सुशासनका दिशामा नेफ्स्कूनले चालेका कदममा सधै साथ रहन्छः मुख्यमन्त्री अधिकारी  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुशासनका दिशामा नेफ्स्कूनले चालेका कदममा सधै साथ रहन्छः मुख्यमन्त्री अधिकारी  

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सदस्य संघ संस्थाहरुलाई सुशासित, दिगो र व्यावसायिक बनाउने दिशामा नेफ्स्कूनले चालेका कदममा सधै साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कतिपय सहकारीहरु मूल्य, मान्यता र सिद्धान्त बाहिर गएर चलेका कारण समस्याहरु देखापरेको सन्दर्भमा मुख्यमन्त्री अधिकारीले आफ्नो सञ्जालभित्र अटाएका सदस्यहरुलाई सुशासित, सदस्य केन्द्रीत र विश्वसनीय बनाउन नेफ्स्कूनले खेलेको भूमिकाको प्रशंसा गर्दै त्यस दिशामा परिलक्षित कदमहरुमा आफ्नो र प्रदेश सरकारको पूर्ण साथ समर्थन रहनेमा आश्वस्त तुल्याउनुभएको हो ।

नेफ्स्कूनले सहकारी विभागसँगको साझेदारीमा आज गण्डकी प्रदेशको पोखरामा आयोजना गरेको प्रदेशस्तरीय साकोस जोखिम विश्लेषण कार्यशालाको प्रमुख अतिथिका रुपमा उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले जोखिम विश्लेषण गर्ने सक्षमता र तिनको न्यूनीकरणका लागि अझै यस्ता कार्यक्रम राख्नुपर्नेमा जोड दिनुभयो । संचालक र कर्मचारीको अनियमितता र सदस्यहरुको संस्थाप्रति न्यून चासोका कारण जोखिमहरु उत्पन्न हुने भन्दै मुख्यमन्त्री अधिकारीले संस्था सबल बनाउन सबैले जिम्मेवारी अनुसार काम र कर्तव्य निर्वाह गर्नुपर्ने बताउनुभयो । 

मुख्यमन्त्री अधिकारीले सदस्य, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमितिहरु तथा व्यवस्थापन सबैले आ–आफ्नो भूमिका जिम्मेवारी अनुसार निर्वाह गरेमा संस्थामा समस्या उत्पन्न नहुने दाबी गर्नुभयो । सहकारी समुदायमा आधारित र सदस्य केन्द्रीत संस्था भएकाले सदस्यहरु आफै चनाखो  हुनुपर्ने उहाँको भनाइ थियो ।

मुख्यमन्त्री अधिकारीले स्वनियमन र आन्तरिक सुशासनमा बिशेष जोड दिनुभयो । उहाँले सुरक्षित ऋण लगानी र असुली प्रक्रियालाई सहज बनाउने सम्भावनाहरुको खोजीका लागि अनुशिक्षणहरु आवश्यक भएको बताउनुभयो । 

सहकारी आर्थिक उपार्जनको लागि महत्वपुर्ण पाटो भएपनि पछिल्लो समय सिद्धान्त, मूल्य र मान्यत बाहिर चलेका केही संस्थाका कारण उब्जिएको संकटले सबैलाई असर गरेको मुख्य मन्त्री अधिकारीले बताउनुभयो । उहाँले सबै सहकारीहरुले सदस्यको बचत सुरक्षाको प्रत्याभूति गर्नुपर्ने भन्दै सबै मिलेर यसक्षेत्रको छवि उच्च बनाउनुपर्नेमा जोड दिनुभयो । सुदृढ अर्थतन्त्र निर्माणका लागि सरकारले सहकारीलाई प्रथमिकतामा राखेको मुख्य मन्त्री अधिकारीले बताउनुभयो ।

वित्तीय सहकारीहरुलाई दिगो र सुशासित बनाउन छुटै वित्तीय सहकारी ऐन नियम र मार्गनिर्देशन आवश्यक रहेको पनि उहाँले बताउनुभयो । सहकारी क्षेत्रसँग नजिकको सम्बन्ध राख्ने र विषयको गहिराइ र गाम्भीर्य बुझ्नुभएका मुख्यमन्त्री अधिकारीले नेफ्स्कूनले विगत लामो समयदेखि आवाज उठाउँदै आएको छुट्टै वित्तीय सहकारी ऐनको विषयप्रति साथ, समर्थन र ऐक्यबद्धतासहित यसको आवश्यकता झनै टड्कारो बनेको बताउनुभएको हो ।

दोहोरो सदस्यता र दोहोरो पद अन्त्य गराउने र एक व्यक्ति एक सहकारीको कानूनी व्यवस्थालाई अत्यन्त कडाइका साथ नियामक निकायहरुले अनुगमन गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । यस्तै, सहकारी एकीकरणलाई प्रोत्साहन गर्न आवश्यक सहजीकरण गर्ने गर्ने उहाँको भनाइ थियो । 

यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले कार्यशाला समय सान्दभिक रहेको बताउनुभयो । वित्तीय कारोबार गर्ने सहकारीहरुमा जोखिम नियमित सुपरिवेक्षण गर्नुपर्ने भएकोले केन्द्रिय संघसँगको अनुगमन तथा स्तरीकरणका कार्यक्रमहरुमा आवद्ध भई नियमित परीक्षण गरी आफ्नो सहकारीको स्वास्थ्य सुधार गर्ने कार्यमा लाग्न र हाल देखापरेका समस्याहरुबाट जोगिन उहाँले आग्रह गर्नुभयो । हरेक साँझ जोखिम विश्लेषण गरी भोलिपल्ट समाधानका उपायहरु पहिचान गर्न उहाँले सुझाउनुभयो ।

लहर र रहरले नभई आवश्यकता अनुसार सहकारी स्थापना गर्नुपर्ने र सधैं सदस्य केन्द्रीत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सचिव दुवाडीले सहकारी ऐनमा संघहरुले अनुगमन गर्ने प्रबन्ध रहेको स्मरण गराउँदै आफ्ना संघ संस्थाको नियमित अनुगमन गर्न पनि अनुरोध गर्नुभयो  । यसमा सहकारी विभागको सधै साथ रहने विश्वास सचिव दुवाडीले दिलाउनुभयो । 

सहकारी ऐन कार्यान्वयनका सम्बन्धमा भैरहेका पछिल्ला प्रयासबारे जानकारी गराउँदै सचिव दुवाडीले भन्नुभयो, ‘कर्जा असुली न्याधीकरण र कर्जा सूचना केन्द्र स्थापनाको विषय अन्तिम चरणमा पुगेको छ ।’ कर्जा सूचना केन्दको विषयमा नियमित छलफल भइरहेको र छिटै स्थापना हुने उहाँले अवगत गराउनुभयो ।

यस्तै, समय सापेक्ष विश्लेषण गरि सहकारी ऐन परिमार्जनका लागि सबैबाट सल्लाह सुझावको अपेक्षासमेत सचिव दुवाडीले गर्नुभयो । यस्तै उहाँले दोहोरो पद धारणलाई निरुत्साहित गर्ने र ऐनको व्यवस्थालाई अक्षरशः पालना गर्न गराउन सम्बन्धित निकायलाई अनुरोध गर्नुभयो । 

यस्तै, गण्डकी प्रदेशका सहकारी रजिष्ट्रार भेषराज रिजालले अन्य प्रदेशको अनुपातमा गण्डकी प्रदेशमा न्यून संस्थाहरु जोखिमका रहेको बताउनुभयो । उहाँले ९ सय सहकारी संस्था मध्ये ७०० संस्थाको विवरण अध्यावधिक भएको र १ सय निष्क्रिय संस्था खोजी भैरहेको अवगत गराउनुभयो ।

सहकारीलाई जीवन्त राख्न ऋणको प्रयोजनको विषयमा जानकार र नियमित अनुगमन गर्नुपर्नेमा उहाँको जोड दिनुभयो । संस्था चुस्त दुरुस्त बनाउन आर्थिक क्रियाकलाप स्वस्थ्य र सक्रिय रहनुपर्नेमा उहाँको जोड थियो । 

कार्यशालामा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले २०८१ साल सहकारीका लागि सुखद साल बनाउने काममा संघ अहोरात्र लागिपरेको बताउनुभयो । सघन बहसपैरवी मार्फत ऐन कार्यान्वयनको सुनिश्चितता र बलियो आन्तरिक सुशासनको प्रतिबद्धतासहित अभियानलाई समृद्ध बनाउने दिशामा नेफ्स्कून सञ्चालक समिति अघि बढेको उहाँले दाबी गर्नुभयो । 

सहकारीहरुको सुनिश्चित व्यवस्थापन आजको आवश्यकता भएको बताउँदै अध्यक्ष ढकालले  नेफ्स्कूनले सहकारी सुधारको पक्षमा नियमित बहस पैरवी गरिरहेको जानकारी गराउनुभयो । साकोस अभियानको घर भित्र रहेका समस्यालाई पहिचान गरी समाधानको उपाय खोज्ने प्रयत्न गर्ने प्रतिबद्धता नेफ्स्कून अध्यक्षले व्यक्त गर्नुभयो । 

नेफ्स्कूनले सदस्य संघ संस्थाहरुको नियमित अनुगमन गरी आवश्यक पृष्ठपोषणमार्फत निश्चित मापदण्ड पुरा गरेका संस्थाहरुलाई ब्राण्डको माध्यमबाट समुदायमा छवि उचो बनाउने कार्यमा दुई दशक देखि क्रियाशील रहेकोले संस्था सुदृढिकरण र सुशासन प्रवर्धनको क्षेत्रमा ऐक्यवद्धता जनाउन सबै सहभागी संस्थाहरुलाई अनुरोध गर्नुभयो । 

कार्यशालामा स्वागत गर्दै नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष अधिकारीले कार्यक्रमको उद्देश्य, सहकारी विभागसँगको सहकार्यबारे प्रकाश पार्नुभएको थियो । उहाँले वित्तीय कारोबार गर्ने साकोसहरुले वर्तमान अवस्थामा के कस्ता जोखिमहरु हुन सक्छन्, तिनको समाधान के कस्ता विधिवाट कसरी गर्न सकिन्छ भनेर सहजीकरण गर्न कार्यशाला आयोजना गरिएको बताउनुभयो । यो समय सान्दर्भिक भएको उहाँको भनाइ थियो ।

कार्यशालमा संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले नेफ्स्कूनले सञ्चालन तथा विकास गरेको स्तरीकरण कार्यक्रम बाहिर रहेका संस्थाहरुको जोखिम विश्लेषण गर्ने कार्यशालाको मुख्य उद्देश्य रहेको बताउनुभयो । नेपालमा साकोस क्षत्रको रणनीतिक यात्राको विषयमा जानकारी गराउँदै उहाँले वित्तीय सहकारीको यात्रा, विकासक्रम,नेफ्स्कूनको अगुवाई तथा अग्रसरतासँगै सहकारी संस्थाहरुले हाल भोगिरहेको समस्या र त्यसका समाधानको बिषयमा प्रस्तुतिमार्फत जानकारी गराउनुभएको थियो । प्रमुख कार्यकारी अधिकृत डा. सापकोटाले सदस्य संस्थाहरुको वित्तीय एवम् सञ्चालन जोखिम न्यूनीकरणका लागि भएका पहलहरुबारे पनि प्रस्तुतिमा समावेश गर्नुभएको थियो ।

नेफ्स्कून सञ्चालक कमला देवी गिरीले सञ्चालन गर्नुभएको कार्यशालाको उद्घाटन सत्रमा संघका सञ्चालक गोपालप्रसाद गौतम पनि सहभागी हुनुभएको थियो । यस्तै, कार्यशालामा संघका निबर्तमान सञ्चालक चण्डी प्रसाद शर्मा पौडेल, पूर्व सञ्चालक भिम गुरुङ्ग, जिल्ला बचत संघ कास्कीका अध्यक्ष शेर बहादुर केसी, म्यानेजर्स क्लब कास्कीका संयोजक अपिल कोइरालासँगै ३० साकोसका प्रतिनिधिहरुको सहभागिता रहेको छ । सहकारी विभागसँगको साझेदारीमा सातै प्रदेशमा आयोजना हुने साकोस जोखिम विश्लेषण कार्यशाला यस अघि बागमती र लुम्बिनी प्रदेशमा सम्पन्न भैसकेको छ।

 

भर्खरै
नेफ्स्कून र नवोदय साकोसबीच ‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
नेफ्स्कून र नवोदय साकोसबीच ‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२३ घण्टा अगाडि

मकवानपुर स्थित नमुना प्रगती साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
मकवानपुर स्थित नमुना प्रगती साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

पर्सा स्थित विरगंज साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
पर्सा स्थित विरगंज साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिनभित्र ऋण तिर्न चेतावनी
समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिनभित्र ऋण तिर्न चेतावनी

१ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरीवेक्षण सम्पन्न 

१ दिन अगाडि

कृषि पेशामा संलग्न सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
कृषि पेशामा संलग्न सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

१ दिन अगाडि

मकवानपुर स्थित सञ्जीवनी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
मकवानपुर स्थित सञ्जीवनी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

वारा स्थित संगालो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
वारा स्थित संगालो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
पाठकबाट थप