'चन्द्रपुर नगरपालिकामा सहकारी एकीकरणको विशेष अभियान आवश्यक छ'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'चन्द्रपुर नगरपालिकामा सहकारी एकीकरणको विशेष अभियान आवश्यक छ'
मधेश प्रदेशको रौतटह जिल्लास्थित चन्द्रपुर नगरपालिका अन्तर्गत रहेका सहकारीहरुको समग्र अवस्था, अनुगमन, प्रवधर्न एवम् विकासमा स्थानीय सरकारको प्रयासको सेरोफेरोमा रहेर साकोस आवाजले नगरपालिकाको सहकारी शाखा प्रमुख शेख नसरे आलमसँग गरेको अन्तर्वार्ताको सम्पादित अंशः

चन्द्रपुर नगरपालिकामा सहकारी शाखा कहिले स्थापना भएको हो ?
डिभिजन सहकारी कार्यालयले स्थानीय तहमा फाइल दिएको २०७४ साल कार्तिक २७ गते चपुरमा सहकारी शाखा शुरु भएको हो । म भने २०७९ श्रावणदेखि सहकारी शाखा प्रमुखको रुपमा काम गर्दै आएको छु ।

नगरपालिकाभित्रका सहकारीहरुको पछिल्लो अवस्था कस्तो छ ?
चन्द्रपुर नगरपालिका भित्र हाल १ सय ५ सहकारी छन् । जसमध्ये ८० वटा सहकारी सक्रिय छन् । बाँकी २५ निस्क्रिय छन् । 

नगरपालिकाले सहकारी क्षेत्रको विकास र प्रवर्धनका लागि गर्दै आएका मुख्य कामहरु के के हुन् ?
सहकारी शाखाले मुख्यत आफ्नो क्षेत्राधिकार भित्रका सहकारी संस्थाहरुको नियमन, अनुगमन, मासिक विवरण लगायत अन्य विवरण प्राप्ति तथा आवश्यक सल्लाह, सुझाव प्रदान गर्दै आएको छ । योसँगै पालिकाले सहकारीहरुको सक्षमता विकासका लागि विभिन्न किसिमका शिक्षा तथा तालिमहरु, समसमायिक विषयमा गोष्ठीहरु तथा अन्तरक्रियाहरु तथा राष्ट्रिय सहकारी दिवस समेत भव्यरुपमा मनाउँदै आएको छ ।

सबै सहकारी संस्थाहरुको वार्षिक साधारण सभामा सहभागी भई शुभकामना तथा सर सल्लाह प्रदान गर्ने, चुनावी साधारण सभामा निर्वाचन उप समितिको संयोजक भई निर्वाचन प्रक्रियामा सहजीकरण कार्य गर्ने, संस्थाका सदस्यको गुनासो समाधान गर्ने तथा छलफल गर्ने, गराउने, संस्थाहरुका विनियम संशोधन गर्ने, सञ्चालक समिति तथा हरुलाई प्रशिक्षित गराउने लगायतका काम नगरपालिकाले गर्दै आएको छ  ।

त्यति मात्र नभई प्रत्येक चैत २० मा सबै सहकारी संस्थालाई सहभागी गराई भव्य सहकारी दिवस मनाउने तथा उत्कृष्ट संस्थाहरुलाई पुरस्कृत गर्ने काम हामीले गर्दै आएका छौं । प्रत्येक आर्थिक वर्षमा पाँच छ वटा तालिम पालिकाको सहकारी शाखाबाट गराउदै आएको छ जस्मा सबै सहकारीबाट सहभागिता रहदै आएको छ । हामीले खासगरी बजार प्रतिनिधि, व्यवस्थापक तालिम , सञ्चालक समितिका पदाधिकारी तालिम, कोपोमिसका तालिम, पल्र्स, एमसी आई तालिम आदि सञ्चालन गरेका छौं । यी तालिमहरुमा सहभागिता पनि उल्लेख्य हुने गरेको छ ।

अर्को भनेको हामीले निस्क्रिय सहकारीहरुलाई कानुन बमोजिम खबर गर्ने ताकेता गर्ने, सार्वजनिक सूचना जारी गर्ने र केही उपचार नलागेको अवस्थामा रीतपूर्वक खारेजको कार्य पनि थालनी गरेका छौं ।

