‘नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रम सञ्जाल सक्षमता विकासको मार्ग हो’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रम सञ्जाल सक्षमता विकासको मार्ग हो’

बचत तथा ऋण सहकारी अभियानको साझा सञ्जाललाई व्यवस्थित र बलियो बनाउँदै सहकारी भावको कार्यान्वयनलाई सुनिश्चित गर्न नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रम सफल रहेकोप्रति जिल्ला बचत संघका प्रतिनिधिहरुको जोड रहेको छ । सञ्जाल सक्षमता विकास कार्यक्रम मार्फत साकोसमा स्तरीय नीति, कार्यविधि तथा प्रविधिगत एकरुपता कायम गर्दै विश्वसनियता बृद्धिका लागि सञ्जाल साझेदारी कार्यक्रम कोशेढुङ्गा सावित भएको छ ।

सबै जिल्ला संघहरुलाई जिल्ला संघ साझेदारी कार्यक्रममा क्रियाशिल बनाएर संघहरुको सक्षमता विकासका लागि नेफ्स्कूनले योजनाबद्ध कार्यक्रम अगाडि सारेको छ । देशभरका जिल्ला बचत तथा ऋण सहकारी संघहरु साथै लुम्बिनी र सुदुर पश्चिम प्रदेश बचत संघलाई समेत साझेदारी कार्यक्रम आबद्धताका लागि योजनाबद्ध कार्यक्रम ल्याउनेमा संघको जोड रहेको छ । 

जिल्ला संघहरुको सक्षमता विकास र सञ्जाल सुदृढीकरणका लागि केन्द्रीय संघ नेफ्स्कूनले अभिभावकको दायित्वबोध गरेको छ भने जिल्ला संघ साझेदारी कार्यक्रममार्फत अभियानको सुदृढीकरणका लागि उपलब्ध स्रोत साधन उपयोग गर्दै साझेदारीको मोडल मार्फत अगाडि बड्न संघ प्रतिबद्धताका साथ लागिपरेको छ ।  

 नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रम 

नेफ्स्कून र यसमा आबद्ध जिल्ला बचत तथा ऋण सहकारी संघ लि.बीच सदस्यहरुको हित संरक्षण तथा बचत ऋण सहकारीहरुको सुदृढीकरणका लागि व्यवसाय साझेदारी कार्यक्रम हो ।  यो नेफ्स्कूनको सेवा र व्यवसाय प्रवर्धनमा जिल्ला संघहरुको हातेमालो अभियान पनि हो । यस अन्तर्गतको द्धिपक्षीय सम्झौतामा बार्षिक सदस्यता नवीकरण शुल्क संकलन साझेदारी, जोखिममा आधारित साकोस सुपरीवेक्षण CURBS कार्यक्रम सञ्चालन साझेदारी, स्टेशनरी आपूर्ती सेवा सञ्चालन साझेदारी, सफ्टवेयर विक्री वितरण साझेदारी, तालिम कार्यक्रम सञ्चालन साझेदारीसँगै समसामयिक अन्य साझेदारीहरुका विषयहरु समावेश छन् । यो बचत तथा ऋण सहकारीहरुको तल्लोदेखि माथिल्लो संरचनाहरुसँगको सञ्जाल सबलीकरण अभियान हो । केन्द्रमा विकास गरिएका राष्ट्रिय अन्तर्राष्ट्रिय असल अभ्यासहरु जिल्लामा संगठित संघहरुमार्फत स्थानीय सहकारी संस्था र तिनमा आबद्ध सदस्यहरुको आवश्यकता अनुरुप सहज र प्रभावकारी माध्यमबाट पुर्याउने पुल हो नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम ।

