काभ्रे । 'सबल र सर्वोत्कृष्ट संस्था' को परिकल्पना अनुरुप अघि बढेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले २५ वर्षे 'माइलस्टोन' हासिल गरेको छ । यो ऐतिहासिक सफलता बुडोल साकोसले सदस्य, समुदाय, सञ्चालक समिति, अग्रजहरु तथा अतिथिहरुको उपस्थितिमा औपचारिक कार्यक्रम गरी साटेको छ । सहकारीहरुमाथि विविध आक्रमण भैरहेको समयमा समुदायमा आधारित र सदस्य केन्द्रीत भएर स्पष्ट लक्ष्यसहित रणनीतिक उद्देश्यहरु तयार पारेर काम गर्दा इतिहास निर्माण सम्भव छ भन्ने बुडोल साकोसले २५ वर्षे इतिहास र त्यसको 'सेलेब्रेसन' ले उर्जा र प्रेरणासहितको सन्देश प्रवाह गरेको छ । रजत महोत्सव समारोहले 'गर्दा सम्भव छ' भन्ने प्रमाणित गरेको छ, बुझ्न खोज्नेहरुलाई बुझाएको छ । आफ्नो परिकल्पना पच्छ्याउँदै अघि बढेको बुडोललाई अझै थुप्रै 'माइलस्टोन' हरु 'क्रिएट' गर्ने आत्मविश्वास र हौसला प्रदान गरेको छ ।
बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष कैलाश केसी सभापति रहनुभएको थियो भने नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य सुमन नेपाल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक सदस्य रामहरि बजगाई लगायतका बिशिष्ट अतिथि, अतिथिहरु, अग्रजहरु, सदस्यहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष अधिकारीमार्फत संघको नवनिर्वाचित सञ्चालक समितिलाई औपचारिक बधाई सहित शुभकामनासमेत व्यक्त गरिएको थियो ।
संस्थाले आफ्नो रजत वर्षको अवसरमा विभिन्न कार्यक्रमका साथै सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न सामाजिक क्रियाकलाप गरेको थियो । कार्यक्रममा संस्थाले प्रकाशन गरेको ‘बुसा रजत स्मारिका’ प्रमुख अतिथि प्रदेश सरकारका सहकारी मन्त्री पुकार महर्जन र कार्यक्रमका सभापति कैलाश केसीले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो ।
कार्यक्रममा बुडोल सामुदायिक साकोसको विगतदेखि वर्तमान झल्कने भिडियो सामाग्री प्रस्तुत गरिएको थियो । बुडोल सामुदायिक साकोसले सहकारी क्षेत्रमा योगदान दिने व्यक्तिलाई वर्षेनी प्रदान गर्ने ‘बुसा सहकारी साधना सम्मान’ यस वर्ष सहकारी विज्ञ रामहरि केसीलाई प्रदान गरिएको छ ।
त्यस्तै ‘बुसा दीर्घ सेवा पदक’ बाट संस्थाको स्थापनाकालदेखि सेवा गर्नुभएका प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीलाई सम्मान गरिएको छ । त्यस्तै संस्थाले रजत महोत्सवको अवसरमा आयोजित जिल्लास्तरीय अन्तरविद्यालय सहकारी निबन्ध लेखन प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । संस्थाले उत्कृष्ट सदस्य सम्मानबाट असल ऋणी २ जना, उत्कृष्ट बचतकर्ता २ जना, अधिकतम शेयर खरिदकर्ता २ जना, उत्कृष्ट बाल बचतकर्ता २ जना र अधिकतम संरक्षित पूँजी फिर्ता कोषबाट लाभ लिने २ जना सदस्यलाई सम्मान गरिएको थियो । बुसा विशिष्ट सदस्य सम्मानबाट निजामति सेवा, सामाजिक सेवा, सुरक्षा सेवामा उच्च तहमा रहि सेवा गर्नुभएका सदस्यलाई सम्मान गरिएको थियो ।
बुसा शैक्षिक सम्मानतर्फ स्नात्तकोत्तर, स्नातक र दश जोड दुई उत्तीर्ण गर्ने २३ जना सदस्यलाई सम्मान गरिएको थियो । त्यस्तै संस्थापक सञ्चालक सम्मानबाट संस्थापक सञ्चालकहरुलाई सम्मान गरिएको थियो । साथै पूर्व सञ्चालक सम्मानबाट ८२ जना पूर्व सञ्चालकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा उत्कष्ट कर्मचारी सम्मानबाट संस्थाका कर्मचारी अशोक खत्रीलाई सम्मानपत्र र नगदसहित सम्मान गरिएको थियो । साथै संस्थाले रजत महोत्सवको अवसरमा आयोजित सेल्फ मेकअप तालिममा प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएकी प्रशिक्षक सुनिता मल्ल ठकुरीलाई प्रसंशा पत्र हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री महर्जनले बुडोल सामुदायिक साकोस जस्तो राम्रो सहकारी कमै मात्र पाएको बताउँदै बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय पछिल्लो सयम सहकारी क्षेत्रको बदनाम गराउन चालिएका विभिन्न कदमदेखि चिन्तित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ऐन नै संशोधन गरेर भए पनि सहकारी क्षेत्रको उन्नयनका लागि पहल गरिनेछ, सहकारीको ऋण असुलीको विषयलाई प्राथमिकतामा राखिनेछ ।’
कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष अधिकारीले बुडोल साकोसको उत्तरोत्तर सफलताको शुभकामनासहित सदस्य र समुदाय केन्द्रीत कारोबारबाटै सहकारीको समुज्ज्वल भविष्य निर्माण हुने बताउनुभयो । सदस्य र समुदायको बृहत्तर हितका लागि सहकारीहरु सधै तत्पर हुनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा बागमती प्रोस्कुनका कोषाध्यक्ष केशव दंगाल, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्मा, काभ्रे जिल्ला बचत संघ काभ्रेका अध्यक्ष उदयराम कायस्थ, बुडोल सामुदायिक साकोसका प्रमुख सल्लाहकार रामहरि केसी, नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, मनोहरा कृषि शीत भण्डार प्रा.लि अध्यक्ष विशाल हुमागाईं लगायत काभ्रे जिल्लामा अवस्थित विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्यसहित संस्थाको संक्षिप्त परिचय संस्थाका अध्यक्ष कैलाश केसीले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्था सहसचिव प्रकाश भुर्तेल र वरिष्ठ कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्रीले संयुक्त रुपमा गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन संस्थाका उपाध्यक्ष प्रेमनाथ शर्मा कोइरालाले गर्नुभएको थियो ।
संस्थाले रजत महोत्सवको अवसर पारेर विभिन्न समयमा रक्तदान कार्यक्रम, बुसा मोबाइल एप प्रयोगसम्बन्धी भिडियो रिलिज, वित्तीय साक्षरता शिविर, बृहत घरदैलो कार्यक्रम, विद्यालयमा बुसा कार्यक्रम, सेल्फ मेकअप तालिम, सहकारी निबन्ध लेखन प्रतियोगिता, अचार बनाउने तालिम, सञ्चालकहरुको क्षमता विकास अभिमुखिकरण कार्यक्रम, ज्येष्ठ सदस्य तीर्थाटन कार्यक्रम, खाद्यान्न सहयोग हस्तारन्तरण, अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रलाई खाद्यान्न सहयोग, सहकारी संघ÷संस्थाका सञ्चालकहरुको मैत्रीपूर्ण फुटसल कार्यक्रम आयोजना गरेको थियो ।
२५ वटा वचत शिर्षकबाट २६ हजार २ सय ३१ शेयर सदस्यबाट १ अर्ब ४७ करोड २२ लाख ४७ हजार २ सय ९० रुपैया बचत तथा १६ करोड ३३ लाख शेयर पुँजी संकलन गरी १६ वटा शिर्षकमा १ अर्ब ३० करोड ९४ लाख ३ हजार ६ सय ९७ रुपैया ऋण लगानी गरेको प्रतिष्ठित सहकारी बुडोल सामुदायिकको कुल सम्पती १ अर्ब ८५ करोड ९५ लाख रुपैया पुगेको छ ।
बुडोल सामुदायिकले अघिल्लो वर्षको अन्त्यमा ७ करोड ३४ लाख ८४ हजार ६ सय रुपैया नाफा गरेको थियो । चालु वर्षको पौष मसान्तसम्म ५३ लाख ७२ हजार ४ सय ८० रुपैया मुनाफा गरेको छ । सदस्यहरुलाई १ लाख रुपैया बराबरको दुर्घटना बीमा, सदस्यको मृत्युमा परिवारलाई समवेदना पत्र सहित ३० हजार राहत सहयोग, बाल बचतकर्ताको हकमा ५ हजार सहयोग, जटिल रोग लागि उपचार गर्नु परेमा २० हजार राहत, बालबचतकर्तालाई ५ हजार सहयोग, विपदजन्य घटनामा परी बासको ब्यवस्था गर्नु परेमा २० हजार राहत, सुत्केरी भेटघाटमा १ हजार भत्ता र नवजात शिशुलाई खुत्रुके उपहार सहित सदस्यता वितरण, मातृत्व सुरक्षा बचत खाता खोली न्यूनतम १२ हजार बचत पुरा भएका सदस्यहरुलाई शल्यक्रिया गर्नु पर्ने अवस्था भएमा ५ हजार सुत्केरी उपचार खर्च सहयोग, नवदुलही भेटघाट र १ हजार बराबरको शेयर उपहार सहित सदस्यता प्रदान, जेष्ठ नागरिक सम्मान तथा तिर्थाटन कार्यक्रम, एसईई, बुसा शैक्षिक सम्मान तथा विशिष्ट ब्यक्ति सम्मान, प्रत्येक वर्ष कोपिला बालबचतकर्ताहरुलाई निःशुल्क स्टेशनरी वितरण लगायतका सेवाहरु उपलब्ध गराउँदै आएको छ ।
विभिन्न सहकारीसँग एकीकरण गरेको बुडोल सामुदायिकले काभ्रेपलाञ्चोक जिल्लाभर सेवा प्रवाह गर्दै आएको छ । २०५० साल कार्तिक २ गते विधिवत दर्ता भएको सहकारीका संस्थापक अध्यक्ष प्रभुनाथ कोईराला रहनुभएको थियो ।
२१ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
६ दिन अगाडि
५ दिन अगाडि
३२ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
१२ दिन अगाडि