वैदेशिक रोजगारीमा जान १ लाख २० हजार ऋण नपत्याइएका धनुषाका बासु खड्का आज राज्यलाई बार्षिक १ लाख ४५ हजार कर बुझाउनुहुन्छ । २ दशकअघि बेरोजगारीको भारी मुगलान बिसाउन कम्मर कसेका खड्काको जीवनमा आज कायापलट भएको छ । कोदालो कर्म र सहकारी व्यवस्थापकको जिम्मेवारीले सामाजिक, आर्थिक प्रगति हासिल गराएको छ ।
सफलताको स्वाद चाखेकाहरु ‘खोजे स्वर्ग नेपालमै छ’ भन्छन् । तर, यो बुझ्न खड्कालाई १० बर्ष समय लाग्यो । यसबीचका समस्याहरुलाई सम्भावनाहरुमा परिवर्तन गर्दै उहाँ आज १२ हजार कुखुरा, ३ हजार माछाका भुरा, १५ कठ्ठामा व्यावसायिक तरकारी खेतीको मालिक बन्नुभएको छ । कलकत्ताबाट दाना झिकाई वितरकको काम पनि गर्दै आउनुभएको छ । सँगै सहकारी व्यवस्थापकको वेतन पनि । यी सबै जोड्दा खड्काको वार्षिक आम्दानी करिब २६ लाख पुग्छ । सबै खर्च कटाउँदा वर्षमा १२ लाख खुद बचत हुन्छ । व्यवसायका लागि बार्षिक ८५ हजार को ठेक्कामा डेढ बिघा जग्गा लिनुभएको छ । आफ्नो र परिवारको स्वास्थ्य तथा जीबन विमा गराउनुभएका खड्काले बार्षिक ३ लाख ८३ हजार विमा प्रिमियम मात्रै बुझाउनुहुन्छ । खड्काको आजको लोभलाग्दो अवस्थाको विगत कम रोचक छैन । बिहान बेलुकीे कृषिलाई र दिउँसो सहकारीलाई गरी खड्काले सहज समय व्यवस्थापन गर्दै आउनुभएको छ ।
२०५८ सालतिरको कुरा हो । विकल्पविहीन अवस्थामा साहुसँग धनुषाको ढल्केबरको १ विघा १० कठ्ठा जमिन बटिया (उत्पादनको आधा बुझाउनुपर्ने÷अधियाँ ) मा लिएर परम्परागत पहिचानसँग जोडिनुभयो । टमाटर खेती शुरु गर्नुभयो । घरमा साना बच्चावची, कृषि खेती, जंगलको घाँस दाउरा उहाँको जीवन जेनतेन धकेलीरह्यो ।
‘२०६३ सालबाट कृषिलाई परिवर्तन गर्ने सोचका साथ ५६ वटा पाडा, ३ वटा भैंसी र २ वटा जर्सी गाई पाल्न सुरु गरेँ, खड्का विगत कोट्याउनुहुन्छ, ‘पाडा पालन व्यवसायबाट ठूलो घाटा वेहोर्र्नुपर्यो, निराशा हतोत्साहमा बदलिएन । कुखुरापालन सुरु गरेँ ।’
घर छेवै खोर बनाई २०० वटा कुखुरा र केही बाख्रा पाल्न थालेँपछि भने उहाँको परिवारमा घामको झुल्को प्रवेश गर्यो । पाएको सफलताले खड्काले ६ कठ्ठा जमिन जोड्नुभयो । जमिन जोडेसँगै जीवन उनियो ।
खड्काले २०६० सालमा व्यवसाय दर्ता गरी एस. एण्ड. एस. पोल्ट्री फर्म र दाना वितरकको काममा लगानी जुटाउन बैंकबाट १९ लाख ऋण लिएर ५ हजार कुखुरा हाल्नुभयो । २० हजार कुखुराको लागि दाना वितरकको रुपमा कलकत्ताबाट दाना मगाउन शुरु गर्नुभयो । वायो फलक प्रविधिबाट माछा पालन व्यवसाय पनि शुरुवात गर्नुभयो । व्यवसाय विस्तारका लागि जग्गा कम भएपछि २ विघा जग्गा भाडामा लिनुभयो ।
२०३४ साल जेठ २५ गते उदयपुर जिल्लामा जन्मनुभएका खड्काको परिवार उहाँ ८ बर्षको छदाँ धनुषाको ढल्केबर बसाई सर्यो । पारिवारिक अवस्था कन्तविजोग नै थियो । जेनतेन दश जोड दुई पूरा गर्नुभयो त्यसपछि जीवनको दोस्रो इनिङ सुरु भयो । विवाहले खुसी भन्दा बोझ थप्यो । केही सीप नचलेपछि अर्धाङ्गिनीलाई एक वर्ष माइत पठाइदिनुभयो । तर, स्थिति सम्हालिदै गएपछि सबै परिवार जोडियो र सदस्यहरु पनि बढेँ । अहिले उहाँको कृषिकर्म सम्हाल्न २ छोरा, बाबुआमा र पत्नीको समेत साथ छ । खड्काले मासिक १८ हजार तलब दिएर एक कर्मचारीसमेत राख्नुभएको छ ।
धनुषाको मिथिला नगरपालिका–७, केमलीपुरको परिचय विकट गाउँको हो । त्यहाँका महिलाहरुले २०६० सालमा सहकारी संस्था स्थापना गरेँ । महिलाद्वारा गठित सहकारीमा सहयोगीको भूमिकामा खड्का जोडिनुभयो । सवैको आग्रहपछि व्यवस्थापकको जिम्मेवारी लिनुभयो । आज सहकारी मार्फत ग्रामिण महिला सदस्यहरुलाई आयआर्जनको बाटो पहिल्याउन सम्भव भएको उहाँको ठम्याई छ । सहकारी स्थापनाकालदेखि क्रियाशिल र संस्थापक सेयर सदस्य समेत भएकाले आफ्नो व्यवसाय विस्तारका लागि ५० हजार ऋण पनि खड्काले सहकारीबाटै लिनुभयो । २०६० सालमा मासिक ५ सय तलबबाट उहाँले जागिरको जग बसाउनुभयो ।
एस. एण्ड. एस. पोल्ट्री फर्म सञ्चालनका लागि खड्काले कृषि विकास बैंक बाट ३.८० प्रतिशत व्याजमा १ करोड ऋण लिनुभएको छ । उहाँले अहिले पोल्ट्री फार्म, दाना वितरक र माछा व्यवसाय सञ्चालन गर्नुभएको छ । सुविधासम्पन्न खोर निर्माण, अटोमेटिक दाना पानी हाल्ने प्रविधि मार्फत कुखुरा पालन व्यवसाय गर्नुभएको छ । कुखुराको माग धेरै छ, माग अनुसार कुखुरा पुर्याउन अझै नसकिएको उहाँ बताउनुहुन्छ । काठमाडौंको भ्याली कोल्ड स्टोर लगायत विभिन्न ठाउँमा कुखुरा जान्छ । गाउँमा आफ्नै फ्रेस हाउस पनि छ । खड्का भन्नुहुन्छ, ‘दाना पनि विभिन्न जिल्लामा सप्लाई गर्छु ।’
सीप तिर्खान खड्काले १५ हजार तिरेर विराटनगरमा २ दिने ‘वायो फ्लग माछापालन तालिम’ लिनुभयो र काम सुरु गर्नुभयो । तीन लाख लगानीमा ४ वटा प्लाष्टिक पोखरी बनाएर २७ सय माछा हाल्नुभयो । अहिले ३ वटा सिमेन्टेड माछा पोखरी निर्माण सुरु गर्नुभएका खड्का भन्नुहुन्छ, ‘सिमेन्टेड माछा पोखरी बनेसँगै ४५ सय माछाका भुरा हाल्ने तयारी गरेको छु । वायो फ्लग र मागुर जातका ५० हजार माछाका भुरा हाल्ने सोच छ । ’भारतबाट आयातित माछा रोक्न नेपालमा माछा पालन व्यवसायलाई बृहत बनाउनुपर्ने विचार उहाँको छ ।
सम्भावनासँगै आएका समस्याहरुलाई पनि उहाँले सामना गर्नुभयो । गाउँमा पानीको चरम अभाव छ । पानीको व्यवस्थापनका लागि के गर्न सकिन्छ भन्दै जिल्ला भूमिगत सिँचाइ लगायत विभिन्न ठाउँमा अनुदानका लागि पहल गरेपनि सुनुवाई नभएको गुनासो उहाँले गर्नुभयो । समाधानका लागि उहाँले गाउँमै १७ लाख लगानीमा बोरिङ गर्नुभयो । पानीको समस्या सेलायो । स्थानीयहरुले पनि पानी सहयोग पाएका छन् ।
हिजो समस्या मात्रै देख्ने खड्का आज सम्भावना मात्रै देख्नुहुन्छ । अत्यधिक उत्पादन हुने आँप, कटहर खेर गइरहेकोले प्रशोधनमार्फत जुस निर्माण गरी बजारीकरण गर्न सके केमलीपुरका बासिन्दाको अवस्था फेरिन सक्ने उहाँको तर्क छ । तर, कृषि र कृषक राज्यबाट उपेक्षित हुँदा खड्काको मन कुडिन्छ, ‘शहरबासीहरुले स्वाद लिने मीठो चामलको भात र स्वाथ्यवर्धक मासु उत्पादन गर्ने कृषकहरुको पहिचान र सम्मान खै ?’
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
७ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
११ दिन अगाडि
२६ दिन अगाडि
२४ दिन अगाडि
३५ दिन अगाडि
३५ दिन अगाडि
२८ दिन अगाडि