यस कार्यक्रमको सुरुवात २०७६ साल भदौं १७ गते औपचारिक रुपमा नेफ्स्कून केन्द्रीय कार्यालयमा विभिन्न जिल्ला बचत संघका प्रतिनिधिहरुसँगको सामूहिक सम्झौता कार्यक्रम आयोजना गरी भएको थियो । हालसम्म यस व्यावसायिक साझेदारी कार्यक्रममा दोलखा, मोरङ, काठमाडौं, धादिङ, बागलुङ, नवलपरासी, चितवन, दाङ, बारा, सिन्धुली, मकवानपुर, सुनसरी, कास्की, सर्लाही, काभ्रे, उदयपुर, भक्तपुर, रुपन्देही, रौतहट, प्यूठान, बाँके, पर्सा, स्याङ्जा, कञ्चनपुर र बर्दिया गरी २५ जिल्ला बचत संघ सामेल भएका छन् । त्यसैगरी सहकारी ऐन २०७४ को प्रदेश विषयगत सहकारी संघ गठनको प्रावधान अनुरुप गठित सुदुरपश्चिम प्रदेश बचत संघ र लुम्बिनी प्रदेश बचत संघ गरी २ प्रादेशिक संघहरुबीच नेफ्स्कून साझेदारी कार्यक्रम सम्झौता भएको छ ।  प्रारम्भिक संस्थाहरु बलियो हुनु भनेको जिल्ला संघ बलियो हुनु हो र जिल्ला संघ बलियो हुनुभनेको नेफ्स्कून बलियो हुनु हो भन्ने सर्वममान्य धारणा हो । यसै अनुरुप नेफ्स्कूनले प्रदेश बचत संघहरुसँग पनि सहकार्य गर्दै अघि बढ्ने प्रयासको थालनी गरेको हो । 

नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रममा आबद्ध बचत संघका प्रतिनिधिहरूको भनाई 

हुुमा डी.सी.
उपाध्यक्ष, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. दाङ

नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम प्रभावकारी बन्न र दीर्घकालसम्म यसले काम गर्नका लागि सर्वप्रथम स्थानीय तह, नेफ्स्कून  र सहकारी बीचको त्रिपक्षिय लागत आवश्यक पर्दछ । थोरै लगानी पालिका तहले, केही सहकारीले र केही नेफ्स्कून मार्फत लगानी साझेदारी गरियो भने मात्र अपेक्षा गरिएको कामले पूर्णता पाउँथ्यो भन्ने लाग्छ । अहिले कार्यक्रम प्रभावकारी जस्तो देखिएको छ तर भनेजस्तो भएको छैन । भूगोल अनुसार सबैले सवै सहकारी सहकारीको हैसियत अनुसार लागत लगाउन नसकेको अवस्था छ । कतिपय सहकारी साना पूँजीका छन् । शुल्क तिरेर तालिममा सहभागी हुनुपर्दा साना पूँजीका सहकारीहरुको पहुँच पुगेको छैन । हो सिकाइ लिन लगानी लगाउनु त पर्छ तर सहकारीको हैसियत नभएकाले सिकाइ लिनका लागि मात्रै सहकारीलाई खोक्रो बनाउन खोजेर त भएन । सहकारीको पूँजी कमजोर छ भन्ने विषयमा बुझाइ पनि कम भएको हो की भन्ने लाग्छ । हामी स्थानीय निकाय र समुदायलाई सहकारीको महत्वको बारेमा बुझाउनै सकेका छैनौं । बुझ्ने बुझाउने कुराको कमी भएको छ । अन्य देशले गरेका उदाहरण लिएर हामी हाम्रो ठाउँमा झ्याप्पै लागु गर्न खोज्दा त्यो प्रभावकारी कसरी बन्न सक्छ ।  स्थानीय भौगोलिक परिवेश अनुसार सहकारीको बारेमा जानकारी गराएर, सहकारीको सिद्धान्त र विधि अनुरुप यसले समुदाय र सदस्य हितका लागि यो तरिका बाट काम गर्छ भन्ने जानकारी सवैलाई नभएसम्म ग्रामिण तहमा सहकारी मार्फत आर्थिक सामाजिक विकासको सम्भावना न्यून छ । 

सिकाइ बुझ्ने बुझाउने तरिका फरक भएको छ । सहकारीका सात सिद्धान्त, सहकारी ऐन भनेर कुरा मात्रै गरेर हुँदैन । ग्रामिण तहमा सहकारीको अवस्था कमजोर छ, जिल्ला बचत संघहरु पनि सक्षम छैनन् । सर्वप्रथम त कसरी हुन्छ क्षमता बढाउनु पर्छ । आज ठूला सहकारीहरु मात्रै हेर्दै जाने, सहकारीमार्फत ठूला ठूला लगानीका योजनाहरु खोज्ने हो भने हामी जस्ता ग्रामिण तहमा भर्खर उठ्न संघर्ष गर्दै गरेका सहकारी त्यही विलिन हुन्छन । सर्वप्रथम त ग्रामिण तहका सहकारीहरुको विकासका लागि स्थानीय निकाय मार्फत सहकारीको बारेमा बुझाउनुपर्यो । प्रचार प्रसार गर्नुपर्यो तब मात्र सहकारीको विकास हुन्छ । सदस्यहरुमा वित्तीय सचेतना पैदा हुन्छ । सहकारीमा लागेको १९÷२० बर्ष भयो तर भनेको जस्तो सहकारीको विकास भएको छैन । यो क्षेत्रको जरै देखि विकास आवश्यक छ, सांसद नेता र ठूदो ओहदाका व्यक्तिको जस्तो चुरीफुरीबाट मात्र सहकारीको वास्तविक विकास अवश्य सम्भव छैन ।  

शारदा प्रसाद पहाडी
फिल्ड कार्यक्रम अधिकृत, सिन्धुली जिल्ला बचत तथा ऋण सहकारी संघ लि.

सहकारी संघ संस्था सञ्चालनका सम्बन्धमा नेपाल सरकारले जारी गरेका सहकारी ऐन, विनियम, कार्यविधि र निर्देशनहरु जति पनि छन् ती विभिन्न जिल्लामा सञ्चालित सहकारी समक्ष ढिलो चाँडो पुग्छन् । ऐन कानुनको बारेमा धेरैले जानकारी पनि राख्छन् । तर पनि सहकारी संस्था सञ्चालनमा पुरानै ठर्रा कायमै छ । त्यसले गर्दा नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम मार्फत जाँदा सहकारी अभियान सिन्द्धान्तमूलक ढंगले चल्न सहज भएको छ । सहकारी संस्था सञ्चालनका लागि आवश्यक नीति निर्माण गर्नेदेखि लिएर सहकारीको सिद्धान्त पालना गर्न साझेदारी कार्यक्रमले सहजीकरण गरेको छ । यसबाट जिल्ला बचत संघ मात्र नभएर प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाको गुणस्तर अभिवृद्धि का लागि पनि अर्को इटा थपिएको छ । लागत साझेदारीमा हुने शिक्षा, तालिम, प्रविधि, स्टेशनरी, स्तरीकरण कार्यक्रमबाट सहकारी सहकारी सँग पहुँच विस्तार साथै संघप्रतिको विश्वसनियता र सञ्जालको अपरिहार्यतालाई समेत पुष्टि गरेको छ । 

बाबुराम घिमिरे
अध्यक्ष, सर्लाही जिल्ला बचत तथा ऋण सहकारी संघ लि.

नेफ्स्कून अभियानको नेतृत्वदायी संघ हो । अभियानको सवलीकरण र सञ्जालीकरणका लागि नेफ्स्कूनको निरन्तरको मेहनत अभियानमाझ छर्लङ छ । संघले नीति, कार्यविधिहरु मेहनतका साथ निर्माण गरेको छ, तर जोडदार रुपले तयार गरिएका नीति, कार्यविधि र निर्देशनहरु कार्यान्वयन गर्ने चरणमा लचिलो भएको देखिन्छ । यसले गर्दा अभियानको विकासमा सोचेअनुरुप लक्ष्य हाँसिल गर्न सकिएको छैन । जिल्ला संघ साझेदारी कार्यक्रम अत्यन्त महत्वपूर्ण र प्रभावकारी मोडेल हो । यसबाट अभियानको विकास सम्भव छ तर नेफ्स्कून सिद्धान्तमा अडिक भएर काम गर्नुपर्छ । संघ नीतिगत विषय कार्यान्वय गर्ने क्रममा लचिलो हुनु हुँदैन, यदि कडाइका साथ प्रतिबद्ध भएर लाग्ने र अभियानसँगको छलफल र संवादबाट उठेका विषयवस्तुहरु पनि कार्यान्वयन गर्ने बातावरण बन्ने हो भने यसले निकै ठूलो सफलता प्राप्त गर्छ । लक्ष्य पुरा गर्न नेफ्स्कून कडा रुपमा प्रस्तुत हुन्छ, त्यो क्रममा भलै दुई चार संस्था र दुइ पाँच व्यक्तिको समर्थन नरहला तर सुधारका लागि चालिएको कडा कदमले भोलि सवैजना लाभान्वित त हुन्छन् नै । त्यसकारण कानुन कार्यान्वयन गर्ने क्रममा केन्द्रीय संघ लचिलो हुने होइन । हामी त्यसमा सहयोग गर्न तयार हुन्छौं । 

सोमनाथ निरौला 
अध्यक्ष, मोरङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.

केन्द्रीय संघको सदस्य संस्था जिल्ला संघ हो ।  दुवै आफैमा स्वायक्त संस्था हुन् । केन्द्र्रीय संघ र जिल्ला संघ दुवै आ–आफ्नै कार्यक्रममा क्रियाशिल छन् । त्यसकारण पनि दुवैका कार्यक्रमका बीचमा समन्वय आवश्यक छ ।  प्रारम्भिक संस्थाका सदस्यहरुले पाउने सेवामा एकीकृत भएर जाँदा प्रभावकारी हुने देखियो । फलस्वरुप जिल्ला संघ साझेदारी कार्यक्रमको अवधारण आयो । यो सही हो भन्ने लागेर प्रदेश नं. १ को सवैभन्दा पुरानो र मजबुद संघ को रुपमा रहेको मोरङ जिल्ला बचत संघले शुरुमै जिल्ला संघ साझेदारी कार्यक्रममा सम्झौता गरेको थियों । तर गत बर्ष कोभिड लकडाउनका कारण कार्यक्रम जति प्रभावकारी हुनुपर्ने हो त्यो हुन सकेन । गत बर्षैं बाटै यसका लागि हामीले छुट्टै कार्यक्रम अधिकृत राखेका छौं । तालिमहरु राम्ररी सञ्चालन गरेका छौं । कर्ब्स कार्यक्रममा पनि आवद्धता राम्रो भइरहेको छ । स्टेशनरी, सफ्टवेयर र तालिमका कार्यक्रमहरु शुरु गरेका छौं । तर नयाँ कार्यक्रम भएका कारण पनि केही विषयहरुमा समन्वय अझै मिलिरहेको छैन । 

कतिपय जिल्लाहरु आफैमा सक्षम भएका कारण पनि साझेदारी कार्यक्रममा सहभागी भएका छैनन् । ती जिल्लाहरुलाई समावेश गराउनको निम्ति पनि यी कार्यक्रमबाट आएका सुझावहरुले सहयोग पुग्छ । तालिम शिक्षाका लागि सहजकर्ता आवश्यक हुन्छ । नेफ्स्कूनका सहजकर्ता एक त सबै ठाउँमा पुग्दैनन् अर्कोतर्फ पुगे पनि नेफ्स्कूनको सहजकर्ता प्रयोग गर्दा महङ्गो पर्न जान्छ । दुर्गम जिल्लामा सहभागीहरुबाट सहभागिता शुल्क कम उठ्छ । स्थानीय रुपमा नेफ्स्कूनको गुणस्तरमा प्रशिक्षक तयार गर्ने काम पनि चुनौतीपूर्ण नै छ, त्यसले गर्दा साझेदारी कार्यक्रमलाई अझ प्रभावकारी बनाउन गम्भिर हुनुपर्नेछ । 

विद्यमान कमी कमजोरी र देखिएका समस्याहरु हटाउँदै एउटै आवाज, एउटै कार्यक्रम र एकै प्रकारका सेवा सुविधाहरु एकद्वार प्रणाली मार्फत सदस्य संस्था र सदस्यहरुमाझ पुर्याउने अभियानमा जिल्ला संघ साझेदारी कार्यक्रम प्रभावकारी माध्यमको रुपमा आएको हो । जिल्ला बचत संघले मात्रै गर्दा खेरी कतिपय कुराहरु अपुग हुनसक्थ्ये, त्यसका लागि नेफ्स्कूनले राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यास र नयाँ प्रविधिहरु पनि जिल्ला संघ मार्फत आउँने हुँदा सहकारीका नयाँ नयाँ कार्यक्रम, उत्पादन तथा सेवा लक्षित समूहसम्म पुग्ने भएकोले पनि साझेदारी कार्यक्रम निकै प्रभाकारी छ । 

गोकर्ण दुवाडी
प्रमुख व्यवस्थापक, धादिङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.

