काठमाडौं । विहिबारदेखि राजधानीमा जारी तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन ११ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सदस्यको वचतको सुरक्षा गर्न र विश्वास अभिवृद्धि गर्न राष्ट्रव्यापी रुपमा जागरण अभियान सञ्चालन गर्ने प्रतिबद्धता घोषणापत्र मार्फत उल्लेख गरिएको छ ।
सम्मेलनको समापन नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो । सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा अर्थतन्त्र संकटमा पर्दा सहकारीको आवश्यकता हुने बताउनुभयो । सहकारी अगाडि बढ्न सदस्यहरुको विश्वास बढ्नुपर्ने भन्दै अध्यक्ष ओलीले सहकारीले प्रतिफल प्राप्त हुनेगरि काम गर्नुपर्ने सुझाव दिनुएको थियो ।
मुलुकको अर्थतन्त्र सहकारीले धानेको छ, आर्थिक संकटका बेला उद्योगी, व्यापारीलाई सहयोग गर्न सहकारी आवश्यक हुन्छ, उहाँले भन्नुभयो । सहकारीलाई संरक्षण गर्न सरकारले ध्यान दिनुपर्छ, त्यसमा नेकपा एमाले सकारात्मक छ । अध्यक्ष ओलीले कृषिको आधुनिकीकरण र व्यवसायीकरणलाई ध्यान दिंदै यस क्षेत्रमा सहकारीको अवधारणा अघि सार्न आब्हान गर्नुभयो । सानो पुँजीले सहकारीमार्फत ठूलो प्रतिफल हासिल गर्न सकिने भएकाले सहकारीमार्फत सहकार्य गर्न अनुरोध समेत गर्नुभयो ।

काठमाडौं घोषणा पत्र २०७९
राष्ट्रिय सहकारी महासंघ लि. नेपाल तथा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयको संयूक्त तत्वावधानमा “सहकारीको दिगोपनका लागि स्वनियमन तथा सुशासन” थिमका साथ मिति २०७९ चैत्र २३ देखि २५ गतेसम्म काठमाण्डौमा आयोजित “तेश्रो राष्ट्रिय सहकारी महासम्मेलन” मा सहभागी हामी सहकारीकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरुले दिगो एवं मर्यादित सहकारी अभियानको प्रवद्र्धन गर्दै “समृद्ध सहकारीः सन्तुष्ट सदस्य” को परिकल्पना साकार पार्ने उच्च संकल्प सहित यो घोषणापत्र जारी गर्दछौं ।
१. सहकारी सिद्धान्त,मूल्य,मान्यता र विधिको परिपालना गरी सहकारीको पहिचान स्थापित गर्न सहकारी संस्थाहरुमा स्वनियमन र सुशासन कायम गर्दै सदस्य केन्द्रित व्यवसायको माध्यमबाट गुणात्मक सहकारी अभियान निर्माणमा प्रतिबद्ध छौं ।
२. सदस्यको वचतको सुरक्षाका लागि सहकारी क्षेत्रमा विश्वास अभिवृद्धि गर्न राष्ट्रव्यापी रुपमा जागरण अभियान सञ्चालन गर्न प्रतिबद्ध छौं ।
३. सहकारी क्षेत्रको दिगोपनका लागि कानुनले परिकल्पना गरेका प्रवद्र्धनात्मक व्यवस्था कार्यान्वयनका लागि आवश्यक पहलकदमी गर्न प्रतिबद्ध छौं ।
४. अर्थतन्त्रमा देखा परेका समस्याका कारण सहकारी क्षेत्रमा सृजना भएको तरलता संकुचनको समस्या समाधानार्थ तिनै तहका सरकारको तर्फबाट सम्बोधन गर्न सामूहिक रुपमा बहस पैरवीका लागि प्रतिबद्ध छौं ।
५. सहकारीको स्वस्थ्य एवं प्रतिष्प्रर्धात्मक क्षमता अभिवृद्धिका लागि एकिकरणलाई अभियानको रुपमा सञ्चालन गर्नुका साथै नवप्रविधिलाई आत्मसाथ गर्दै गुणस्तरीय सेवा प्रवाह गर्न प्रतिबद्ध छौं ।
६. सहकारीको पूँजीलाई उत्पादन,प्रशोधन,बजारीकरण लगायतका मूल्यश्रृङ्खला विकास मार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नका लागि ऐन नियमको कार्यान्वयन,अन्तरसम्वन्धित ऐन परिमार्जन गर्न सामूहिक पहलकदमी गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं । सरकार माताहत रहेका कोषहरु सहकारी वैंक मार्फत सहुलियतपूर्णरुपमा लगानी गर्न तथा उच्चतम प्रविधि अपनाउन सामूहिक पहलकदमी गर्नेछौं ।
७. दिगो विकासका लक्ष्य प्राप्तिका लागि सहकारी संघ संस्थामा महिला तथा लैंगिक समानता, युवा तथा सिमान्तकृत वर्ग विच सामाजिक समावेशीता कायम गर्दै वित्तिय पहुँच वृद्धि एवं क्षमता विकास गर्न आवश्यक नीति निर्माण कार्यान्वयन र नेतृत्व तहमा सहभागिता अभिवृद्धि गर्नेछौं ।
८. वदलिदो प्रतिप्रर्धात्मक वातावरणमा संस्थागत कार्यक्षमता विकास गर्न आवश्यक दक्षजनशक्ति निर्माण गर्न औपचारिक शिक्षामा सहकारी विषय अध्ययन अध्यापन गराउन तथा सहकारीमा क्षमतावान मानव संसाधनलाई आकर्षित गर्दै स्थायित्व कायम गर्न सामूहिक पहलकदमी गर्न प्रतिबद्ध छौं ।
९. वातावरण मैत्री कृषि उत्पादन वद्धि,आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन एवं रोजगारी सृजना गर्न सार्वजनिक, निजी र सहकारी साझेदारी मोडेललाई कार्यरुप दिदै नविन सोच र सृजनात्मकताका आधारमा सहकारी मार्फत कृषि, पर्यटन, जलश्रोत, स्वास्थ्य, शिक्षा, यातायात आदि उद्योगमा लगानी वृद्धि गर्न प्रतिबद्धता व्यक्त गर्दछौं ।
१०. विशिष्टीकृत सहकारी संघ मार्फत वृहत र विशिष्ट उत्पादनको विकाश, कृषि र पशुजन्य क्षेत्रको प्रवद्र्धन एवं ठुला कृषि फार्मको स्थापना, कृषिजन्य बस्तु तथा सेवाको मूल्य तथा आपूर्ति श्रृंखला विकास गरी सहकारीको ब्राण्ड प्रवद्र्धन गर्नेछौं ।
११. सहकारी क्षेत्रको तथ्यांक अद्यावधिक गर्ने, सहकारीको अध्ययन अनुसन्धानमा लगानी वृद्धि गरी समग्र अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदानको मापन गर्ने प्रणाली विकासका लागि पहलकदमी लिनेछौं ।
२०७९ चैत्र २५ गते
काठमाडौं

२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
२ दिन अगाडि
४ दिन अगाडि
६ दिन अगाडि
५ दिन अगाडि
७ दिन अगाडि
२४ दिन अगाडि