कृष्ण सर, तपाईको आचरण सहकारी अभियानको आर्दश
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कृष्ण सर, तपाईको आचरण सहकारी अभियानको आर्दश

नेफ्स्कूनका पूर्वसञ्चालक डा.कृष्ण पौडेल २०८० असोज २५ गते यस संसारबाट भौतिकरुपमा बिदा हुनुभएको छ । मृत्यु अनपेक्षित तर अवश्यम्भावी हुन्छ । यो शास्वत सत्य हो । जतिसुकै मन नमिलेको, चित्त नबुझेको मानिस नै किन नहोस्, मृत्युको खबरले मलाई निकै दुःखी बनाउँदछ । कृष्ण सरको मृत्युको खबरले बढी नै दुःखी बनायो । लाग्थ्यो यस्ता व्यक्तिहरु त जुगजुग बाँचिरहे पो समाज बदलिन्थ्यो । तर, मेरो चाहनाले सांसारिक चक्र किन रोकिन्थ्यो र ? उमेर पाकेर, रोगले थलिएर मृत्यु सन्निकट छ भन्ने पूर्वसंकेतसहित हुने दैहिक अन्त्य भन्दा युवावय अनि बाहिरबाट स्वस्थ देखिने व्यक्तिहरुका मृत्यु अस्वाभाविक नै लाग्ने रहेछ । 

कृष्ण सर कुनैपनि कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुनुहुन्थ्यो । साना ठुला नभनी सबै जिम्मेवारीको लागि सदैव तत्पर रहनुहुन्थ्यो । व्यवस्थापनका तल्लो तह देखि माथिल्लो तहसम्मका कर्मचारीहरुसँग मित्रवत् व्यवहार गर्नुहुन्थ्यो । व्यवस्थापनको एउटा जिम्मेवारीमा बसेर हेर्दा उहाँमा शक्ति र स्रोतप्रति आशक्ति पटक्कै देखिएन । साकोस आवाज पत्रिका प्रकाशनको मुख्य जिम्मेवारी सञ्चालक समितिको तर्फबाट कृष्ण सर र व्यवस्थापनबाट मैले प्राप्त गरेपछि एउटै टीममा बसेर सहकार्य गरियो । २०६८ देखि २०८० सम्म नेफ्स्कूनमा कार्यरत रहँदा थुप्रै स्वयम्सेवीको मार्गदर्शनसहितको सहकार्य प्राप्त भयो । कृष्ण सर र मेरो कतिपय व्यक्तिगत स्वभाव मिल्दाजुल्दा भएकोले पनि उहाँ मलाई खास लाग्दथ्यो । खास मान्छेको भौतिक देह यस संसारमा नरहेपनि छाप रहिरहोस् भनेर यो स्मृति लेख्दैछु । हुनत हाम्रो समाजमा बाँचुन्जेल असफल बनाउन लाग्नेहरुले पनि मृत्युपश्चात गुणगान गर्ने अभ्यासले गर्दा कतिपयले त्यहीरुपमा बुझ्न सक्लान् । 

मैले २०६८ सालदेखि नेफ्स्कूनका विभिन्न जिम्मेवारीमा रहेर कार्यसम्पादन गरेको छु । नेफ्स्कून सेवा प्रवेश पूर्व पनि विभिन्न क्षेत्रमा केही समय अनुभव गर्ने मौका मिलेको थियो । पेशागत जीवनको दुई दशक बढि अवधि कटाउँदै गर्दा निजी क्षेत्रबाट आरम्भ गरेको सेवा गैरसरकारी, सरकारी हुँदै सहकारी क्षेत्रमा समेत अनुभव बटुल्दैछु । म स्वभावजन्य हिसाबले सानैदेखि सुशासन र आत्मअनुशासन केवल सार्वजनिक खपतका लागि ‘भनिने’ विषय नभई अभ्यास गरिने विषय हो भन्ने मान्यता राख्ने गर्दथेँ । 

निजी क्षेत्र पेशागत जीवन प्रवेशको खुड्किलो बन्यो । त्यहाँ सामान्य कमाइ र सिकाइ थियो, सन्तुष्टि थिएन । सन्तुष्टिको खोजीमा बिना तलब सुविधा गैरसरकारी संस्थामा कार्य गर्न थालेँ । झण्डै एक वर्ष बिना तलब सुविधा निरन्तर खटाइ खुब रमाईलो थियो तर जब तलब सुविधा र पद समेत प्राप्त भयो त्यस सँगै त्यसका आन्तरिक सूचनामा पहुँच पनि पुग्यो । भनिने र गरिनेमा सामान्य तादात्म्य समेत रहेनछ भन्ने बुझेसँगै त्यहाँ पनि विद्रोह गरेर बाहिरिएँ, त्यहाँ मसँगै अरु केही साथीहरु पनि हुनुहुन्थ्यो । त्यसपछि न्यायपालिका भित्र झण्डै पाँच वर्ष कार्य गर्ने अवसर प्राप्त भयो । भित्र प्रवेश गरेपछि थाहा भयो न्यायपालिका साँच्चै सुधार गर्नुपर्ने रहेछ । मैले कम्तिमा उदाहरण बनेर सहकर्मीहरुलाई प्रोत्साहित गर्ने प्रयास गरेँ । अभ्यासहरु केही बदलिए पनि । समयक्रममा फेरि निजी क्षेत्र कै अर्को कम्पनीमा कार्य गरियो । यसपटक अरु कुरा भन्दा सेवा सुविधा मेरो आकर्षण थियो । संयोग गज्जब भयो, कम्पनीका साझेदार मध्ये एकजना प्रबन्ध निर्देशकले भन्सार कर्मचारीलाई रिसवत दिएको भनी खर्च देखाइ आफ्नो निवासमा लगेको ओछ्यान (मेट्रेस) कम्पनीमा दाखिला गर्न लगाउनु पर्यो । कम्पनी साझेदारसँग सम्बन्ध राम्रो नहुँदा लामो समय त्यहाँ बस्ने कुरा भएन अनि सुरुभयो नेफ्स्कून यात्रा ।

साँच्चै निष्ठापूर्वक जीवन यापन गर्न सहज छैन । यो मैले भोगेको विषय हो र कृष्ण सरमा त्यो निष्ठा देखेको थिएँ, जो लघुसंख्यकमा मात्र पाइन्छ । मैले उहाँको निष्ठाको विषय उठान गरी एउटा म्यासेन्जर ग्रुपमा लेखेको समवेदनामा एकजना साथीले “उहाँको इमानलाई भित्तैमा पुर्याइयो, चौतर्फी असहयोग गरि डिप्रेसनमा पुर्याइयो...” । उहाँको आसय बुझ्न सकिन्थ्यो । कृष्ण सरको सादगीपन, निष्ठा, क्रियाशिलता र वित्तीय अनुशासन साच्चै सबैले सिक्न मिल्ने किसिमका थिए । 

सहकारी क्षेत्रका युवा अभियन्ता कृष्ण सर शिक्षा क्षेत्र लगायत लेखापरीक्षण, राजनीति लगायतमा पनि उत्तिकै क्रियाशिल हुनुहुन्थ्यो । दर्तावाला लेखापरीक्षकहरुको छाता संघ अडानको प्रथम उपाध्यक्ष र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) को पार्सद लगायत विभिन्न उच्च माध्यामिक विद्यालय र कलेजको संस्थापक उहाँका शुद्ध पेशागत एवम् सामाजिक परिचय थिए । 

बारा जिल्लाको हातेमालो साकोसका संस्थापक अध्यक्ष लगायत अन्य विषयका केहि सहकारीको समेत संस्थापक रहनुभएका कृष्ण सर २०७० साल पुसमा नेफ्स्कूनको सञ्चालक बन्नुभयो । उहाँको मुख्य पहलमा नेपाल सहकारी पत्रकार समाज (सीजेएन) सँगको सहकार्य प्रभावकारी र संस्थागत भएको थियो । कुनै कार्यक्रम सम्पन्न हुनासाथ उहाँ आफैंले विभिन्न सञ्चार माध्यम र सञ्चारकर्मीहरुलाई समाचार सम्प्रेषण गरिदिनुहुन्थ्यो । नेफ्स्कून मिडियामा छाइरहन्थ्यो । मिडियामा सहज मात्र होइन सुरुचिपूर्वक चासो राख्ने उहाँको स्वभावबाट त्यो कार्यकालमा नेफ्स्कूनले सञ्चार माध्यमसँग सम्बन्ध विस्तार गर्न सफल भएको थियो । अहिले त्यो सम्बन्धको समीक्षा आवश्यक छ ।  त्यही कार्यकालमा सूचना तथा प्रकाशन उपसमिति संयोजकको जिम्मेवारी प्राप्त गर्नुभएपछि नेफ्स्कूनको नियमित प्रकाशन नेफ्स्कून बुलेटिनलाई स्तरोन्नती गरी म्यागजिन प्रकाशन गर्नुपर्छ भन्ने सोच अगाडि ल्याउनुभयो । समितिबाट आवश्यक निर्णय गरियो । तत्कालीन सूचना अधिकारी समेतको जिम्मेवारी भएको र सञ्चार क्षेत्रमा चासो राख्ने म सम्पादक रहने गरी प्रकाशनको तयारी भयो । 

संघको २९औं स्थापना दिवसको अवसरमा २०७३ श्रावण ३२ गते म्यागजिनको पहिलो अंक प्रकाशन गर्ने लक्ष्य राखिएको थियो तर नाम, लोगो, संस्थागत संरचना स्पष्ट नहुँदा अलमल थियो । त्यसक्रममा हामीले सूचना तथा प्रकाशन उपसमितिमा चरणवद्ध छलफल गर्यौं । व्यवस्थापनका साथै सञ्चालक समिति र लेखासमितिका पदाधिकारीहरुसँग सुझाव माग्यौं । त्यसक्रममा नेफ्स्कून समाचार, नेफ्स्कून आवाज, सहकारी आवाज, नेफ्स्कून सन्देश लगायत थुप्रै नाम प्राप्त भए । नेफ्स्कून सन्देश नाम लगभग अन्तिम निर्णयको लागि तयार भएको थियो । तर मलाई त्यो नामको विकल्प खोज्नु पर्छ भन्ने लागेको थियो । मैले मेरो चासो सुनाएपछि कृष्ण सर सहमत हुनुभयो र नयाँ नामको खोजी गर्न लागियो । मैले साकोस अभियानको साझा आवाजको आधिकारिक माध्यमकोरुपमा यागजिन प्रकाशन गर्ने हो भने “साकोस आवाज” राखौं भन्ने प्रस्ताव गरेँ । त्यही नाममा सहमति जुट्यो । लागो पनि फरक डिजाइन गरिएको थियो तर सञ्चालक समितिको तर्फबाट नेफ्स्कूनको आधिकारिकता कहाँ झल्किने त भन्ने प्रश्न आएपश्चात छापामा पठाउनु अगाडि मात्र नेफ्स्कूनको लोगो समावेश गरिएको थियो । 

साकोस आवाजको पहिलो अंकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका तत्कालीन सचिव शंकर प्रसाद अधिकारी र अभियानको तर्फबाट राष्ट्रिय सहकारी संघ (हालको महासंघ) का तत्कालीन अध्यक्ष केशव वडाल सरको अन्तरवार्ता छाप्ने निर्णय भयो । ती दुवै अन्तरवार्तामा मसँगै कृष्ण सरको सहभागिता रहेको थियो । पहिलो अंकमा सञ्चालक समितिको तर्फबाट जिम्मेवार बनाउनु पर्दछ भन्ने कुरा आएपछि उपसमिति संयोजक प्रधानसम्पादक र संघका प्रमुख कार्यकारी अधिकृत प्रबन्ध सम्पादक रहने गरी प्रकाशन गरियो । सम्पादकमा म आफैं थिएँ । पहिलो अंकमा संरचनागत अस्पष्टताको कारण उहाँको नाम नै प्रधानसम्पादकमा थियो पछि एउटा बसाइमा मैले व्यवस्थापकीय पदमा सञ्चालकको नाम सहज देखिएन फेरि प्रधानसम्पादक र प्रबन्ध सम्पादकको पदीय संरचना पनि सुहाउँदो भएन प्रबन्ध सम्पादक हटाउँ, प्रमुख कार्यकारी अधिकृतलाई नै प्रधानसम्पादक तोकौं भन्ने प्रस्ताव गरेँ । उहाँले ‘आवश्यक निर्णय पछि नै गरौंला अहिले नराखौं न त’ भन्ने सहमति प्रदान गर्नुभयो । प्रमुख कार्यकारी अधिकृत शिवजी सर सँग बसेर छलफल गरेपश्चात दोस्रो अंकबाट प्रधानसम्पादकमा प्रमुख कार्यकारी अधिकृतको नाम राखियो । तर, आज अभियानमा पदको लागि होडबाजी देख्दा फेरि एकपटक कृष्ण सरलाई सम्झन्छु । कृष्ण सर, तपाई बारम्बार स्मृतिमा आइरहनुहुन्छ ।   