नेफ्स्कून र जिल्ला बचत संघको बीचमा जुन साझेदारी कार्यक्रम भयो यो एकदमै महत्वपूर्ण छ । साकोस अभियानलाई व्यवस्थित, दीगो र उत्कृष्ट बनाउने अभियानमा केन्द्रमा रहेर नेफ्स्कूनले जतिपनि बचत ऋण सहकारी छन्, तिनलाई हेर्ने, गतिविधिको अनुगमन गर्ने र उनीहरुको प्रवद्र्धनका लागि सहयोग गर्ने काम चुनौतिपूर्ण छ । एक्लैले सबै काम गर्न खोज्दा प्रभावकारी पनि नहुन सक्छ । त्यसकारण पनि अभियानको सुदृढीकरणका लागि जिल्ला संघ साझेदारी कार्यक्रम महत्वपूर्ण कार्यक्रम हो भन्ने लाग्छ । जिल्ला संघहरु प्रत्यक्ष रुपमा प्रारम्भिक संस्थाहरुसँग नजिक हुनेहुदा जिल्ला संघले अनुगमन गर्न, प्रवद्र्धन गर्न र विकास गर्न सम्भव छ । त्यसका लागि अहिलेको टड्कारो आवश्यकता भनेको जिल्ला संघको क्षमता विकास हो । धेरै जिल्ला संघहरु निश्क्रिय अवस्थामा रहेका र सक्रिय रुपमा काम गर्न खोजिरहनुभएका जिल्ला संघहरुमा पनि व्यवसाय विकास नभैसकेको अवस्था पनि छ । त्यसले गर्दा जिल्ला संघलाई सक्रिय गराउनको लागि त्यहाँ भित्र एउटा सिस्टम विकास गर्नुपर्ने र संघलाई काम गर्न सक्ने क्षमता विकास गराइयो भने संघले प्रत्यक्ष रुपमा संस्थाहरुसँग नजिक रहेर सेवा पुर्याउन सक्छ । बास्तवमै साझेदारी अभियानको उद्देश्य पनि त्यहि हो । साझेदारी अभियानले सञ्जालीकृत ढंगले साकोस अभियानलाई व्यवस्थित बनाएर अगाडि बढ्नको लागि योजनाबद्ध रुपमा लाग्नुपर्छ नै । 

साकोस र संघको बीचमा जति सहकार्य हुनुपर्ने हो त्यति सहकार्य हुन सकिरहेको छैन । जिल्ला भित्र धेरै प्रकृतिका सहकारीहरु छन् । कोही एक लेभलमा व्यवसाय उन्मुख भइसकेका छन्, केही अगाडि बढ्ने क्रममै छन् भने धेरै सहकारीहरु अहिले पनि निश्क्रिय अवस्थामा छन् । कतिपय सहकारीहरु सहकारीका मूल्य मान्यता सिद्धान्तभन्दा बाहिर गएर सञ्चालन भइरहेका पनि छन् । जसले सदस्य सेवा केन्द्रीत भएर काम नगर्दा कुनै पनि वेला ठूलो दुर्घटना निम्त्याउन सक्ने अवस्थामा देखिन्छन् । अहिलेको परिस्थिति कस्तो छ भने केन्द्र देखी स्थानीय तहसम्म एउटा सहकारी संयन्त्र अनुसार राज्यका निकायहरुको जिम्मेवारी बाँडफाँड भएको छ । अधिकांश सहकारीहरु स्थानीय तहबाट हेर्नुपर्ने, स्थानीय तह मातहतका सहकारीहरु हुनुहुन्छ । कतिपय स्थानीय तहमा सहकारी शाखा अथवा डेक्स नै स्थापना नभएको पनि छ । प्रदेशको संरचना भित्र पनि सहकारी विभागले सबल रुपमा काम गर्न सकिरहेको छैन । यो अवस्थामा जिल्ला संघहरुको भूमिका र दायित्व धेरै देखिन्छ । जिल्ला संघ आफैको क्षमता विकास गर्ने कुरामा नेफ्स्कूनले त्यसमा पहल गर्न सक्यो भने संस्था र संघको बीचमा नजिकको सम्बन्ध हुने संस्थालाई विकास गरेर लैजान सम्भव हुने देखिन्छ । 

देवकी नेपाल
अध्यक्ष, रौतहट जिल्ला बचत तथा ऋण सहकारी संघ लि.

