लामो इतिहास बोेकेको कागेश्वरी मनहरा नगरपालिका ३ भद्रवासस्थित चौतारी बचत तथा ऋण सहकारी संस्था लि. खास अर्थमा सदस्यहरुको ‘चौतारी’ बन्न प्रयासरत छ । सहकारी संस्था सदस्यहरुको दुःखसुख बिसाउने चौतारी बन्नुपर्छ’ भन्ने दर्शनशास्त्रीय पक्ष अनुसार ‘नाम झै काम’ गर्ने संस्थाको सोच छ ।
२०५० साल मंसिर ३ गते डिभिजन सहकारी कार्यालयमा दर्ता भई सञ्चालनमा आएको साकोसको सुरुमा भद्रवास, आलापोट र डाँछी गाविस कार्यक्षेत्र थियो । भद्रवास नगरपालिकामा परिणत भएपछि वडा नं १ देखि ५ सम्म कार्यक्षेत्र बन्यो । तर, यो पर्याप्त भएन । बलियो इतिहासको लाभ लिदै साकोसले वित्तीय तथा गैरवित्तीय आयातन भने फैलाउन सकेन । सोही कारण काठमाडौं उपत्यकाभर कार्यक्षेत्र विस्तारको तयारीमा साकोस रहेको अध्यक्ष र व्यवस्थापक बताउनुहुन्छ ।
‘स्वरुप, कारोबार, संरचना, सदस्यता, कार्यक्षेत्र आदिलाई अब बढाउनुपर्ने भएको छ,’ साकोसका अध्यक्ष तुलसीराम पुडासैनीले भन्नुभयो, ‘त्यसको लागि प्रक्रिया अघि बढाएका छौं ।’ १ सय १० जनाबाट जनही १ सय रुपैयाँ संकलन गरी जग बसेको संस्थामा हाल ४ कर्मचारी छन् । लामोसमय सम्म सञ्चालकहरुले नै स्वयंसेवी रुपमा व्यवस्थापनको काम गरेको अध्यक्ष र व्यवस्थापकले स्मरण गर्नुभयो । साकोसका करिब १७ सय सदस्यहरुमा लैंगिक सहभागिता करिब बराबरी छ । स्थापना लगत्तै छाता संघ नेफ्स्कूनमा आबद्ध संस्था हाल संघले कास्कूनसँगको साझेदारीमा सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्समा आबद्ध छ ।
सञ्चालक समिति अनुभवी छ । संस्थापक सदस्यबाट सहकारी प्रवेश गर्नुभएका अध्यक्ष पुडासैनी २०५४ साल देखि एक कार्यकाल सचिव र त्यसयता अध्यक्ष हुनुहुन्छ । अध्यक्षका रुपमा उहाँको यो दोस्रो कार्यकाल हो । व्यवस्थापक उद्धव प्रसाद पुडासैनी पनि सुरुमा सञ्चालककै रुपमा प्रवेश गर्नुभएको थियो । उपाध्यक्ष र कोषाध्यक्षको रुपमा अनुभव बटुल्नुभएका उहाँले सहकारी ऐन २०७४ लागू भएपछि भूमिका परिवर्तन गरी व्यवस्थापकीय नेतृत्व सम्हाल्नुभएको हो । साकोसमा हाल ११ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति छ ।
अध्यक्ष पुडासैनी चौतारी साकोसलाई सदस्यमुखी र समुदायमा आधारित भएको दाबी गर्नुहुन्छ । कोभिडका कारण भाखा नाघेको ऋण केही बढे पनि विषम् परिस्थितिमा पनि तरलता संकट नभएको व्यवस्थापक पुडासैनी बताउनुहुन्छ । हाल तरलता संकुचनको अवस्थामा पनि संस्थासँग लगानी योग्य रकम अभाव नभएको उहाँले स्पष्ट गराउनुभयो ।
११ करोड रुपैयाँको वासलात रहेको संस्थासँग १ करोड २२ लाख सेयर पुँजी, ७ करोड रुपैयाँ बचत, ६ करोड रुपैयाँ ऋण लगानी र जगेडा कोषमा ८३ लाख रुपैयाँ छ । साकोसले अधिकतम २० लाख रुपैयाँ सम्म ऋण लगानी गर्दै आएको छ । हाल संस्थाको कार्यालय रहेको स्थान नजिकै ५ आना २ पैसा जग्गामा भवन बनाउने भावी योजना अध्यक्ष पुडासैनीले साकोस आवाजलाई सुनाउनुभयो ।
सदस्यहरुलाई उत्पादनमा जोड्ने विषय चुनौतीपूर्ण भएको साकोसको स्वीकारोक्ति छ । पुर्ख्यौली सम्पत्ति भएका स्थानीय बासिन्दाहरुमा पछिल्लो समय बढेको जग्गाको भाउका कारण अन्य पेसा, व्यवसाय वा आम्दानीको स्रोतका लागि भौतारिनुपर्ने अवस्था कम छ । सोही कारण आयआर्जन वा उत्पादनशील क्षेत्रमा काम गर्ने सोचले सदस्यहरुमा जरा गाड्न सकेको नसकेको अध्यक्ष पुडासैनीले प्रष्ट्याउनुभयो ।
प्रविधिको पाटोमा पनि संस्थाले गर्नुपर्ने धेरै छ । भौगोलिक अवस्थिति, सदस्यको प्रकृति र अभिरुचिसँगै संस्थाको रणनीतिक योजनाको अस्पष्टताले गर्दा पनि प्रतिस्पर्धी बनाउने पाटो बलियो बन्न नसकेको हो । यो कुरामा अध्यक्ष र व्यवस्थापक दुबै सहमत हुनुभयो । साकोसले नेफ्स्कूनले सञ्चालनमा ल्याएको नेकोस प्लस सफ्टवेयर सुरुदेखि नै प्रयोग गर्दै आएको छ । वेबसाइट निर्माणसँगै मोबाइल बैंकिङ, सामाजिक सञ्जालमार्फत उत्पादन तथा सेवाको विस्तारका क्षेत्रमा भने कार्म गर्न बाँकी रहेको अध्यक्ष र व्यवस्थापक दुबैले बताउनुभयो ।
व्यावसायिक कृषि गर्न चाहने सदस्यहरुलाई वा आम्दानीका श्रोत विविधिरणको उपायसहित सदस्यहरुलाई उत्पादनमा जोड्न सुलभ कृषि ऋण उपलब्ध गराउने काम चौतारीले अघि सारेको छ । ‘ऋण सदुपयोगिता’मा बिशेष ध्यान पुर्याउनुपर्नेमा पनि बोर्ड र व्यवस्थापन एकमत देखिएको छ । दोहोरो सदस्यता, सानो कार्यक्षेत्र र सदस्यहरुमा सहकारीसम्बन्धी शिक्षाको कमीलाई पनि बाँकी चुनौतीका रुपमा साकोसले लिएको छ ।
साकोसले प्राथमिकताको पहिलो नम्बरमा भने लघु वित्त कार्यक्रमलाई राखेको छ । खासगरी महिलाहरुलाई आय आर्जनमा जोड्दै संस्थाको भूमिकालाई प्रखर बनाउन निकट भविष्यमा लघुवित्त कार्यक्रम चलाउने योजना चौतारीका चौथो अध्यक्ष पुडासैनीले सुनाउनुभयो ।
यसैगरी, साकोस बचत तथा ऋण सहकारीहरु सम्बन्धी स्थिरीकरण कोषमा पनि योगदान गर्ने तयारीमा रहेको बताउनुभयो । नेफ्स्कूनका व्यवसाय विभाग प्रमुख दुर्गा प्रसाद ढकालसँग संघको केन्द्रीय कार्यालयमा आई कोषका विषयमा लामो छलफल र बुझाईमा थप स्पष्टतापछि योगदान गर्ने विषयमा सकारात्मक भएको अध्यक्ष पुडासैनीले बताउनुभयो ।
संस्थागत सुशासनमा संस्थाले प्रस्तुत गरेको उदाहरण उम्दा छ । करबर्स कार्यक्रम हेर्ने नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोबिता मैनालीका अनुसार चौतारी साकोसका सञ्चालक समितिले हालसम्म बैठक तथा अन्य भत्ता सुविधा लिएको छैन । ‘लामो इतिहास बोेकेको संस्थाको त्यो अभ्यास प्रशंसनिय छ’ उहाँले भन्नुभयो, ‘त्यस्तै अर्को विशेषता भनेको साकोस समुदायमा आधारित सदस्य केन्द्रित छ ।’ वृद्धिको हिसाबले थोरै देखिए पनि खासगरी अनुभवलाई व्यावहारिक परिणति र रणनीतिक योजनासहित कार्यान्वयनमा जाँदा उल्लेख्य सफलता मिल्न कठिन नहुने मैनालीको ठम्याइ छ ।
सदस्यहरु जीवनका कठिन तर अविष्मरणीय उकालीहरु उक्लदै गर्दा थकाइ मेटाउने र सहज स्मरणीय ओरालाहरु झर्दै गर्दा बसिबियाँलो गर्ने साझा शितल चौतारी बन्न चौतारी साकोस सकोस् । हाम्रो पनि शुभकामना ।
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
७ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
११ दिन अगाडि
२६ दिन अगाडि
२४ दिन अगाडि
३४ दिन अगाडि
३४ दिन अगाडि
२८ दिन अगाडि