स्थानीय नियामक निकाय र स्थानीय सहकारी अभियानबीचको सम्बन्धबारे केही बताइदिनुहुन्छ कि ?
चन्द्रपुर नगरपालिका तथा स्थानीय सहकारी अभियानबीच सुमधुर एवम् हार्दिक सम्बन्ध छ । यसमा हामी दुबै पक्ष गर्व गर्छौं । सहकारी अभियान बलियो हुन सरकार र अभियानबीच आत्मीय सम्बन्ध हुनुपर्छ, सँगैसँगै यात्रा गर्नुपर्छ अनि मात्र सहकारीले अपेक्षाकृत उपलब्धि हासिल गर्दछ र स्थानीय सरकार पनि सहकारीहरुप्रति गर्व गर्नसक्दछ ।

हाम्रो प्रयास यसै दिशामा रहँदै आएको छ र आगामी दिनमा पनि रहनेछ । सहकारी अभियानकर्मीहरुसँग नगरपाकिला नियमित बस्दछ । औपचारिक कार्यक्रमदेखि अनौपचारिक छलफलमा पनि हामी कसरी सहकारी अभियानलाई सदृढ गर्न सकिन्छ भनेर चिन्तनमनन गर्छौं । यो हार्दिकता अमूल्य छ ।

हाम्रो नियमन क्षेत्राधिकार भित्रका सहकारी संस्थालाई हरेक आयामबाट सहयोगी र मित्रवत व्यवहार गर्दै संस्थागत विकासमा सहयोगीको रुपमा पालिका प्रस्तुत हुदै आएको छ ।

चन्द्रपुर नगरपालिकाले आवश्यक सहकारी कानूनहरु के कति निर्माण गरेको छ ?  
चन्द्रपुर नगरपालिका सहकारी दर्ता, संचालन, लेखा परिक्षण, अनुगमन तथा नियमन सम्बन्धी मापदण्ड, २०७७ साथै चन्द्रपुर नगरपालिका सहकारी ऐन २०७९ , चन्द्रपुर नगरपालिका सहकारी नियमावली २०८० लगायत निर्माण गरिसकेको छ । आगामी दिनमा अन्य आवश्यक निर्देशिका बनाइने योजना छ ।

समयमै वार्षिक लेखा परिक्षण तथा साधारण सभा गर्ने सहकारीहरु कति छन् ?
समयमै वार्षिक लेखा परिक्षण तथा साधारण सभा गर्ने सहकारीहरु लगभग सबै छन् । सक्रिय रहेका सहकारी संस्था मध्ये ३ वटाले गत आवमा लेखा परिक्षण तथा साधारण सभा गर्न सकेनन् । यस वर्ष गर्ने क्रममा छन् ।

चन्द्रपुर नगरपालिकाले स्थानीय सहकारीहरुको अनुगमन के कसरी गर्ने गरेको छ ? यसैगरी, अनुगमनको क्रममा देखिएका कैफियतहरु सधार गर्ने दिशामा सहकारीहरुको तदारुकता कस्तो छ ? अटेर गर्ने सहकारीहरु पनि छन् ?
नगरपालिकाले अनुगमन हेतु संघीय सहकारी विभागको ढाँचा अनुसार संस्थामा गई सबै आवश्यक सूचकहरु संकलन गर्दै आएका छौं । आगन्तुक पुस्तिकामा समेत सुधारको लागि आवश्यक सल्लाह र सुझाव दिदैं आएका छौं । अनुगमनको क्रममा देखिएका कैफियतहरु सधार गर्ने दिशामा अधिकांश सहकारीहरु सकारात्मक नै छन् ।

बचत तथा ऋणका सहाकरीहरुले पालना गर्दै आएका छन् भने ग्रामीण क्षेत्रका स्रोत साधन नभएका कतिपय कृषि सहकरी संस्थाहरुले संस्थागत हितका लागि प्रदान गरिने सल्लाह र सुझाव अटेर गर्ने गरेका छन् । तिनलाई पनि हामी सहकारी शिक्षा, नियमित अन्तरक्रिया, भेटघाट, स्थानीय सहकारी अभियानसँगको समन्वयको सहयोग तथा सुझावहरुको माध्यमबाट सही दिशामा ल्याउन प्रयासरत छौं ।

तालिम शिक्षा तथा प्रवर्धनको पाटोमा नगरपालिकाले के कस्तो काम गरेको छ ? 
तालिम शिक्षा तथा प्रवर्धनको पाटोमा नगरपालिकाले नियमित संस्थाहरुबाट वित्तीय प्रतिवेदनको आधारमा पृष्ठपोषण गर्ने गरेको छ । नगरपालिकाले बर्षेनि सबै प्रकारका सहकारीका संचालक, कर्मचारी, सेयर सदस्यहरुलाई सहभागी गराई तालिम कार्यक्रम नियमित अन्तरालमा संचालन गर्दै आएको छ ।

सहकारीहरुले स्थानीय सहकारी ऐन नियम तथा सूचनाहरु कत्तिको पालना गरेका छन् ?
धेरै हदसम्म सक्रिय सहकारी संस्थाहरुले गर्दै आएका छन् । यसमा कुनै समस्या छैन । केही निस्क्रिय र सहकारी अभियानभन्दा साँच्चिकै टाढा रहेका सहकारीहरुमा केही समस्या छ तिनलाई पनि 'राइट ट्रयाकिङ' गर्न नगरपालिका लागिपरेको छ ।

चालु आर्थिक वर्षको योजनामा समेटिएका सहकारी सम्बन्धी मुख्य विषयहरु बुँदागत रुपमा उल्लेख गरिदिनुहुन्छ कि ?

  • निस्क्रिय सहकारी संस्था खारेज गर्ने ।
  • दोहोरो सदस्यता खारेज गर्ने गराउने ।
  • तालिम कार्यक्रम संचालन गर्ने ।
  • नगरपालिका र सहकारी संस्थाबीच अन्तरक्रिया कार्यक्रम गर्ने ।
  • राष्ट्रिय सहाकरी दिवस भव्यताका साथ मनाउने । 
  • नियमन अनुगमनलाई निरन्तरता दिने ।

सहकारी शाखाको लागि बजेट पर्याप्त विनियोजन भएको छ कि छैन ?
सहकारी शाखाको लागि औसत बजेट विनियोजन भएको छ । चन्द्रपुर नगरपालिकाले हरेक आवमा सहकारी संस्थालाई नियमित बजेट विनियोजित गर्दै आएको छ । पर्याप्त नै भनुपर्दछ । अन्य पालिकाको तुलनामा चन्द्रपुर नगरपालिकाको सहकारीको बजेट सकारात्मक नै छ भन्नुपर्छ । 

चन्द्रपुर नगरपालिकाले सहकारी अभियानलाई हेर्ने दृष्टिकोण कस्तो छ ? सहकारी नगरपालिकाको प्राथमिकतामा परेको छ कि छैन ?
चन्द्रपुर नगरपालिकाले सहकारी अभियानलाई हेर्ने दृष्टिकोण सकारात्मक छ । यस भेगका जनप्रतिनिधि र सहकारी सेयर सदस्यहरुले सहकारीको सैद्धान्तिक विषय धेरैहदसम्म बुझ्नुभएको छ । यो सुन्दर पक्ष हो । सहकारी नगरपालिकाको प्राथमिकतामा परेको छ किनभने हरेक वर्ष सहकारीको लागि बजेट विनियोजन, ऐन, नियमावली, मापदण्ड निर्माण गरेको छ । सहकारीको विकास र प्रवधर्नमा नगरपालिकाले ईंटा थप्ने काम गरेको छ ।

सहकारीमार्फत समुदायका पिछडिएका वर्ग र समुदायको सामाजिक, आर्थिक विकास सम्भव छ जस्तो लाग्छ ?
सहकारीको मर्म, मूल्य, मान्यता र सिद्धान्त अनुसार सहकारी संस्था संचालन गर्ने हो भने पक्कै पनि सहकारी मार्फत समुदायका पिछडिएका वर्ग र समुदायको सामाजिक, आर्थिक विकास सम्भव छ । सहकारी व्यवसाय गर्ने विशेष विधि भएकोले सहकारीले आफना सदस्यहरुलाई केन्द्रविन्दुमा राखेर काम गर्ने हो भने विकास सम्भव छ जस्तो मेरो बुभाइ रहेको छ ।

व्यक्तिगत रुपमा तपाईको रुचिको क्षेत्र हो कि होइन सहकारी ? तपाई आफू पनि सहकारीको सदस्य हो कि होइन ? अनि तपाईको परिवारका सदस्यहरु सहकारीका सदस्य छन् कि छैनन् ?
मैले सहकारी शाखाको जिम्मेवारी सम्हाल्नु पूर्व नै एक स्थानीय बचत तथा ऋण सहकारी (साकोस) को सदस्य थिए । तर, म सहकारी र यसको महत्व बल्ल बुझ्दैछु । यसले बचत गर्ने बानीको विकास गराएको छ भने सहाकरीका शेयरधनी सदस्यहरुसँग मिलजुल तथा सामाजिकताको पनि विकास गरेको छ । सबै मेरा परिवारका सदस्य सहकारीको पनि सदस्य छन् । मेरा नानी र बाबु बाल बचत कर्ता समेत छन् ।

नगरपालिका भित्रका सहकारीहरुले के कस्ता कामहरु गरिदिए हुन्थ्यो भन्ने लाग्छ ?
सहाकरी एकीकरणको लागि विशेष अभियान संचालन गर्नु पर्ने जस्तो लाग्दछ । संख्यात्मक रुपमा एक पालिकामा धेरै सहकारी संस्था हुनु त्यति सुखद होइन जस्तो मलाई लाग्छ । चन्द्रपुर नगरपालिकाको १० वटा वडामा प्रत्येक वडामा १।१ वटा मात्र विषयगत सहकारी हुँदा उपयुक्त हुन्छ भन्ने लाग्छ ।

अबको ५ वर्षमा चन्द्रपुर नगरपालिका भित्रका सहकारीहरुको अवस्था के कस्तो हुने अपेक्षा र विश्वास पालिकाले लिएको छ ?
अबको ५ वर्षमा चन्द्रपुर नगरपालिका भित्रका सहकारीहरु एकीकरणमा गई उच्च गुणस्तर र प्रभावकारिता सहित बढीभन्दा बढी सदस्यहरुलाई उद्यमी एवम् व्यवसायी बनाउँदै ‘समृद्ध चन्द्रपुर नगर’ निर्माणका सारथी बन्ने विश्वास लिएका छौं ।
सर्वे भवन्तु सुखिन.....

अन्त्यमा केही ?
सहकारी तीन तहकै अधिकार क्षेत्रभित्र परेको विषय हुँदा तीनै तहले सहकारी क्षेत्रलाई सद्भावका साथ प्राथमिकतामा राखी नियमनको पाटो सुदृढीकरण गर्नुपर्दछ । सहकारीका लागि आवश्यक बजेट विनियोजित गर्नुपर्दछ । सहकारीको रकम अपचलन गर्ने सञ्चालक, खराब ऋणी वा जो सुकैलाई फास्ट ट्रयाकमा कानून बनाई कडा कारवाही गरिनुपर्दछ ।

लोकप्रिय
दोलखामा सहकारीहरुका लागि गोएएमएल तालिम सञ्चालन
दोलखामा सहकारीहरुका लागि गोएएमएल तालिम सञ्चालन

४५८ दिन अगाडि

एकीकृत साकोस काडमाडौंद्वारा निशुल्क स्वास्थ्य शिविर, १९५ जनाले गराए परीक्षण
एकीकृत साकोस काडमाडौंद्वारा निशुल्क स्वास्थ्य शिविर, १९५ जनाले गराए परीक्षण

४६१ दिन अगाडि

कर्णालीको सुर्खेतमा साकोस अभियानको नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम सम्पन्न
कर्णालीको सुर्खेतमा साकोस अभियानको नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम सम्पन्न

४६५ दिन अगाडि

धनुषाको नगराईन साकोस कर्ब्स कार्यक्रममा आवद्ध
धनुषाको नगराईन साकोस कर्ब्स कार्यक्रममा आवद्ध

४९४ दिन अगाडि

किर्तिमानहरु कायम भएको विश्व क्रेडिट युनियन सम्मेलन–२०२३
किर्तिमानहरु कायम भएको विश्व क्रेडिट युनियन सम्मेलन–२०२३

४९५ दिन अगाडि

नेफ्स्कूनको बार्षिक नीति तथा कार्यक्रम एवं कर्मचारी क्षमता अभिमुखीकरण सञ्चालन
नेफ्स्कूनको बार्षिक नीति तथा कार्यक्रम एवं कर्मचारी क्षमता अभिमुखीकरण सञ्चालन

४९८ दिन अगाडि

पूर्वी पहाडी जिल्लामा सदस्यसँग नेफ्स्कून अन्तरक्रिया
पूर्वी पहाडी जिल्लामा सदस्यसँग नेफ्स्कून अन्तरक्रिया

४९८ दिन अगाडि

विश्व क्रेडिट संघ सम्मेलन २०२३ सहभागिताका लागि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल क्यानडा प्रस्थान
विश्व क्रेडिट संघ सम्मेलन २०२३ सहभागिताका लागि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल क्यानडा प्रस्थान

५०३ दिन अगाडि

पाठकबाट थप