समग्र रुपमा हेर्दा जिल्ला संघ साझेदारी कार्यक्रमले नेफ्स्कून, जिल्ला संघ र प्रारम्भिक सहकारी संस्थाहरुको बीचमा भावनात्मक सम्बन्धको विकास गरेको देखिन्छ । यति गर्दागर्दै पनि संस्थाको भिजन, मिसन र लक्ष्य प्राप्तिका लागि कहाँ कहाँ के कति त्रुटिहरु छन् ? राज्यले दिएको नीति विधि र  प्रविधि के छ भन्ने विषयलाई यसले सूक्ष्म रुपले लिएको छ । संस्थाभित्र रहने कार्यगत एकरुपता, दृश्यमा एकरुपताको विषयमा निगरानी अनुगमन तथा मूल्यांकनको पाटोमा सहजीकरण गरेको देखिन्छ । यसको अर्को पक्ष भनेको अब हामीले जुन संस्था साच्चिकै सुतेको अवस्थामा हो वा सुतेको वहाना गरिरहेको अवस्थामा हो, त्यसको वास्तविक पहिचान गरिनुपर्छ । त्यस्तो संस्थाहरुलाई के गर्ने भन्ने उपाय सर्वप्रथम नेफ्स्कूनले खोज्नुपर्ने आवश्यकता देखिएको छ । यसैबीच समन्वयात्मक भावनाको विकास अझ सबल बनाउनुपर्ने अवस्था पनि देखिएको छ । नेफ्स्कून मात्रै होइन साझेदारी जिल्ला संघ पनि यसको परिपुरक हो । यो विना हामी अधुरो छौं भन्ने पनि नेफ्स्कूनलाई लाग्नुपर्छ । 

प्रभावकारीताको आधारमा हेर्ने हो भने नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रमबाट धेरै संस्थाहरुले यसको क्रेडिट कमाएको छ । राज्यले सहकारीलाई तेस्रो खम्बाको रुपमा सम्बोधन गरिसकेपछि हामी राज्यको परिपूरक संस्थाको रुपमा हो । राज्यसँगको बहश पैरवीमा पनि नेफ्स्कूनको भूमिका प्रभावकारी रहेको छ । साझेदारी कार्यक्रम मार्फत जिल्ला र स्थानीय तहबाट पनि राज्यपक्षसँग पैरवीका लागि सहज भएको छ ।  

योगमाया सुवेदी 
बरिष्ठ उपाध्यक्ष, सुनसरी जिल्ला बचत तथा ऋण सहकारी संघ लि.

नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अत्यन्तै प्रभावकारी देखिएको छ । साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला संघले विभिन्न तालिमहरु सम्पन्न गरिसकेको छ । जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रमका लागि पनि छुट्टै कर्मचारी (कार्यक्रम अधिकृत) राखेर काम शुरु गरेका छौं । नेफ्स्कून बाट प्रदान हुने तालिम जिल्लामा निकै प्रभावकारी मानिन्छ । नेफ्स्कूनबाट प्रशिक्षक आउने तालिममा सहभागीहरुको उपस्थिति पनि निकै राम्रो रहने गरेको छ । त्यसकारण पनि जिल्ला संघले तालिम तथा कार्यक्रमको  प्रभावकारिता खस्कन नदिने गरी काम गरेको छ । साझेदारी पूर्व प्रशिक्षक छनौट जिल्ला संघ आफै गर्ने गरेको थियो तर नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रमले उत्कृष्ट प्रशिक्षक छनौटमा सहज भएको छ, नेफ्स्कूनले दिएको मार्गनिर्देशन अनुरुप विषयविज्ञ व्यक्तित्वहरु प्रशिक्षकको रुपमा आउँदा प्राप्त तालिमबाट साकोस र साकोस सदस्यहरुको दीगो विकासमा थप टेवा पुगेको छ । 

अर्को पाटो भने साझेदारीका कार्यक्रमहरुमा नेफ्स्कूनको अनुगमन नियमितता पनि एउटा हो । बचत संघले निर्दिष्ट कार्यक्रमहरु गर्दै गइरहेको छ, तालिमको प्रभावकारीता, सदस्य सन्तुष्टीको पाटोमा नेफ्स्कूनले हेरिदिनुपर्छ भन्ने लाग्छ । सदस्यहरुको दीगो विकास भएको छ, छैन, संस्थाहरु समृद्ध, व्यावसायिक भएका छन् छैनन्, उद्यमशीलता विकासमा तालिमको प्रभावकारीता के छ भन्ने विषयमा नेफ्स्कूनको नियमिति निगरानी होस् भन्ने अपेक्षा जिल्ला बचत संघहरुको रहेको छ । 

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

२ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

६ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

६ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

६ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

७ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

Notice
Notice

११ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२६ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप