ठाकूरद्वारा, बर्दिया । साकोस अभियानको स्थायित्व र दिगोपनाका लागि सञ्जाल सहकार्यको अपरिहार्यतामा जोड दिदैं त्यस दिशामा लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा आज एउटा महत्वपूर्ण र नमूना कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश बचत तथा ऋण सहकारी संघ लि., लुम्बिनी प्रदेश (लुम्बिनी प्रोस्कून) को आयोजना, नेफ्स्कूनको सहजीकरण तथा बर्दियाको ठाकुरबाबा नगरपालिका भित्रका ७ प्रारम्भिक संस्थाहरुको व्यवस्थापनमा ‘सहकारीका वर्तमान समस्या र समाधानमा सञ्जाल सहकार्य आवश्यकता’ विषयक गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीले सहकारी अभियानमा विद्यमान समस्या समाधानसँगै भविष्यमा साकोस अभियानलाई थप सुदृढ र व्यवस्थित बनाउन सञ्जाल सहकार्य अत्यन्त आवश्यक भएको ठहरसहित ऐक्यबद्धतका साथ अघि बढ्ने निष्कर्ष निकालेको छ । उक्त अवसरमा नेफस्कून तथा लुम्बिनी प्रदेश बचत संघसँगै प्रदेशका रुपन्देही, गुल्मी, प्युठान, बाँके र बर्दिया गरी ५ जिल्ला बचत संघहरुबीच सञ्जाल साझेदारी सम्झौता समेत सम्पन्न भएको छ ।
लुम्बिनी प्रोस्कूनका अध्यक्ष कृष्ण नेपालले अध्यक्षता गर्नुभएको गोष्ठीको प्रमुख अतिथि ठाकूरबाबा नगरपालिकाका नगरप्रमुख तिकलराम लम्साल रहनुभएको थियो भने बिशिष्ट अतिथि उपमेयर विना कुमारी भट्टराई रहनुभएको थियो । यस्तै बिशिष्ट अतिथिमा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी रहनुभएको थियो । कार्यक्रममा प्रदेश तथा प्रदेश अन्तर्गतका विभिन्न जिल्ला बचत संघका अध्यक्ष एवम् पदाधिकारीहरु सहभागी हुनुभएको थियो ।
एकै पटक प्रदेश र ५ जिल्ला बचत संघहरुसँग सञ्जाल साझेदारी सम्पन्न हुनुलाई नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष अधिकारीले महत्वपूर्ण उपलब्धि बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसले अन्य प्रदेश र जिल्ला बचत संघहरुलाई पनि सञ्जाल सहकार्यको महत्व र गरिमा बोध हुने विश्वास लिएका छौं ।’
उहाँले भन्नुभयो, ‘साकोस अभियान एक ढिक्का हुँदा मात्र हाम्रो शक्ति र सामर्थ्य बढ्छ । त्यही भएर नै लुम्बिनी प्रोस्कून र ५ वटा बचत संघले हार्दिकताका साथ सञ्जाल सहकार्यको नेफ्स्कूनको प्रयासमा साथ दिनुभएको हो । यसप्रति हामी आभारी छौ ।’
नेफ्स्कूनका प्रबक्ता समेत रहनुभएका बरिष्ठ अधिकारीले अगाडि भन्नभुयो, ‘प्रारम्भिक संस्थाहरुको व्यवस्थापन, प्रदेश बचत संघको आयोजना तथा नेफ्स्कूनको सहजीकरणमा आजको कार्यक्रम हुनु आफैमा सञ्जाल साझेदारीको एउटा उत्कृष्ट उदारण हो ।’ स्मरणीय छ, सञ्जाल सहकार्यलाई नेफ्स्कूनले उच्च प्राथमिकता दिदैं रणनीतिक कार्यदिशामा समेत समावेश गरेको छ ।
आजको गोष्ठीमा सहकारीमा देखिएका समस्या समाधानका यावत विषयमा वृहत् छलफल भएको थियो । सहभागीहरुले सहकारीप्रति जनविश्वास बढाउन पनि अभियान एक ढिक्का हुनुपर्ने भन्दै त्यसका लागि सञ्जाल सहकार्य आवश्यक भएको धारणा राख्नुभएको थियो । यस्तै, उहाँहरुले ऋण असुलीको साझा समस्याका विषयमा सुझाव स्वरुप वार्षिक खाताबन्दीको विषयमा पनि नियामक निकायबाट परिस्थिति अनुकूल मार्गदर्शन जारी गराउन नेफ्स्कून र प्रदेश संघले पहल गर्नुपर्ने विचार व्यक्त गर्नुभएको नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष अधिकारीले साकोस आवाजलाई जानकारी गराउनुभयो ।
यसैबीच, बैठकमा केही समयअघि ठाकूरबाबा नगरपालिकाका ७ वटै बचत तथा ऋण सहकारीका अध्यक्षहरुबीचको छलफलमा दोहोरो सदस्यताका कारण पालिकाको कूल जनसंख्याभन्दा साकोसहरुमा सदस्यहरुको अधिक संख्या, ऋण असुलीमा उत्पन्न कठिनाईसँगै साकोसहरुलाई प्रतिस्पर्धी बनाउने उद्देश्यले एकीकरण गर्ने विषयमा सम्पन्न छलफलको आधारमा आगामी असार १ गते पुनः बैठक बसी प्रक्रिया अघि बढाउने सहमति समेत आज भएको छ । यसै आर्थिक वर्षभित्र एकीकरण प्रक्रिया अघि बढाउने भन्दै उक्त कार्यमा नगरपालिका, नेफ्स्कून र प्रदेश बचत संघको सहयोग र सहजीकरणका लागि आग्रह गर्ने निर्णय आजको छलफलमा भएको नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष अधिकारीले जानकारी गराउनुभयो ।
नगरपालिका भित्रका ठाकुरबाबा सहकारी सञ्जाल अन्तर्गतका सिको साकोस, हाम्रो मध्यवर्ती साकोस, विश्वासिलो साकोस, प्रगति साकोस, सगुन साकोस, किसान कमैया कल्याण साकोस र मालिका साकोसको व्यवस्थापन रहेको कार्यक्रममा बर्दिया जिल्ला बचत संघका अध्यक्ष नवराज न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन लुम्बिनी प्रोस्कूनका सचिव बसन्तप्रकाश ढकालले गर्नुभएको थियो । गोष्ठीमा नेफ्स्कून नेपालगञ्ज सदस्य सेवा कार्यालयका इन्चार्ज छत्र प्रसाद धमलाले सञ्जाल सहकार्यका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
११ मिनेट अगाडि
३४ मिनेट अगाडि
२२ घण्टा अगाडि
२४ घण्टा अगाडि
२४ घण्टा अगाडि
२४ घण्टा अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
११ मिनेट अगाडि
२ दिन अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
३४ मिनेट अगाडि
३ दिन अगाडि
२४ घण्टा अगाडि
४ दिन अगाडि