काठमाडौं । आज ६८औं राष्ट्रिय सहकारी दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी अभियानको संयुक्त आयोजनामा आज राष्ट्रिय सभा गृहमा ६८औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को भव्य कार्यक्रम समेत आयोजना हुँदैछ । समारोहमा सहकारी गानको सार्वजनिकीकरण, सहकारी वर्ष लोगो अनावरण, उत्कृष्ट सहकारी पुरस्कार घोषणा, थिम सार्वजनिकीकरण, सांस्कृतिक कार्यक्रम लगायतका महत्वपूर्ण गतिविधिहरु तय भएका छन् ।
सहकारी अभियानको सम्भवतः सबैभन्दा ठूलो पर्वका अवसरमा देशभर नै प्रारम्भिकदेखि केन्द्रीय निकायका साथै सरकारी सहकारी कार्यालयहरुले समेत ‘मर्यादित सहकारीः समुन्नत समाज’ को थिममा दिवसका कार्यक्रमहरुको आयोजना गरेका छन् ।
राष्ट्रिय सहकारी महासंघले चैत्र १ गते यस वर्षको सहकारी दिवसको थिम ‘मर्यादित सहकारीः समुन्नत समाज’ घोषणा गरेसँगै त्यसैलाई समग्र अभियानले आत्मसात् गर्दै सप्ताहव्यापी कार्यक्रमहरु आयोजना गरिरहेका छन् । बचत तथा ऋण सहकारीहरुको केन्द्रीय संघ नेफ्स्कूनले पनि देशभर रहेका आफ्ना कार्यालयहरुमा कार्यक्रम आयोजना गरेको छ ।
यस वर्षको सहकारी दिवसको पूर्वसन्ध्यामा सहकारी संघ संस्थाहरुले खेलकुद, मनोरञ्जनका साथै सामाजिक उत्तरदायित्वका विविध सृजनात्मक कार्यक्रमहरु आयोजना गरेका छन् भने केहीले सम्पन्न गरेका छन् । केहीले आगामी केही दिनसम्म कार्यक्रमहरु जारी राख्ने जनाएका छन् । ६८औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा रक्तदान, विचार गोष्ठी, अन्तरक्रिया, छलफल, हाजिरी जवाफ, निबन्ध, कविता, चित्रकला प्रतियोगिता, गोष्ठी, सरसफाई, प्रविधिमैत्री सेवाहरुको शुभारम्भ, वृक्षारोपण लगायत विविध प्रकृतिका कार्यक्रमहरु राखिएका छन् ।
२०१३ सालमा आजकै दिन चितवनको शारदानगरमा नेपालको पहिलो सहकारीका रुपमा बखान ऋण सहकारी समिति स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष यही दिन राष्ट्रिय सहकारी दिवस मनाउने प्रचलन छ । स्वर्गीय बखानसिंह गुरुङको संरक्षकत्वमा बखान ऋण सहकारी समिति गठन भएको थियो । सोही कारण गुरुङलाई नेपालको सहकारी अभियानको जन्मदाता तथा संस्थापकको रुपमा सम्मानभाव प्रकट गरिन्छ ।
९ घण्टा अगाडि
९ घण्टा अगाडि
१० घण्टा अगाडि
११ घण्टा अगाडि
११ घण्टा अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
३ दिन अगाडि
९ घण्टा अगाडि
९ घण्टा अगाडि
११ घण्टा अगाडि
१० घण्टा अगाडि
११ घण्टा अगाडि
३८ दिन अगाडि
३८ दिन अगाडि