स्थिरीकरण कोषको वार्षिक जोखिम व्यवस्थापन कार्यशाला बुटवलमा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थिरीकरण कोषको वार्षिक जोखिम व्यवस्थापन कार्यशाला बुटवलमा सम्पन्न 

बुटवल । बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषको वार्षिक जोखिम व्यवस्थापन कार्यशाला आज रुपन्देहीको वुटवलमा सम्पन्न भएको छ । नेफ्स्कूनकी सञ्चालक एवं कोष सञ्चालन समितिकी सदस्य ज्ञानु पौड्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्ण नेपाल, रुपन्देही जिल्ला बचत संघका अध्यक्ष बसन्त प्रसाद ढकाल, लुम्बिनी प्रोस्कूनका बरिष्ठ उपाध्यक्ष ऋषिराम सापकोटा लगायत कोषमा योगदान गर्ने बचत तथा ऋण सहकारी संघ संस्था साथै अन्य संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

विश्वव्यापी रुपमा रहेका ७ वटा जोखिमहरुका विषयवस्तु प्रस्तुतीकरण सहित कार्याशालाको सहजीकरण गर्दै नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले स्थिरीकरण कोष संस्थालाई जीवन्त राख्न सहयोग गर्ने कोषको रुपमा रहेको बताउनुभयो । नेफ्स्कूनले जोखिम सुपरिवेक्षण प्रमाणिकरणका कार्यक्रममा गएका संस्थाहरुको मासिक रुपमा तरलताको अवस्था कस्तो छ ? ती संस्थाहरुमा तरलता तोकिएको मापदण्डभन्दा घटि भएमा स्थिरीकरण कोषले तुरुन्तै तरलता सापटी दिने व्यवस्था कोष मार्फत गरिने जानकारी गराउनुभयो । 

कार्यक्रमको दोस्रो सत्रमा उपस्थित नेफ्स्कूनका अध्यक्ष एवं कोष सञ्चालन समितिका अध्यक्ष चन्द्र प्रसाद ढकालले बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष योगदान गर्ने सदस्य साकोसको कोषको रुपमा रहेको बताउनुभयो । बचत तथा ऋणको कारोबार गर्ने सहकारीमा कतिवेला कस्तो जोखिम आईपर्छ, त्यसको पूर्व अनुमान गर्न सकिँदैन, हरेक संस्थाले जोखिमबाट बच्न संस्थागत सवलता सँगै गुणस्तर सुधारमा ध्यानदिनुपर्छ, उहाँले भन्नुभयो, “जोखिममा परेको अवस्था, संस्थागत तरलतामा समस्या आएको अवस्थामा सहकारी संस्था सञ्चालनमा सहजता प्रदान गर्ने कोष भनेको स्थिरीकरण कोष हो, कोष बलियो भएमा मात्रै सदस्य संस्थाहरुलाई जोखिमबाट उन्मुक्ति दिन सकिने भएकोले सबैले कोषप्रति अपनत्व बोध गर्दै योगदान गर्नुहोस् ।”

सभाध्यक्ष एवं कोष सञ्चालन समितिकी सदस्य ज्ञानु पौड्यालले बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष जोखिम सुरक्षा कवजको रुपमा स्थापित भएको कोष हो, सबै बचत तथा ऋण सहकारी संस्थाले जोखिम कोषमा छुट्याएको रकम स्थिरीकरण कोषमा योगदान गरेर सुरक्षित रहन सबैमा अनुरोध गर्नुभयो । बचत तथा ऋण सहकारी संस्थालाई भविष्यमा पर्न सक्ने जोखिम र सो बाट संस्था र सदस्यमा पर्न सक्ने असरलाई न्यूनीकरण गरि संस्थालाई निरन्तर सञ्चालनमा सहयोग पुर्याउन कोषले सापटी स्वरुप सहयोग गर्ने व्यवस्था कोषमा रहेको र यसको प्रयोग समेत संस्थाहरुले गरिसकेको जानकारी गराउनुभयो ।  

लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्ण नेपालले सहकारी संस्थाहरुमा विद्यमान पछिल्लो अवस्था र भविष्यमा आउन सक्ने अवस्थाको विषय पनि त्यति सहज नदेखिएको, पछिल्लो समय बनेका नीति तथा कानुनले पनि सहकारी सञ्चालनमा असहजता सृजना गरेको बताउनुभयो । यसका वावजुत पनि हामीले सहकारी संस्थालाई सुरक्षित, बलियो र सुशासनयुक्त बनाउनुपर्ने आवश्यकता रहेको भन्दै भोलिको सहजताका लागि आजै स्थिरीकरण कोषको सबलताका लागि सोच्न सवैमा अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “हामी स्थिरीकरण कोषमा आबद्ध हुँदै जानुपर्छ, त्यसका लागि नीति तथा कार्यविधि पुनरावलोकन आवश्यक भएमा पनि त्यसलाई सच्याएर सबै संस्थाको सहभागिता सुनिश्चित गरौं ।”

त्यसैगरि रुपन्देही बचत संघका अध्यक्ष बसन्त प्रसाद ढकालले बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सुरक्षा कवजको रुपमा स्थिरीका कोष प्राप्त गर्नु आफैमा गर्वमा विषय रहेको वताउँदै वित्तीय कारोबार गर्ने संस्थाहरुमा वर्तमानमा मात्र नभई अगाडिका दिनहरु देखि जोखिम विद्यमान रहेको र भविष्यमा पनि जोखिम आइपर्न सक्ने हुँदा संकटबाट जोगाउन कोष उपयोगी हुने विचार व्यक्त गर्नुभयो । 


कार्यशालाको सञ्चालन संघका व्यवसाय अधिकृत पवनजंग मल्लले र व्यवस्थापन नेत्र प्रसाद सापकोटाले गर्नुभएको थियो । कार्यशालामा लुम्बिनी प्रदेश भित्रका विभिन्न जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापकहरु गरि ३६ जनाको सहभागिता रहेको थियो । 

कार्यक्रमको अन्तमा सहभागीको तर्फबाट आफ्ना विचार प्रस्तुत गर्दै पाल्पाको रामपुरस्थित अन्धकारमुक्ति साकोसका अध्यक्ष सागर देवकोटाले स्थिरीकरण कोष सम्बन्धी कार्यक्रम अत्यन्त प्रभावकारी रहेको बताउनुभयो । उहाँले सबै साकोसलाई कोषमा आबद्ध गराई साकोस अभियानलाई सुदृढ र सबल बनाउनको लागि लागिपर्नुपर्नेमा जोड दिनुभयो । 

२३ करोड ५६ लाखभन्दा बढी योगदान जम्मा भएको कोषमा हालसम्म नेफ्स्कूनसहित ६ संघहरु तथा ३ सय १४ प्रारम्भिक संस्थाहरु गरी कूल ३ सय २० संघ संस्थाहरुबाट योगदान भएको छ । सहकारी ऐन, २०७४ को प्रावधान अनुरुप २०७९ साल जेठ २७ गतेबाट कोष विधिवत् रुपमा पूर्ण सञ्चालनमा आएको हो । सहकारी संस्थामा उत्पन्न हुनसक्ने संकटमा वित्तीय सहयोग जुटाई सम्भावित जोखिमबाट जोगाउन सवल संस्थाहरु एकआपसमा मिली कोष स्थापना गर्ने सम्बन्धमा सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ ले कानुनी व्यवस्था गरेको छ ।

कोष सञ्चालन समितिमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफस्कून) का अध्यक्ष र कार्यकारी प्रमुख क्रमशः समितिको अध्यक्ष र सदस्य–सचिव रहने कानूनी व्यवस्था छ भने सञ्चालन समितिको सदस्यहरुमा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, सहकारी विभाग, राष्ट्रिय सहकारी नियमन प्राधिकरण, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंकका प्रतिनिधिका साथै कोषमा सहभागी सहकारी संस्थाका अध्यक्ष मध्येबाट कोष सञ्चालन समितिले मनोनयन गरेका कम्तीमा एक महिला सहित दुई जना सदस्य रहने व्यवस्था छ । सोही बमोजिम नै कोष संचालनमा रहेको छ ।


 

भर्खरै
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

७ घण्टा अगाडि

अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न

७ घण्टा अगाडि

इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

७ घण्टा अगाडि

शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न
शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न

८ घण्टा अगाडि

जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न
जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न

९ घण्टा अगाडि

सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान  अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 
सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 

१ दिन अगाडि

साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता
साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता

१ दिन अगाडि

सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न
सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न

१ दिन अगाडि

पाठकबाट थप