काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि जारी निर्देशन तथा मापदण्ड, २०८१ को परिच्छेद ४ को तरलता सम्बन्धी व्यवस्था उपर संघको गम्भिर ध्यानाकर्षण भएको विषयमा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक/विकास सल्लाहकार युवराज खतिवडा समक्ष भेट गरी आवश्यक सहजीकरणका लागि अनुरोध गर्नुभएको छ । मंगलबार नेफ्स्कूनको पदाधिकारी र राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष मिनराज कंडेल सहित गएको टोलीले सरकारका आर्थिक/विकास सल्लाहकार खतिवडालाई भेटी अभियानको तर्फबाट प्राप्त सुझावका आधरमा तयार पारिएको संघको आधिकारिक धारणा समेत बुझाउनुभएको थियो ।
संघका अध्यक्ष ढकालले नेपालको समग्र बचत तथा ऋण सहकारी संघ संस्थाहरुबाट प्राप्त सुझावप्रति सामान्य छलफल समेत नगरि नेपाल राष्ट्र बैंकले एकतर्फी रुपमा तरल सम्पत्ती सम्बन्धी व्यवस्थापनमा संकुचित रही निर्देशन जारी गर्दा सहकारी अभियान आश्चर्य साथै दुःखीत भएको विषय खतिवडा समक्ष राख्नुभएको थियो ।
सदस्य संघ संस्थाको बचत सुरक्षाको प्रत्याभूति सहित संघले २०५३ सालदेखि सदस्य केन्द्रीत बचत तथा ऋणको कारोबार शुरु गरेको हो । सदस्य संघ संस्थाको आवश्यकता र मागलाई मध्यनजर गर्दै संघले करिब ३० बर्षदेखि सदस्यहरुबीच Central Finance Facilities Cum Interlanding (CFFI) कार्यक्रम अन्तर्गत केन्द्रीकृत तरलता व्यवस्थापनको काम गर्दै आइरहेको छ । बचत तथा ऋण सहकारी संस्थाहरुमा वास्तविक समयमा तरलता व्यवस्थापनको सिद्धान्त बमोजिम सुरु गरेको अन्तरलगानी कार्यक्रम अन्तर्गत करिब ४ हजार सहकारीको बचत परिचालित छ । सहकारीको विश्व अभ्यासलाई हेर्ने हो भने पनि जर्मनीको स्पार्कासन, जर्मनीको राइफाइसन, ब्राजिलको सिक्रेडी, कोरियाको नाकूफोक लगायतले केन्द्रीय संरचनालाई तरलता व्यवस्थापनमा जिम्मेवार बनाएको पाईन्छ । बचत तथा ऋण सहकारी अभियानको स्रोत अभियानले परिचालन गर्ने सिद्धान्त अनुरुप सुरक्षित पूँजी परिचालन र सुरक्षित तरलता व्यवस्थापनमा संघले आफ्ना गतिविधिहरु केन्द्रीत गरेको, लगायतका विविध विषयहरु छलफलका क्रममा अध्यक्ष ढकालले राख्नुभएको थियो ।
छलफलका क्रममा प्रधानमन्त्रीका आर्थिक/विकास सल्लाहकार खतिवडाले नेपाल राष्ट्र बैंकले सहकारी चिन्दैन, सहकारीका लागि निर्देशन र मापदण्ड सहकारी विभागले जारी गर्नुपर्ने विचार व्यक्त गर्नुभएको अध्यक्ष ढकालले साकोस आवाजलाई जानकारी गराउनुभयो । राष्ट्र बैंकले राष्ट्र बैंक ऐन संशोधनको स्प्रिटमा त्यो गरेको हो, त्यस ठाउँमा मै भएपनि गर्ने त्यही हो, तर सहकारी भित्र त्यो गर्नु हुन्थ्यो कि हुँदैन भन्ने कुरा फरक भएको उहाँको धारणा थियो ।
नेफ्स्कूनले तरलता राख्न नपाउने भन्ने हुनु हुँदैन तर नेफ्स्कूनसँग भएको तरलता सुरक्षित हुनुपर्छ भन्ने विषयलाई खतिवडाले जोड दिनुभएको थियो । निर्देशनमा आएको विषय कुनै कानूनी बल वा प्रभाव नभएको विषय हो, त्यसलाई तपाईंहरुले छाडेर अगाडि बढ्नुपर्छ भन्नेतर्फ खतिवडाले संकेत गर्नुभएको अध्यक्ष ढकालले जानकारी गराउनुभयो । अन्तमा, सहकारीको गन्तव्य सहकारी हो, राष्ट्र बैंक होइन । नेफ्स्कूनले गर्दै आएका नियमित काम निरन्तर गर्दै जान कुनै समस्या नहुने भनाई उहाँको रहेको अध्यक्ष ढकालले जानकारी गराउनुभयो ।
१६ घण्टा अगाडि
१७ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
१६ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
१४ दिन अगाडि