संघमा प्राप्त हुने अवसरको हकमा त्यो सिकाइबाट आफूले के योगदान थप गर्न सक्छु भन्ने आधारमा मात्र दाबी गर्नुपर्दछ भन्ने उहाँको सोच थियो । उहाँ बैठक वा कार्यक्रममा आउँदा पैदल, सार्वजनिक सवारी वा कोही आफन्तको साधन प्रयोग गर्नुहुन्थ्यो । उहाँले संघको सञ्चालक भएकै समयमा विद्यावारिधि गर्नुभयो । त्यसक्रममा देशका विभिन्न भागमा भ्रमण पनि गर्नुभयो तर मेरो जानकारीमा भएसम्म आफू जाने स्थानमा कार्यक्रम बनाउन लगाई दैनिक भ्रमण भत्ता र यातायत खर्चको भार संघमा पार्नुभएन । ती स्थानका कार्यालयमा कार्यरत कर्मचारीहरुलाई उहाँको व्यक्तिगत व्यवस्थापनको कहिल्यै दवाव भएन । अहिले पनि कतिपय सञ्चालकहरुमा त्यो स्वभाव रहेकोछ । कार्यालयमा आउँदा सकेसम्म धेरै कर्मचारीहरुलाई भेट्ने उहाँको अर्को नियमितता थियो । दोस्रो कार्यकालमा २०७३ सालमा पुनः निर्वाचित भएपश्चात पनि उहाँको क्रियाशिलता र शालिनता उस्तै थियो । २०७४ मा मेयरमा निर्वाचित भएपश्चात भने उहाँले नेफ्स्कूनको सञ्चालक समितिबाट बिदा लिन चाहनुभएको थियो । समितिमा नै उहाँको धारणा कसरी प्रस्तुत भयो थाहा भएन तर संघलाई उपनिर्वाचनको भार पर्ने हुनाले त्यो कार्यकालभरी समितिको आग्रहमा नै प्रत्येक तेस्रो बैठकमा उपस्थित हुनुभयो । 

कलेजमा अध्यापन सँगै राजनीतिलाई अगाडि बढाउनुभएका कृष्ण सर राजनीतिमा कम विवादित देखिनुहुन्थ्यो । तर, जितपुर सिमरा नगरपालिकाको प्रथम मेयरकोरुपमा निर्वाचित उहाँले सहयोग भन्दा असहयोग बढि झेल्नुभयो । आफूलाई ठिक लागेको काममा पुरा भरोसा सहित लाग्ने स्वभाव अनि र कार्यशैलीको नगर परिषद्मा अल्पमतमा रहेको उहाँको राजनीतिक प्रतिनिधित्वको तालमेल मिलेन या फापेन । सोचेको परिणाम दिन नसक्दा उहाँमा एकप्रकारको निराशा थियो ।

म पनि सहकारीले पारेको साँस्कृतिक प्रभावका सन्दर्भमा अनुसन्धान गर्ने तयारीमा भएकोले उहाँको शोधपत्रको विषयमा पछिल्लो पटक २०८० असार २ गते छोटो टेलिफोन सम्वाद भएको थियो । आफूसँग भएका सन्दर्भ सामाग्री शेयर गर्छु भन्दै ईमेल ठेगाना माग्नुभएको थियो तर मैले पनि फेरि ताकेता गरिन, उहाँलाई पनि याद भएन सायद ईमेल प्राप्त गर्न सकिएन । एक्कासी उहाँको स्वर्गारोहणको खबरले स्तब्ध बनायो । सहकारी अभियन्ताले सदस्यको जीवनस्तर सुधार नगरी आफ्नो जीवनस्तरमात्र सुधार गर्ने तर्फ सोच्नु हुँदैन, त्यसले नेतृत्वप्रति अविश्वास र वितृष्णा सिर्जित गर्दछ भन्ने उहाँको बुझाइ थियो । सदस्यको जीवनस्तर सुधारका लागि योगदान गर्न नसक्ने र आफ्नो व्यक्तिगत जीवनमात्र सुधार भयो भने निजी क्षेत्र र सहकारीबीच फरक देखिंदैन भन्ने उहाँको बिचार मेरो लागि सदैव आदर्श रहने छ । मेरा लागि मात्र होइन तपाईको विचार र आचरणबीचको तादात्म्य सहकारी अभियानकै आर्दश हो । यो लेख पढ्ने र उहाँप्रति श्रद्धाञ्जलीका शब्द खर्चिनेहरुले मात्र पनि सहकारीको आदर्शलाई आफ्नो जीवनमा लागु गर्ने हो भने अभियानप्रतिको जनविश्वास वृद्धि हुनेछ । तर...
स्वर्गीय कृष्ण सर प्रति हार्दिक श्रद्धासुमन !   
 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप