काठमाडौं । अबको ४९ दिनपछि विश्व सहकारी अभियानको सबैभन्दा ठूलो मध्येको एक भेला भारतमा आयोजना हुँदैछ । विश्व सहकारी अभियानको ध्यान खिच्ने उक्त भेलाको सम्बन्धमा अहिलेदेखि नै चर्चापरिचर्चा सुरु भएको छ । कतिपयले आईसीए– अन्तर्राष्ट्रिय सहकारी सम्मेलन–२०२४ मा सहभागिताको लागि नाम दर्ता गराइसकेका छन् भने कतिपय तयारी गर्दैछन् ।
अन्यले पनि सञ्चारमाध्यममार्फत यसमा हुने छलफल, प्रस्तुतीकरण, सहभागीहरुबारे जानकारी ‘फिड’ गरिरहेका छन् । हुन् पनि हो, अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) स्थापनाको १ सय ३० वर्षे इतिहासमा पहिलो पटक दक्षिण एशियाली मुलुक भारतमा अन्तर्राष्ट्रिय सहकारी सम्मेलन आयोजना हुन गैरहेको छ ।
त्यसमाथि विश्व अर्थतन्त्र अनि विश्व सहकारी मञ्चमा भारतको प्रभुत्व बढिरहेको समयमा यो सम्मेलन नयाँ दिल्लीमा आयोजना गर्न लागिएको हो । विश्वका ३ सय ठूला सहकारीहरुको सूचीमा भारतको इन्डियन फारमर्स फर्टिलाइजर कोआपरेटिभ लिमिटेड (इफ्को), अमूल, लगायतका सहकारीहरु अग्रस्थानमा रहेका छन् । सोही कारण हाम्रो छिमेकी मुलक भारत विश्व सहकारीको ध्यान खिच्न सफल भएको छ ।
उक्त सम्मेलनमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसदेखि भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, वातावरण चिन्तक, लेखक तथा अभियन्ता बन्दना शिवा, भारतीय सहकारी मन्त्रालयका सचिव आशिष कुमार भुटानी, आईसीए अध्यक्ष एरियल ग्वार्को, आयोजक इफ्कोका प्रबन्ध निर्देशक उदय शंकर अवस्थी लगायत वक्ता रहनुभएको छ । सम्मेलनको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नु हुने सम्भावना छ भने उक्त सहकारी महाकुम्भमा भारतीय गृह एवम् सहकारी मन्त्री अमित शाह लगायतको पनि उपस्थिति रहने प्रबल सम्भावना छ । (सम्मेलनको उद्घाटन कार्यक्रम बारे भने अहिलेसम्म केही जानकारी उपलब्ध छैन ।)
यसैगरी, सम्मेलनमा कोअपरेटिभ्ज यूकेकी प्रमुख कार्यकारी अधिकृत रोज मार्ली, अफलातून इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत रोल्याण्ड मोनाश, भारतको केन्द्रीय बैंक रिजर्ब बैंक अफ इन्डियाको सहकारीसम्बन्धी प्रतिनिधि सतीश मराठी, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहकारी हेर्ने साइमल एसिम, क्यानाडाको सेन्ट मेरिज युनिभर्सिटीकी प्राध्यापक सोन्जा नोभोकिच, कोअपरेटिभ हेरिटेज ट्रस्टकी महाप्रबन्धक लिज म्याकभोर, नेदरल्याण्ड्सको राबो बैंक अन्तर्गत साना किसानहरुलाई जलवायु परिवर्तनको असर सामनामा सहयोगी गर्न सञ्चालित कार्यक्रम हेर्ने प्रमुख यल्मर भ्यान डी मोर्टेल पनि उक्त बहुप्रतिक्षित सम्मेलनका वक्ता रहनुभएको छ ।