‘आत्मसम्मानमा कुनै दाग लाग्न दिइनँ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘आत्मसम्मानमा कुनै दाग लाग्न दिइनँ’

काठमाडौं । “राजधानीको चाबहिलस्थित ओम अस्पतालमा उपचाररत बुवाको अवस्था नाजुक भएपछि सबैको सल्लाहमा अबेर राती पशुपति आर्यघाटस्थित घाटे वैद्यकोमा लगेर दश दान गरायौं, बिहान करिब ४ बजेतिर बुबाले अन्तिम सास फेर्नुभयो । सुगर, प्रेसर  र मुटुआदिको दीर्घ रोगबाट थलित आमा र ढाड अनि नसा रोगले पीडित बुबाको ११ महिनाको फरकमा निधन भयो । हामीले जीवनमा सबैभन्दा पुज्ने र आदर्श मान्ने दुई अभिभावकसँगै पथप्रदर्शक गुमायौं ।” जीवनभर पद र चर्चाको शिखरमा रहनुभएका नेपालको सहकारी र राजनीतिका असल व्यक्तित्व स्वर्गीय भोजराज घिमिरेको उत्तरार्ध स्मरण गर्नुहुन्छ बुहारी बिमला घिमिरे । 

२०७२ साल भदौ ३१ गते पत्नी उमा गमाउनुभएका भोजराज घिमिरे २०७३ साउन १८ गते भौतिक संसारबाट बिदा हुनुभयो । पत्नी वियोगले पिल्सिनुभएका घिमिरेले ओछ्यान परेको बेला घोष्ट राइटिङ गर्नुभएको १ सय ५ पृष्ठको आत्मवृत्तान्त ‘मोडहरुमा म’ पत्नी उमालाई सर्मपण गरिएको छ भने बुहारीको बयान र निकटतम आफ्न्तहरुको आडभरोसाको चर्चा गरिएको छ ।

झंझट नमानी बुहारीको धर्म निर्वाह गर्ने बिमला घिमिरे अनि छोरा किरण र दुई नातीहरुसँगै छोरी ज्वाईहरु र भाइ भतिजाहरुको निकटतम आफ्न्तको घेराभित्र भोजराज घिमिरेले जीवनको उत्तरार्ध बिताउनुभयो । बुहारी बिमलालाई त उहाँले आमाको उपमा समेत दिनुभएको छ पुस्तकमा । “मैले मेरो धर्म मात्र निर्वाह गरेकी हुँ” बिमला सुनाउनुहुन्छ ।जतिसुकै चर्चित र ख्यातिप्राप्त व्यक्ति भएपनि रोगहरुले शरिरमा शासन चलाएपछि र जिम्मेवारीबाट बिदा लिएपछि हेरविचार गर्नेहरुको संख्या घट्दै जाने पक्का रहेछ । भोजराज घिमिरेको जीवन पनि अलग हुन सकेन । 

उत्तरार्धलाई इंगित गर्दै पुस्तकमा घिमिरे लेख्नुहुन्छ, “यतिखेर मेरो जीवनको सर्वाधिक सुखद पक्ष भनेको मेरी बुहारी विमलालाई आमाकै रुपमा पाउनु हो । विमला मेरी बुहारी भएर पनि मेरो सेवा गरिरहेकी छिन्, मेरो आमा बनेर स्याहारिरहेकी छिन् । आजको समयमा सासू, बुहारी, छोरा र बाबुबीच आत्मीय सम्बन्धमा चिरा परीरहेको चर्चा धेरै सुन्ने गरिन्छ, पढिन्छ । एकै परिवारका यी सदस्यबीच असन्तुष्टि, अमेलका घटना सुनिन्छ । तर, मलाई लाग्दैन त्यस्तो नि हुन्छ भन्ने । बुहारी आमाको रुप पनि हो भन्ने तथ्य यतिबेला म आत्मसात् गरिरहेको छु । म अनुभूत गरिरहेको छु, उमाको अवसानपछिको स्थितिमा यदि बुहारी विमला नहुँदी हुन् त मेरो अवस्था कस्तो हुन्थ्यो होला ? सोच्दा मात्रै पनि कहाली लागेर आउँछ । तर, मेरो अहोभाग्य मैले विमलाजस्ती बुहारी पाएँ जो नाताले बुहारी भएपनि कर्मले आमा हुन्, यो स्वीकार गर्दा सायद अतिरञ्जना नहोला ।

आज छोरो किरण, बुहारी विमला, नातिहरु अभिषेक र आकृष्ट मेरै वरपर रहन्छन् । मेरो नित्यकर्म व्यवस्थापनदेखि खानपानको समेत जिम्मेवारी यिनै चारको काँधमा छ । खोई यिनले लगाएको गुन मैले तिर्न सकुँला कि नसकुँला ? अझै विमलाको ऋणी म जन्म जन्मान्तर रहनेछु ।  उत्तरार्धमा रोगले ओछ्यान पर्नुभएका घिमिरे पुस्तकमा लेख्नुहुन्छ, “आज म ओछ्यानमा थलिएको छु । आफ्नो कर्ममा हमेसा सक्रिय रहने मेरो दिनचर्या एउटा कोठामा सीमित भएको छ । म पूर्णतः आश्रित भएको छु छोरा किरण, बुहारी विमला, नातिहरु अभिषेक र आकृष्टमाथि । यी चारैका जिम्मामा मेरो जीवन चलिरहेको छ । मेरो धर्मपत्नी उमा रहँदा उनले केही नगरेपनि उनको साथ, आडभरोसा पूरा थियो मलाई । अब त त्यो पनि टुटेको छ ।”

घिमिरे अगाडि लेख्नुहुन्छ, “तर, यतिखेर अनुभव हुँदै छ, जीवनको उत्तरार्धतर्फको यात्रामा आफ्नो शक्ति, क्षमताभन्दा रोगव्याधको वर्चश्व अधिक हुन्छ । तिनको वर्चश्व यतिबेला कायम रहेको छ । र, म ओच्छ्यानमा लडेको छु । बढ्दो उमेरसँगै विभिन्न रोगहरुले गाँज्दै लगेपछि मेरो सक्रियता पारिवारिक क्रियाकलापमै सीमित हुँदै गयो । घरपरिवार, पत्नी, छोराछोरी, नाति नातिनाबीच हिँडेको जीवनयात्रामा उत्साह बढी हुन्छ । त्यही उत्साहले रोगलाई थिच्दै जीवन गतिमान थियो । कहिलेकाहीँ त्यो गतिलाई रोगले थिच्थ्यो । कहिले ह्दय रोगका कारण, कहिले प्रोस्टेट ग्ल्यान्डको शल्यक्रियाका कारण, कहिले अरु कुनै व्यथाका कारण । र, पछिल्लो समय ढाडको समस्याले मलाई थला पारेको छ । सर्वथा कामलाई महत्व दिने म, भोजराज घिमिरे, रोगकै कारण घर र अस्पतालको यात्रामा सीमित भएको छु ।”

दुःख पर्दा परिवारभन्दा ठूलो कोही हुँदैन । घिमिरेको जीवनमा पनि परिवारप्रेम अगाध रह्यो । उहाँ भन्नुहुन्छ, “छोरीहरु निर्मला र ज्वाइँ भुवन ओझाजी, सविता र दीपक खतिवडाजी र सविना र डा.रामकृष्ण न्यौपानेजीको सेवा, साथ र सहयोग बन्दनीय छ । भाइ श्रीकृष्ण घिमिरे मसित अत्यन्त निकट भएर रहे । चाहे औरहीमा रहँदा होस् वा काठमाडौंमा, उनी जहिले मेरो दाहिनेहात नै भएर रहे । भाइहरु ऋषिराज घिमिरे, भरत घिमिरे र नारायण घिमिरेले पनि मलाई हरदम साथ र सहयोग दिइरहे । वास्तवमा ऋषि, भरत, नारायण, विपिन र सिसमको प्रशंसाका लागि मसँग शब्द नै छैन । आज म ओछ्यानमा सुतेर बोलिरहेका छु । राजेशजी लेखिरहनुभएको छ । वस् मेरो जीवन यसरी नै अघि बढिरहेको छ, आफ्नाहरुको साथ र सहयोगमा । मेरो जीवनको अनगिन्ती मोड, सम्झना र संस्मरण पुस्तकाकारको रुपमा आउनुमा भाइ ऋषिराज घिमिरे र ज्वाइँ भुवनप्रसाद ओझाको उल्लेख्य साथ र सहयोग रहेको छ । उहाँहरुले नै मलाई उत्साहित तुल्याउनुभएको हो ।”

मिठो मसिनोका पारखी

घिमिरेको जीवनको उत्तरार्धमा सम्भवतः सबैभन्दा नजिक रहनुभएकी बुहारी बिमला ससुराको बानी सम्झदै भन्नुहुन्छ, “खानामा थोरै तर मिठो मनपराउने बुबालाई दही र माछा बिशेष मनपर्दथ्यो । सरसफाइमा पनि उहाँ निक्कै ध्यान पुर्याउने स्वभावको हुनुहुन्थ्यो ।” साझा स्वास्थ्य सेवामा कार्यरत बुहारी विमलाले साकोस आवाजसँग टेलिफोन संवादमा भन्नुभयो, “बुवालाई अत्यन्त सफा सुग्घर चाहिन्थ्यो । बिरामी भएर उठ्ने नसक्दा पनि बुवालाई दिनहुँ लुगा फेर्ने र पारिवारिक सहयोगमा नुहाउने गरिएको थियो ।” ढाडसँगै नसाको समस्याका कारण जीवनको उत्तरार्धका २ वर्ष त खुट्टै नटेकिएको बुहारीले बताउनुभयो । जसका कारण शौचकार्य समेत अरुको सहयोगमा गराउनुपरेको थियो । पत्नीमा पनि स्वास्थ्य समस्या भएका कारण घिमिरेको रेखदेखको सम्पूर्ण जिम्मेवारी बुहारी बिमलाको थियो जसलाई उहाँले कुनै खोट नलगाउने तवरले निभाउनुभएको पुस्तक पढ्दा प्रष्ट हुन्छ । 

फुर्सदमा पत्रपत्रिका र टेलिभिजन हेर्न मनपराउने घिमिरे घरायसी व्यवहारका विषयमा पनि सधै चासो राख्नुहुन्थ्यो भने आफ्नो जिम्मेवारीमा सधै सक्रिय र सर्तक रहने बानी भएको बिमलाले जानकारी गराउनुभयो । ठूलो नाती अभिषेक २२ वर्ष र सानो आकृष्ट १८ वर्ष हुँदा हजुरबुबाको निधन भएकाले उनीहरुमा हजुरबुबासँग विताएका पलहरुको गहिरो छाप अहिलेसम्म परेको छ । बुहारी विमलाले भन्नुभयो, “नातीहरु बुबा भन्दा हजुरबुबासँग बढी झुम्मिेन्थे ।”

आत्मवृत्तान्त ‘मोडहरुमा म’ 

२०७२ साल माघ १५ गते प्रकाशित १ सय ५ पृष्ठको आत्मवृत्तान्त ‘मोडहरुमा म’ को सम्पादन राजेश खनालले गर्नुभएको छ भने प्रकाशक भुवनप्रसाद ओझा र डा. रामकृष्ण न्यौपाने हुनुहुन्छ । १ सय ५ पृष्ठ (अन्तिम केही पानामा तस्बिरहरु समावेश) मा १७ वटा शीर्षकहरुभित्र घिमिरेको जीवन लगभग अटाएको छ । घिमिरेको एक मात्र कृतिको जन्म नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरे समेतको जोडबलमा भएको थियो । २०७३ साल बैशाखमा पुस्तक विमोचन भएको थियो, २०७३ साल साउन १८ मा उहाँको निधन भएको बुहारी बिमलाले सुनाउनुभयो ।

हुन पनि ठूलो राजनीतिक र सामाजिक जिम्मेवारी सकुशल बहन गर्नुभएका व्यक्तित्वको जीवनी पुस्तौ पुस्तासम्म सुरुचिपूर्वक पढ्ने र पाठ सिक्ने अवसरबाट बञ्चित गरिनु कहाँ पो न्यायोचित हुन्थ्यो र ?२०२८/९ भदौमा सहायकमन्त्री, २०३० सालमा खाद्य, कृषि, सिँचाई मन्त्री, सोही वर्ष गृह, कानुन तथा न्याय मन्त्रीमा नियुक्त घिमिरेले २०७३ सालमा प्रकाशन गरेको पुस्तकमा समाविष्ट उहाँको भूमिका र स्वभाव अनि निर्णयहरुबारे आजसम्म कसैले औला उठाउन सकेको छैन । त्यो भन्दा ठूलो प्राप्ति जीवनमा अरु के नै हुनसक्छ र ? पुस्तकमा उहाँ लेख्नुहुन्छ, “म जहाँ जहाँ जिम्मेवारी लिएर बसेँ, त्यो–त्यो ठाउँमा मैले काम पनि खटेर गरेँ । जिम्मेवारी बोध गर्दै काम गरेँ । आफूलाई सुम्पिएको दायित्व निर्वाह गर्न मैले कञ्जुस्याइँ गरिनँ ।”

आत्मवृत्तान्तका सम्पादित अंशहरु 

राष्ट्रिय साझा केन्द्रमा नियुक्ति

त्यसबेला लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री थिए । म कहीँकतै जोडिएको थिइन । राजनीति गर्ने मान्छे, त्यही ध्याउन्नमा थिएँ । त्यसैले विकेन्द्रीकरण समिति छोडेको थिएँ । एक दिन प्रधानमन्त्री चन्दले मलाई कुरा गर्न बोलाएँ । सबै राजनीतिज्ञसित सम्बन्ध राम्रो रहेकोले म उनलाई भेट्न गएँ । चन्दले मलाई राष्ट्रिय साझा सहकारी बोर्डको अध्यक्षका लागि राजाबाट सोध्नु भनिएको छ, के गर्ने भनेर सोधे । मैले प्रधानमन्त्री चन्दलाई सोचेर जवाफ दिन्छु भनेर निस्किएँ ।

वास्तवमा म अन्तर्मनबाटै प्रशासनिक जिम्मेवारी स्वीकार गर्ने मनस्थितिमा थिइनँ । मैले त्यो ‘अफर’ स्वीकार गर्न सकिरहेको थिइनँ । आफ्नो रुचिभन्दा बाहिरको विषय हो जस्तो लाग्दथ्यो मलाई त्यो कार्य । राजनीति गर्दै आएको म त्यही क्षेत्रसँग आबद्ध हुन चाहन्थेँ । तर, त्यसका लागि खासै वातावरण बनिरहेको थिएन । म केही नगरी चुपचाप थिएँ । प्रशासनिक दायित्व निर्वाह गर्ने खासै मन नभएका कारण मैले प्रधानमन्त्री चन्दलाई कुनै जवाफ दिएको थिइनँ ।

एक दिन अचानक दरबारका सचिव रञ्जनराज खनालले फोन गरे र राजाबाट साझा सहकारी बोर्डको अध्यक्षमा जाने नजाने विषयमा सोध्न भनिएको हुँदा फोन गरेको बताए । मैले केही जवाफ दिनुपूर्व नै सचिव खनालले मलाई भने, ‘ भोजराजजी, साझा सहकारीमा कुनै समयमा विश्वबन्धु थापा पनि अध्यक्ष भएका थिए । अर्को कुरा मन्त्रीस्तरीय सुविधा तपाईलाई दिइनेछ ।’ मैले पनि रञ्जनराज खनाललाई भनेँ,‘ यसैमा पो थन्किइने हो कि खनालजी ?’ उनले सकारात्मक दृष्टिकोणका साथ मलाई भने, ‘ होइन, तपाई काम गर्दै जानुस् ।’

रञ्जनराज खनालसँग कुरा भएको केही दिनपछि म राष्ट्रिय साझा केन्द्र लिमिटेडको अध्यक्ष पदमा नियुक्त भएँ । नामजस्तै विशाल संस्था थियो सहकारी । यसअन्तर्गत साझा भण्डार, साझा प्रकाशन, साझा स्वास्थ्यलगायतका विभिन्न संस्थाहरु आ–आफ्नो क्षेत्रमा सक्रिय थिए । साझा सहकारीमा ४ वर्षको कार्यकालमा मैले साझा सहारी बोर्ड र त्यसअन्तर्गतका विभिन्न संस्थाहरुलाई विकसित र विस्तारित गर्ने काम गरेँ । साझा यातायात सहकारी बोर्डअन्तर्गत भए पनि प्रत्यक्षः यातायात मन्त्रालयको नियन्त्रणमा थियो । त्यसैले साझा यातायातमा मैले केही गर्न सकिनँ ।

साझाको संस्थागत विकासका लागि गर्नुपर्ने र गर्न सक्ने धेरै काम थिए । अन्य देशहरुमा सहकारिताको विकास र त्यसबाट आर्थिक समृद्धि कसरी भएको रहेछ भन्ने विषयमा अध्ययन गर्नु जरुरी थियो । त्यसैले मैले केही मुलुकको भ्रमण पनि गरेँ । भारत, थाइल्याण्ड, इन्डोनेसिया, जापान, दक्षिण कोरियाजस्ता मुलुक गई सहकारिताको माध्यमबाट भएका विकास र आर्थिक समृद्धिलाई नजिकबाट नियाल्ने अवसर पाएको थिएँ ।

सहकारिताको विकासमा जोड दिने उद्देश्यले केही परिवर्तन गर्न सक्ने आधारलाई मैले अगाडि बढाएको थिएँ । मेरो विचारमा सहकारी एउटा सङ्घका रुपमा विकसित हुनुपर्छ भन्ने मेरो सोचाइ थियो । त्यसबेला राष्ट्रिय सहकारी सङ्घको स्थापना हेर्न एउटा कार्यदल पनि गठन गरिएको थियो । आफ्नो चार वर्षको कार्यकाल सकाएर म साझाबाट बाहिरिएँ । म रहँदा केही कामहरु अवश्य भएका थिए ।

नेफ्स्कूनको स्थापना

राजाले भनेपछि मैले राष्ट्रिय सहकारी केन्द्रको अध्यक्ष पदको जिम्मेवारी लिएको थिएँ । त्यसउप्रान्त सहकारी क्षेत्रमा केही नवीनतम् काम गर्ने विचारका साथ म अघि बढेको थिएँ । त्यही रहँदा नै सहकारी सङ्घको स्थापनाको अवधारणा बनेको हो । विश्वका धेरै मुलुकमा सहकारी संस्थाहरुको संलग्नतामा केन्द्रीय संस्थाको स्थापना भएको मैले पाएको थिएँ । केही मुलुकहरुको भ्रमण गर्दा त्यस किसिमको अनुभव पाएको थिएँ । त्यसैले पनि नेफ्स्कूनको स्थापनाको प्रसङ्ग अगाडि आएको हो । यसरी नेफ्स्कूनको तदर्थ समितिको अध्यक्षता मैले ग्रहण गरेको थिएँ । जसमा सहकारीसँग सम्बन्धित संस्थाहरुका प्रतिनिधिहरुको मात्रै संलग्नता रहेको थियो ।

नेपालमा सहकारिताको विकास र आर्थिक समृद्धिका लागि विभिन्न अवधारणाहरुसहित सहकारिता क्षेत्रमा महिलाहरुको सहभागितालाई बढावा दिने उद्देश्यका साथ नेफ्स्कून स्थापना भएको थियो । त्यसको स्थापनासँगै अन्तर्राष्ट्रिय संस्थाहरुले यस संघलाई सहयोग पनि गर्दै गए । पछि बहुदल आएपछि मात्रै यसको विधिवत् दर्ता भएको थियो ।

नेफ्स्कून स्थापनामा जसरी सहकारी क्षेत्रका व्यक्तिहरुको सकारात्मक सहयोग रहेको थियो, त्यस हिसाबले राजा वीरेन्द्र र तत्कालीन मन्त्रीहरुको सहयोग र साथ भने खासै रहेन । उनीहरु यसतर्फ सकारात्मक देखिएनन् । तर, विरोध पनि गरेनन् । आज नेफ्स्कूनले उचाइ पाएको छ । यो मेरा लागि गर्वको विषय हो ।”

सम्भावनाका ढोकाहरु

‘जीवनमा कहिलेकाहीँ अदृश्य रुपमा सम्भावनाका ढोकाहरु खोलिएका हुन्छन् रे १ त्यसबेला आफूले त्यो ढोकाबाट भित्र प्रवेश गर्ने आँट गर्नसक्नुपर्छ । अन्यथा केही समयपछि ढोका बन्द हुन सक्छ’ भन्ने भनाई मैले पनि सुनेको थिएँ । सम्भवतः मेरो छैटौं इन्द्रियले मलाई सङ्केत गर्यो, त्यो खुला ढोकाभित्र प्रवेश गर्नलाई । र कुनबेला कुनबेला म त्यो ढोकाबाट प्रवेश गरिसकेको थिएँ । त्यसैले पनि मैले आफ्नो कर्मक्षेत्रमा आफूलाई बलियोसँग उतारेको थिएँ ।

आफूलाई जनतासँग जोड्नु जरुरी पनि थियो । किनभने म एक समाजसेवी पनि थिएँ । त्यसैले सक्दो सम्पर्कमा रहने प्रयास भने गर्थे । २०२१ सालमा भूमिसुधार लागू भयो । ऐन बन्यो । त्यसका लागि मलाई पनि क्रियाशील हुन भनियो । काम गर्न नहिच्किचाउने म त्यसको कार्यान्वयन सफल तुल्याउन लागिपरेँ । 

उत्तरार्ध अभिलेख

आज मेरो जीवन ८६ औं वर्षमा हिडिरहेको छ । एकप्रकारले हेर्ने हो भने मैले मेरो जीवनमा अनेकन परिवेश भोगेको छु । वास्तवमा जीवन भोगाइहरुकै सङगालो हो भन्दा अतिशयोक्ति नहोला । जीवन जिउने क्रममा, जीवन भोग्ने क्रममा अनेकन् दुःख, कष्ट, कठिनाइहरुको सामना पनि गर्नुपर्यो भने मान, सम्मान र इज्जत पनि सोचेभन्दा अधिक पाइयो । एउटा किसान परिवारको केटो, उसको चाहना के नै हुन्छ र । जे जति हुन्छ त्यो पूरा गर्न उसले आफ्नै पौरखलाई त्यही खेत र आलीहरुमा प्रयोग गरेको हुन्छ । म पनि त्यही परिधिभित्र पालित पोषित युवक थिएँ ।

फरक यति मात्र थियो– थोरै राजनीतिको नशा ममा हाबी थियो । थोरै समाजसेवाको धङधङी त्यही समाजप्रतिको चेतका कारण राजनीतिमा म लपक्क भिजेको थिएँ ।  मैले जे जति प्राप्त गरेको थिएँ– मेरो भागमा जे जति परेको थियो म त्यसैमा सन्तुष्ट थिएँ । म असन्तुष्ट कहिले भइनँ । मेरो प्रवृत्ति पनि त्यो भएन ।

तैपनि मलाई साथ दिइन उमाले । उमाको शरीर मधुमेहले गाले पनि, घरपरिवार, आफन्त, पाहुनापासाको सेवा, सत्कारमा उनी सधैं उत्साही भइन् । कहिल्यै गलिनन् उनी । दुःखका किञ्चित रेखा पनि उनको अनुहारमा मैले कहिल्यै देखिनँ । हठात्, उमा र मेरो साथ छुटेको छ । विगत साठी वर्षदेखिको यो सहयात्रा टुटेको छ । उमेरको यो उत्कर्षमा मलाई लाग्छ– मेरो हरचिज छुटेको छ । उमाको महाप्रस्थानसँगै मेरो जीवनको रङ पनि उडेको छ ।

२०७२ साल भदौ ३१ गते बिहिबार मेरो जीवनको सुखदुःखको साथी उमा, मेरा छोराछोरीकी आमा उमा, मेरो कार्यशैलीको सूक्ष्म र तीक्ष्ण दृष्टिकोण राख्ने मेरी धर्मपत्नी उमा यो लोकबाट बिदा भएकी छिन् । उमाको मसँगको यात्रा टुङगिएको छ । उनको अनन्त यात्रा सुरु भएको छ । र, यतिखेर मैले उमालाई दिने भनेको सम्भवतः श्रद्धासुमन मात्रै हो ।

आत्मसम्मानमा कुनै दाग लाग्न दिइनँ 

कतिपय काम मेरो रुचिअनुरुपको रह्यो होला, कतिपय रुचिभन्दा बाहिरको पनि । तर जिम्मा दिइएको काममा आफ्नो विवेक प्रयोग गरेर संस्थागत हितमा काम गर्नुलाई मैले सधै महत्वका साथ हेरेँ ।फरकफरक जिम्मेवारीले मलाई आफ्नो कर्मप्रति लगनशील बनाउँदै लगेको थियो । मेरो दायित्व र कर्तव्यप्रतिको तत्वबोधले हमेसा मलाई अभिप्रेरित गरिरहन्थ्यो । त्यसैले पनि लामो कालखण्डमा मैले मेरो आत्मसम्मानमा कुनै पनि किसिमको दाग लाग्न दिइनँ ।


क्याबिनेटको कान्छो मन्त्री

२०१२ सालमा पहिलो पटक २ महिना र २०१७ सालमा दोस्रो पटक करिब ७ महिना गरी म २ पटक जेल परेँ । पञ्चायती राजनीतिका क्रममा गाउँ पञ्चायतदेखि जिल्ला सभा सदस्य हुँदै ३ पटक राष्ट्रिय पञ्चायत सदस्य बनेँ । २०२८ साल भदौ १३ मा म पहिलोपटक सहायकमन्त्री (भूमिसुधार) नियुक्त भएँ । त्यसबेलाको क्याबिनेटमा म कान्छो मन्त्री थिएँ ।

अन्य मन्त्रालयहरु

त्यसपछि २०२९ बैशाख ४ मा भूमिसुधार राज्यमन्त्री नियुक्त भएँ । एक किसिमले हेर्ने हो भने सहायकमन्त्रीबाट राज्यमन्त्रीका रुपमा पदोन्नति मिल्यो । त्यसपछि २०३० सालमा खाद्य, कृषि, सिँचाइ तथ भूमिसुधार मन्त्री बनेँ । थप मन्त्रालयको जिम्मा दिइएको थियो । केही गर्ने जोस र जाँगरले मलाई सधै नै उत्प्रेरित गरिरहन्थ्यो । त्यसैले मन्त्रालय थपिए पनि मैले कहिल्यै थकान महसुस गरिनँ । अर्को पटक गृह, पञ्चायत तथा कानून न्याय मन्त्रीमा नियुक्त गरिएको थियो । यो गम्भीर प्रकृतिको जिम्मेवारी थियो । एकैपटक ३ वटा मन्त्रालयको जिम्मेवारी ममा थियो तर जिम्मेवारी जतिवटा मन्त्रालयको दिइएपनि काम गर्ने मानसिकतालाई त्यसले हतोत्साही बनाउन सक्दैन । र, म त्यो नेचरको मानिस पनि थिइनँ ।

आमाको देहान्त

मानिसको जीवनमा आमाको स्थान सर्वाधिक उच्च रहन्छ । आफ्नी आमाको चरणको धुलो लगाएर आशीर्वाद नलिने मानिस बिरलै भेटिन्छन् । भनिन्छ नै, अरुको लाख, आमाको काख । त्यसबेला मेरा आमा र बुबा औरहीमै हुनुहुन्थ्यो । माहिलो भाइ जनकपुरमा बसेर पत्रकारिता गर्दै थियो भने साहिँलो र कान्छो खेतीपानीमा नै व्यस्त थिए । त्यसबेला मेरो खाली समय बितिरहेको थियो । जिल्लातिर जाने सोचाइ बनाइरहेको थिएँ तर गइनसकेको भने थिइनँ । तत्कालै मन्त्रिमण्डलको गठन हुनसक्ने सम्भावना पनि थियो ।

त्यही समयमा आमा उपचारका लागि काठमाडौं आउनुभएको थियो । आमालाई खासै कुनै कडा रोग थिएन । त्यसबेला आमाको आँखामा केही समस्या उत्पन्न भएकाले आँखाको उपचार राजधानीमा राम्रो हुन्छ भनेर आमालाई काठमाडौं नै बोलाएको थिएँ । राजधानीमा अहिलेजस्तो धेरै अस्पताल त थिएनन् । तर जति थिए, तिनमा राम्रा चिकित्सक कार्यरत थिए । अनि उपचार पनि राम्रो गर्थे । केही दिनभित्रै आमाको आँखाको उपचार गराएँ । दुई चार दिन उहाँ काठमाडौं नै बस्नुभयो । त्यसपछि उहाँलाई औरही पठाउने बन्दोबस्त गर्दै थिएँ । एक दिन अचानक आमालाई गाहे भयो र उहाँ बित्नुभयो, काठमाडौंमै । आमाको निधनले मनमा आँधीहुरी नै ल्यायो । जति नै वृद्ध भएपनि आमा बा भनेका आश्रयदाता नै हुन् । हामी आफै उमेरले पाको हुँदै गएपनि बुबा र आमाको अगाडि केटाकेटी नै ठहरिन्छौं । हठात् आमाको आशिषरुपी हात मेरो शिरबाट हराएर गएको अनुभूति भयो ।

आमाको महाप्रस्थानपछि उहाँको अन्त्येष्टि पशुपति आर्यघाटमै गरेँ । लाग्यो आमा पशुपतिकै शरणमा देहत्याग गर्न चाहनुहुन्थ्यो सायद, त्यसैले आँखाको उपचारपछि ठीक भएर गाउँ जाने तरखर गर्दै रहँदा नै बित्नुभयो । अन्त्येष्टिपछि सपरिवार औरही गयौं । अनि सम्झिरहेँ रामेछापदेखि मलंगवा हुँदै औरहीसम्मका दिनमा आमाका न्यानो मायाको साथलाई । महसुस गरिरहेँ आमाले आशिष दिँदै स्पर्श गरिरहेको हातलाई । 

औरहीमै हामी ४ भाइ आमाको किरियामा थियौं । त्यहीबेला सरकार परिवर्तन भयो । किरियापुत्री बस्ता हामी औरहीनजिकै रहेको जङ्गहा खोलामा जान्थ्यौं । बिहानीको नुहाइधुवाइ, ढिकुरो पूजालगायतका सम्पूर्ण काम त्यही खोलाको बगरमा हुन्थ्यो । गाउँलेको जमघट पनि हुने नै भयो । त्यही बिहानको जमघटमा बडेबाबुले प्रधानमन्त्री परिवर्तनको कुरा सुनाउनुभयो । खोलाबाट फर्कियौँ । रेडियो नेपालले पनि तीन चारपटक मात्रै समाचार दिन्थ्यो । दिउँसोको समाचारमा मन्त्रिमण्डल गठन भएको समाचार रेडियोले प्रसारण गर्यो । त्यसैले पद बाँडफाँडको खबर नभनेर मन्त्री नियुक्त हुनेहरुको मात्रै नाम पढ्यो । मेरो नाम पनि त्यो समाचारमा पढिएको थियो । साँझपख मात्र मलाई गृह र पञ्चायतमन्त्रीमा नियुक्त गरिएको खबर प्रसारण भयो ।

यसरी आमाको किरियामा रहँदा २०३२ साल मंसिर १५ गते गठित मन्त्री परिषद्मा म गृह र पञ्चायतमन्त्री नियुक्त भएको थिएँ । पदमा पुगेपछि गाउँले मात्रै होइनन् वरपरका गाउँघरबाट मानिस आए । सरकारी कर्मचारी पनि आउने नै भए । सुरक्षा निकायदेखि अरुहरुको पनि भीड सुरु भयो । लाग्यो आखिर पावरकै खेल त रहेछ ।

शपथग्रहण

१५ दिनको काम सिध्याएर म काठमाडौं फर्किएँ परिवारसहित । सेता लुगा फुकाएर शपथग्रहण गरेँ । प्रधानमन्त्रीले मलाई शपथ गराएका थिए, सिंहदरबारमा । म  आमाको किरियामा भएका कारण धेरैपछि मात्र शपथग्रहण भएको थियो । त्यसैले मैले एक्लै शपथ लिएँ । फेरि मेरो अर्को कार्यकाल सुरु भयो–गृह मन्त्रालयमा । र, यसपटक म थप केही नयाँ गर्ने सोचाइका साथ अगाडि बढ्ने मनस्थितिमा थिएँ ।

धन्न बाँचियो

गृहमन्त्री हुँदा नै एकपटक एउटा कार्यक्रमको सिलसिलामा झापा पुगेको थिएँ । मसँगै सहायकमन्त्री भोलानाथ झा पनि थिए । तोकिएको समयभन्दा अघि नै झापा पुगिएको थियो । केही समयपछि कार्यक्रमस्थल पुगेर बसेँ । त्यसैबेलादेखि मेरो अचानक पेट दुख्न थाल्यो । केहीबेर त दुखाइ सहेँ पनि तर असह्य भएपछि झाजीलाई जिम्मा लगाएर म निस्किएँ । मेरो अवस्था देखेर हेलिकप्टर मगाउने कुरा चल्यो । मैले अस्वीकार गर्दै प्लेनबाटै जाने कुरा गरेँ । दमकको त्यो कार्यक्रममा नबसेर म विराटनगर आएँ र सिधै प्लेनबाट काठमाडौं फर्किएँ । काठमाडौं आउनासाथ म डा.अञ्जनीकुमार शर्मासँग जचाउन गएँ । गलब्लाडरमा पत्थरी र अल्सरले सताएको थाहा लाग्यो । तर एक दुई दिनभित्रै डा. शर्मा सेमिनारका लागि हङकङ जाँदै थिए । उनले फर्केपछि मात्रै अप्रेसन गर्ने कुरा गरे । मैले पनि हुन्छ भने । केही समय पर्खनु नै ठीक लाग्यो मलाई ।

मन्त्रीक्वार्टरबाटै छोरीको विवाह

म गृहमन्त्री हुँदा नै मेरी जेठी छोरी निरुको बिहे मन्त्रीक्वार्टरबाटै भएको थियो । त्यसबेला केही मन्त्रीलगायत आफ्नाहरु पनि रिसाए । किनभने मैले आफै हुँदा बनाएको थिएँ, बिहे ब्रतबन्धमा ५१ जना मात्र सहभागी हुने भन्ने । र मैले ५१ जनाभन्दा १ जनालाई पनि निम्तो दिइनँ ।


पैसाले कहिल्यै तानेन

मैले चाहेको भए काठमाडौंमा जग्गाजमिन जोडेर यतै घरजम गरेर बस्न पनि सक्थेँ । तर, मैले औरही छोडेर अन्त बसोबास गर्ने त्यसबेला सोच्दै सोचिनँ । गाउँमा खेतीपाती थियो । पिताजी र दुई भाइ खेतीपातीमै सक्रिय थिए । म भने काम पर्दा काठमाडौंमा हुन्थेँ । सकिएपछि घर फर्कन्थेँ । त्यसपछिका केही महिना उतै अल्झिेन्थेँ, उतै रमाउँथे ।

एकपटक कालिकास्थानमा एक रोपनी जग्गा पाएको थिएँ । घडेरी थियो त्यो । पर्खाल पनि लगाइसकिएको थियो । र दाम पनि आठ हजार रुपैयाँ मात्रै थियो । औरहीको एक बिघा खेत ६ साढे ६ हजारमा बिक्रि हुन्थ्यो । पत्नी उमाले खेत बेचेर कालिकास्थानमा जग्गा किन्नु भनेर पटकपटक भनेकी थिइन् । मलाई लाग्यो– औरहीको खेत बेचेर खाने के ? आखिर भात त खानैपर्यो । यहाँको घडेरीले खान दिँदैनथ्यो । मैले उमालाई पनि त्यही जवाफ दिएँ । केही बोलिनन् उनी । आफ्नो कार्यक्षेत्र नै महोत्तरी भएकाले काठमाडौंले तान्न सकेको मैले अनुभव गरिनँ । न त मलाई पैसाप्रतिको मोह नै कहिल्यै रह्यो । त्यसैले पनि मैले भ्रष्टाचारविरोधी अभियानको जेहाद नै छेडेको थिएँ भने गृह मन्त्रालयले बेपर्वाह मनलाग्दी बाँड्ने आसचपु (आर्थिक सहयोग÷चन्दा÷पुरस्कार) लाई नियन्त्रणमा ल्याउने कामसमेत गरेको थिएँ जुन चुनौतीपूर्ण थियो ।

मनलाग्दी आसचपु प्राप्त गर्नेहरुका नजरमा मजस्तो मानिस राम्रो ठहरिने कुरै भएन । तर, म पनि कम जिद्दिवाल थिइनँ । मैले ठानेको कामलाई पूर्णता दिनु, त्यसबाट राज्यकोषलाई पनि आर्थिक बोझक म होस् भन्ने मेरो चाहना गलत थियो भन्ने मलाई लाग्दैन । 

वास्तवमा मैले पैसालाई कहिल्यै महत्व दिइनँ । त्यसैले होला पैसाले मलाई कहिल्यै तान्न सकेन । यदि त्यसतर्फ अलिकति मात्रै पनि झुकाव राखेको भए सायद आज अवस्था अर्कै हुन्थ्यो होला । मेरो एकजना आफन्तले मेरो यस किसिमको कार्यशैली देखेर भनेका थिए, ‘तैँले पछि दुःख पाउँछस् ।’ ती आफन्तसँग मेरो आज पनि भेट हुन्छ । उनी मलाई त्यो प्रसङ्ग आज पनि सम्झना दिलाउने प्रयास गरिरहन्छन् । तर, एउटा कुरो पक्कै के हो भने आजसम्म मलाई कसैले औँला ठड्याउन सकेका छैनन् । राजा नै सर्वशक्तिमान रहेको त्यो समयमा दरबारका केही सदस्यहरुको ‘इच्छा’ लाई एकातिर थान्को लगाइदिने मलाई, मैले गल्ती गरेको भए के त्यसै छोड्ने थिए र ? मैले गलत काम गरेको थिइनँ । दरबारका सदस्य भनेर लम्पसार पनि परेको थिइनँ । राज्यको हितमा काम गर्ने व्यक्ति थिएँ म, त्यहीअनुरुप गर्दै गएँ । 

त्यसबेला राज्यले आँचोखाँचो पेश्की पनि उपलब्ध गराउँथ्यो । यसरी उपलब्ध गराएको पेश्की धैरेले प्रयोग गरे । पैसा लिएर जग्गाजमिन जोडे । कतिले काठमाडौंमा नै घडेरी र घर किने । कतिले काठमाडौंबाहिर पनि किने । तर, मैले आफ्नो घर व्यवहार चलाउनुपर्ने विषयलाई मूलरुपमा हेरेँ । मैले पेश्की लिनु उचित सम्झिनँ । पेश्की लिएपछि तिर्नुपनि पर्दथ्यो । आफ्नो पदअनुरुपको स्ट्यान्डर्ड पनि मेन्टेन गर्नुपर्ने थियो । त्यसैले पनि होला मैले पेश्की लिएर जग्गाजमिन जोड्ने सोचाइ कहिल्यै बनाइनँ । मलाई आफूलाई प्राप्त हुने रकमले आफ्नो र परिवारको पालनपोषण गर्नु थियो । जिल्लाबाट आउनेलाई अवस्थाअनुसार सत्कार पनि गर्नैपर्दथ्यो । तर, पेश्की लिएपछि तिर्नमै रकम खर्च हुने मैले देखेको थिएँ । घर घरायसी काममा नै बढी रकम खर्च हुने भएकाले पनि मैले पेश्की लिएर जेथा जोड्ने काम गरिनँ । कैयन साथीले त्यसरी नै जायजेथा जोडे ।

पदमा रहँदा नै कतिपय मन्त्री वा अन्य पदाधिकारी व्यक्तिहरुले पेस्की लिएर होस् वा अरु केही गरेर, जग्गा किन्ने र घर बनाउने काम पनि गरे । तर, मैले त्यस्तो सोच्दै सोचिनँ । धरैपछि मात्र मैले धुम्बाराहीमा जग्गा किनेर घर बनाएको थिएँ । पछि त्यो बेचेर चाबहिल गौरीघाटमा घर बनाएँ । आज पनि मेरो बसोबास गौरीघाट क्षेत्रमा नै रहेको छ ।

ती दिनहरु अहिले सम्झनामा मात्रै सीमित छन् । उक्लिँदो उमेरले मानिसलाई शिथिल बनाउँदै जाँदो रहेछ स शरीर पनि गल्दै गएको छ । केही वर्षअघि म नराम्ररी बिरामी भएँ । त्यसबेला महोत्तरी परिवारले मलाई ठूलो आर्थिक सहयोग गर्यो । त्यस कार्यप्रति म महोत्तरी परिवारको कृतार्थ छु । म इमानदार थिएँ– त्यसैले म महोत्तरी परिवारले पनि सहयोग गर्ने सोच्यो । यति इमानदार नरहेको भए सायद त्यो मान, सम्मान र सहयोग प्राप्त हुने थिएन ।

अचेल कहिलेकाहीँ मलाई पुराना मित्रहरुले सुनाउँछन्, मेरो कुरो अहिले पनि चल्छ रे, इमानदार गृहमन्त्रीका रुपमा । तर, त्यो इमानदार गृहमन्त्रीको अवस्था आज कस्तो छ ? गृह मन्त्रालयले कहिल्यै सोधीखोजी गरेन । आश्चर्य लाग्छ । मैले कतै उल्लेख गरेको छु–कुरो पावरकै भन्ने । आखिर हो नै रहेछ, पावरकै कुरो त रहेछ । ‘सबैले बलेकै आगो नै ताप्छन्’ कथन त्यसै प्रख्यात भएको होइन ।

बाल्यावस्था

रामेछाप जिल्लाको बाबियाखर्कमा वि.सं. १९८६ को माघ १५ गते पिता एकत्रैलोक्यराज उपाध्याय घिमिरे र माता शशिरेखा उपाध्याय घिमिरेको जेठो छोराको रुपमा मेरो जन्म भएको थियो । हजुरबुबा पण्डित कुलनाथ उपाध्याय घिमिरे भागवत पुराण वाचन कलामा सिद्ध हुनुहुन्थ्यो । गाउँका धार्मिक कार्यमा हजुरबुबाको उपस्थिति अनिवार्य झै मानिन्थ्यो । मलाई हजुरबुबाले यस्ता धार्मिक कार्य एवम् अनुष्ठानहरुमा प्रायः लिएर जानुहुन्थ्यो, प्रसिद्ध पुराण वाचकको नाति भएकाले मेरो खातिरदारी पनि कम हुँदैनथ्यो ।

बालापन रामेछापमै बितेपनि किशोरावस्था भने मलंगवा (पछि हालको महोत्तरी तर त्यसबेला सर्लाही, महोत्तरी, धनुषा एउटै जिल्ला थियो) मा बित्यो । पिताजीको जागिरसँगै हाम्रो जीवनयात्रा चक्र घुमेको थियो । त्यसबेला पिताजी केटाकेटीहरुले पढ्नुपर्छ, अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । त्यसैले पनि पढाई लेखाई प्राथमिक सूचीमा पर्दथ्यो । पिताजी मलंगवाको अदालतमा हाकिम हुनुहुन्थ्यो । सीमावर्ती भारतीय भूमिमा अवस्थित सोनवरसास्थित एउटा माध्यमिक विद्यालयमा मैले पढाइलाई सूचारु गरेँ । त्यसअघि कक्षा ८ मा सितामढीस्थित स्कूलमा भर्ना भएको थिए । भारतकै सीतामढीबाट म्याट्रिकुलेसन परीक्षा पास गरेँ जुन आजको एसइइ सरह थियो । थप पढाइका लागि म बिहारको दरभंगा पुगेँ ।

त्यसबेला हाम्रो परिवार बस्दै आएको औरही गाउँमा स्कुल थिएन । शिक्षाको उज्यालो नै सर्वत्र चहकिलो उज्यालो बनाउने आधारशिला हो । त्यही सोचका साथ गाउँमा नै एउटा विद्यालय हुनुपर्ने निर्णयमा म पुगेको थिएँ । मेरो यस सोचमा गाउँका बुज्रुक समकालीन साथीहको पनि साथ थियो र अन्ततः खडा भयो औरहीस्थित स्कुल । आज हाइस्कुल भएर हजारौंलाई उच्च शिक्षाको लागि दक्ष बनाउँदै आएको औरही स्कुल प्रारम्भमा प्राथमिक स्कुलका रुपमा स्थापित भएको थियो ।

त्यस्तै, महोत्तरी–सर्लाहीको एउटा अर्को प्रमुख बजार थियो– गौशाला बजार । औरहीभन्दा केही किलोमिटर पश्चिमको यो बजार त्यतिखेरदेखि नै चर्चामा थियो । चर्चामा रहेपनि विद्यालयको अभाव त्यहाँ पनि थियो । त्यो प्रमुख स्थलमा पनि एउटा स्कुलको आवश्यकता थियो नै । फलतः गौशालामा पनि स्कुल स्थापनाको कामलाई प्राथमिकताको सूचीमा राखियो र स्कुल स्थापनाको काम भयो ।
 

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१६ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१६ घण्टा अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप