प्रदर्शनी तथा बिक्री मेला–२०८१
सहकारी क्षेत्रका लागि 'मानक' बन्नेछ मेला
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी क्षेत्रका लागि 'मानक' बन्नेछ मेला

साँच्चै मख्ख छ, माफ्स्कून अर्थात् जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मकवानपुर । हुन पनि किन नहोस्, अबको केही दिनमा संघ स्थापनाको २० वर्ष पुग्दैछ । कतिपय बचत संघहरु खुट्टा टेक्न नसकिरहेको अवस्थामा अनवरत मिहिनेत र दृढसंकल्पको बलमा दुई दशकको यात्रा तय गर्न पाउँदा खुसी हुनु स्वाभाविक हो । त्यसमाथि, सबल कारोबार, सक्रिय सदस्य सहभागिता, कुशल लीडरशीप र दिगो संस्थागत सक्षमताको गर्व पनि गर्छ माफ्स्कून । हिजो लुकाएर गरेको संघर्ष, आज देखाउन लायक लोभलाग्दो अवस्थामा परिणत भएको छ । सहकारी संकटको पर्याय जस्तै बनिरहेको अवस्थामा मकवानपुरको सहकारी अभियान भने अर्कै ‘प्लानेटोरी मोसन’ मा मस्त छ । साँच्चिकै, मकवानपुरको सहकारी अभियान ‘माइन्ड ब्लोइङ’ छ । 

माफ्स्कूनका खुसीहरु यो वर्ष ‘मल्टिप्लाई’ भएका छन् । जिल्ला बचत संघ मकवानपुरले आफ्नो २० औं स्थापना दिवसको अवसर पारेर हेटौंडामा प्रदर्शनी तथा बिक्री मेला–२०८१ आयोजना गर्दैछ । पुस १६, १७ र १८ गते हेटौडाको शान्तिथपमा आयोजना हुने मेलामा बचत तथा ऋण सहकारीका सदस्यहरुसँगै कृषि, बहुउद्देश्यीय लगायत अन्य प्रकृतिका सहकारीहरूले समेत उत्पादन गरेका हस्तकला, खाद्य, मसला, दुग्धजन्य सामग्रीहरूको प्रदर्शनी तथा बिक्री गरिनेछ ।

मेला बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म चल्नेछ । प्रदर्शनीमा ४० वटा स्टल रहनेछन् । ती सबै बुक भैसकेका छन् । १० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको प्रर्दशनी आयोजनाको लागि करिब पाँच लाख रुपैयाँ खर्च हुने अनुमान बचत संघले गरेको छ ।   

‘उत्पादन, बजारीकरण र लगानीको आधार, उद्यम प्रवर्धन हाम्रो पूर्वाधार’ भन्ने थिमका साथ आयोजित मेलाले सहकारीका उद्यमी, व्यवसायी र स्टार्ट अपमा जोडिएका र जोडिन खोज्ने ‘पोटेन्सियल’ सदस्यहरुमा उत्साह र सम्भावना ‘इन्स्टिल’ गराउनेछ । अन्य प्रकृतिका सहकारीहरुको उत्पादनका उपभोक्ता बढ्नेछन् । यसले स्थानीय सहकारीहरुमा सदस्यता, कारोबार, संलग्नता र जनअभिरुचि बढ्ने विश्वास संघले लिएको छ । त्यस्तै, लोपोन्मुख वस्तुहरुको संरक्षणमा सहयोग पुग्नेछ । स्थानीयताको सम्वर्धन हुनेछ । समग्रमा स्थानीय बजार उकासिनेछ ।

