स्तरकै अनुभवलाई लिएर उदाहरणीय कार्य गर्दै जान अगाडि बढ्न शुभकामना प्रदान गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाले अहिलेको विषम परिस्थितिलाई सुस्पष्ट मार्गनिर्देश गर्न गोष्ठी सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेफ्स्कूनको ३५ बर्षे इतिहाँसमा शुरु भएका र योजनाबद्ध कार्यक्रमहरुले गति लिइरहेको चर्चा गर्नुभयो । उहाँले अभियानका अग्रजहरुको स्मरण गर्दै सहकारी अभियानमा महत्वपूर्ण योगदान पुर्याउने सम्पूर्ण अभियन्ताहरुप्रति सम्मान व्यक्त गर्नुभयो ।
ऐन कानुनमा भएका विषयहरु पनि पूर्ण रुपमा न्याय पाउन नसक्दा नेपालको सहकारी अभियानले गति लिन असहजता भएको उल्लेख गर्दै सहकारी ऐन ७४ ले सहकारी अभियानलाई व्यवस्थित गर्न बनेका जतिपनि दफा छन् तिनको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । बचत तथा ऋण सहकारी अभियानलाई उचाइमा लान र सदस्यहरुलाई वित्तीय स्वस्थता र सबलता उपलब्ध गराउनका लागि त्यसका नेतृत्व र व्यवस्थापकहरु नै जिम्मेवार रहने बताउनुभयो । सहकारी अभियान सुदृढीकरणका लागि ढिलो भएपनि असम्भव र सम्भवनाको ढोका बन्द भइनसकेको उहाँले स्पष्ट पार्नुभयो ।
उद्घाटन सत्र सञ्चालन गर्दै नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले वित्तीय सहकारी ऐनको आवश्यकताका सम्बन्धमा मंगलबार राष्ट्रिय सहकारी विकास बोर्डको सभाहलमा आयोजित कार्यक्रमबारे उल्लेख गर्दै वित्तीय सहकारी ऐन पास गर्ने वातावरण निर्माणका लागि सभामुखको समन्वयकारी भूमिका रहने विश्वास व्यक्त गर्नुभयो । अभियानप्रतिको प्रतिवद्धतालाई कायम राख्दै बचत तथा ऋण सहकारी अभियानको सुद्धीकरण र सुदृढीकरणका लागि वित्तीय सहकारी ऐनको विकल्प नभएको प्रष्ट्याउनुभयो । उहाँले बचतमा बृद्धि, जीवनमा समृद्धी को नारा लिएर घर घरमा पुगेको वचत ऋण अभियानलाई उचाईमा पुर्याउन, ऐक्यवद्धता कायम गर्न र दर्विलो बनाउन आवश्यक रहेको बताउनुभयो । समुदायको आर्थिक उत्थानका निम्ति अहोरात्र खट्ने साकोस संघ संस्थाका व्यवस्थापन प्रमुखहरुको यो गोष्ठीले सहकारी अभियानलाई अझ बलियो बनाउने संकल्प गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले वित्तीय क्षेत्र गम्भिर समस्यामा रहेको र यो विषम परिस्थितिमा बचत तथा ऋण सहकारी ऐनको आवश्यकताको विषयमा पनि गम्भिर छलफल भएको बताउनुभयो । गोष्ठीले सहकारी अभियानलाई साच्चिकै मार्गदर्शन गर्न सक्ने खालको उपयुक्त बचत ऋण सहकारी ऐन ल्याउन मार्गदर्शन प्रदान गरोस् भनी शुभकामना प्रदान गर्नुभयो । व्यवस्थापकहरु सहकारीका मेरुदण्ड हुनुहुन्छ । उहाँले भन्नुभयो, अध्यक्ष भनेको श्रीकृष्ण हो र व्यवस्थापक अर्जुन हो भन्ने गरिएको छ, बोर्ड नीतिगत निर्णय गर्छ यसलाई गति दिने काम व्यवस्थापनले गर्नुपर्ने प्रशंग उल्लेख गर्नुभयो ।
सहकारी मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारीको उज्वल भविष्य निर्माण गर्ने दायित्व हामी माझ नै रहेको बताउँदै यसमा हातेमालो गर्न सहकारी सचिवको हैसियतले आफु त्यसप्रति प्रतिबद्ध रहेको र मन्त्रालय सदा सर्वदा सहकार्य गर्न तयार रहेको बचनबद्धता व्यक्त गर्नुभयो ।
विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा समस्या नै आउँदैन भन्ने आफ्नो बुझाई रहेको बताउनुभयो । सहकारी सहकारीको सिद्धान्तमा सञ्चालन हुन्छन्, सहकारीको नामबाट अरु गलत काम गर्न थालेपछि सहकारीमा समस्या आउँछ, त्यस्तै कतिपय सहकारीको रिपोर्ट मलाई विभागमा प्राप्त भएको छ, उहाँले भन्नुभयो ।
सहकारीमा स्वनियन्त्रण, स्वनियमन, स्वशासन हुन्छ । तर एउटा सहकारीको सेवा कार्यालयको एक जना व्यवस्थापकलाई पनि नचिनेको भरमा बजार प्रतिनिधिको भरमा संस्थामा बचत गरेको छ भने त्यो समस्यामा पर्नु कुनै अनौठो नहुने उहाँले स्पष्ट पार्नुभयो ।
सहकारी अभियान विग्रयो भने तपाई हामीलाई नै समस्या पर्ने हो । हाम्रो जिविकोपार्जनको आधार सहकारी हो । आफ्नो संस्थामा बचत गर्ने सदस्यको अनुहार हेरेर निर्णय गर्नुपर्छ र पदाधिकारीहरुलाई सभाले पास गरेका निति नियम विधान को पालना गर्न लगाउनुपर्छ, उहाँले भन्नुभयो ।
राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले सहकारी स्वनियमनमा चल्ने संस्था हुन्, जुन स्वनियमनमा चलेका छैनन् ती समस्यामा छन्, उहाँले भन्नुभयो, सहकारीले स्वनियमनमा चलेका छन् छैनन् भनेर जाँच गर्न ऐन नियम आवश्यक छ ।” सहकारीका कारण गरिबीको सूचकांकमा हाम्रो बढोत्तरी आएको उहाँले बताउनुभयो । महिलाद्वारा सञ्चालित संस्था सुशासनमा अब्बल छन्, । अव सहकारीले प्रत्येक सदस्यमा उद्यमशिलता विकासका लागि लगानी गर्नुपर्छ भन्नेमा तपाईंहरुको प्राथमिकता हुनुपर्छ, उहाँले भन्नुभयो ।
सहकारीमा बचतको समस्या आएको होइन समस्या गराइएको उहाँले दाबी गर्नुभयो । अहिले सहकारी अभियानको पैसा चोरेर बैंकहरुलाई पोस्ने काम भएको उहाँले बताउनुभयो ।
पूूर्व मन्त्री एवं राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव बडालले छिमेकी राष्ट्र भारतको भन्दा ८८ बर्ष ढिलो सहकारी ऐन आएको भएपनि सबैतिर सहकारी पुगेको देश मध्येमा नेपाल रहेको बताउनुभयो । उहाँले अवको युग प्रविधिको युग भएको विचार राख्दै प्रविधिले विश्व सञ्चालन गरिरहेको स्पष्ट पानुृभयो ।
एशियालीय ऋण महासंघी प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्केले अन्तराष्टिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । महिलाहरुको प्रतिनिधित्व गर्दै एशियाली ऋण महासंघको पहिलो महिला सिइओको रुपमा रहेको र महिलाहरु सिइओको पोजिसनमा पुग्न उच्च बनोबलका साथ दृढ इच्छाशक्ति लिएर अगाडि बढ्न सकुन भनी शुभकामना व्यक्त गर्नुभयो ।
नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले उद्घाटन सत्र समारोहको समापन गर्दै नेपालको मुहार बदल्ने सपना साकार पार्न साकोस अभियान मार्फत महत्वपूर्ण आधार निर्माण गरिएको बताउनुभयो । उहाँले राज्य र अभियानबीचको ऐक्यवद्धता निर्माणका लागि साकोस अभियानको यो आवाजले समृद्धी सम्भव छ भन्ने संकेत गरेको उल्लेख गर्नुभयो । उहाँले नेफ्स्कून र साकोस अभियानको जगमा समृद्धी र नयाँ संकल्प यात्रा तय भएको बताउनुभयो । गोष्ठी मार्फत विश्व मञ्चमा भएका असल अभ्यासको आन्तरिकीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।
गोष्ठीको पहिलो दिन पहिलो सत्र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरलेको वर्तमान परिदृश्यमा दिगो साकोस अभियानको लागि जिम्मेवार व्यवस्थापन र संघको भूमिका विषयक प्रस्तुतीकरण गर्नुभएको थियो । उक्त प्रस्तुती माथि सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे टिप्पणीकर्ताको रुपमा रहनुभएको थियो । सत्रको अध्यक्षता संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुभएको थियो भने सहजकर्ता संघका बरिष्ठ अधिकृत नविनराज दाहालले गर्नुभएको थियो ।
दोस्रो सत्र एशियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्केले वित्तीय सहकारीको छवी निर्माणः समावेशी संरचना र प्रविधि हस्तान्तरण विषयक प्रस्तुती गर्नुभएको थियो । उक्त प्रस्तुती माथि सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले टिप्पणी गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता संघकी उपाध्यक्ष शान्ति अधिकारीले र सहजकर्ता नेफ्स्कूनका कार्यक्रम अधिकृत रञ्जन मणि पौड्यालले गर्नुभएको थियो ।
तेस्रो सत्र नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले विश्व अर्थतन्त्रः वित्तीय सहकारीमा प्रभाव, सम्भावना र चुनौती विषयक प्रस्तुतीकरण गर्नुभएको थियो । उक्त विषयवस्तु माथि टिप्पणी नेपाल सरकारका पूर्व सचिव शिशिर कुमार ढुंगानाले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता संघका महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो । सत्रको सहजीकरण नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवम् सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सिनाले गर्नुभएको थियो ।
गोष्ठीको दोस्रो दिन विहिबार मानव संशाधन व्यवस्थापनका सामयिक÷समवर्ती सवालहरु र नेपालमा सफल साकोसका अनुभवहरु, वित्तीय प्रविधिमा साकोसका सम्भावना र चुनौतीहरु, वित्तीय सहकारी ऐनको अन्तर्राष्ट्रिय अभ्यास र नेपालको आवश्यकता, ईमोशनल एण्ड स्पिरिचुअल ईन्टेलिजेन्स ईन म्यानेजर्स गरी ४ वटा विषयमा विभिन्न विज्ञहरुको प्रस्तुतीकरण रहने कार्यक्रम रहेको छ ।
५ घण्टा अगाडि
५ घण्टा अगाडि
६ घण्टा अगाडि
६ घण्टा अगाडि
६ घण्टा अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
५ घण्टा अगाडि
६ घण्टा अगाडि
१ दिन अगाडि
३ दिन अगाडि
६ घण्टा अगाडि
५ घण्टा अगाडि