नेपालको बचत तथा ऋण सहकारी अभियानले ३३ बसन्त पार गरेको छ । वि.सं. २०४५ साल श्रावण ३२ गते आजभन्दा ३३ बर्ष अगाडि अनौपचारिक बचत समूहबाट शुरु भएको नेपालको बचत अभियान आज विश्वस्तरमा पहिचान स्थापित गरी ३४ औं स्थापना दिवस मनाउने संघारमा पुगेको छ । स्पष्ट कानूनी व्यवस्थाको अभावमा ग्रामिण समुदाय र सदस्यहरुको सामान्य आर्थिक आवश्यकता परिपूर्तिका लागि सहजीकरण गर्ने उद्देश्यसहित शुरु भएको अभियान अहिले के गाउँ के शहर नेपालका ७६ जिल्लामा विस्तारित भएको छ । स्थापनाकालदेखि नै समयानुकुल नविनतम प्रविधिमा पहूँच विस्तार, नीति, विधि र प्रविधिको उपयोग मार्फत सदस्यहरुमाझ सेवामा एकरुपता ल्याई साकोसमा वित्तीय आत्मनिर्भरता, दीगोपना, सुशासन प्रवर्धन मार्फत गुणस्तर सुनिश्चितताको नियमित परीक्षण गर्नुले गुरुकुलको रुपमा सबैको लागि मार्गदर्शन प्रदान गरेको छ । त्यसैगरी राष्ट्र निर्माणमा साझेदारी गर्दै अर्बौं रुपैयाँ राजश्व संकलनमा समेत सहकारी क्षेत्रको योगदान उल्लेख्य रुपमा बढ्दो छ । साकोस अभियानलाई आज यस उचाईमा पुर्याउन अग्रजहरुको योगदान अविस्मरणीय छ ।
स्व. भोजराज घिमिरे, संस्थापक अध्यक्ष
नेफ्स्कूनकोे राष्ट्रिय अन्तर्राष्ट्रिय प्रभाव र प्रतिष्ठा उच्च छ । एशियाली ऋण महासंघ र विश्व ऋण परिषद्को सदस्य बनेको छ । सहकारीका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूल्य र सिद्धान्तहरुको पालनामा प्रतिबद्ध छ । कोभिड १९ माहामारीको संकटका समयमा पनि अनलाइन मार्फत नियमित तालिम तथा शिक्षाका कार्यक्रमहरु चलाएर नेफ्स्कूनमा आबद्ध संस्थाहरु सञ्चालनमा सहज बनाउन, स्थायीत्व दिन र दीगो बनाउनका लागि नेफ्स्कूनको भूमिका राम्रो भएको मैले देखेको छु । नेफ्स्कूनले अहिले जे गरिरहेको छ, जनशक्ति, भौतिक सम्पत्ती सबै कुरालाई हेर्दा नेफ्स्कूनको प्रगति राम्रो छ । भविष्यमा पनि सहकारी क्षेत्रमा नेफ्स्कून प्रतिको विश्वसनीयतामा कमी हुदैन भन्ने मलाई लागेको छ । संघले सहकारी क्षेत्रमा विश्वास निर्माण गर्दै सम्पूर्ण बचत ऋण अभियानलाई दीगो, सबल र सुशासन कायम गराएर अगाडि बढ्न सकोस् भन्दै ३४औं स्थापना दिवसको अवसरमा संघको सफलता, उन्नती र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
सहकारी अभियानमा बचत तथा ऋणका धेरै संस्थाहरु देखिए । सहकारी खुल्ने क्रम बढ्यो तर बचत तथा ऋण सहकारीको मूल्य मान्यताका बिषयमा जानकार भएनन् । संघले बचत ऋण सहकारी सञ्चालनका सिद्धान्त मानिसहरुलाई व्यापक रुपमा सिकाउँदै जानुपर्ने आवश्यकता मैले देखेको छु । धेरै लामो समयदेखि संघले बचत तथा ऋण सहकारी सञ्चालनका सिद्धान्तहरुको विषयमा वकालत गर्दै आएको छ, तर समुदायसम्म यसको शन्देस प्रवाह गर्न कमी भएको हो की भन्ने लाग्छ । त्यसकारण नेफ्स्कूनले सहकारी भित्र र सहकारीसँग सरोकार राख्ने सरोकारवाला निकायहरुसम्मलाई सहकारीको मूल्य मान्यता र सिद्धान्त को बारेमा जानकारी गराउन जोड दिनुपर्छ । सदस्य सम्बन्ध, सन्तुष्टी र सरकारसँगको नीतिगत बहश पैरवीमा संघले जोड दिइरहेको छ, तर मुख्य कुरा बचत ऋण सहकारीको सिद्धान्तकै विषयमा मानिसहरु जानकार नभएका हुन् अथवा कमजोरी के हो ? त्यसलाई पहिचान गरेर संघ अगाडि बडोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
मीनराज कंडेल, पूर्वअध्यक्ष२०७८ साल श्रावण ३२ गते नेफ्स्कूनको ३४औं स्थापना दिवस मनाउन गइरहेका छौं । खासगरी साकोस अभियान नेपालको बचत ऋण सहकारी अभियानको छाता संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.३३ बर्ष पुरा भएर ३४औं बर्ष प्रवेशको अवसरमा नेफ्स्कून र सिङ्गो साकोस अभियानप्रति उत्तरोत्तर प्रगतिको कामना गर्दछु । साथै साकोस अभियानले छरिएर रहेका पूँजीलाई एकतृत गरेर सदस्य, समुदाय र मुलुककै आर्थिक सामाजिक विकासमा योगदान पुर्याउन सफल भएको छ, यसलाई अझै प्रगतिपथमा अगाडि लान सकोस् र नेपाल भरिका बचत तथा ऋण सहकारी संस्थाहरुलाई एउटा प्रणालीको रुपमा विकास गर्दै अन्तर्राष्ट्रिय दर्शन, सिद्धान्त र मूल्य भित्र रहेर पद्धतिसँगत ढंगले सहकारी अभियानलाई अझ अगाडि बढाउन नेतृत्वको भूमिका अब्बल रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
नेफ्स्कूनले साकोस अभियानलाई अगाडि बढाउँदा यसको मुख्य काम नै बहश पैरवीको काम हो । केन्द्रीय संघले सिङ्गो बचत ऋण सहकारी अभियानलाई प्रभावकारी र व्यवस्थित रुपमा अगाडि लैजानको लागि सरकार अर्थात राज्य पक्षका यी तिनै तहका स्थानीय, प्रदेश र संघीय सरकारसँग वहश पैरवी गर्दै सहकारीमैत्री ऐन नियमहरु निर्माण गर्नका लागि कानूनी वातावरण तयार गर्दै यसलाई अगाडि वढाउन पहल गर्नुपर्छ ।
नेपालको संविधान, २०७२ ले सहकारी क्षेत्रलाई जुन महत्व दिएको छ, खासगरी सार्वजनिक, नीजि र सहकारी मुलुकको आर्थिक सामाजिक विकासका स्तम्भहरुको रुपमा उल्लेख गरिएको सन्दर्भमा तीनै तहका सरकारहरु (अनुसूची ५ देखि ९ सम्मको संबैधानीक व्यवस्था) र तीनै तहको साझा कार्यक्रममा सहकारी परेको र अनुसूची ९ मा संघ, प्रदेश र स्थानीय तहको साझा कार्यसूचिमा १ नम्बरमा सहकारीलाई राखिरहेको सन्दर्भमा सहकारी क्षेत्रको योगदान कम भैरहेको छ, यसलाई हामीले महत्वका साथ अझ माथी उठाउनुपर्ने जरुरी छ ।
साकोस अभियानका सदस्यहरुसँग रहेको पूँजीलाई व्यवस्थित रुपमा परिचालन गर्दै आफ्ना सदस्य र समुदायको उत्पादन बृद्धि, रोजगारी सृजनामा पहल गर्दै सहकारी अभियानमार्फत सदस्यहरुको जीवनस्तर बदल्न र संयुक्त राष्ट्रसंघले अगाडि सारेको दीगो विकास लक्ष्य पुरा गर्न र नेपालको बचत ऋण अभियानको नेतृत्व गर्दै अभियानलाई माथी उठाउन मुख्य भूमिकामा रहनुपर्छ । सहकारी क्षेत्रका तमाम् नेतृत्व तहमा रहने व्यक्तिहरु, व्यवस्थापन तहमा रहने व्यक्तिहरु र सबै सदस्यहरुलाई सहकारीको अन्तराष्ट्रिय सिद्धान्त र मूल्य भित्र रहेर तालिम शिक्षा र प्रविधिको माध्यमबाट अगाडि बढ्न् संघले सदस्यहरुलाई हौसला प्रदान गर्नुपर्छ । यो बदलिँदो परिस्थितिमा प्रविधिमैत्री ढंगले अगाडि बढाउने सन्दर्भमा नगद रहित कारोबारका लागि स्थानीय तहमा परेको बजेटको प्रभावकारी सदुपयोग भए नभएको सम्बन्धमा पनि संघले आफ्नो भूमिकालाई क्रियाशिल बनाउनुपर्छ । अबको समय प्रविधि प्रयोगको समय हो । साकोस अभियानलाई प्रविधिमैत्री बनाउनमा यस संघले नेतृत्व गर्न साकोस्, म हार्दिक शुभकामना भन्न चाहन्छु ।
नेफस्कूनको भावी यात्रा त्यती सजिलो छैन । वजारमा अनगिन्ति प्रतिस्पिर्धीहरु मौलाई सकेका छन् । वाणिज्य र विकास वैंकहरु भन्दा लघुवित्त वैंकहरु सहकारीका लागि चुनौतियुक्त छन् र सहकारी अभियानकै प्रतिस्पर्धीको रुपमा ग्रामिण भेगमा सेवारत छन् र यिनीहरुलाई राष्ट्र वैंकको समेत प्रत्यक्ष संरक्षण गरेको छ । कतिपय सहकारीका नेतृत्व वर्गहरु सहकारीमा आफ्नो भविष्य अन्यौल देखेर लघुवित्त वैंकतिर लागिसकेका छन् । अब नेफ्स्कूनले पारिवारिक विमर्श र समाधानको खोजी पहिल्याउनु पहिलो प्राथमिकता हो । अभियानले अधिकाधिक सदस्यसँग लक्ष्ययुक्त र विषय केन्द्रित छलफललाई अगाडि बढाउनुपर्छ, तवमात्र “सहकारीको पैसा सहकारीमा” भन्ने नारालाई मूर्तरुप दिन सहज हुनेछ र विविध परिवर्तन सम्भव छ । यस वाहेक हरेक मुद्दामा सरकारको हैन अभियानका अगुवाको साथ आवश्यक हुन्छ, अभियान एकमत भएमा सरकारको साथ स्वतः रहनेछ । तसर्थ, सहकारी अघिअघि सरकार पछिपछि भन्ने भनाईलाई आत्मसाथ गरियो भने एकाकार हुन समय लाग्ने छैन ।
वचत तथा ऋण सहकारीहरुको यथोचित एकीकरण गर्दै, गराउदै अनुगमन कार्यलाई तीव्रता दिनु उत्तिकै जरुरीछ । ख्याल गर्नुपर्ने कुरा केछ भने अनुगमन भनेको छड्के जाँचको रुपमा नलिई वरु यसबाट सदस्यहरुलाई मार्गदर्शनको सुनिश्चितता दिनुनै सार्थक प्रविधि हुनेछ । अनुगमनलाई सदस्य संस्थाहरुले वोझको रुपमा नलिने वातावरणको श्रृजना गर्नु संघको हितमा हुने र त्यसका लागि संघका कर्मचारीहरुलाई आवधिक तालिम प्रदान गरी नविनतम खोजप्रति उत्प्रेरित गर्नुपर्छ । संस्थाहरुका लागि विविध दस्तावेजको निर्माण गर्दा व्यवहारिक पक्षलाई सूक्ष्म रुपले ध्यान दिनु पर्ने हुन्छ । साथै, जीवन्त अनुगमनका लागि नेफ्स्कून भित्र दक्ष जनशक्ति र भरपर्दो प्रविधि संरचनाको निर्माण हुनु उत्तिकै जरुरी छ ।
परिकल्पनाकार नेतृत्ववर्गहरुनै भएपनि उनीहरु अतिथि जस्ता देखिनु स्वभाविक नै हो किनकि उनीहरु हस्याङ फस्याङ गर्दै आउछन र हतारमै फर्कन्छन् । त्यसैले व्यवस्थापन पक्ष भनेको स्थायी नेतृत्व हो जसले संस्थाको भित्रीभागमा रहेर आन्तरिक जिम्मेवारी पनि वहन गर्दै आत्माको रुपमा काम गरिरहेको हुन्छ र उनीहरुलाई सल्लाह तथा परामर्श दिई उनीहरुको मनोवल उच्च राख्ने काम विषेशतः नेतृत्ववर्गकै हुन्छ । आवधिक तालिम, वेतन, भत्ता सुविधा, कार्य सम्पादनको आवधिक मूल्यांकन, राम्रो कामका लागि इनाम वा उत्प्रेरित गर्ने कार्य, गलत गर्नेका लागि समय नपर्खिकन तत्काल कार्वाही लगायत अनगिन्ती विषयहरुमा सूक्ष्म रुपले व्यवस्थापन गर्दै कर्मचारीहरुलाई टिकाई राख्ने उपायहरुको खोजी गर्नु पर्ने जिम्मा वर्तमान नेतृत्व वर्गको काँधमा छ ।
सदस्य संघ, संस्थाहरुमा रहेको निष्कृय सम्पति वा व्याज नकमाउने रकमको केही अंश वचतको रुपमा छाता संगठनमा राख्नका लागि अभियानलाई प्रेरित गर्ने हो भने अभियानको वित्तीय सुरक्षाका लागि कतै गुहार माग्नु पर्ने अवस्था रहँदैन । यसका लागि अभियानका नेतृत्ववर्गहरुको विश्वास र अभियान प्रेरित बन्ने बातावरण बने सबैकुरा सम्भव हुन्छ ।
अभियानको स्वामित्व, रेखदेख र नियन्त्रणमा रहने गरी स्थिरीकरण कोषको मौजुदा व्यवस्थामा ऐन संशोधन हुनु जरुरीछ । सदस्यको वित्तीय योगदान कूल सम्पतिको आधारमा हुने व्यवस्था लगायत सञ्चालन समितिमा अधिक प्रतिनिधित्व योगदानी सदस्यहरुकै रहेमा अभियानको अपनत्व ग्रहण हुनेछ । यसैले, यसमा जम्मा हुने पैसा “सदस्यको र सदस्यकैलागि” (Members' and for Members) हो भन्ने नैसर्गिक मर्म राज्यलाई वुझाउन नेफ्स्कूनका नेतृत्ववर्गले खरो वहस पैरवी गर्नु पर्ने हुन्छ ।
वचत ऋण सहकारीलाई स्वच्छता दिने हो भने अव के्रडिट युनियन ऐन ( Credit Union Act ) नै भनेर अघि वढ्नु आवश्यक छ । वित्तीय कारोवार गर्ने भएकोले के्रडिट युनियनलाई सहकारी मात्र हैन त्यो भन्दा अधिक हो ( Credit Unions are more than Cooperatives ) पनि भनिन्छ । हामीलाई थाहाछ सहकारीका केही माथिल्ला व्यक्तिहरु र सरकारी निकायका केही व्यक्तिहरु यसको विरोधमा छन्, यो स्वभाविक पनि हो किनकि उनीहरुमा यस्तो ऐनको वारेमा भित्री मर्मको ज्ञानको कमीछ । यस्तोमा हामी धेरै खुसिहुनु पर्छ किनभने यहाँ प्रशस्त अवसर छ । उनीहरुलाई वुझाउनका लागि थप प्रमाणहरु र यथेष्ट सामाग्रीहरु तयार पारेपछि मात्र वहस पैरवीमा जानु पर्ने संकेत हो यो । तसर्थ, अरुले के भन्छन् त्यो गौण हो तर अभियान के भन्छ त्यो महत्वपूर्ण हो, त्यसैले, स्मरण रहोस् अभियानका लाखौं सदस्यका पैतालाहरु शिरमा राखेर वुलन्द आवाज गरौंं, सफलताले आफैं ढोका ढक्ढक्याउन आईपुग्नेछ तर यसका लागि दिमागबाट मात्र हैन दिलबाट पनि समर्पित हुनु जरुरी छ । अभियानलाई शिरमा राखेर दिमाग र दिल दुबैबाट समर्पित बन्न सकौं ! नेफ्स्कूनको ३४औं बार्षिकोत्सबको सबैमा यही शुभकामना व्यक्त गर्दछु ।
डी.बी.बस्नेत, निवर्तमान अध्यक्ष नेपालको बचत ऋण अभियानको एक मात्र अभिभावक संघ हो नेफ्स्कून । नेफ्स्कून आज ३४औं बर्ष प्रवेशको अवसरमा छ, आज जुन रुपमा संघले साकोस अभियानलाई एउटा निश्चित गन्तव्यमा पु¥याउने लक्ष्यका साथ अगाडि बढेको छ, अभियानको उच्चतालाई कायम गर्दै जुन उचाइ हासिल गरेको छ, त्यसमा अग्रजहरुको मार्गनिर्देशन र बर्तमान नेतृत्व पंक्ति र व्यवस्थापन कर्मचारीहरुको लगन र प्रतिबद्धता महत्वपूृर्ण छ । नेफ्स्कूनको ३४औं बर्ष प्रवेशको अवसरमा संघ र संघ आबद्ध सम्पूर्ण बचत तथा ऋण सहकारी संस्थाहरुप्रति हार्दिक शुभकामना साथै उत्तरोत्तर प्रगतिको कामना गर्दछु । संघको यस ३४औं बर्ष प्रवेशसँगै नेपालको बचत अभियानमा नेफ्स्कूनको ओजपूर्ण उपस्थिति रहोस्, नेपालका सबै बचत तथा ऋण सहकारी संस्थाहरुलाई संघको छाताभित्र ल्याएर साकोसहरुको दीगो विकास प्रबद्धर्न तथा गुणस्तर सुनिश्चितता कायम गर्न सफलता मिलोस् यही शुभकामना व्यक्त गर्दछु ।
सर्बप्रथम त संघले बचत ऋण सहकारी अभियानलाई व्यवस्थित र सुशासित बनाउन बचत तथा ऋण सहकारी ऐन ल्याउने विषयमा पहिलो पहलकदमी अगाडि बढाउनुपर्छ । यसका साथै संघले साकोस गुणस्तर प्रमाणीकरणका लागि सहकारी विभाग र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग समन्वयगर्दै गुणस्तर प्रमाणीकरणमा धेरैभन्दा धेरै साकोसहरुको संम्लग्नताका लागि जोड दिनुपर्छ । सदस्य सूचना सेवालाई अनलाईन प्रणालीमा जोड्ने, वृहत साकोस सफ्टवयरको विकास, साकोसको सेवा र प्रविधिको विकास, साकोस एकरुपता प्रणाली विकासका लागि जिल्लाहरुको छनौट गरी अभिमुखीकरण कार्यक्रम आयोजनाको विषयमा संघ जोडादार रुपले लाग्नुपर्छ ।
संघको तालिम केन्द्रका लागि भवन निर्माणमा प्रदेश तथा संघीय सरकारसँगको समन्वय गर्ने, संघले संस्थाले नेफ्स्कूनमा राखेको बचतको व्याजकर छुट, बचतलाई तरलतामा गणना गर्न पाउने प्रावधान, कर्जा सूचना केन्द्र निर्माणमा महत्वपूर्ण पहल तथा अग्रसरता लिनुपर्छ भन्ने लाग्छ । संघले अभियानसँगको ऐक्यबद्धता, समन्वय र सहकार्यलाई निरन्तरता दिन सके अभियानको विकास र प्रवर्धन का क्रममा आइपर्ने समस्याहरुको सहजै समाधान गर्न सकिन्छ भन्नेमा पूणै विश्वासको बातावरण कायम गर्नुपर्छ ।
साकोस आवाज पत्रिकामा प्रकाशित यो लेख समयसान्दर्भिक भएकोले पुन: संशोधन गरी प्रकाशन गरिएको छ ।
६ घण्टा अगाडि
२१ घण्टा अगाडि
२२ घण्टा अगाडि
२२ घण्टा अगाडि
१ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
२२ घण्टा अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
१२ दिन अगाडि
६ दिन अगाडि
३ दिन अगाडि
९ दिन अगाडि