‘गणित र अङ्ग्रेजी पढ्न मन लाग्दैनथ्यो’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘गणित र अङ्ग्रेजी पढ्न मन लाग्दैनथ्यो’

(विक्रम सम्वत् २०२० सालमा काभ्रेपलाञ्चोक जिल्लाको कानपुर गा.वि.स–१ (हाल नमोबुद्ध नगरपालिका–५) मा आमा रेवती मैनाली र पिता केदारनाथ मैनालीका १२ मध्ये सातौं सन्तानका रुपमा जन्मनुभएका गोपीनाथ मैनाली नेपालको सार्वजनिक प्रशासन क्षेत्रमा सुपरिचित नाम हो । एम.ए.(अर्थशास्त्र), एम पी. ए (त्रि वि), एम. पी. ए (पू वि), वि.एल, बीबीए, बीएड का साथै वित्तीय व्यवस्थापनमा नेदरल्याण्ड्स र अन्तर्राष्ट्रिय कर विषयमा जापानबाट डिप्लोमासहितको फराकिलो शैक्षिक योग्यता हासिल गर्नुभएका उहाँको विगत भने कष्टपूर्ण बित्यो । संघर्षको दरिलो जगमा उभिएको उहाँको परिवारले ‘एकै परिवारका ४ दाजुभाइ’ (उहाँसँगै दाजु उमेश प्रसाद मैनाली, दाजु श्याम प्रसाद मैनाली र काका शशीकान्त मैनाली) नेपाल सरकारको सचिव बन्ने पहिलो र ऐतिहासिक सफलता समेत हासिल गरेको छ । मैनालीले संविधान निर्माणपछिको पहिलो निर्वाचन सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्नुभयो भने बार्हौं, तेर्हौ र चौधौं योजना तर्जुमाको थिमेटिक समूह सदस्य बनेर काम गर्नुभयो । शिक्षा सचिव मैनालीले विगतमा महालेखा नियन्त्रक, सहकारी सचिव, प्रधानमन्त्री तथा मन्त्रि परिषद् कार्यालयको सचिव, निर्वाचन आयोगको सचिव, सँगै विभिन्न मन्त्रालयको लामो अनुभव हासिल गरिसक्नुभएको छ । राष्ट्र विकासका लागि सहकारीको अपरिहार्यताका वकालतकर्ता उहाँ यस क्षेत्रप्रति अगाध आस्था, विश्वास र अपेक्षा राख्नुहुन्छ । 

मैनालीको साहित्यिक जीवन पनि कम आलोकित छैन । साहित्यसँगै विकास, व्यवस्थापन र अन्य सामयिक विषयमा मैनालीले ९ वटा पुस्तक लेखिसक्नुभएको छ भने फुटकर लेखरचना थुप्रै पत्रपत्रिका र अनलाइनमा प्रकाशित भैरहन्छन् । सुप्रवल जनसेवाश्री (२०७५), नेपाल सरकारबाट २०७६।७७ को राष्ट्रिय प्रतिभा (बाग्मती प्रदेश) पुरस्कार तथा सम्मान, नित्यराज प्रज्ञा प्रतिष्ठानबाट २०७६ का लागि महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार र सम्मान, राष्ट्रसंघीय प्रणालीबाट विशेष प्रशंसा (सन् २०१३), नेपाल बचत तथा ऋण सहकारी केद्रीय संघ (नेफ्स्कून) बाट सहकारी क्षेत्रमा गरेको योगदानका लागि सम्मान (२०७६), म्याग्दी सहकारीबाट सहकारी क्षेत्रमा गरेको योगदानका लागि कदर पत्र (२०७६),काभ्रे सेवा समाज,मैनाली समाज नेपालबाट सम्मानित (२०७४) मैनालीका विषयमा अमिता चन्दले त्रिभुवन विश्व विद्यालयबाट शोध लेखन समेत गर्नुभएको छ । एशिया, यूरोप, अमेरिका र अष्ट्रेलिया महादेशका ३० मुलुकहरु भ्रमण गरिसक्नुभएका उहाँका श्रीमती कमला मैनाली र छोराहरु शुभम तथा सुव्रत हुनुहुन्छ । सचिव मैनालीसँग उहाँको व्यक्तिगत जीवन संघर्षसँगै सहकारी र अन्य क्षेत्र समेटेर गरिएको बिस्तृत अन्तर्वार्ता प्रस्तुत गरिएको छ ।  -सम्पादक)

तपाईको बाल्यावस्था कस्तो रह्यो ? स्वभाव, परिवारको आर्थिक स्थिति र पारिवारिक सम्बन्धका आयाम कस्ता थिए ?
मेरो बाल्यकाल सामान्य अवस्थामा बित्यो । आमा बुबाका १२ सन्तानमध्ये म सातौं । हामी धेरै  दाजुभाइ र दिदीबहिनीहरु भएका कारण साथी संगतिको आवश्यकता घरैबाट पूरा हुन्थ्यो । प्राकृतिक रुपमा मनोरम काभ्रेपलाञ्चोकको कान्पुर गाउँ मेरो जन्मस्थान हो । रोशी मेरा आमाबुवाले खेती किसानी गर्ने ठाउँ, बाल्यवस्था रोशीखोला र यसैको आसपासमा खेलेँ । रोशी खोलादेखि कान्पुरसम्मको ठाडो उकालो, उवडाखवड भूधरातल, भीरपाखा र बुट्यान जङ्गल । यिनै प्राकृतिक अवयवसँग खेल्दै संघर्ष गर्दै हुर्किए । 

संघर्ष मेरा जीवनका लुकेका शक्ति थिए भन्ने अनुभव गरिरहेको छु । अफसोच, म अधिकृत हुने वित्तिकै आमा खस्नु भयो, क्यान्सरबाट । पछि क्यान्सरबाट बुवा पनि खस्नु भयो । हामी दाजुभाइ सवै भिन्ना भएर आआफ्नै कर्ममा रह्यौं । तर दाजुभाइसँग बस्न पाउदा कति आनन्द आँउछ । परिस्थितिले अलग भएपनि, भावनामा साथ छौं । 

आर्थिक अवस्था पहिला ठीकै थियो । पहाडमा पाखो, खेत र बारीमा परिश्रम गरे उब्जनी हुने हो । परिश्रम र पसीनाले हामीलाई सबैथोक पुग्थ्यो । तर पछि स्थिति बिग्रदै गयो । हाम्रो खेतहरु लुटियो । खान, बस्न मात्र होइन बाँच्न पनि न्याय पाइएन । लामो समयसम्म प्रहरी प्रशासनले पनि न्याय दिएन, समाजले डरका सामु बोल्न सकेन । दुःखका ती दिन सम्झदा अहिले पनि आङ सिरिङ्ग हुन्छ । 

म सानैदेखि भावुक स्वभावको थिए भन्ने अहिले महसुस गर्छु । आमा, भाइ बहिनीलाई अलि धेरै माया गर्थे । आमाले धेरै माया गर्नुहुन्थ्यो । घाँसदाउरा, डोकोनाम्लो बोकेर चाउरिपरेका अनुहारले धेरै पसिना र आसुँ बगायो । कतिपटक त आमाको दुःख सम्झेर कसैले पनि थाहा नपाउने गरी पाखामा लुकेर, घर पछाडि गएर रोएको छु । रोइसकेपछि मन शान्त हुने रहेछ । यो कुरा अहिलेसम्म कसैलाई भनेको छैन । हाम्रो खेत लुट्न आउने मानिसहरु देखेपछि डर, क्रोध र बदलाको भावना जाग्थ्यो । तर हामी सानाबच्चा केही गर्न सक्दैन्थ्यौं । एकदिन प्रमुख जिल्ला अधिकारी (सिडिओ), स्थानीय विकास अधिकारी (एलडिओ) बनेर ठीक गर्छु भन्ने मनमा थियो । आमालाई भन्ने पनि गर्थे । तर जब म ती पदमा पुगेँ, आमा पनि रहनु भएन, हामीलाई दुःख दिने, लुट्ने पिट्नेलाई बदला लिन पनि मन लागेन । बरु पछि हामीलाई दुःख दिएको भनेर माओवादीले उनीहरुलाई भौतिक कारबाही गरेछन् । 

सानोमा पढ्ने औधी इच्छा थियो । तर गाउँमा बुवाले खोल्नु भएको स्कूलले ६ कक्षासम्मको स्वीकृति पाएकोले सात कक्षा पढ्न पाइन । घरमा झण्डै छ महिना रोएर बसे, कतिपय दिन खाना खाइनँ । विमला भाउजुले फकाउदै माइतीबाट ल्याएको कोसेली दिनु हुन्थ्यो । आमा देखेपछि पढ्न पठाउन अनुरोध गर्दै झनै रुन्थेँ । बुवा आएपछि डराएर लुक्थेँ । छ महिना यो क्रम रह्यो, पछि दैनिक आउन जान गरीआठ माइल टाढा सस्र्युखर्क जनचेतना निमाविमा भर्ना हुन पाएँ । बाटोमा बाघ आउने डरले दौडिन्थेँ । ६ महिना पढे पनि दोस्रो भएँ । त्यसपछि आठ कक्षाबाट दाजुहरुसँग काठमाडौं आएर पढ्न थालेँ । संघर्षको अर्कै कथा शुरु गरेँ । तर ती संघर्ष मेरा जीवनका लुकेका शक्ति थिए भन्ने अनुभव गरिरहेको छु । अफसोच, म अधिकृत हुने वित्तिकै आमा खस्नु भयो, क्यान्सरबाट । पछि क्यान्सरबाट बुवा पनि खस्नु भयो । हामी दाजुभाइ सवै अलग भएर आ–आफ्नो कर्ममा रह्यौं । तर दाजुभाइसँग बस्न पाउदा अपार आनन्द आँउछ । परिस्थितिले अलग भएपनि, भावनामा सन्निकट छौं । 

शिक्षाप्रति परिवारको सोच, विद्यालय, बालसखाहरु, शिक्षक, पढाइप्रतिको रुचि र लगाव कस्तो रह्यो ? सजिलो असजिलो विषयहरु के रहे ?
हजुरबुवा एकदमै धार्मिक र दयालु व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ धर्मकर्म र पढाइमा हाम्रो प्रगति होस् भन्ने चाहनुहुन्थ्यो । बुवाले पढाइमा धेरै वास्ता गर्नु भएन । पढिहाल्छन् भन्ने सोच राख्नुहुन्थ्यो । आमालाई हामीले धेरै पढे हुन्थ्यो भन्ने धोको थियो । त्यसैले आमा धेरै दुःख गर्नुहुन्थ्यो । दाजुहरु एकजना हुर्किदै अर्को भाइलाई पढाइमा सहयोग गर्दै हामी यहाँसम्म आइपुग्यौं । 

संघर्ष र स्वाभिमानमा रमाएँ, अरु धेरे विदेश गए, पढे । पुरस्कार र तक्मा पटकपटक पाए । मेरो भागमा पाखा पखेरा, हिमाल तराई पहाड सबैतिरको जीवनशैली, दुःखसुख र सँस्कार सँंस्कृति बुझ्ने पर्यो । यो अनुभव र अनुभूतिले राष्ट्रसेवा गर्ने भावना झनै गहन भयो । त्यही अनुभूति र जीवन सँस्कृति उठाएर साहित्य पनि लेखेँ, नीति कार्यक्रम कानून बनाउदा पनि दुर्गम र दुःखीका भावना समेट्न सकेँ । यसबाट सन्तुष्ट छु । जागीरमा हुक र ज्याक लगाउने कोही भएनन्, सहयोग गर्ने भएनन्, त्यसबाट झनै सन्तुष्ट छु । किनकि संघर्षको उपलब्धिमा आत्मविश्वास, आत्मगौरव र आर्जित स्वायत्तता अनुभव हुँदो रहेछ ।
गाउँमा विद्यालय नहुनु ठूलो समस्या थियो । बुवाले मिहेनत गरेर खोल्नु भएको कान्पुर निमावि हाम्रो आँखा देखाउने ज्योति थियो । साथीहरु निस्वार्थ, अञ्जान र मिहेनती थिए । अहिले पनि ती साथी सम्झिदाँ मन खुसी हुन्छ । गाउँको दुःखले ती साथी मभन्दा धेरै उमेर खाएका जस्ता देखिइसके । साथीहरुसँग रोशीमा पौडी, वनमा तामाङसेलो गीत, कालिका मन्दिरको सत्तलमा गुच्चा खेल, पातलको चौरमा डण्डीवियो, विद्यालयमा कपर्दी खेल्दाका सम्झना स्मृतिपटलमा अझै ताजै छ । 

पढाइमा रुचि त थियो, तर अंग्रेजी र गणित पढ्न त्यति मन लाग्दैनथ्यो । हेडसर जनार्दन नेपाल (पछि सचिव हुनुभयो) हाम्रै घरमा बस्नुहुन्थो, तर घरमा उहाँसँंग सिक्नभन्दा खेल्न मन लाग्थ्यो । अरु सरमा उमेश दाजु (हाल लोकसेवा आयोग अध्यक्ष), श्याम दाजु (पूर्व सचिव) सँग सिक्न डराउथेँ । पछि रोहितकमार न्यौपाने सरले पूर्व व्यावसायिकमा खाना बनाउन, रुमाल सिउन आदि व्यावहारिक शिक्षा दिनु भयो । असजिला विषय पढ्न मन जादैनथ्यो र जबरजस्ती गर्थे । त्यसैले गणित र अंग्रेजी कमजोर रह्यो । 

युवावस्थाको रुचि, पढाइ र अध्ययनशैली कस्तो थियो ?
कक्षा आठ पढ्न काठमार्डौमा आएपछि पढाइ, जटिलता र भीडभाडमा प्रवेश गरेँ । पढाइमा रुचि, प्रतिस्पर्धाको भावना, कथा, कविता, निबन्ध, हाजिरी जवाफ जस्ता अतिरिक्त विषयको चाहना बढ्दै गयो । पढाइ र जागीर संघर्ष र मनोरञ्जन दुबै भए । प्रवेशिका पछि त केही समय शिक्षक भै उमेरपुगेपछि निजामती सेवामा प्रवेश गरेँ । योग्यता अनुरुप जागिरको तह पनि बढ्दै गयो । तर पढ्दा एक विषयमा कहिले चित्त बुझाइन । मेरा साथीहरु विज्ञान पढेर डाक्टर, इञ्जिनियर बन्न लागे । आर्थिक अवस्थाले जागिर खाँदै पढ्नुपर्ने बाध्यताका बीच चाहना अनुरुप पढ्न सम्भव थिएन । फेरि भाइबहिनी पनि पढाउनुपर्ने । फिजिक्सको प्रोफेसर बन्न पाए हुन्थ्यो भन्ने भयो, त्यो पनि जागिर खादै पढ्न सम्भव भएन । कलाकार बन्न मन लाग्यो, संगीत लिएर पढे, तर आइएमा संगीतमै व्याक लाग्यो । संगीतले पनि साथ दिएन, डेरामा संगीतको रियाज गर्न समय पनि थिएन, घरबेटीले पनि राग गाउँदा झर्को मान्ने भए । अर्को कोठामा बस्नेले त झनै सहदैनथे । त्यसपछि साहित्य र निजामती सेवा साथै लाने निधो गरेँ । तर वृत्तिभारले थिच्यो, साहित्य कम, निजामती सेवामा बढी लागेँ । स्नातकमा एकैचोटी दुई विषय बीए र बीबीए पढेँ । दुवै पास भएँ । मेरो कक्षामा पढ्ने साथीहरु भन्दा छिटो एमए गरौ, अधिकृत बनौं भन्ने थियो । त्यो स्वप्रेरणाले पढेँ र सम्भव पनि भयो । मेरो व्याचको पहिलो अधिकृत, उपसचिव, सहसचिव र सचिव सबै म नै भएँ ।  

निजामती सेवाप्रतिको लगाव कसरी बस्यो ? सेवा प्रवेश कहिले र कसरी भयो ? त्यस बखतका तीतामिठा अनुभव केही स्मरण गर्न चाहनुहुन्छ ?
निजामती सेवा मेरो रहर, बाध्यता र वृत्ति हो । सानो हुँदा काका शशीकान्त मैनाली, दाजुहरु केशव, श्याम र उमेश निजामती सेवामा हुनुहुन्थ्यो । उहाँहरुका साथी पनि कर्मचारी नै हुन्थे । चिया, खाजा बनाएर दाजु, काकाका साथीहरुलाई दिन्थे । उहाँहरुको कुराकानी, पढाइ सबै अफिस र जागिरका हुन्थ्यो । उमेर पुगेपछि मैले पनि त्यतै लाग्नुपर्ने हो भन्ने थियो । काका आवाज निकालेर पढ्नुहुन्थ्यो, जसले गर्दा मलाई हाइस्कुलमा पढ्दा नै सामान्य ज्ञान, कानून र व्यवस्थापनका केही कुरामा जानकारी भैसकेको थियो । जब जाँच दिन योग्य भए, प्रतिस्पर्धामा जाँच दिएँ । लोकसेवाबाट खरिदार, मुखिया र विद्युत प्राधिकरण, दुग्ध विकास संस्थानमा सहायक पास भएँ । खरिदारमा नियुक्ति लिएँ । सञ्चारमा पठाइयो । रेडियो नेपालमा एकसिट खाली थियो, मलाई दिइएन, सञ्चारमन्त्री फत्तेसिंह थारुका आफन्तलाई त्यहाँ पठाइयो र मलाई हुलाकमा । रेडियो नेपालमा गएर स्वर परीक्षा पास हुने र गायक बन्ने इच्छा थियो, जुन अपूरै रह्यो । हुलाकमा रमाएर मेल सेन्टरमा काम गर्थे । केही महिनापछि दरवार निकट मानिस पोष्ट मास्टरले भनेजसरी गलत काम गर्न नमान्दा, चाकरी नगर्दा धेरै दुःख दिए । मलाई काठमाडौंबाट पोखरा, पोखराबाट कपिलवस्तु सरुवा गरियो । पछि श्याम दाजुले काठमाडौं स्थलरुप नापी महाशाखामा सरुवा गरिदिनु भयो । त्यसपछि पढाइ र जागीरलाई साथै लगेँ । नासु एकै विज्ञापनमा पोखरा र काठमार्डौबाट जाँच दिएँ, पास गरेँ । काठमाडौमा, हवाई विभाग, त्रिभुवन विमानस्थलको भीभीआइपी लाउन्जमा पोष्टिङ भयो । सार्क सम्मेलन आउँदै थियो । दिनरात खटेर काम गरे । तयारी हेर्न र रिहर्सलका लागि राजा बिरेन्द्र नै आए । मन्त्री, प्रधानमन्त्री, परराष्ट मन्त्री सचिव, प्रधान सेनापति, प्रहरी महानिरिक्षक, सचिव सबैको वैठक भयो । राजाले तत्कालीन विभागीय मन्त्रीलाई गालीजस्ता केही शव्द बोले, मैले सुनेँ । ठूलालाई गरेको गाली सुन्दा म धेरै पेलिएँ । बिना कसूर धेरै गाली गरे, उपसचिव नगेन्द्र घिमिरेले पनि मन्त्रीको पक्ष लागेर मलाई पेले, जागीर राजीनामा दिएँ । म फेरि त्यहा फर्केर गइनँ । महानिर्देशक ललितविक्रम शाहले धेरै फकाउनु भयो, राजीनामा स्वीकृत गर्दिन आउ भन्नु भयो, तर मेरो आत्मसम्मानले जान मानेन । राजीनामा स्वीकृत भयो । 

सहकारी मन्त्रालयको सचिवका रुपमा २१ महिना रहँदा सहकारी अभियानलाई नेपालको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको अभियान बनाउन खुवै लाग्यौँ । परिवर्तित सन्दर्भ अनुरुपको सहकारी ऐन, २०७४ ल्यार्यौ । सहकारी अभियान र मन्त्रालयबीचको सम्बन्धलाई हार्दिक बनाउन भूमिका खेलेँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समिति बनाइ ११ वटा समस्याग्रस्त सहकारीलाई व्यवस्थापन गर्ने काम गरियो । सहकारी ऐनलाई कार्यान्वयन गर्ने सहकारी नियमावली, २०७५ तर्जुमामा विशेष सक्रिय रहेँ । सहकारी नियमन व्यवस्था, सहकारी र सम्पत्ति शुद्धीकरण निवारण, सहकारी सूचना व्यवस्थापन प्रणाली स्थापनामा पनि काम गरेँ । सहकारी प्रवर्धन कोष स्थापना, सहकारीको लेखाखाता सूची, लेखामान, सहकारी पाठ्यक्रम समितिमा काम गरेँ ।

