इटहरी । कोशी प्रदेशस्तरीय साकोस गोष्ठी सुनसरीको इटहरीमा विहिबार भव्य रुपमा सम्पन्न भएको छ । नेफ्स्कूनको आयोजनामा आइतबारे, इटहरीमा आयोजित गोष्ठीको उद्घाटन कोशी प्रदेश सरकारका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले गर्नुभएको थियो । अन्तर्राष्ट्रिय सहकारी वर्ष, २०२५ को सन्दर्भमा नेफ्स्कूनले साकोसहरुकमा वित्तीय सुशासन, जोखिम व्यवस्थापन र संस्थागत दिगोपनका लागि प्रदेशस्तरीय साकोस गोष्ठी आयोजना गरेको हो ।
नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आयोजित गोष्ठीमा राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेल, नेफ्स्कून पदाधिकारी, राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सचिव एवं प्रवक्ता रविन ढकाल, प्रदेश सहकारी रजिष्ट्रार हरि बहादुर खत्री, विराटनगर महानगरपालिकाका सहकारी शाखा प्रमुख चाँदनी राई, स्थानीय जनप्रतिनिधिहरु, नेफ्स्कूनका सञ्चालक समिति, लेखा समिति, प्रमुख कार्यकारी अधिकृत, प्रदेश बचत संघ, जिल्ला बचत संघका प्रतिनिधि लगायत विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट गरि २०४ जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन सत्र सञ्चालन संघका महासचिव घनश्याम अधिकारीले गर्नुभएको थियो भने स्वागत मन्तव्य संघका सञ्चालक लक्ष्मी सापकोटाले गर्नुभएको थियो ।
कार्यक्रम उद्घाटन सत्र सम्बोधन गर्दै कोशी प्रदेश सरकारका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले सहकारीमा भएको बचत अपचलनलाई व्यवस्थापन गर्न र गलत गतिविधिहरुलाई न्यूनीकरण गर्न सहकारी अनुगमनको पाटो सघन र तीब्र पार्नुपर्ने बताउनुभयो । उहाँले सहकारीका सदस्य र बचत कर्ताको विश्वासलाई कायम गर्न डाटावेस, सफ्टवेय अर्थात प्रविधिलाई विश्वसनीय र प्रभावकारी बनाउनुपर्ने र सहकारी अनुगमनमा विशेष जोड दिनुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “सहकारीको उद्देश्य के हो ? सहकारीको मूल्य सिद्धान्त के हो ? सहकारीले बचत उठाउने ऋण लगानी गर्ने उद्देश्यले मात्रै यो स्थापना भएको होइन । बचत र ऋण कारोबार सही ढंगले नहुँदा सातै प्रदेशमा सहकारीमा चुनौति रहेको छ, उहाँले भन्नुभयो ।” नेपाल सरकारको माथिल्लो ओहदामा पुग्ने व्यक्तिहरु समेत सहकारीका कारण जेलको कसट्डीमा उभिएको अवस्था छ, धरौटीमा छुटेको अवस्था छ, मुद्दा चलिरहेको छ । त्यसको असर समुदाय र आम नागरिकमा परेको उहाँले बताउनुभयो । अब हामीले सहकारीमा भएको बचत अपचलनलाई व्यवस्थापन गर्न, गलत गतिविधिहरुलाई न्यूनीकरण गरेर लान सबैले आ आफ्नो क्षेत्रबाट प्रभावकारी रुपमा काम गर्नुपर्छ । प्रदेशस्तरीय साकोस गोष्ठी जस्ता कार्यक्रहरुले पनि सहकारी सञ्चालनमा भएका अनियमितताहरुलाई चिर्न र सहकारीमा सुशासन कायम गर्न सहयोग पुग्छ, उहाँले भन्नुभयो । उहाँले सहकारीलाई उत्पादनशील क्षेत्रमा जोड्न सरकारको नीति र संरचनामा पनि उत्पादनशिलता प्रवद्र्धनलाई समेटेर जानुपर्ने बताउनुभयो ।
संघका अध्यक्ष चन्द्र प्रसाद ढकालले समग्र सहकारी अभियानमा बचत ऋण सहकारी संस्थाहरु सुशासनको अभ्यासमा चल्नुपर्नेमा जोड दिनुभयो । उहाँले बचत तथा ऋणको कारोबार गर्ने संस्थाहरुका लागि छुट्टै नियामकीय निकाय गठन भएको र नियामकीय निकायको भूमिका प्रभावकारी रहने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष रमेश पोखरेले सहकारीहरु सुशासनको अभ्यासमा हिड्नुपर्नेमा जोड दिनुभएको थियो । सहकारीमा स-साना समस्याहरु सँधै नै आइरहने हुन्छ, त्यसलाई नीतिगत रुपमा संम्बोधन गर्ने काम भईरहेको उहाँले बताउनुभयो । बचत ऋण सहकारीहरुले ऋण लगानीको प्रक्रियामा उत्पादनलाई बढी जोनदिन पनि आग्रह गर्नुभएको थियो । नेफ्स्कूनले आयोजना गरेको गोष्ठी अत्यन्त समयसान्दर्भिक रहेको र यसले सबै प्रदेशमा रहेका सहकारी संस्थाहरुमा एउटा उर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
रोङ गाउँपालिकाका अध्यक्ष मणि कुमार सुवासले हामीहरुले सहकारीलाई उत्पादनसँग जोडेको बताउँदै, रोङ गाउँपालिका भित्र सञ्चालित सहकारीको उत्पादन विश्व परिवेशमा समेत पुगेको बताउनुभयो । उहाँले भएका स्थानीय उत्पादनलाई यहींका संस्थाहरुले उपभोग गर्नेहो भने पर्यात्त बजारपनि यहीं सृजना हुने विचार राख्नुभएको थियो । अध्यक्ष सुवासले नेफ्स्कूनसँगको साझेदारी कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढेको पनि बताउनुभएको थियो ।
प्रदेश संघका अध्यक्ष हरि सुवेदीले जिल्ला संघ साझेदारी अभ्यासलाई अगाडि बढाउनुपर्ने विचार राख्दै नेफ्स्कूनसँगको सहकार्य र गाइडलाईनमा चल्न आफूहरु तयार रहेको विचार व्यक्त गर्नुभएको थियो । उहाँले संघले संस्थाहरुलाई सबलीकरण र सुदृढीकरण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यपत्र प्रस्तुतीकरण र कार्यपत्रमाथिको टिप्पणीका क्रममा पनि नियामकीय निकायका प्रतिनिधिहरुले आफ्ना विचारहरु राख्नुभएको थियो । त्यसैगरि कोशी प्रदेश, उद्योग कृषि तथा सहकारी मन्त्रालयका सहकारी महाशाखा प्रमुख पदम बहादुर ठकुराठीले समग्र सहकारी अभियान नीति सम्बत् रुपमा चल्नुपर्ने र सुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
मोरङ जिल्ला बचत संघका अध्यक्ष प्रेम प्रसाद कोइरालाले नेफ्स्कूनले जुन नयाँ संस्करण शुरु गरेको छ, त्यसमा हामी हातेमालो गरेर अगाडि बढ्न र प्रवर्द्धित अभ्यासको अनुशरण गर्न तयार रहेको बताउनुभयो ।
संघकी उपाध्यक्ष शान्ति अधिकारीले सहकारी अभियान सुदृढीकरण र कोशी प्रदेशले गरेको अभ्यासमा निकट रहेको विचार राख्दै सुशासनमा चलेका संस्थाहरुमा कुनै समस्या नहुने र आत्तिनुपनि नपर्ने बताउनुभयो ।
संघका लेखा सुपरिवेक्षण समितिका संयोजक इन्द्रराजज्योति पौडेलले समुदायमा आधारित संस्थाहरु अहिले पनि सुशासनको अभ्यासमा रहेको र बाह्य कुराहरुबाट विचलन हुनुनपर्ने विचार व्यक्त गर्नुभयो ।
एक दिवसीय गोष्ठीमा पहिलो सत्र, ‘साकोस अभियानको प्रवर्द्धन र हितका लागि आगामी कार्यदिशा’ विषयमा नेफ्स्कूनका सिईओ डा।शिवजी सापकोटाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी दोस्रो सत्रमा ‘सुशासन र आन्तरिक नियन्त्रण प्रणाली प्रवर्द्धनमा लेखा सुपरिवेक्षण समितिको भूमिका’का विषयमा चार्टर्ड एकाउण्टेन्ट् (सिए) राजन अधिकारीको प्रस्तुती रहेको थियो भने ‘बचत तथा ऋण सहकारीको संस्थागत विकासमा सरकार र अभियानको साझा सवाल’ विषयमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सचिव एवं प्रवक्ता रविन ढकालको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कोशी प्रदेश स्तरीय साकोस गोष्ठीले पाँच बुँदे सामुहिक साझा प्रतिबद्धता पत्र जाहेर गरेको छ । संघले कोशी प्रदेश भित्रका २०० जना सहकारी संघ/संस्थाहरुका सञ्चालक समिति एवम व्यवस्थापनको प्रतिनिधित्व सहित पाँच बुँदे साझा प्रतिबद्धता जारी गरेको हो । अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को बृहत लक्ष्य अनुरुप बचत तथा ऋण सहकारी संघ/संस्थामा सुशासन प्रवर्द्धन, नियामकीय सन्दर्भ र अभियानको आगामी मार्गचित्रका विषयमा विषयविज्ञहरुद्धारा प्रस्तुत कार्यपत्रहरु, विज्ञहरुबाट प्राप्त टिप्पणी र सहभागीहरु बीच साझा बुझाई निर्माण गरी संघ÷संस्थामा लागू गर्ने र अभियानमा एकाकार हुने प्रतिबद्धता सहित पाँच बुँदे साझा प्रतिवद्धता जारी गरेको छ ।
१. हामी हाम्रो संघ/संस्थाले अभियान मार्फत मर्गदर्शन गरिएका चरणवद्ध रणनीतिहरुलाई प्राप्त उपलब्धीहरुका आधारमा आगामी दिनहरुमा पनि अनुशरण गर्दै अघिबढ्न प्रतिवद्ध छौं ।
२. हामी हाम्रो संघ/संस्थाहरु भित्र आन्तरिक नियन्त्रण प्रणालीलाई सशक्त बनाउन जोखिम सुपरिवेक्षण गराई लेखा सुपरिवेक्षण समितिको भूमिकालाई सुपरिवेक्षकको रुपमा, आन्तरिक नियन्त्रकको रुपमा, आन्तरिक लेखा परीक्षण गर्ने गराउने अङ्गको रुपमा एवम् संगठनको समग्र मार्गदर्शकको रुपमा खेलेको भूमिकालाई थप प्रभावकारी बनाई संस्थागत सुशासन कायम राख्न प्रतिवद्ध छौं ।
३. हामी संघ/संस्थामा नेपालको बचत तथा ऋण सहकारीको प्रवर्द्धन, विकास व्यावसायिकीकरण, गुणस्तर विकास र सञ्जाल व्यवस्थापनको हरेक चरणहरुमा सहभागिता जनाउने र संघ मार्फत स्थानीय तहदेखि संघीय तहसम्म साकोसमैत्री कानुन निर्माण तथा परिपालनाको पहलकदमीमा ऐक्यवद्ध छौं ।
४. हामी हाम्रो संघ/संस्थाहरुको वित्तीय, सदस्यता, आन्तरिक सञ्चालन र सिकाई एवम बृद्धिका विषयमा अभियानले विकास गरेका स्तरीकरण कार्यक्रमहरु मार्फत साझा सञ्जालमा आबद्ध भई अद्यावधिक गराउन प्रतिबद्ध छौं ।
५. हामी साकोस अभियन्ताहरु संशोधित सहकारी ऐन बमोजिम गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरण, सहकारी विभाग, प्रदेश स्तरीय र स्थानीय तह अन्तर्गत रही सहकारी मुल्य, मान्यता र सहकारी सिद्धान्तहरु अंगिकार गर्दै समाज परिवर्तनमा भएका क्रियाकलापहरुको निरन्तरताका लागि संघ मार्फत आफ्नो भूमिका निर्वाह गर्न प्रतिबद्ध छौं ।
सदस्यहरु माझ एउटा दरिलो जनविश्वास र वित्तीय सुरक्षाको प्रत्याभूतिका लागि आर्थिक, सामाजिक र सांस्कृतिक उत्थानमा उल्लेखनीय योगदान पुर्याउने वचत तथा ऋण सहकारी संघ/संस्थाहरुको तर्फबाट हामी सम्पूर्ण सहभागीहरु माथि उल्लेखित बूँदाहरुलाई सामुहिक रुपमा लागु गर्न गराउन प्रतिबद्ध छौं ।
पाँच बुँदे साझा प्रतिबद्धता पत्र संघकी उपाध्यक्ष शान्ति अधिकारीले बाचन गरेपछि गोष्ठीका प्रतिनिधिहरुले सहमति जनाउँदै सामूहिक रुपमा लागु गर्न गराउन प्रतिबद्ध रहेको अभिव्यक्ति प्रकट गर्नुभएको थियो ।
७ घण्टा अगाडि
७ घण्टा अगाडि
८ घण्टा अगाडि
९ घण्टा अगाडि
९ घण्टा अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
३ दिन अगाडि
७ घण्टा अगाडि
७ घण्टा अगाडि
९ घण्टा अगाडि
८ घण्टा अगाडि
९ घण्टा अगाडि
३८ दिन अगाडि
३८ दिन अगाडि