२०७७ साल फागुन २६ गते म सहकारी विभागको रजिष्ट्रार भएर आइसकेपछि पहिलो हप्ता हामीले बाहिर देख्ने सुन्ने गरेको सहकारी र भित्रको सहकारी बिच के फरक रहेछ ?’ भनेर फरक छुट्याउने कोशिस गरेँ । के हो त वास्तवमा ? हामीले आँकडामा हेर्ने गरेको सहकारी, गाउँ गाउँमा टोल टोलमा हरियो बोर्डको पृष्ठभूमिमा देख्ने गरेको सहकारी, हाम्रो संविधानले राज्य व्यवस्थाका ३ खम्बामध्येको एक मानेको सहकारीको सैद्धान्तिक पाटो र व्यवहारमा के छ भन्ने विषयमा क्षमताले भ्याएँसम्म अध्ययन गर्ने कोशिस गरेँ । म ३÷४ वटा विषयमा ठोक्किन पुगेँ । यी विषयमा सहकारीका आदरणीय नेतृत्वहरुसँग पटक पटक छलफल गरेको छु । सानो एउटा विषयबाट भनाइ अघि बढाउँछु ।
राज्यका कुनै पनि क्षेत्रको श्रीवृद्धि, विकास र प्रभावकारिताको लागि चाहिने सबैभन्दा महत्वपूर्ण चीज तथ्याङ्क हो । तथ्याङ्कमा हामी कमजोर भएको महसूस गरेँ । सहकारी विभागले १२५ संस्था र २० वटा केन्द्रीय विषयगत सहकारीहरुको नियमन गर्ने हो । हामीसँग तथ्याङ्कको कमी देखेँ । बुझ्दै जाँदा डिभिजन सहकारी कार्यालयहरु खारेज हुने बेलामा सम्बिन्धित स्थानीय तथा प्रदेशका इकाईहरुलाई विभागबाट बुझाइएको भनेको कागजातहरु पनि तत्तत् निकायमा ‘ओभरसाइड’मा परेँ । अधिकांश सहकारीहरु सहकारीहरु प्रदेश र स्थानीय सरकारको नियमन भित्र परेका छन् । संघीय सहकारी विभागका ३८ वटा डिभिजन कार्यालयहरु खारेज भए, संघीय सहकारी विभाग करिब १५–२० कर्मचारीहरुमा सीमित रह्यो । यताबाट तल गयो, तलको प्राथमिकतामा परेन । आज एकदमै राम्रो कार्यक्रम भएको छ । यो अति महत्वपूर्ण कार्यक्रममा धेरै कुराहरु आए । सातै प्रदेशको सहकारी हेर्ने सर म्याडमहरु हुनुहुन्छ, हामीसबै भेला भएका छौं । मैले धेरै अघि अभियानसँगको छलफलमा बोलेका शब्दहरु आज झलक सरले बोलेको कुराहरुसँग मिल्न गयो । शब्दहरुको लम्बाई, चौडाइ, गोलाइ फरक भएपनि भावार्थ एउटै थियो ।