काठमाडौं । नेफ्स्कूनको वित्तीय सेवा प्रभावकारिताका लागि अन्तरलगानी नीति, प्रक्रिया तथा उत्पादन सम्बन्धमा छलफल तथा अन्तरक्रिया प्रारम्भ भएको छ । एशियाली ऋण महासंघ (अकू) को प्राविधिक सहजीकरणमा संघको अन्तरलगानी उपसमिति र उपत्यका भित्रका संघको सदस्य सेवा कार्यालयमा कार्यरत कर्मचारीहरुबीच आज काठमाडौंमा कार्यक्रमको शुभारम्भ भएको हो । एशियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोके (लेनी) र प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराचीले Central Finance Facilities Cum Interlanding (CFFI) विषयक अन्तरक्रिया साथै सो विषयमा सहजीकरण गर्नुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले बचत तथा ऋण सहकारी अभियानको साख बृद्धि गर्न संघले निर्माण गरेका नीति तथा कार्यविधिको कार्यान्वयन र समय अनुकुल परिमार्जन साथै व्यवस्थापकीय कार्यशैलीमा रुपान्तरण आवश्यक हुने बताउनुभयो । यतिवेला सहकारी अभियान एउटा संक्रमणकालिन अवस्थासँग जुधिरहेको छ, यो समयलाई चिनेर हामीले दिगो सहकारी स्थापनाका लागि स्वस्थ वित्तीय प्रतिवेदन निर्माणमा असल अन्तर्राष्ट्रिय अभ्यासलाई आन्तरिकीकरण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । पछिल्लो समय विकसित राज्यका सहकारी सम्बन्धी कानुनले बचत तथा ऋण सहकारी अभियानमा एक खालको तरङ्ग ल्याएको विषयलाई जोड्दै बरिष्ठ उपाध्यक्ष अधिकारीले राज्य र बचत अभियानको सञ्जालबीच साझा धारणा निर्माणको आवश्यकता औल्याउनुभयो । उहाँले बचत तथा ऋण सहकारी अभियान सदस्य समृद्धिको यात्रा हो, सहकारी अभियानको छवि पुननिर्माणमा ध्यान दिंदै नेफ्स्कूनले साकोसदेखि संघसम्मको आन्तरिक सञ्जाल सबलीकरणमा ध्यान दिने, सञ्जाल साझेदारीलाई मजबुद बनाउने र स्तरीकरण कार्यक्रमलाई प्रभावकारी बनाएर लैजानुपर्ने बताउनुभयो ।
कार्यक्रमको औपचारिक सम्बोधनकै क्रममा संघका महासचिव घनश्याम अधिकारीले बचत तथा ऋण सहकारी अभियानले प्रारम्भ गरेको अन्तरलगानी सेवाको इतिहासको स्मरण गराउनुभयो । एशियाली ऋण महासंघसँगको प्राविधिक सहकार्यबाट बचत तथा ऋण सहकारी संस्थाहरुमाझ प्रवाह हुने अन्तरलगानी सेवा सम्बन्धी छलफलले दिर्घकालिक निकासको मार्ग तयार गर्न विश्वास व्यक्त गर्नुभयो । उहाँले एशियाली ऋण महासंघको प्रतिनिधित्व गर्दै नेपाल आउनुभएका महासंघका प्रमुख कार्यकारी अधिकृत र प्रमुख प्राविधिक अधिकृतसहित राज्यपक्षसँग पनि सहकारी सम्बन्धी छलफल गरिने जानकारी गराउनुभयो । नेपालमा सहकारीको गरिमा ओगटेको बचत तथा ऋण सहकारी अभियान दिगो, सुशासित र सबल बन्नुपर्छ भन्ने विषयमा जोड दिँदै यसमा नेफ्स्कूनको पहलकदमी निरन्तर जारी रहने बताउनुभयो ।
संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै अकूको प्राविधिक टीमसँग आगामी ५ दिनसम्म निरन्तर आयोजित कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रमको शुरुमा नेफ्स्कूनका पूर्व अध्यक्ष एवं सल्लाहकार, नेपालको सहकारी अभियानका मुर्धन्य व्यक्तित्व कैलाशभक्त प्रधानाङ्गको निधनप्रति शोकाकुन नेफ्स्कून परिवारले एक मिनेट मौनधारण गरेको थियो ।
कार्यक्रममा नेफ्स्कूनका कोषाध्यक्ष दिपक थापा, सञ्चालक सदस्यहरु क्रमशः मन्दरा मिश्र, सुशिल कुमार बस्न्यात, गोपाल प्रसाद गौतम र खेम सुवेदी सहभागी हुनुहुन्छ । कार्यक्रममा संघका कर्मचारीद्वारा बचत तथा ऋण सेवा र संघको भाखा नाघेको ऋणको बस्तुस्थितिका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
अकूको प्राविधिक टीमले अवको करिब एक सातासम्म नेफ्स्कूनको अन्तरलागनी नीति, प्रक्रिया तथा उत्पादन ढाँचासँग सम्बन्धीत अन्तरक्रिया, एशियाली स्तरको साकोस स्तरीकरण कार्यक्रम एक्सेसमा आबद्ध सदस्य साकोसका प्राविधिक समुहसँग परामर्श, नेफ्स्कून बोर्ड सँग परामर्श वैठक, सहकारी विभाग, मन्त्रालय र राष्ट्रिय नियमन प्राधिकरण सँग परामर्श तथा वैठक बस्ने कार्ययोजना तय भएको छ । नेपालको बचत तथा ऋण सहकारी अभियानमा प्राविधिक सहजीकरण प्रदान गर्न आइतबार नेपाल आइपुग्नुभएका अकूकी प्रमुका कार्यकारी अधिकृत लेनी र प्राविधिक अधिकृत रञ्जित हिताराचीलाई संघका सञ्चालक खेम सुवेदीले संघको केन्द्रीय कार्यालयमा स्वागत गर्नुभएको थियो ।
२४ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
६ दिन अगाडि
५ दिन अगाडि
३२ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
१२ दिन अगाडि