मेलाको आकर्षणको रुपमा टिकटक भिडियो प्रतियोगिता, सहकारी हाजिरीजवाफ प्रतियोगिता, निबन्ध प्रतियोगिता, सचिवहरुबीच वक्तृत्वकला प्रतियोगिता छन् । यस्तै, उत्कृष्ट स्टल पुरस्कार पनि संघले राखेको छ । मेलाप्रतिको माहोल तयार पार्न संघले आफ्नो सामाजिक सञ्जालको ‘अप्टिमम’ प्रयोग गरेको छ । सदस्यहरुको विचार सम्प्रेषित गरेको छ । मेलामा भव्य सहभागिताको सुनिश्चिततालाई सामाजिक सञ्जालको सभ्य प्रयोगले सम्भवनाको निकट पुर्याएको छ । 

सबैलाई 'सहभागी बनौं बनौं' लाग्ने गरी कार्यक्रम तय गरिएको पाइन्छ । टिकटक बालबालिका र युवाहरुको आकर्षण हो । हाजिरीजवाफ, निबन्ध, वक्तृत्वकलाले बौद्धिक जगतलाई खुराक पस्कनेछ र समेट्नेछ । उद्यमी, व्यापारीहरुलाई पनि सहकारीमार्फतका उद्यमहरुबारे जान्ने तिर्खा मेट्नेछ । राम्रा सहकारीहरु भ्रमण गर्ने र सिकाइ गर्न खोज्ने सहकारीकर्मीहरुका लागि सानदार अवसर हुनेछ । महिलाहरुले सहकारीमार्फत के कस्ता काम गरेका छन् भन्नेहरुका लागि ‘वुमन स्टडीज्’ को विषय पनि मेला बन्नेछ । मकवानपुर बुझाउने मेला यो हुने विश्वास गर्न सकिन्छ ।

संघकी अध्यक्ष श्रेष्ठले केही दिनअघि हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा  मेलाको सम्पूर्ण तयारी पूरा भएको भन्दै हेटौंडा–२ स्थित आफ्नै कार्यालयको नवनिर्मित भवनमा मेला आयोजना गर्न लागिएको जानकारी गराउनुभएको थियो । सहकारीहरु केवल बचत र ऋण मात्र हैन, (स्व) रोजार सिर्जनामा पनि तल्लीन छन् भन्ने पुष्टि मेलाले गर्ने विश्वास अध्यक्ष श्रेष्ठको छ । मेलाबाट सहकारीले गर्दै आएको कामले थप बजार पाउने विश्वास संघले लिएको छ । 

प्रदर्शनी तथा बिक्री मेला–२०८१ को उप कार्यक्रमको रुपमा पुस १८ गते संघको नवनिर्मित भवन उद्घाटनसँगै सम्मान कार्यक्रम हुँदैछ । २० वर्षको युवा अवस्थामै संघको आफ्नै भवन सम्भव भएको छ । सदस्यहरुको अपरिमित विश्वासको बलियो जगमा उभिएको संघको ‘सपनाको घर’ वास्तविकतामा रुपान्तरित भएको क्षणको साक्षी देशभरबाट मेला भर्न आएको सहकारी अभियान बन्नेछ । 

जिल्लाका १ सय ३५ बचत तथा ऋण सहकारी संस्था (साकोस) हरुको जिल्लास्तरीय अभिभावक संघ  २०६२ साल पुस १८ गते १२ वटा महिला बचत तथा ऋण साकोसहरु मिली स्थापना भएको इतिहास छ । यही पुस १८ गते संघ २० वर्षे जवान हुँदैछ । २० वर्षे उमेर अघाउँदी उर्जा हुने उमेर हो । सकारात्मक सोच, सही अभिभावकीय मार्गदर्शन र हुकाईबढाइको बलमा २० वर्षे मवकानपुर बचत संघले गतिलाई तीब्र बनाउने, आकांक्षाहरुलाई आकाश देखाउने र अनुभव समेट्ने योजना अघि सारेको हो ।संघकी अध्यक्ष कल्पना श्रेष्ठले साकोस आवाजसँग भन्नुभयो, ‘संघको स्थापना दिवसलाई सदस्य संस्था र उनीहरुका व्यक्तिगत सदस्यहरुको समृद्धिको दिवसका रुपमा समेत मनाउनुपर्छ भनेर हामीले स्थानीय सहकारी उत्पादन (सहकारीका सदस्यहरुको पनि उत्पादन) को बजार विकास र प्रवर्धनका लागि यो प्रयास गरेका हौं ।’

सहकारी अवलोकनकर्ताहरुका लागि पनि आकर्षणको केन्द्र बनेको छ–मकवानपुर । खासगरी मकवानपुरका महिलाहरुको सहकारीप्रतिको लगाव रहरलाग्दो नै छ । साँच्चै सहकारीमा मकवानपुरका महिला सबै काममा पहिला नै छन् । अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ, ‘असल अभ्यास सिक्ने, बुझ्ने र आन्तरिकीकरण गर्ने विषय पनि हो । मलाई विश्वास छ तपाईहरु मकवानपुरबाट उर्जा, आँट र उत्प्रेरणा लिएर फर्कनु हुनेछ ।’

संघको अर्को खुसी भनेको करिब ३ करोड ५० लाख रुपैयाँ खर्चेर ३४ धुर क्षेत्रफलमा २९ सय स्क्वायर फिटको नयाँ भवन हेटौंडा सम्पन्न हुनु हो । संघको स्थापना दिवसको सन्दर्भ पारेर यस भवनको उद्घाटन समेत हुँदैछ । भवन निर्माणका लागि प्रदेश सरकारबाट ३३ लाख, जिल्लाका ४ वटा पालिकाबाट अनुदान रकम, सदस्य सहकारीबाट करिब ९ लाखभन्दा बढी र संघको जगेडा कोषबाट बजेटको व्यवस्था गरिएको हो ।

अध्यक्ष श्रेष्ठले संघ बलियो हुने तर सदस्य संस्थाहरु कमजोर हुने अवस्था कदापि हुन नुहने भन्दै संघको एक्जिस्टेन्सको आधार सदस्यको स्थायित्व र विकास भएको बताउनुभयो । व्यसाय, उद्यम र स्वरोजगार सृजनामार्फत व्यक्तिगत सदस्यहरुको समृद्धि, प्रारम्भिक संस्थाहरुको समृद्धि हो, ’अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘यति बुझेर काम गर्दा सहकारीहरुले निराश हुनुपर्दैन ।’ 

मिसनसँग म्याच, उद्देश्यलाई साथ
'सवल र सुरक्षित साकोस, दिगो जिल्ला बचत संघ' को परिकल्पना बोकेको जिल्ला संघले साकोसमा आवद्ध सदस्यहरुलाई उद्यमशीलतामार्फत समृद्ध बनाउन सदस्य संस्थाहरुलाई नविनतम प्रविधिमा आधारित गुणस्तरीय वस्तु तथा सेवाहरु प्रदान गर्ने दिगो जिल्ला बचत संघ हुने ध्येय लिएको छ । उक्त मिसनसँग म्याच खाने गरी मेला आयोजना गरिएको जनाएको छ भने संघले तय गरेको अल्पकालीन र दीर्घकालीन उद्देश्यमा ‘भौतिक संरचना खडा गर्ने’ समावेश छ । ‘वित्तीय रुपमा संघलाई सक्षम बनाउने’ छ । त्यही उद्देश्यमा साथ दिदैं संघले भवन निर्माण पनि सम्पन्न गरेको छ, त्यो पनि बिना कुनै बाह्य दायित्व ।
महिलाहरुको प्रेरणादायी सहभागिताको संघ

मेला आयोजनाको अग्रसरता, भवन निर्माण, सहकारी इतिहासको दस्तावेजीकरण लगायत मकवानपुरको सहकारी अभियानलाई सधै केही न केही राम्रा कामहरु गरेर चर्चाको केन्द्रमा राखिरहने बचत संघको १३ सदस्यीय सञ्चालक समितिमा ७ जना महिला हुनुहुन्छ । त्यस्तै, लेखा सुपरिवेक्षण समितिमा पनि संयोजकसँगै २ महिला हुनुहुन्छ । सामान्यतया सदस्यमा १ जना महिला राख्ने प्रचलन विरुद्ध जिल्ला बचत संघ मकवानपुरको सञ्चालक समिति आफैमा अलग छ ।

व्यवस्थापनमा पनि बागडोर महिला कै छ । कुल ६ कर्मचारीमध्ये ४ महिला हुनुहुन्छ । हाल ४ करोड ७८ लाख सेयर पुँजी, १ अर्ब २९ करोड बढी बचत, १० करोड २१ लाख बढी ऋण लगानी, ३ करोड ७० लाख बढी संस्थागत पुँजी र ३२ प्रतिशत तरलता रहेको जिल्ला बचत संघ मकवानपुरको कुल सम्पत्ति १ अर्ब ४१ करोड बढी छ । १ जना कर्मचारीबाट सुरु गरेको बचत संघमा हाल सुरक्षागार्ड २ बाहेक ६ कर्मचारी छन् ।

मानक बन्नेछ मेला
स्वाभाविक छ, मेलाले माहोल निर्माण गर्छ, चर्चा चुलिन्छ, सिकाइ सम्भव गराउँछ, सकारात्मक ‘भाइब्रेसन’ सञ्चार हुन्छ, सञ्चारमाध्यमहरुमा हेडलाइन ‘ग्राब’ गर्छ । अल्पकालीन उपलब्धिहरु मात्र होइन मेलाले जिल्ला संघप्रतिको आस्था र विश्वास बढाउँछ, ‘सही सोचलाई व्यावहारिक परिणति प्रदान गर्न सकिन्छ’ भन्ने सन्देश प्रवाह गर्छ, भोलिको सहकारी पुस्ताले पढ्नलायक इतिहास पाउँछ । महिला नेतृत्वको सहकारीप्रतिको निष्ठा अनि नायकत्व प्रमाणित हुन्छ । यो मेलालाई सफल बनाउनु भनेको मुलुकको सहकारी अभियानलाई सफल बनाउनु हो । मोफसलमा आयोजना हुने यस्ता भव्य कार्यक्रमहरु मानकका रुपमा स्थापित हुनुपर्छ । अनि पो सहकारी अभियान साँच्चिकै सदस्यको अभियान बन्नसक्छ । यसले सहकारीप्रति सबै सरोकारवालाहरुमा सकारात्मक सोच विकास गराउँदछ । सहकारीप्रतिको भाष्य सुधारका लागि यस्ता मेला, महोत्सवको महत्ता छ । 

फेरि, जिल्लामा पहिलो पटक कुनै सहकारी संघले पहिलो पटक यो ‘स्केल’ को मेला आयोजना गर्दैछ जसमा जिल्ला सहकारी संघ र अन्य विषयगत संघहरुको पनि दर्बिलो साथ, सहयोग र समन्वयको ‘सहकारिता’ छ । त्यसैले पनि यो मेला सहकारी अभियानकै लागि मानक बन्ने विश्वास गर्न सकिन्छ । अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ, सहकारी क्षेत्रप्रति हिलो छ्याप्नेहरुका लागि उदाहरण बन्नेछ मेला । सहकारी क्षेत्रका लािग एउटा मानकका रुपमा स्थापित हुनेछ मेला ।'

अन्त्यमा, सही दिशाउन्मुख मकवानपुरको सहकारी माहोल ‘सुवासित अत्तर’ झैं अन्यत्र पनि पक्कै फैलने छ भन्ने विश्वासका साथ साकोस आवाजको तर्फबाट पनि सफलताको अग्रिम शुभकामना ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

पाठकबाट थप