तर मैले प्रहरी निरिक्षक, प्रशासन सेवाको शाखा अधिकृत र परराष्ट्र समूहको शाखा अधिकृत जाँच दिएको थिए । सबैतिर पास भएँ । अन्तर्वार्तामा प्रशासन रोजी शाखा अधिकृत भएँ । जागीरबिना बस्नु परेन । तर यसबीच धेरै पीडा सहनु पर्यो । गाउँले केटो टेक्ने समाउने ठाउँ थिएन, स्वाभिमान थियो, चाकरी चाप्लुसी गरिँन । दुःख हण्डर पाएँ । अधिकृत पछि पनि विभिन्न जिल्लामा परियो । जहाँ सरुवा नहोस् भन्ने चाहना राख्थेँ, त्यही सरुवा हुन्थ्यो । उपसचिवमा त्यस्तै भयो, सहसचिवमा पनि त्यस्तै भयो । सचिवमा त्यस्तै भयो । नियतिको खेल यस्तै हो भन्ने सम्झेँ, काम नै कर्मचारीको आचरण हो भन्ने सम्झेँ । जहाँजहाँ पदस्थापन भयो, काममै रमाएँ । केही सुधारको काम पनि गरेको छु जस्तो लाग्छ । अरुले कसरी हेरेका छन्, तर निरन्तर राष्ट्रसेवा गर्न र निजामती सेवाको छवि सुधार्न लागेँ जस्तो लाग्छ । संघर्ष र स्वाभिमानमा रमाएँ, अरु धेरे विदेश गए, पढे । पुरस्कार र तक्मा पटकपटक पाए । मेरो भागमा पाखा पखेरा, हिमाल तराई पहाड सबैतिरको जीवनशैली, दुःखसुख र सँस्कार सँंस्कृति बुझ्ने पर्यो । यो अनुभव र अनुभूतिले राष्ट्रसेवा गर्ने भावना झनै गहन भयो । त्यही अनुभूति र जीवन सँस्कृति उठाएर साहित्य पनि लेखेँ, नीति कार्यक्रम कानून बनाउदा पनि दुर्गम र दुःखीका भावना समेट्न सकेँ । यसबाट सन्तुष्ट छु । जागीरमा हुक र ज्याक लगाउने कोही भएनन्, सहयोग गर्ने भएनन्, त्यसबाट झनै सन्तुष्ट छु । किनकि संघर्षको उपलब्धिमा आत्मविश्वास, आत्मगौरव र आर्जित स्वायत्तता अनुभव हुँदो रहेछ ।
 
सहकारी क्षेत्रसँग कहिले र कसरी जोडिनुभयो ? सहकारी सचिव रहँदा भएका केही उल्लेख्य कामहरु के लाग्छ ?
सानैमा साझा पत्रिकाहरुमा साझा अभियानका बारेमा पढ्थेँ । पञ्चायतमा सहकारीलाई साझा अभियानका रुपमा बुझिन्थ्यो । त्यो पञ्चायतको आर्थिक दर्शन पनि थियो । जव म अर्थशास्त्रमा एम ए पढ्न लागेँ, एक विषय कोअपरेटिभ इकोनोमी पढेँ । मेरो शोधपत्र नै इलाम बरबोटेको सहकारी अभियान थियो । मुलुकमा प्रजातन्त्र आएपछि उदारीकरणको नीति अवलम्बन पछि  सहकारीलाई महत्व दिइयो । सहकारी बोर्ड स्थापना, सहकारी ऐन, २०४८ कार्यान्वयन भयो । पछि मैनाली परिवारहरु मिलेर शुभकालिका सहकारी पनि खोलियो । राष्ट्रिय योजना आयोगमा रहँदा पनि सहकारीलाई राष्ट्रिय योजनामा कस्तो स्थान दिने र कति भूमिका खेल्न सक्छ भन्ने विषयमा तेर्हौं र चौधौं योजनामा केही काम गरियो । त्यसैले सहकारीका विषयमा थोरै जानकार नै थिएँ । पछि आफूनै सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवको रुपमा पदस्थापन भएपछि सहकारी ऐन, २०७४ लाई अन्तिम रुप दिन र नेपालको संविधानले निर्दिष्ट गरेको भूमिका सहकारी कानूनमा समावेश गर्न सक्रिय रहेँ । सहकारी महासंघका तत्कालीन पदाधिकारी र नेफ्स्कून, कृषि, बहुद्देश्यीय लगायत विषयगत सहकारी केन्द्रीय संघका पदाधिकारी, सहकारी अभियन्तासँग सहकार्य गरेँ । 

म सहकारी मन्त्रालयको सचिवका रुपमा २१ महिना रहँदा सहकारी अभियानलाई नेपालको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको अभियान बनाउन खुवै लाग्यौं । परिवर्तित सन्दर्भ अनुरुपको सहकारी ऐन, २०७४ ल्यायौं । सहकारी अभियान र मन्त्रालयबीचको सम्बन्धलाई हार्दिक बनाउन भूमिका खेलेँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समिति बनाइ ११ वटा समस्याग्रस्त सहकारीलाई व्यवस्थापन गर्ने काम गरियो । सहकारी ऐनलाई कार्यान्वयन गर्ने सहकारी नियमावली, २०७५ तर्जुमामा विशेष सक्रिय रहेँ । सहकारी नियमन व्यवस्था, सहकारी र सम्पत्ति शुद्धीकरण निवारण, सहकारी सूचना व्यवस्थापन प्रणाली स्थापनामा पनि काम गरेँ । सहकारी प्रवर्धन कोष स्थापना, सहकारीको लेखाखाता सूची, लेखामान, सहकारी पाठ्यक्रम समितिमा काम गरेँ । झण्डै मर्न लागेको साझा प्रकाशन (सहकारी संस्था) लाई बचाइयो । सहकारीलाई तहगत सरकारमा हस्तान्तरण, सहकारी दिग्दर्शन र नमूना कानून जारी गरी संघीयता कार्यान्वयनको पहिला क्षेत्र सहकारी बनाइयो । स्थानीय तह र प्रदेश सरकारसँग अन्तरक्रिया र अभिमुखीकरण गरी सम्बद्ध सहकारीका संस्था, व्यवस्थापन, सम्पत्ति र कार्यक्रम हस्तान्तरण गरेँ । सहकारी कंग्रेस देखि साकोस भेलासम्म, धनगढीदेखि झापासम्म करिव पचासवटा जति ठूला कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेँ र सहकारीका सवैजसो अभियानकर्मीसंग उठबस गरेँ । सहकारी क्षेत्रमा राम्रो गर्ने संस्था, व्यक्ति, विचारकलाई सम्मान र पुरस्कार दिने काम मेरै पहलमा भएको थियो । अब यी काम संस्थागत हुन लागेकोमा खुसी छु । 

म सचिव भएको समयमा सहकारी अभियानका राष्ट्रिय व्यक्तिहरु मन्त्रालयमा जानु हुन्न र मन्त्रालयका सचिव र मन्त्री सहकारी महासंघ/ संघमा जान हुन्न भन्ने भावना विकास हुँदै थियो । मैले त्यो तत्काल तोडेँ । राष्ट्र निर्माण, संस्था विकास र सामूहिक विषयमा व्यक्तिका आग्रहले अर्थ राख्नु हुन्न । सहकारी त झनै नमूना संस्था बन्नुपर्छ । यसले उदाहरण देखाउनु पर्छ, सरकारी संरचनाले सहकारी अभियानलाई सहयोग, प्रोत्साहन र सहुलियत गर्नुपर्छ । अभिभावकत्व दिनुपर्छ । बाटो बिराउन दिनु हुँदैन । कर्मचारीतन्त्र बाधक भयो भन्ने लाग्नु पनि अभियान विकासमा बाधक हो ।

सहकारी बजार प्रणालीमार्फत गरिबी निवारणको काम शुरु गरेँ । तर त्यो संस्थागत हुन सकेको छैन । केही क्षेत्रमा विशिष्टीकृत सहकारी स्थापना गरी यस क्षेत्रको काँचुली फेर्न सकिन्छ भनेर अभियानसँग लागेँ, त्यो पूरा भएको छैन । स्थिरीकरण कोष, कर्जा सूचना केन्द्र, न्यायाधिकरण, सहकारी स्वनियमन प्रणाली स्थापनाको काम शुरु भए पनि म सचिव हुँदा पूरा गर्न सकिएन, अहिले यो अल्मलिएला कि जस्तो सुन्दैछु । तर आशा गरौं राम्रो हुन्छ । पुराना साझाको सम्पत्ति खोजी र व्यवस्थापनको काम पनि पूरा भएको छैन । तहगत सरकारको क्षमता विकास गरी सहकारी नियमन, प्रशासन र प्रवर्धन गर्ने काम बाँकी छ । 

नेपालको सहकारी अभियानको हालको अवस्था विश्लेषण कसरी गर्नुहुन्छ ? सहकारीका सर्वमान्य  मुल्य, मान्यता सिद्धान्तसँग नेपालको सहकारी अभियानको तुलना कसरी गर्नुहुन्छ ? सहकारीका सम्बन्धमा नकारात्मक समाचारहरुले बढी प्रश्रय पाएको हो कि यिनीहरु साँच्चिकै सुशासन, पारदर्शिता र सदस्य सेवाबाट विमुख भएका हुन् ?
मैले भन्ने गरेको छु, नेपालमा सहकारीले विस्तारको चरण पार गर्यो, अव गुणात्मक चरणमा जानु पर्दछ । विस्तारको चरणमा कानून, नियम सिद्धान्त अवलम्बनमा छुट पनि हुन्छ, परिपक्वतामा पुगेपछि गुणात्मक चरणमा जाने हो । ३४ हजार ७ सय सहकारी, ६० लाख भन्दा बढी सदस्यसंख्या भएको सामाजिक अभियान, यसले अब आफ्ना सदस्य हितमा थुप्रै काम गर्नुपर्छ । धेरैजसो सहकारीले राम्रो पनि गरेका छन् । तर कतिपय सहकारीले सहकारीका मान्य, सिद्धान्त, मूल्यलाई अपनाएका छैनन्, स्वनियमन र आफैप्रतिको जवाफदेहिता पूरा गरेका छैनन् । कमन बण्डिङ, सहकारितामूलक भावना, सदस्य हित, प्रजातान्त्रिक व्यवस्थापन, परादर्शिता जस्ता पक्षमा कमजोर छन्, जसका कारण सहकारी जोखिममा पर्न थाले, सहकारीका सदस्यहरु आफ्नै संस्थाबाट शोषणमा पर्न थाले । आफ्नो व्यवसाय आफैप्रति जवाफदेही नहुदा दुःख लाग्नु स्वाभाविक हो । यस प्रवृत्तिले राम्रा काम गर्ने सहकारीलाई पनि अस्तित्व देखाउनभन्दा रक्षात्मक बन्नुपर्ने अवस्था आयो । आन्तरिक सुशासनको स्थिति सुधार गर्नुपर्ने छ । सहकारी ऐन, नियममा आएका कुराहरु यो वा त्यो बहानामा कार्यान्वयन गर्न सकिएन भन्ने भावना पनि देखिन थालेको छ । यसले एकपल्ट पुनः सहकारी शिक्षा र अभिमुखीकरणको विस्तृत माग गरेको हो भन्ने लाग्छ । नियमनकारी निकायहरु कमजोर देखिएकाले पनि केही सहकारीमा बेथिति बढ्यो र यसको देखासिखी फैलिन लाग्यो । स्थानीय तहको प्राथमिकतामा सहकारी परेन । संघीय तहमा पनि कुन्नी किन हो अलमल जस्तो देखिएको भान हुदैछ । 

सहकारीले पाएको संवैधानिक मान्यतालाई सफलीभूत तुल्याउन कर्मचारीतन्त्र बाधक रहेको भन्ने भनाइ बेलाबेलामा सहकारी अभियन्ताहरुबाट सुनिन्छ नि ?
मलाई त्यस्तो लाग्दैन । सहकारी विभाग, मन्त्रालय नियामक र सहजकर्ता हुन्, अभियान र व्यवसाय सञ्चालनमा सहकारीहरु नै लाग्ने हो । विषयगत संघ, केन्द्रीय संघ र महासंघहरु ब्रीजिङ र अभिमुखीकरणमा लाग्नु पर्छ । संविधानले सर्वाजनिक क्षेत्र, सहकारी र निजी क्षेत्रलाई समान मान्यतामा राखेर आ–आफ्नो सम्भावना अनुरुपको भूमिकाबाट राष्ट्रिय विकासमा उन्नयनको आधार दिएको छ । त्यहाँ कोही बाधक बन्न हुँदैन, पाउँदैन । अभियान र कर्मचारीतन्त्रबीच ग्याप भए त्यसलाई तत्काल समाधान गर्नुपर्छ । म सचिव भएको समयमा सहकारी अभियानका राष्ट्रिय व्यक्तिहरु मन्त्रालयमा जानु हुन्न र मन्त्रालयका सचिव र मन्त्री सहकारी महासंघ /संघमा जान हुन्न भन्ने भावना विकास हुँदै थियो । मैले त्यो तत्काल तोडेँ । राष्ट्र निर्माण, संस्था विकास र सामूहिक विषयमा व्यक्तिका आग्रहले अर्थ राख्नु हुन्न । सहकारी त झनै नमूना संस्था बन्नुपर्छ । यसले उदाहरण देखाउनु पर्छ, सरकारी संरचनाले सहकारी अभियानलाई सहयोग, प्रोत्साहन र सहुलियत गर्नुपर्छ । अभिभावकत्व दिनुपर्छ । बाटो बिराउन दिनु हुँदैन । कर्मचारीतन्त्र बाधक भयो भन्ने लाग्नु पनि अभियान विकासमा बाधक हो । यदि त्यो अनुभूति छ भने अभियान र मन्त्रालय बसेर तत्काल समाधान निकाल्न पर्छ । किनकी हामी व्यक्तिगत काममा छैनौं । अभियान बिग्रेमा हाम्रो भविष्य विग्रन्छ । सहकारीले बाटो बिराउँछ । 

सहकारी क्षेत्रमा गहिरो अध्ययन अनुसन्धानको कमी छ । यसक्षेत्रमा अनुसन्धानात्मक विकासका लागि के गर्नुपर्छ ?
हो, सहकारी क्षेत्रमा आवश्यक अनुसन्धान र अध्ययन भएको छैन । जसका कारण सहकारी सम्बन्धी नीति निर्माण र कार्यक्रमका लागि पृष्ठपोषण लिन सकिएको छैन । अध्ययन नभएकोले सहकारीले राष्ट्रिय अर्थतन्त्र, वित्तीय क्षेत्र, वित्तीय समावेशिता, रोेजगारी, व्यापार, सामाजिक समावेशिता, आर्थिक पुनसंरचनामा गरेको योगदानको खण्डीकृत तथ्याङ्क उपलव्ध छैन । म भूमिव्यवस्था, सहकारी तथा गरिब निवारण मन्त्रालयको सचिवमा कार्यरत रहँदा नै नीति अध्ययन प्रतिष्ठानबाट अध्ययन गराउने कामको शुरुवात गरेको थिएँ । प्रतिष्ठानका प्रमुखज्यू नै पदबाट हटेपछि यसले निरन्तरता पाएन छ । मलाई लाग्छ, दुई प्रकारले अध्ययन अनुसन्धान गर्नुपर्छ । पहिलो राष्ट्रिय तहबाट (तथ्याङ्क विभाग, योजना आयोग वा नेपाल राष्ट्र बैंकबाट) सहकारीले समष्टिगत अर्थतन्त्रमा गरेको योगदानका विषयमा स्पष्ट चित्र आउने गरी अध्ययन गर्नुपर्छ । त्यसपछि हामीले अपेक्षामा आँकडा प्रस्तुत गर्ने प्रबृत्ति अन्त्य हुन्छ, तथ्यमा आधारित नीति बनाउन सकिन्छ र सहकारीको राष्ट्रिय महत्व पनि सबैले बुझ्छन् । दोस्रो स–सानो कार्यमूलक अध्ययन राष्ट्रिय सहकारी विकास बोर्डले गर्नुपर्छ, सहकार्य विषयगत संघसँग गर्न सकिन्छ । बोर्डले गर्नुपर्ने काम भएकै छैन, त्यहाँ क्षमता पनि विकास भएन । ससाना एक्सन रिसर्च भएपछि सहकारी अब कँहा जाने, कति सामर्थ्य छ, कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा गन्तव्यबोध हुन्छ । त्यो काम हुनै नसकेकोले पनि सहकारी क्षेत्र केही अलमलमा छ । सहकारी व्यवसाय दर्ता गर्दा जे गर्छु भनियो, त्यो गर्नु नै पर्ने हुन्छ ।

केलाई मुख्य कारोवार भन्ने विषय कानुनमा आएपछि फेरि प्रश्न उठाउन भएन । जुन कुरा गर्छु भनेर दर्ता गर्दा घोषणा गरियो, त्ये हदमा त्यही गर्नु दायित्व नै हो । यदि त्यो गर्न सकिएन भने, जे गर्न सकिन्छ, त्यही व्यवसाय रोजे भैगयो नि । ऐनले त्यसमा रोकावट गर्दैन । एउटा भन्ने अर्को गर्ने चाहि सिद्धान्त, व्यवहार अनि नैतिकताको हिसाबले पनि राम्रो होइन ।

कोभिडको सुरुवात यता सहकारीहरुको भूमिकालाई कसरी हेरिरहनुभएको छ ? कोभिड पछि  सहकारीको गति र दिशा कस्तो हुनुपर्छ ? सहकारीमार्फत नवीन सम्भावना कतिको फराकिलो देख्नुहुन्छ ? 
विश्वलाई नै स्तव्ध बनाउने कोभिड–१९ ले सहकारी क्षेत्रलाई पनि धेरै प्रभाव पारेको छ । ससानो ब्यवसाय, पुँजी र मौलिक प्रविधिको उद्यम संलग्न हुने क्षेत्र भएकोले सहकारी क्षेत्र यस महासंकटबाट प्रभावित भयो । तरलताको समस्या, लगानी जोखिमको समस्या र उत्पादन वितरणको समस्या, मूल्य शृङ्खलाको समस्या पर्ने नै भयो । झण्डै अनौपचारिक तहको व्यवसाय भएकाले पनि जोखिम बढ्न गयो । महासंकटले जबरजस्त शिक्षा र नवप्रवर्तनको माग पनि गरेको छ । यसले व्यवसाय, लगानी, प्रविधि प्रयोग र जोखिम न्यूनीकरणका नयाँ अवसरको ढोका उघारेको छ । कोभिड नआएको भए यी कुराहरुमा अलि ढिलो ध्यान पुग्थ्यो होला । 

हो, ठिकै भन्नुभयो, सहकारी उद्यम प्रवर्धनमा केही ऐन र नीति संरचनाहरु बाधक छन् । कम्पनी कानून, कपिराइट, बैंकिङ, उत्पादन ब्राण्डिङ गर्ने विषय, उद्योग र वाणिज्य नीति, शिक्षा र अरु क्षेत्रगत कानून सहकारीमैत्री बनाउनु पर्ने छ । भूमि कानून र जग्गा लिजको कुरामा सहजीकण गर्न बाँकी छ । आखिर सहकारी कुनै एक क्षेत्रसँग सम्बन्धित व्यवसाय होइन । त्यसैले  दिगो लक्ष्य प्राप्ति र अरु विकास भूमिका निर्वाहका सन्दर्भमा नीति संरचना र कार्यव्यवहारहरु बदल्नु जरुरी देखिएको छ । 

सहकारीको विश्व परिवेशसँग हाम्रो अभियानलाई दाज्दाँ हामी कहाँ छौ ?
देशको परिवेश, विकासको स्तर, प्रविधि र बजार जस्ता आधारमा मुलुकहरुका आर्थिक सामाजिक गतिविधिहरु विशिष्ट हुने गर्दछन् । सहकारीका सन्दर्भमा पनि त्यो लागू छ । इजरायलको किवुत्ज (कृषि सहकारी), जापानको उपभोक्ता सहकारी, इटालीको श्रमिक (फेसन पार्लर) सहकारी, पश्चिम क्यामारुनको कोभालिएफ (दुग्ध सहकारी), केन्याको सहकारी गुठी विद्यालय, नेदरल्याण्डको एग्रिको (आलु सहकारी), घानाको कौपाकोपा (चकलेट सहकारी), भारतको अमूल आदि आआफ्नै विशेषतामा छन् । तर त्यसो भन्दैमा हामी कम छौ भन्ने होइन । हामीले आफूलाई कम आँकेर हिनताबोध गर्नु हुन्न । हामीकहाँ पनि केही कृषि, केही वित्तीय, केही बहुउद्देश्यीय र केही दुग्ध सहकारीले राम्रो प्रदर्शन गरिरहेका छन् । हामी पनि केही हदसम्म विश्व सहकारी अभियानसँग तुलनायोग्य भएका छौ । जो सहकारी सिद्धान्त र मूल्य अभ्यासमा वास्तविक सहकारी भएर काम गरेका छन्, ती राम्रा छन्, राम्रो हुने छन् । तर कतिपय सहकारी जो सुशासन र सिद्धान्तमा छैनन्, तिनले गर्दा चिन्ता गर्नुपर्ने स्थिति छ । 

सहकारी विषयलाई पाठ्यक्रममा समावेश गर्ने र सहकारी विद्यालय सञ्चालनका विषयमा यहाँले भर्खरै राष्ट्रिय सहकारी महासंघको प्रतिनिधिमण्डललाई आश्वासन दिनुभएको थियो ? यसमा थप स्पष्ट पार्न चाहनुहुन्छ कि ?
हो, सहकारी एउटा उदीयमान क्षेत्र, व्यवसाय र जीवनशैली बन्ने क्रममा छ । संविधानले विशेष भूमिका आग्रह गरेको छ । सामाजिक न्याय र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न पनि सहकारी अलग्गै विधा र विषय हो । त्यसैले यसलाई पठनपाठनको विषयबस्तु बनाउनु पर्छ भन्ने विषयमा द्वीविधा रहेन । सहकारी शिक्षा माध्यमिक तहसम्म व्यापक रुपमा आवश्यक छ । उच्च शिक्षामा अनुसन्धानको विषय हो, रोजगारीको विशिष्ठताको विषय हो । त्यसैले यसलाई शैक्षिक अनुष्ठान, तालिम र सामुदायिक अभियान जतासुकै पठनपाठनको विषय बनाउनु पर्दछ । यो जरुरी भैसक्यो । मैले शिक्षा, विज्ञान तथा प्रविधि सचिवको हैसियतमा त्यसको महत्वको कुरा गरेको हुँ । आवश्यकताको कुरा गरेको हुँ । संविधान र सहकारी ऐनको कुरा गरेको हुँ । जुन कुरा वास्तविकता भैसक्यो, विश्व परिवेशले अनुशासन र अध्ययन विधा मानिसक्यो, हामी त्यसमा ढिला हुनुहुन्न भनेको हुँ । 

सहकारी ऐनमा राखिएको मुख्य कारोबारको विषयमा यहाँको के भनाई छ ? दोहोरो सदस्यता अन्त्यको विषयमा यहाँको राय के छ ?
सहकारी व्यवसाय दर्ता गर्दा जे गर्छु भनियो, त्यो गर्नु नै पर्ने हुन्छ । केलाई मुख्य कारोवार भन्ने विषय कानुनमा आएपछि फेरि प्रश्न उठाउन भएन । जुन कुरा गर्छु भनेर दर्ता गर्दा घोषणा गरियो, त्ये हदमा त्यही गर्नु दायित्व नै हो । यदि त्यो गर्न सकिएन भने, जे गर्न सकिन्छ, त्यही व्यवसाय रोजे भैगयो नि । ऐनले त्यसमा रोकावट गर्दैन । एउटा भन्ने अर्को गर्ने चाहि सिद्धान्त, व्यवहार अनि नैतिकताको हिसाबले पनि राम्रो होइन । त्यस्तै दोहोरो सदस्यता किन लिने ? मैले एकैसाथ दुई मन्त्रालयको सचिव बन्न पाउछु र ? कानूनले अवधि तोकेर एक विषय क्षेत्रको एक सहकारीमा मात्र सदस्य बन भनेर घोषणा गरिसकेपछि, त्यसको लागि निश्चित अवधिमा संस्था छान्ने स्वतन्त्रता दिएपछि कुनै बहानामा त्यो ठीक भएन भन्नु हुँदैन । बास्तविक र हिडेन एजेण्डा फरक हुनुहुन्न । तीनबर्ष हामी किन चुप लागेको ? राज्यइच्छा कार्यान्वयन गर्ने कत्र्तव्य सवैको हो । फेरि सहकारी त आफै नैतिक संस्था, यसका सदस्य नैतिक व्यक्ति र सहकारी अभियान नैतिक अभियान भएपछि यसलाई उदाहरणीय रुपमा अपनाउनुको विकल्प छैन । दोहोरो सदस्य रहनुहुन्न भन्नु पछि थुप्रै तर्कहरु छन्, विशिष्टताका लागि, सुशसानका लागि, सदस्य हितका लागि, एकाग्रताका लागि, योगदानका लागि आदि । त्यसैले कानून मान्दिन भन्ने कुरा यदि कसैले भन्छ भने त्यो अलिकति पनि ठीक होइन । आवश्यक होइन भने कानून परिवर्तन गर्नुपर्छ । कानून प्रीभेल हुन्जेल यो, त्यो भन्नु सहकारीलाई सुहाउने विषय नै होइन । 

सहकारीमा युवा पुस्ताको रुचि कसरी बढाउन सकिन्छ होला ?
युवापुस्तामा पुस्तान्तर र प्रविधिको प्रभाव छ । युवापुस्ता निकै कामकाजी छ, स्वाभिमानी छ । उनीहरु कर्म गर्न चाहन्छन्, तर त्यसको विधि, प्रविधि फरकमा, फरक स्वादमा रमाउन चाहन्छन् । त्यसैले उनीहरुलाई सहकारीमैत्री बनाउन पाठ्यक्रम, अभिमुखीकरण, प्रविधि, अभियान र उत्पादन त्यही अनुरुप चाहिन्छ । युरोपका युवाले दूग्ध सहकारीमा, जापानकाले साके (रक्सी) र बहुउद्देश्यीयमा लाग्न सक्छन् भने हामीकहाँ युवाहरु किन सहकारीप्रिय हुदैनन् ? उनीहरुले फ्लेक्सीबल टाइम पनि खोज्छन् व्यवसायमा । अभिमुखीकरण, अभियान र आधारशिला भए युवाहरु सहकारी व्यवसायमा झनै आकर्षित हुन्छन् । 

सहकारी सम्बद्ध विदेश भ्रमणको अनुभव ?
सहकारीका क्षेत्रमा मैले धेरै विदेश भ्रमण गर्न पाएको छैन । केवल भियतनाम र थाइल्याण्ड मात्र गएको छु । भियतनाममा सहकारी अनुशासित छ । कृषि सहकारी राम्रो छ । भिसीए (भियतनाम कोअपरेटिभ एलान्स, नेपालको महासंघ जस्तै) ले सहकारी व्यवसायलाई आबद्ध र अनुशासित गरेको छ । कम्युनिष्ट मुलुक भएकाले स्वतन्त्रता भन्दा अनुशासन बढी छ । सहकारीहरु पनि निर्देशित रुपमा (पञ्चायतको साझा वा चीनको कम्युन ढाँचामा) सञ्चालनमा छन् । थाइल्याण्डमा चाहि व्यवसायमा अनुशासन र स्वतन्त्रता सन्तुलित छ । युरोप, जापान, अमेरिकामा निजी क्षेत्रको गुण सहकारीमा पनि आउछ । त्यसैले विकास र स्वतन्त्रताको स्तर अनुसार सहकारी अभियान परिमार्जित हुने रहेछ भन्ने लाग्छ । तर सहकारी अनौठो व्यवसाय हो, जुन सरकारी व्युरोक्रेटिक चरित्र, निजी क्षेत्रको नाफा चरित्र र एनजिओको कार्यक्रम चेतनाभन्दा अनौठो सामाजिक व्यवसाय हो । यो साझा बन्धन, सदस्यहित र लोकतान्त्रिक व्यवस्थापनको आदर्श गुणमा मिश्रित छ । हामी त्यसैको संस्थागत विकासमा लाग्नु पर्छ । सहकारीका प्रतिष्ठाताहरुले यही अभिष्ट राखेका थिए । हाम्रो सहकारी अभियान पनि यही अभिष्ट प्राप्तिमा लाग्नु पर्छ । 

भावी योजनाहरु के छन् ?
मेरो भावी योजना निजामती सेवा (जुन राष्ट्रसेवा र वृत्ति विकासको अपूर्व संगम हो) गरिमा बढाउन योगदान गर्नेमा छ । पदमा भएसम्म काम र वृत्तिबाट, निवृत्त भएपछि विचार, सिद्धान्त र अभियानबाट । त्यस्तै म विचार चिन्तन गर्छु, समसामयिक विषयमा लेख्छु, साहित्य सिर्जना मेरो सोख र आत्माभिव्यक्ति दुवै हो । सहकारीका विषयमा पनि लेख्छु, लेखिरहेको छु । तर यही नै भन्ने योजना छैन । किनकी कर्मचारीहरु वृत्तिमा भैञ्जेल आफ्नो विषयमा सोच्न पाउँदैनन्, वृत्ति सकिएपछि गर्न त्यति सक्दैनन् । 

नेफ्स्कूनको भूमिका ठूलो छ । यो क्रेडिट यूनियनको महासंघ हो । यसले वित्तीय शिक्षा, समावेशीकरण, अनुशासन, क्षमता विकास, व्यवसाय सहजीकरण लगायत सवै क्षेत्रमा भूमिका खेल्नु पर्छ । स्वयम् नियमनमा रहने प्रणाली विकास गर्न यसको भूमिका छ । यसले राम्रो भूमिका पनि खेल्दै आएको छ । यसमा आबद्ध साकोसहरु अनुशासनमा छन् ।

सहकारीमा नेतृत्व (लिडरशीप) विकास र उत्तराधिकार योजना (सक्सेशन प्लान) का बारेमा यहाँको धारणा के छ ?
सहकारी सामुहिक नेतृत्वको सामुहिक व्यवसाय हो । त्यसैले सहकारीका सवै सदस्यमा समान रुपमा नेतृत्व क्षमता हुनु पर्छ । सहकारीका नेतृत्वमा एक कार्यकाल मात्र रहने परिपाटीले नेतृत्व विकास संस्थागत हुन्छ, त्यसो भएमा सुशासन र सिद्धान्त पनि संस्थागत हुन्छ । व्यवस्थापनमा (कर्मचारी व्यवस्थापनमा) भने सक्सेसन प्लान चाहिन्छ । महत्वपूर्ण पदहरुमा केही महिना पदावधि ओभरल्याप हुने प्रणाली चाहिन्छ । संस्थागत सम्झना र सीप हस्तान्तरण गर्न सक्सेसन प्लान चाहिन्छ । 

नेफ्स्कूनको भूमिका, अवसर र यसलाई यहाँको सुझाव ? 
नेफ्स्कून बचत ऋण सहकारीको विषयगत छाता संस्था, अझ भनौं अभिभावक हो । धेरैले सहकारी भनेर जनताको बैंक भनेर चिन्ने गर्दछन् । धेरै सहकारीहरु वित्तीय कारोवार गर्छन् । सुशासनको अवश्यकता पनि त्यही छ । जोखिम पनि त्यही छ । त्यसैले नेफ्स्कूनको भूमिका ठूलो छ । यो क्रेडिट यूनियनको महासंघ हो । यसले वित्तीय शिक्षा, समावेशीकरण, अनुशासन, क्षमता विकास, व्यवसाय सहजीकरण लगायत सवै क्षेत्रमा भूमिका खेल्नु पर्छ । स्वयम् नियमनमा रहने प्रणाली विकास गर्न यसको भूमिका छ । यसले राम्रो भूमिका पनि खेल्दै आएको छ । यसमा आबद्ध साकोसहरु अनुशासनमा छन् । यसको भूमिका बढ्दो छ । यसको भूमिका मनन गरेर नै साकोस जोखिम व्यवस्थापनको क्याटालिस्टको काम गर्न, सञ्जिवनीको काम गर्न स्थिरीकरण कोष यसै संस्थाको नेतृत्वमा स्थापना, सञ्चालन गर्ने कानूनी व्यवस्था गरिएको हो । खै के कारण हो, यसको सञ्चालन प्रक्रियामा विलम्ब भएको छ । त्यस्तै साकोस गुणस्तरका संयन्त्रहरुको प्रयोग, रिवार्ड गर्न पनि यसको भूमिका छ । साथै अन्तराष्ट्रिय क्षेत्रमा क्रेडिट यूनियनका मान्य संयन्त्रको अभ्यास र साझेदारीमा पनि यसको भूमिका देख्छु । 


 

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२४ घण्टा अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

१ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

२ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

५ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

५ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

५ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

६ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२४ घण्टा अगाडि

Notice
Notice

१० दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२५ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२३ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३३ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३३ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप