काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा एक्सेस कार्यक्रममा आबद्ध ६३ वटा सहकारी संस्थाहरूबीच कार्यकुशलता तथा सिकाइ व्यवस्थापन विषयक राष्ट्रिय कार्यशाला २०८२ वैशाख १९ र २० गते काठमाडौंमा सम्पन्न भएको छ। कार्यशालामा देशका विभिन्न स्थानबाट करिब १३० जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो। दुईदिने उक्त गोष्ठीमा सहकारी क्षेत्रका समसामयिक मुद्दा, नियामकीय अनुकूलन, प्राविधिक रूपान्तरण, र रणनीतिक मार्गचित्र निर्माणसम्बन्धी विविध पक्षमा गहिरो छलफल भएको थियो।
कार्यशालाको पहिलो सेसनमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सचिव तथा प्रवक्ता रबिन ढकालले सहकारी नियमनको भावी दिशा र सुपरिवेक्षण प्रणालीबारे जानकारी दिनुभयो। उहाँले सहकारी सुपरिवेक्षणलाई प्रभावकारी बनाउने प्रयासहरू, नियामकीय मार्गचित्र निर्माण र कार्यान्वयनमा प्राधिकरणको भूमिका तथा संस्थागत सुधारका प्राथमिकता क्षेत्रहरूबारे विस्तृत रूपमा चर्चा गर्नुभयो।
दोस्रो सेसनमा धितो मूल्याङ्कनसम्बन्धी जोखिम र त्यसका न्यूनीकरण उपायबारे भ्यालुयर्स एशोसिएसनका उपाध्यक्ष प्रज्ञानराज घिमिरेले प्रस्तुति दिनुभयो। उहाँले मूल्याङ्कनकर्ताको योग्यता, इजाजत प्रावधान, कानुनी दायरा, हितको टकराव र नैतिक सीमाहरूको व्याख्या गर्दै मूल्याङ्कनलाइ निष्पक्ष र सुरक्षित बनाउन भ्यालुयर्स र संस्थाहरुको के कस्तो भूमिका हुनुपर्ने विषयमा सहजिकरण गरिएको थियो ।
तेस्रो सेसनमा कमल देवकोटाले सहकारी संस्थामा IT अडिटको भूमिका, त्यसमाथि हुने लागत–लाभ विश्लेषण, तथा डिजिटल बैंकिङ सन्दर्भमा देखा पर्ने जोखिम र सुरक्षाका उपायहरूबारे प्राविधिक दृष्टिकोण प्रस्तुत गर्नुभयो। ITअडिटको तयारी, संरचना बुझ्ने क्षमताको आवश्यकता र मोबाइल बैंकिङमा हुने जोखिम व्यवस्थापनका उपायहरूबारे छलफल एवम् अन्तरक्रिया भएको थियो ।
पछिल्लो सेसनमा कर्जा सूचना केन्द्रका Chief of Information Systems शुभद्रश्री राजभण्डारीले कर्जा सूचना केन्द्रमा सहकारी संस्थाहरूको प्रविधिगत पहुँच, डाटा समायोजन, र प्रणालीमा जडान सम्बन्धी प्राविधिक पक्षहरूबारे जानकारी गराउनुभयो। उहाँले सहकारीहरूले कसरी आफ्नो आन्तरिक प्रणाली सुधार गर्दै कर्जा सूचना प्रणालीमा आवद्धता बढाउन सक्नेछन् भन्नेबारे चर्चा गर्नुभयो।
कार्यशालाको दोस्रो दिन नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले संघको सुपरिवेक्षण प्रणाली, फिट एण्ड प्रपर टेस्ट, र प्रुडेन्सियल स्ट्याण्डर्डहरूबारे प्रस्तुत गर्दै संघ र सदस्य सहकारी संस्थाहरूबीचको रणनीतिक सम्बन्धलाई स्पष्ट पार्नुभयो। उहाँले संघको रणनीतिक मार्गचित्रले सहकारीहरूलाई कसरी दिगो वित्तीय अनुशासन र सुशासनतर्फ लैजाँदैछ भन्नेबारेमा उदाहरणसहित व्याख्या गर्नुभयो।
वित्तिय सहकारीको रणनीतिक मार्गचित्रको बारेमा छलफल चलाउँदै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा विज्ञ नरबहादुर थापाले नेपालको वित्तीय सहकारी प्रणालीका लागि आवश्यक सातवटा रणनीतिक आयामहरू प्रस्तुत गर्नुभयो। ती आयामहरूमा संस्थागत सुशासन सुधार, जोखिममा आधारित विवेकशील नियमनको पालना, सम्पत्ति शुद्धीकरण निवारण (AML - CFT) को व्यवस्था, नयाँ नियामक संरचनासँग सहकार्य, रणनीतिक साझेदारी र सञ्जालीकरण प्रवर्द्धन, सुरक्षा जाल (Saftey Net) को विकास, र PEARLS प्रणालीमा आधारित स्तरीकरण कार्यक्रमको प्रभावकारी कार्यान्वयन समावेश छन्। उहाँले सहकारी प्रणालीले अब भावनात्मक भन्दा बढी संस्थागत, नीतिगत र प्राविधिक आधारमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रमको अन्तिम सेसनमा संघका सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकाल र वरिष्ट अधिकृत प्रेमनाथ वाग्लेले कार्यशालाबाट प्राप्त सिकाइ निष्कर्ष र आगामी कार्ययोजना प्रस्तुत गर्नुभयो। उनले नियामकीय अनुकूलन योजना निर्माण, गैर बैंकिङ सम्पत्तिको व्यवस्थापन सुधार, लेखा प्रणालीको पुनःम्यापिङ, रिपोर्टिङ ढाँचा विकास, उच्च खर्च र न्यून लाभ संरचनाको पुनरावलोकन, गैर आम्दानी सम्पत्तिको अनुपात सन्तुलन, र फिट एण्ड प्रपरु टेस्ट को पूर्ण पालना जस्ता सुझावहरू प्रस्तुत गर्नुभयो ।
समापन सत्रमा नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष तथा सदस्य सेवा व्यवस्थापन उपसमितिका संयोजक दामोदर अधिकारीले बदलिँदो नियामकीय र प्रविधिक सन्दर्भमा सहकारी संस्थाहरूले फरक ढाँचामा रणनीतिक अनुकूलन गर्न आवश्यक रहेको बताउँदै, संघले आवश्यक नीति, प्रविधि र क्षमता अभिवृद्धिमा निरन्तर सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यस कार्यशालाबाट एक्सेस कार्यक्रममा सहभागी संस्थाहरूबीच आपसी सिकाइ सञ्जाल बलियो बनाउनुका साथै नियामकीय तथा संस्थागत सुधारको साझा मार्गचित्र तय गर्ने विश्वास लिइएको छ।
२१ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
१५ दिन अगाडि
४ दिन अगाडि
२० दिन अगाडि
१७ दिन अगाडि
१६ दिन अगाडि