२०७७ साल कार्तिक २३ गते विधिवत् स्थापना भएको लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (लुम्बिनी प्रोस्कून) ले २०८१ पुस २६ र २७ गते आफ्नो चौथो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । सभाले अग्रज सहकारी अभियन्ता कृष्ण नेपाललाई दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको छ । नेपालको नेतृत्वमा १९ सदस्यीय सञ्चालक समिति तथा कृष्ण चौहान क्षेत्रीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सभाले चुनेको छ ।
मोफसलमा बसेर पनि सहकारी अभियानमा सफल भइन्छ भन्ने गतिलो उदाहरण पस्कन सफल सहकारी अभियन्ता हुनुहुन्छ कृष्ण नेपाल । उमेरले ७१ वर्ष पुग्नुभएका नेपालसँग लोभलाग्दो उर्जा छ । चिन्नेजान्ने र सहकारी अभियानका अग्रज तथा अनुजहरु उहाँको सक्रियता, लगन सँगसँगै उर्जाबाट उत्प्रेरणा लिइरहन्छन् । उमेर उकालो लाग्दै जाँदा पनि उर्जा भने ओरालो झर्ने नामनै लिदैन । सबैसँग मिल्न सक्ने, सबैलाई माया र सद्भाव बाँढ्न सक्ने उहाँसँग गजबको क्षमता छ । सहकारी क्षेत्र भनेपछि हुरुक्कै हुने उहाँसँग यो क्षेत्रको ४८ वर्ष लामो अनुभव छ । साथीभाइहरुसँग रमाइलो पनि उहाँ उत्तिकै गर्नुहुन्छ । क्रियाशीलताका धनी नवनिर्वाचित अध्यक्ष नेपालसँग लुम्बिनी प्रोस्कूनको निर्वाचन, संघको अवस्था र योजना सँगै व्यक्तिगत उर्जा र सक्रियता आदि विषयमा केन्द्रीत रही साकोस आवाजले गरेको सम्वादको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ:
लुम्बिनी प्रोस्कूनको नवनिर्वाचित सञ्चालक समिति कस्तो बनेको छ ?
एकदम राम्रो बनेको छ । जुझारु र सहकारी क्षेत्रको शुद्धीकरण र सबलीकरणका लागि आफूहरुले सक्दो योगदान गरौं भन्ने टीम बनेको छ । मिसन र भिजन बोकेको समूह छ । अध्यक्षको हिसाबले म खुसी छु । दाङ र प्युठानबाहेक अरु सबै जिल्लाबाट समितिमा प्रतिनिधित्व भएको छ ।
अबको तपाईहरुको प्राथमिकता के के छन् ?
साधारणसभाले सदस्य संस्था अनुगमन निर्देशिका २०८१ पास गरेको छ । त्यसको कार्यान्वयन अबको हाम्रो पहिलो प्राथमिकता हो । सदस्य संस्थाहरुलाई सबल, सुशासित र सदस्यमैत्री बनाउने हाम्रो मुख्य ध्येय हो । सदस्यहरुको सशक्तिकरण हाम्रो उद्देश्य हो । निर्देशिकाले गरेको व्यवस्थाहरु कार्यान्वयमा लान्छौं । यो काममा प्रदेश मन्त्रालयसँग समन्वय भयो भने व्यापकता हुन्छ अन्यथा हाम्रा सदस्य संस्थाहरुमा यो सीमित हुन्छ । अर्को भनेको, रोल्पा र पूर्वी रुकुम लाई पनि समेट्ने हाम्रो योजना छ । प्रदेश संघमा अहिलेसम्म नअटाएको रोल्पालाई हामी अब समेट्छौं ।
प्रदेश संघको पछिल्लो अवस्था कस्तो छ ?
हामीसँग अहिले ९४ सदस्य छन् । तीमध्ये ९२ जना नवीकृत छन् । साधारणसभामा ७६ को उपस्थिति रह्यो । रुपन्देही जिल्लास्थित बुटवल उपमहानगरपालिका ६ मा संघको कार्यालय रहेको छ । एक जना कर्मचारी हुनुहुन्छ । संघको कूल सम्पत्ति ५ करोड ४८ लाख बढी छ । साधारणसभाले ९.८१ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । सँगै कारोबारको आधारमा संरक्षित पुँजी फिर्ता कोषको रकम पनि उपलब्ध गराउने निर्णय गरेको छ ।
संघले तालिम, शिक्षाका कार्यक्रमहरु चलाउँदै आएको छ । प्रदेश संघको उपस्थिति क्रमशः बलियो हुँदै गएको छ । प्रदेश संघहरुमध्ये बागमती पछि सबै हिसाबले हामी अगाडि छौं । यो टीमको सफलता हो । प्रदेशभित्रका सहकारी संस्था र जिल्ला संघहरुको सहयोगको बलमा सम्भव भएको हो । अनि विषयगत केन्द्रीय संघ नेफ्स्कूनको पनि राम्रो साथ सहयोग हामीलाई प्राप्त छ ।
असल सहकारी नेतृत्व कसरी स्थापित गर्न सकिन्छ ? सहकारी नेतृत्वको अहिलेको मुख्य चुनौती के हो ?
सहकारीका सञ्चालकहरु स्वयंसेवी हुन भन्ने विषय जोगाइराख्न धौधौ परेको महशूस सर्वत्र गरिएको छ । मेरो हकमा भने यो विषयमा आजसम्म कसैले औंला ठड्याउन र प्रश्न गर्न सकेको छैन । बस् यही स्वयंसवी भूमिकालाई पूर्णतः न्याय गर्न सकौं भन्ने मूल ध्येय रहनेछ । म यसप्रति आफ्नो प्रतिवद्धता पुनः व्यक्त गर्न चाहन्छु ।
व्यक्तिगत जीवन यसो फर्केर हेर्नुस् त ?
२०२४ सालमा स्थापित जनविकास कृषि सहकारी संस्था (पछि साझा भनियो) को ११ वर्ष अध्यक्ष त्यसपछि सामूहिक विकास बचत तथा ऋण सहकारी संस्थाको स्थापनाकालको सदस्यसँगै लेखा समिति हुँदै अध्यक्ष भएँ । सक्रिय रुपमा भने म २०३३ सालदेखि सहकारी क्षेत्रमा आवद्ध छु । २०५१ सालसम्म कपिलवस्तु, रुपन्देही जिल्ला बचत संघको व्यवस्थापक पनि भएर अनुभव बटुलेँ । २०५१ पछि सहकारी क्षेत्रमा स्वयंसेवी भूमिकामा छु । प्रारम्भिक संस्था, जिल्ला, प्रदेश संघको नेतृत्वसँगै नेफ्स्कूनमा पनि सञ्चालक भएर जिम्मेवारी निर्वाह गरेँ ।
रेडियो लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्थाको पूर्व अध्यक्ष (सञ्चार क्षेत्रको एक दशकको अनुभव), रुपन्देही बचत तथा ऋण सहकारी संघको स्थापनाकालको सचिव हुँदै २ कार्यकाल अध्यक्ष, नेफ्स्कूनको २ कार्यकाल (६ वर्ष) सञ्चालक हुँदै अहिले लुम्बिनी प्रोस्कूनको अध्यक्ष छु । आफूलाई प्राप्त जिम्मेवारीलाई हलुका रुपमा नलिई दक्षता र अनुभवले भ्याएसम्म निष्ठापूर्वक न्याय गरेँ भन्ने लाग्छ ।
म सहकारीप्रेमी हुँ । सहकारी भावना निक्कै पहिलेदेखिनै देखि मनमा थियो । बाबूबाजेबाटै सिकेर आएँ सहकारिताको मर्म । उहाँहरुले जोडिदिएको जग्गाजमीन पुग्दो छ । व्यक्तिगत लोभलालचा केही छैन । मलाई लिनु केही छैन । बस् सहकारी क्षेत्रमार्फत समाज रुपान्तरित भएको, सीमान्तकृत, भूमिहीन, रोजगारीविहिन, उपेक्षित वर्ग र समुदायको वास्तविक सामाजिक आर्थिक अवस्था उत्थान भएको हेर्ने रहर छ । यसकाममा आफूले सक्दो सहयोगी बन्ने प्रण गरेर लागेको छु । मलाई कमाउनु छैन केवल योगदान दिनुछ ।
तपाईलाई सबै सहकारीकर्मीहरुको श्रद्धाभाव प्राप्त हुनुको कारण के हो जस्तो लाग्छ ?
म सबैसँग मिल्छु । सबै भन्छन्–‘तपाई मिलनसार हुनुहुन्छ । सहयोगी हुनुहुन्छ । सहकारी भनेपछि मरिहत्ते गर्नुहुन्छ । सहकार्य, समन्वय र सामूहिकताको शक्तिमा विश्वास गर्नुहुन्छ ।’ मलाई लाग्छ यही मेरो सबल पक्ष हो । शरिर रोगहरुको घर छ तर रोगलाई जित्ने शक्ति पनि यही सहकारी क्षेत्रले दिएको छ ।
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
७ दिन अगाडि
८ दिन अगाडि
८ दिन अगाडि
८ दिन अगाडि
९५५ दिन अगाडि
९५९ दिन अगाडि
९६३ दिन अगाडि
२८३ दिन अगाडि
२८९ दिन अगाडि
३२७ दिन अगाडि
३३६ दिन अगाडि
३४१ दिन अगाडि